“खुच्चिङ ! मेरो खुब खोइरो खन्थ्यौ नि, अहिले आफैलाई त्यस्तो भयो ।” बुढीले कसलाई खुच्चिङ भनिन् मैले चाहिँ बुझ्न सकिनँ । केवल उनको च्याँठिएको आवाज मात्र कानमा बज्रिन पुग्यो ।

“कसैको दुःखमा किन नुन खुर्सानी छर्किनु खुच्चिङ भन्दै ।” मनमनै सोच्न थालेँ म । हुन त भलो चिताउने को नै  छन् र आज भोलि । जो पनि खुच्चिङ भन्ने मौका छोपिरहेका हुन्छन् । व्यक्ति, समाज, गाउँ, शहर सबै खुच्चिङकै प्रतीक्षामा हुन्छन् हरपल ।आफूलाई मन नपरेकाको खुच्चिङ गर्न पाउँदा खुशीले गद्गद हुने प्रवृत्ति दिन प्रति दिन हाबी भइरहेको बेलामा खुच्चिङ भन्न मन लाग्नु स्वाभाविकै हो । श्रीमती पनि किन अपवाद हुन्थिन् र ! उनको लहै लहैमा मैले पनि कैयौँ चोटि खुच्चिङ नभनेको चाहिँ हैन ।

पारखीहरू जे मा पनि, जहिले पनि अनि जस्तो मा पनि खुच्चिङ ठोकिहाल्छन् । उनीहरूलाई खुच्चिङ भन्न न मौका चाहिन्छ न स्थान । छिमेकीको घरमा भात नपाक्दा देखि देशको प्रधानमन्त्रीले राजीनामा दिँदासम्म खुच्चिङ ठोक्ने पारखीहरू यत्रतत्र छरिएका छन् आजभोलि । जुत्ता फाट्दा खुच्चिङ भन्नेहरू खुट्टा भाँचिदा खुच्चिङ भन्न किन डराउँथे । पैसा हराए खुच्चिङ, काम बिगारे खुच्चिङ । जोगी बने खुच्चिङ, रोगी भए खुच्चिङ । फेल भए खुच्चिङ, जेल गए खुच्चिङ । दुखे पनि खुच्चिङ, मरे पनि खुच्चिङ । लुटिए पनि खुच्चिङ, कुटिए पनि खुच्चिङ । जे गरे पनि खुच्चिङ । गजबको छ यो खुच्चिङ शास्त्र ।

एउटा व्यक्तिले अर्को व्यक्तिको, एउटा जातले अर्को जातको, एउटा वर्गले अर्को वर्गको, एउटा पार्टीले अर्को पार्टीको अनि सिङ्गै राष्ट्रले अर्को राष्ट्रको खुच्चिङ गर्दै बस्ने आजभोलिको दैनिकी भएको महारथीहरू बताउँछन् ।

यी महारथीहरू देखाएर खुच्चिङ गर्ने भन्दा लुकाएर खुच्चिङ गर्ने बढी खतरनाक हुने जिकिर गर्छन् । मुखमा राम राम बगलीमा छुरा बोकेर हिँड्ने ती लुकेका खुच्चिङ बाजहरू अक्सर आफ्नै वरिपरि घुमिरहने यी महारथीहरूको अनुभव छ ।

आफ्नै परिवारका सदस्यहरू अनि नजिकका मानिने साथीभाइहरू यो समूहमा पर्ने राय दिन्छन् उनीहरू । पत्रिकामा छाप्न दिएका लेखहरू अहिलेसम्म प्रकाशित नहुँदा मनमनै खुच्चिङ भने पनि मुखले ठिक्क पार्ने आफन्तहरू वरिपरि पाउँदा महारथीहरूको रायसँग सहमति जताउन पुग्छु म ।

यिनीहरू नै हुन् श्रीमती माइत गई भने पनि खुच्चिङ भन्छन् अनि भान्छामा चुलो नबले पनि खुच्चिङ भन्छन् ।  छोरोले जाँचमा आलु खायो भने पनि खुच्चिङ भन्छन् अनि छोरीले कालु समातेर भागी भने पनि खुच्चिङ भन्छन् । यस्ता खुच्चिङ बाजहरूको बिचमा आफूलाई जकडिएको पाउँदा आफैले आफूलाई खुच्चिङ भन्न मन लाग्छ अक्सर ।

हिजोअस्ति मात्रै को कुरा हो एकजना खुच्चिङ शास्त्रमा विद्यावारिधि गरेका महारथीसँग भेट भएको थियो मेरो ।

गफगाफको सिलसिलामा उनले भनेका थिए, “गठबन्धनको फुर्ती लगाएर मन्त्री बनेका थिए हरिबिजोग पार्टीका नेता, अहिले गठबन्धन फुट्यो खुच्चिङ भयो । कतै नभएको फुर्ती लगाउँदै हिँड्नु पर्ने । मलाई त यो हरिबिजोग पार्टी नै मन पर्दैन ।” फेरि थपे उनले, “पुटिनलाई पनि खुच्चिङ भयो थुप्रै देशले व्यापार बन्द गरिदिनाले, खुब युक्रेन माथि जाइलाग्न पुगेको थियो ।”

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खुच्चिङलाई एकै चोटि भन्न भ्याएपछि मलाई उनको विद्यावारिधिमा थप विश्वास हुन थालेको छ ।

माथिका महारथी भन्दा भिन्न विचार राख्ने अर्का एक महारथी खुच्चिङबाट फाइदा हुने कुरा गर्छन् । यिनले तयार परेको शोधपत्र “खुच्चिङ र यसका फाइदाहरू”मा यस्ता फाइदाहरूको विशेष चर्चा गरिएको छ । यस्ता महारथीका शोधपत्र पढ्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु तर केही अन्यहरू भने यो शोधपत्र एक प्रति पनि बिक्री नभएकोमा आफ्नो खुच्चिङ व्यक्त गर्दै हिँड्छन् । शोधपत्रमा लेखिएअनुसार हरिबिजोग पार्टीको गठबन्धन फुट्दा पार्टीलाई निकै फाइदा भएको कुरा छ ।

खुच्चिङ त ठुलो पार्टीलाई भयो रे । हरिबिजोगको त भाउ बढेको छ भन्ने उल्लेख गरिएको छ । मन्त्री पद गुमाएका हरिबिजोग पार्टीका संसद्हरूलाई त के नै पो भयो र त्यसका झोलेहरूको पो खुच्चिङ भयो भन्ने विस्तार पूर्वक वर्णन गरिएको यो शोधपत्र पढ्नै पर्छ सबैले । देशको विकाश भएन भनेर कुर्लने जनताहरू पनि खुच्चिङका पात्र हुन् भन्ने उल्लेख छ शोधपत्रमा किनभने जहिले पनि तिनै हरिबिजोग पार्टीका नालायक नेताहरू जिताएर पठाए पछि विकाश कहाँबाट हुन्छ त !

त्यसैगरी कश्मीरको मुद्दामा भारतले पाकिस्तानलाई खुच्चिङ भन्नु अनि पाकिस्तानले भारतलाई खुच्चिङ भन्नु केही अन्तर्राष्ट्रिय खुच्चिङ हुन भन्ने उदाहरण पनि पाइन्छन् I

विपक्षलाई सधैँ फाइदा हुने खुच्चिङ शास्त्रमा अधिकांशको राय मिल्नु स्वाभाविकै हो, जो कसैको मिल्दैन ऊ स्वयम् खुच्चिङ पात्र बन्न पुग्छ । यो कुरा इतिहासमा पनि धेरै चोटि दोहोरिएको पाइन्छ । महारथीका भनाइअनुसार महाभारत युद्ध पनि एक खुच्चिङको परिणाम हो भने रामायणको सीता हरण पनि खुच्चिङकै देन हो । यतातिर कोतपर्व पनि एकले अर्कोलाई खुच्चिङ गर्दा गर्दै सुरु भएको थियो अनि राजतन्त्रको अन्त्य हुँदा खुच्चिङ भन्ने असङ्ख्य नै थिए ।

खुच्चिङलाई खुट्टा तान्ने रोग हो भन्ने महारथीहरू मन नपर्नेको खुट्टा तान्दै खुच्चिङ भन्नु पर्ने जिकिर गर्छन् । खुट्टा तान्ने टेक्निकहरूको लिस्ट नै तयार पारेका यी महारथीहरू कसैको पनि कुनै पनि बेला खुट्टा तान्न सकिने बताउँछन् । केवल सही टेक्निक प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । उदाहरण स्वरूप अस्ति भर्खर पदमुक्त बनेका हाकिम साहेब खुट्टा तानकै परिणाम हो भन्छन् उनीहरू । उनी पदमुक्त हुँदा उनको भन्दा बढी घरकी हकिमनिको ‘लुकाएर खुच्चिङ’ गर्नेहरूको लर्को नै लागेको थियो छर छिमेकमा । यस्तो देख्दा अनि सुन्दा खुच्चिङ र खुट्टा तान्ने रोगको अलौकिक सम्बन्धको काबिल नभई रहन सक्दिन म ।

केही महारथीहरू खुच्चिङको औषधि पत्ता लागेको बताउँदै हिँड्न थालेका छन् आजभोलि । निकै समयको अथक प्रयासपछि पत्ता लागेको यो औषधि सस्तो हुने कुरै भएन । त्यसैले होला थुप्रैको पहुँचबाट अझै टाढा छ । यो औषधि प्रयोग गर्नु पहिले शरीर शुद्ध र मन सफा गर्नु पर्ने रहेछ । जुन म जस्तो मान्छेमा लागु नहुनु स्वाभाविकै हो त्यसैले होला त्यो औषधिको स्वाद अहिलेसम्म थाहा पाउन नसकेको । मन सफा भएको अवस्थामा खुच्चिङ भन्नु नै पर्दैन, औषधि खानु नै पर्दैन सधैँ निरोगी भएर बाँच्न सकिन्छ भनेर तिनै औषधि पत्ता लगाउने महारथीहरू भन्छन् । कसरी मन सफा राख्ने हो, मलाई चाही आउँदै आउँदैन ।

मन सफाको विपरीत म चाहिँ फलामलाई फलामले नै काट्छ भनेझैँ, खुच्चिङ भन्नेलाई खुच्चिङ भन्दिन्छु, खुट्टा तान्नेको म पनि खुट्टा तानिदिन्छु अनि खोइरो खन्नेको झन् खोइरो खनिदिन्छु । मलाई यसैमा आनन्द मिल्छ अनि मलाई यही नै औषधि झैँ लाग्छ । म जस्ता र मसँग सहमति राख्नेहरू संसारभरि छरिएको देख्दा खुच्चिङ शास्त्रको प्रशंसा नगरी रहन सक्दिन म ।

जय खुच्चिङ शास्त्र !!