काम विशेषले काठमाडौँको लागि हिँडेको थिएँ । सिमरा एयरपोर्टमा अभिन्न मित्र विश्वकरण जैनसित लामो अन्तरालपछि भेट भयो ।

‘हेर्दाहेर्दै हामीहरू बुढो भयौँ हगि ?” हात मिलाउँदै मैले कुरो झिकेँ ।

‘दाइ ! तपाईं बरु बुढो हुनु भयो होला, म त अझै जवान नै छु ।” उनले हिस्स हाँस्दै फर्काइहाले ।

कुरो त उनले ठिक्कै भनेका थिए ।

‘लेट्स सी, बकरे की अम्मा कब तक खैर मनाती है । एनी वे, कुन बुटी खाएर होला, तपाईंको जवानी अझै जसको तस छ ? रहस्य त कमसे कम खोलाइदिनोस् ।’ मेरो ईर्ष्यालु मनको कौतुहलता थामी नसक्नु भएको थियो ।

‘बिहान चार बजे उठ्छु, राति नौ बजेसम्म ओछ्यानमा पसिसकेको हुन्छु । अनि, मर्निङ् वाक, पर्याप्त एक्सरसाइज र सन्तुलित खानपानमा कुनै कम्प्रोमाइज गर्दिनँ । फाल्तुको सङ्गतबाट टाढाटाढा रहन्छु । दैट्स अल !’ उनको वचनमा आत्मसन्तुष्टि थियो ।

मर्निङ् वाकबारे कुरो चुलिँदा थाहा भयो, ‘उनी प्रत्येक बिहानी पैदल यात्राको लागि शिवपुरी जङ्गल पुग्ने गर्छन् ।’ उनले सो स्थानको वातावरण र प्राकृतिक सौन्दर्यबारे वर्णन गर्दा मेरो मनको एकान्त कुनामा समेत खुल्दुली सुरु भयो ।

‘नभए भोलि बिहानको यात्रामा तपाईं पनि सामेल हुनुहोस् यात्राको क्रममा डाँडा उक्लिन र ओर्लिन मोटामोटी तिन घण्टा जति लाग्ने हो ।’ उनले प्रस्ताव राखे ।

‘तर जुत्ता र ड्रेस त मैले मर्निङ् वाकको हिसाबले ल्याएकै छैन ।’ मैले लाचारी पोखेँ ।

‘है दाइ, जे छ, त्यसैमा काम चलाउने नि ।’ उनले यति भनेपछि मैले थप नखरा देखाइन, ‘हुन्छ’ भनिहालेँ ।

अर्को बिहानी म, विश्वकरण जैन र उनको ह्याण्डसम छोरो ईशान शिवपुरी जङ्गलमा स्थित सैनिक क्याम्पको पहिलो प्रवेश ढोका (ढोचे) सम्म गाडीमा गयौं । त्यहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो । निःसन्देह त्यहाँको वातावरण लोमहर्षक थियो । रुखैरुखले ढपक्क ढाकिएको शिवपुरी डाँडामा बाटोभरि अन्य पैदल यात्रीहरूसित भेट भइरह्यो ।

हामी पैदल हिँड्ने ठाउँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रूपमा संरक्षित क्षेत्र भएर होला, ठाउँठाउँमा सुरक्षा जाँच चौकीहरू राखिएका थिए । बाटोभरि प्राकृतिक सौन्दर्यको रसपान गर्दै अगाडि बढ्दै गयौं । आधी बाटो काटिसकेपछि केही बेर एक्सर्साइजको लागि छुट्यायौं । जे होस्,  डाँडा गाउँ पुग्दापुग्दै मोटामोटी नब्बे मिनेट बितिसकेको थियो ।

‘अलि चाँडै फर्किनु पर्नेछ, आजको हिँडाइ यतिसम्म नै राखौं ।” विश्वकरणले घडीतिर हेर्दै भने ।

मुण्टो हल्लाउँदै मैले पनि समर्थन जनाएँ । एक छिन बिट मार्ने नियतले हामीहरू डाँडा गाउँमा अवस्थित ग्रिन वैली रिसोर्टको परिसरमा पस्यौं ।

त्यहाँ जलविद्युतका जनक मानिएका ज्ञानेन्द्रलाल प्रधानसित जम्काभेट भयो । उनी पनि मार्निङ् वाकको क्रममा बिट मार्न बसेका रहेछन् । एकछिन हेलोहाइ भयो, लगत्तै उनका साथ गफसफ सुरु भयो ।

‘अस्ति वीरगन्जका आत्माराम काबराजीलाई भेट्न जाँदा तपाईंको पैतृक गाउँ बन्दीपुर बारे कुरो चलेको थियो ।’ मैले चर्चा झिक्न पाएको थिएन, उनीभित्र नोस्टेलजिया सक्रिय भइहाल्यो, ‘हो नि । कुनै बेला मेरो पुर्खौली गाउँ, बन्दीपुर पश्चिम पहाडका खास गरी तनहुँ, कास्की, लमजुङ गोर्खा र मनाङको प्रमुख सप्लाई हव हुने गर्थ्यो । उति बेला त तिब्बतका व्यापारीहरू समेत चाँदीका सिक्का झोलामा बोकेर हाम्रो गद्दीमा मालसामान किन्न आउँथे । बिजुली आइपुगेको थिएन । पेट्रोमेक्सको सुविधा धनीमानीहरूले मात्र पाएका थिए, सर्वसाधारण त लालटेन र टुकीकै भरमा काम चलाउँथे । त्यस्तो सुविधाधारीमा हाम्रो परिवार पनि थियो । रात परेपछि त्यही पेट्रोमेक्सको भरमा राती हिसाबकिताब मिलाउने, चाँदीका सिक्का गन्ने काम भ्याउँथ्यौँ ।’

मलाई सम्झना भयो, ‘बन्दीपुरले पुरानो मौलिक स्वरूपलाई पर्यटकीय गन्तव्यमा रूपान्तरित गरेको छ । त्यहाँको सांस्कृतिक एवं प्राकृतिक सौन्दर्य र त्यहाँको स्थानीय परिकारहरूको रसास्वादनको लागि पर्यटकहरू पुगिराखेका हुन्छन् ।’

थप खोतल्दै मैले सोधे, ‘अनि बन्दीपुर र वीरगन्जबिच कस्तो खाले साइनो थियो ?’

‘वीरगन्ज त नेपालकै प्रमुख व्यापारिक नाका थियो । बन्दीपुरका साहुहरूको लागि प्रमुख खरिददारी केन्द्र नै वीरगन्ज थियो । वीरगन्जका केडिया, काबरा र चाचानजस्तै हाम्रो गणना पनि बन्दीपुरका जल्दाबल्दा साहुहरूमा हुन्थ्यो । वीरगन्जका अन्य साहुहरूको तुलनामा हाम्रो सर्वाधिक बाक्लो सम्बन्ध केडियाहरुसित रहेको थियो ।’ केही सम्झेजस्तो भङ्गिमा बनाउँदै उनले थपे, ‘उति बेला मेरो उमेर नै कति थियो र ! अरू नाम त मलाई याद भएन, तर केडिया परिवारका विरजुबाबुको अनुहार झलझलती याद छ । उति बेला तोरी आदिको खरिददारी गर्न उनी आफै पनि बन्दीपुर पुगिराख्थे । उनी आएको थाहा पाउने बित्तिकै बन्दीपुरको बजारमा अनाजको भाउ ह्वात्तै बढ्थ्यो । मेरा पिताजी पनि सिजनको बेलामा अनाजहरू किनेर गोदाममा स्टक गर्नु हुन्थे । अनि अफ सिजनमा दाम बढेपछि मात्र बिक्री गर्नु हुन्थे ।’

‘अनि अहिले सम्झिँदा मन रोमाञ्चित हुने उति बेलाका बालसुलभ कर्तुतहरू केही याद छ कि ?’ मैले थप खोतल्न खोजेँ ।

‘हजारौँ संस्मरणहरू छन्, भन्न थालियो भने पुरै दिन यता नै बित्ने छ । तैपनि पहिलो पटक काठमाडौँ पुग्दाको घटना सुनाउँछु है । आफू त लालटिन, टुकी र पेट्रोमेक्सको उज्यालोमा हुर्किएको मान्छे, बल्बबारे सुनेको पनि थिइनँ । पहिलो पटक काठमाडौँ पुग्दा जाबो एउटा स्विच थिच्ने बित्तिकै कोठा उज्यालो हुने टकनिक देखेर म त मन्त्रमुग्ध नै भएको थिएँ । मलाई त त्यो स्वीचसित कुन्नि कस्तो मोहनी लागेको थियो, पहिलो दिन त खानपिनको समेत होस रहेन । उति बेलाको कालो धम्मरधुस स्विच अनअफ गरेर नै पुरा दिन बिताएको थिए ।’ उनको भाव र भङ्गिमा, दुवै रसदार थिए ।  हामी खित्का छाडेर हाँस्न बाध्य भयौँ ।

केही बेरसम्म अचेल चलनचल्तीमा नरहेका पुराना सामग्रीहरूबारे हाम्रो गफ चलिरह्यो ।

‘अनि, पहिलो पटक बम्बई (अहिलेको मुम्बई) पुग्दाको घटना पनि सुनाउँछु है ।’ उनले उत्साहित हुँदै थपे, ‘आफ्नो जीवनको पहिलो टिभी मैले उतै देखेको थिएँ । काठको बाक्साजस्तो टिबीमा उति बेला स्वेतश्याम कार्यक्रमहरू मात्र आउँथे । उताका मान्छेले भने – त्यो काठको बक्सभित्र मान्छेहरू कार्यक्रम सुरु हुनुभन्दा अगावै गएर बसेका हुन्छन्, कार्यक्रम सकिएपछि मात्र बाहिर आउने गर्छन् । म पनि के कम, दिनभरि टिबीअगाडि आँखा गडाएर बसिरहेँ, कुन बेला टिबीभित्रका मान्छे बाहिर आउने होलान् । तर भनिएबमोजिम मान्छे कहिल्यै टिभीबाहिर आएनन् ।’

हाँस्दाहाँस्दै हाम्रो पनि हालत खराब भयो । मैले पनि थपे, ‘अँ, उति बेला मैले सुनेको थिएँ, सिनेमाका हिरोहिरोइनहरू बम्बईमा बस्दा हुन् । अनि वीरगन्जस्थित सिनेमा घरको पर्दासम्म हिरोहिरोइनहरू सुरुङ बाटोबाट आउने जाने गर्छन् । अनि मेरो बालसुलभ मनलाई अचम्म लाग्थ्यो – मान्छे त ठिकै छन्, आउँदा होलान् । गाडी र ठूल्ठूला घरहरू त्यति परबाट कसरी ल्याउँदा होलान् ?’ एक पटक पुनः हाँसोको फोहरा छुट्यो ।

‘अनि तपाईं आफ्नो बाल्यकालमा वीरगन्ज घुम्ने मौका पाउनु भएको थियो कि नाइँ ?’ मैले कौतूहल प्रकट गर्दा उनको आँखामा अनौठो चमक उत्पन्न भयो ।

‘अँ, आँपको कारणले एक पटक वीरगन्ज पुगेको घटना मलाई याद छ । सम्झना भएसम्म म कक्षा आठमा पढ्थेँ । एक दिन आँप खाने बाक्लै इच्छा भयो । वीरगन्जमा आँप जति पनि पाइँदो रहेछ भनेर थाहा भयो । अनि वीरगन्ज पुग्ने हुटहुटी चलिहाल्यो । बन्दीपुरबाट नारायणगढको लागि पैदल नै हिँडे । नारायणगढबाट आफ्नै ट्रकमा वीरगन्ज आइपुगेको थिए वीरगन्जको चिल्लो सडक, झिलिमिली र बडेबडे घरहरू देखेर म त दङ्ग नै परेको थिएँ ।’

‘त्यसो भए तपाईंलाई वीरगन्जको किर्ती टाँकिज पनि याद होला । सिनेमा हलअगाडिको एक खाजा घर याद होला । गहवा माई मन्दिर पनि याद होला । वीरगन्जको रेल पनि … ।”  मैले थप कोट्याउन चाहेँ ।

‘हो ! हो ! याद आयो । नाम चाहिँ याद भएन, तर गहवा माई मन्दिर नजिकै  छाप्रोजस्तो एक सिनेमा हल थियो । मैले त्यो हलमा हिन्दी सिनेमा पनि हेरेको थिएँ । सिनेमा हलअगाडिको खाजा घरमा पनि पसेको थिएँ । त्यहाँको पुरी तरकारी र जेरी याद छ । त्यति मात्र होइन, टाङ्गा (घोडागाडी) चढेर रक्सौल पुगेको पनि याद छ । त्यहाँ पुगेर केही खरिददारी गरेको र फरक फरक स्वादवाला मासु खाएको याद छ । रात परेपछि केडियाको गद्दीमा सुतेको याद छ ।’

यावत गफ गर्दागर्दै समय बितेको थियो ।

‘खैर, जीवन भनेको यादहरूको सँगालो त हो । आजको गफगाफ पनि याद भएर नै हाम्रो मानसपटलमा बाँच्ने हुन्, पछिसम्म । फेरि भेटौँला, यस्तै कुनै स्थानमा । र, पल्टाउँला थप पाना अतीतका ।’ भन्दै हामीहरू गफगाफलाई त्यही विराम दियौं र आआफ्नो फिर्ती बाटोमा लाग्यौं ।

बाटोभरि मनमा आनन्दबख्सीले लेखेको हिन्दी गीतका केही अंशहरू कानमा दोहर्याई तेहर्याई गुञ्जिरहे, ‘ये जीवन दिल जाने, दरिया का है पानी, पानी तो बह जाए, बाकी क्या रह जाए, यादे, यादे, यादे…।”