बा भन्नुहुन्थ्यो, “दुईवटा जुकाहरू बीचको अन्तर नै जुकान्तर हो ।”
बाको भनाइसँग म कहिल्यै सहमत हुन सकिनँ । जुका जति वटा भए पनि चुस्ने रगत नै हो, त्यसमा के को भिन्नता पाउनु भन्दै बाको कुरालाई मैले सधैँ खण्डन नै गर्ने गर्थे । लेकतिर पाइने पनि जुका, घरतिर बस्ने पनि जुका । मौका मिलेमा दुवैले चुस्ने रगत, भिन्नता के छ र ?
मेरो प्रश्नको उत्तरमा बा भन्ने गर्नुहुन्थ्यो, “अहिले तेरो जुकान्तर बुझ्ने बेला भएको छैन । जब थाप्लोमा जिम्मेवारीको बोझ थुप्रिन्छ, तैँले जुकान्तर राम्रै सँग बुझ्ने छस् । आफ्नो शरीरको रगत यी वरिपरि छरिएका जुकाहरूले चुस्न थाले पछि तँलाई पनि पत्तो लाग्नेछ जुकान्तरको परिभाषा ।”
मेरो प्रश्नै प्रश्नले भरिएको आँखालाई बाले राम्रै सँग पढ्नु हुन्थ्यो र मेरो जिज्ञासा मेटाउने खातिर जुकान्तरलाई अझ सरल भाषामा अर्थ्याउन खोज्नुहुन्थ्यो, “एक थरी जुका किरा पठ्याङ्ग्रा जातिका हुन्छन् भने अर्को थरी जुकाहरू तिमी हामी बीचमै बसेका हाम्रो भलो विपरीत सोच्ने अनि त्यसै अनुरूप काम गर्नेहरू हुन्छन् । दुवैले चुस्ने रगत नै भए पनि रगत चुस्ने प्रक्रिया र अवस्थाहरू फरक फरक छन् । यही फरकताको परिभाषा हो जुकान्तर ।”
“डाक्टरको औषधि प्रयोग गरेर यस्ता जुकाहरूलाई सखाप पार्न सकिहालिन्छ नि !”, म तर्क गर्थें ।
तर बा भन्नुहुन्थ्यो, “केही जुकाहरूलाई डाक्टरको औषधिले सखाप पारेता पनि डाक्टर स्वयम् जुका भइदिन पुग्दा प्रलय नै आउने गर्छ । यी तिनै डाक्टरहरू हुन् जसले तिम्रो हाम्रो समाजमा रहेर जुका मार्ने निहुँमा स्वयम् जुका भई हामीलाई बारम्बार चुसिरहेका हुन्छन् । यिनीहरूको रगत चुसाइबाट चाही कसरी बच्नु नि ?” बा मलाई प्रश्न गर्नुहुन्थ्यो वा आफैलाई, म बुझ्दिन थिएँ ।
गरिबीको चपेटामा अलमलिइँदा बालाई हरेक क्षण जुका टोकाइ अनुभव भइरहने कुरा मेरो बाल बुद्धिले बुझ्दैन थियो त्यति बेला । शायद त्यसैले होला उनको ओइलाउँदै गएको मुहार र गलिरहेको शरीर मेरो लागि सिर्फ बुढ्यौलीपन मात्र थियो । उनको मन, मस्तिष्क अनि शरीर भरि जुका टोकाइका दागहरू मेरो आँखाले देख्दैन थियो । त्यस विपरीत म आफै उनलाई टोक्न पुग्थें, आफ्ना असङ्ख्य माग र चाहनाहरूको थुप्रो बोकेर । उता आमाको इच्छाहरूले उनलाई नटोकेको कुनै दिन हुँदैन थियो ।
“गरिबीको दलदलमा भासिन पुग्दा, परिवारका आवश्यकताहरू पनि जुकाहरू झैँ सधैँ टोक्न लम्किरहन्छन् ।” उनी आफ्नो दिक्दारी आफैसँग बडबडाउने गर्थे ।
“लेकमा लाग्ने जुकाले रगत चुस्न अघाए पछि छाडिदिन्छ, तर यस्ता जुकाहरूसँग कसरी छुटकारा पाउने ।” जुकान्तरको उनको त्यो परिभाषा दोहोरिन पुग्थ्यो अक्सर ।
बचपनमा बाको नजिक भएर सिकेको जुकान्तरको परिभाषा अहिले हरेक क्षण हरेक कुनामा व्याप्त देख्दा अचम्म लाग्छ मलाई । आजभोलि म साथीभाइलाई जुकान्तर बताउँछु । एउटा साथी भन्छ, “मलाई त आफ्नै श्रीमती जुका जस्तै लाग्छ, सधैँ टोक्या टोक्यै गर्छे । त्यसैले होला ऊ फुक्या फुक्यै छे अनि म चाहिँ सुक्या सुक्यै छु ।”
अर्को साथी समर्थन जनाउँछ, कारण उसको पनि सुकेको शरीर । कुनाको अन्धकारमा लुकेको अर्को मित्र जुका झार्न डेटोल छर्किनु पर्ने सुझाव दिन पुग्छन्, अवस्था र कुरा नबुझी । अनि अन्य साथीहरू उसैलाई सही थाप्दै आ-आफ्ना श्रीमती माथि के के छर्किनु पर्ने हो भन्दै कानेखुसीमा व्यस्त हुन पुग्छन् ।
जुका झार्ने औषधि आफ्नै श्रीमती माथि प्रयोग गर्ने कानेखुसीमा म सरिक हुन सक्दिन, शायद त्यहाँ पनि जुकान्तरकै कारण होला । एक थरी साथीहरू श्रीमती हुनुअघि र श्रीमती बनिसकेपछि आउने परिवर्तनमा जुकान्तरको परिभाषालाई लगेर जोडिदिन्छन् । दश पाँचको जागिर खाँदा खाँदा शिथिल बनिसकेका मेरा कैयौँ साथीहरू आफ्नो हाकिम साहेबहरूलाई नै जुकाको दर्जामा राखी दिन्छन् र भन्छन्, “हाम्रो रगत मात्र चुसेर नपुगेर यी हाकिमे जुकाहरूले त अफिसका कुर्सी फर्निचरदेखि लिएर बैङ्क खाता लगायत सबै सम्पत्ति चुसेर स्वाहा पारिसके । यस्ता हाकिमे जुकाहरूलाई रगत चुस्न सिकाउने यिनका श्रीमतीहरू माथि चाहिँ के के छर्किनु पर्ने हो ?”
“बाहिरी जुका झार्न त डेटोल छर्किने, तर शरीर भित्रै पसेर पेट र मस्तिष्कसम्म खलबल्याउने जुकाहरूलाई त औषधि खुवाएरै मार्नुपर्छ नत्र यिनीहरूले आफूलाई नै मारिदिन्छन् ।”, केही साथीहरूको तर्क पनि सुन्न लायककै हुन्छ । कहाँको जुका मार्नु, कति वटा मार्नु अनि कहिले कहिले मार्नु, म रनभुल्लमा पर्छु । जताततै छरिएका जुकाहरू देख्दा मेरो अन्यौलता स्वाभाविक बनिदिन पुग्छ ।
मेरो अन्यौलता चिर्न जुकान्तरको बारेमा लेखिएका किताबहरूले मद्दत गर्छन् । आकार, प्रकार, स्वभाव अनि व्यवहारमा फरक फरक हुने यी जुकाहरू टोकाइका आधारमा वर्गीकरण गर्न मिल्ने व्याख्या तिनै किताबहरूमा पढ्न पाइन्छ । किताबमा लेखिएका महारथीका लेखहरू पढ्दा जुकान्तर, जुकाहरूका प्रकारले गर्दा पनि परिभाषित गर्न मिल्ने रहेछ । साना जुका र ठुला जुका, नजिकैका जुका र टाढाका जुका, भोका जुका र अघाएका जुका, घर भित्रका जुका र घर बाहिरका जुका, शरीर भित्रका जुका र शरीर बाहिरका जुका, अनि स्वदेशी जुका र विदेशी जुका सबै जुकान्तर परिभाषित गर्न महत्त्वपूर्ण साबित भएका छन् ।
कुनै जुका रगत चुस्छन्, कुनै जुका नगद चुस्छन् । कुनै जुका लेकमा बस्छन्, कुनै जुका महलमा बस्छन् । परजीवी भइकन पनि आलिसान महल ठड्याउन सक्ने यी जुकाहरूको विस्तृत वर्णन गर्न महारथीहरूलाई पनि धौ धौ पर्ने कुराको यथार्थ उनकै किताबहरूबाट छर्लङ्गिन्छ । यी किताबहरू पढ्दा लेखक स्वयम् नै पटक पटक जुका बनेको भान हुन्छ ।
कुनै बेला पत्रकार लेखकको नाममा अरूलाई चुसेर अनि कहिले आफै चुसिएर । जुकान्तरको परिभाषा समय र स्थान अनुसार फेरिएको महसुस गराउँछ यी किताबहरूले । जुकान्तरमा राजनैतिक पार्टी र त्यसका सदस्यहरू पनि समावेश गरिएका छन् किताबका पन्नाहरूमा । एउटा पार्टीको सत्ता रजाइँमा अर्को पार्टी भुटभुटिनु र सानो सानो कुरामा तँछाडमछाड गर्दै पाएसम्म चुस्नु जुकान्तरकै राजनैतिक परिभाषा भएको बयान गरिएको यो किताबहरूले राजनैतिक खिचातानी जुकान्तर विकासको मुख्य कडी भएको निष्कर्ष निकालेको छ ।
साम्यवादको नारामा समाजवादको बिगुल फुक्दै भूमिगत युद्ध गर्दा होस् वा युद्ध पश्चातको दिनहरूमा राजधानीको पाँच तारे होटेलमा चौरासी व्यञ्जनको स्वाद चाख्दा होस्, जुकान्तरले दिलाएको पटक पटकको फाइदालाई किताबहरूमा विस्तार पूर्वक वर्णन गरिएको छ । यी किताबहरूमा जुकान्तरको परिभाषामा मात्र गन्थन नभएर जुका बन्ने तरिका, टोक्ने तरिका, चुस्ने तरिका सबैमा विस्तृत रूपमा व्याख्या गरिएको छ । कस्तो जुका बन्दा धेरै टोक्न मिल्छ र कस्तो जुका बन्दा थोरै समयमै धेरै मोटाएर महल प्रवेश गर्न मिल्छ भन्ने बारेमा पनि वर्णन भएको छ ।
किताब पढिसकेपछि जो कसैले पनि जुकान्तरलाई राम्ररी बुझ्न सक्छ । अनि स्वयम् जुका बनेर अरूलाई टोक्दै, चुस्दै जुकान्तरको विकासमा महत्त्वपूर्ण देन दिन सक्छ । त्यसैले तपाईं हामी सबैले यस्ता किताबहरू सङ्कलन गरेर यसको अध्ययन गर्न आवश्यक छ ।
अझ म त प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्म जुकान्तरलाई अनिवार्य रूपमा पाठ्यक्रममा समावेश गरिनुपर्ने ठान्दछु । त्यसो भएपछि हामी सबैलाई जुका बन्न गाह्रो हुँदैन, अनि हामी पनि टोक्न र चुस्नमा माहिर हुनेछौं । जुकान्तरको महत्त्व युगौंसम्म चलिरहनेछ उस्तैगरी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।