चाडपर्व मनाउनुका वास्तविक कारण हुन वा नहुन सक्छन् तर तिनका पछि कुनै न कुनै पुराकथा वा किंवदन्ती जोडिन्छन् । लामो समयमा यी हाम्रा सामाजिक सांस्कृतिक धरोहर र सम्पदाका रूपमा मानव जीवनसँग अन्तर्निहित हुन्छन् । चाडपर्व खुसी, मनोरञ्जन, पारिवारिक मिलन, प्रेम र शान्तिका कारक हुन् । निधारमा सप्तरङ्गी टीकाको इन्द्रेनी सजाएर मनमा शारदी खुसी समेट्ने तिहार पनि नेपाली मनको अन्तरङ्ग सन्तुष्टि हो ।

हामी कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक वा तिहार पर्वका रूपमा मनाउँछौँ । यमपञ्चकका पाँच दिन यमराजले आफ्नी बहिनी यमुनाको घरमा बास गरेको तथा राजा बलिले आफ्नो शिरसमेत दान गरी दानशीलताको उत्कृष्ट दृष्टान्त प्रदर्शन गरेकाले पाँच दिन इन्द्रलगायत दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाडेको भन्ने किंवदन्ती छ । यमराजले यमुनाका घरमा आतिथ्य ग्रहण गरेको, धन्वन्तरिको जन्म भएको जस्ता पुराकथा जोडिएको यो पर्व आरोग्य र दीर्घजीवनको कामनासँग सम्बन्धित छ । यमराज र यमुनाको कथा सहोदरबिचको गाढा प्रेम, धन्वन्तरिको कथा आरोग्य र बलिको कथा दानशीलता तथा मनोरञ्जनसँग सम्बन्धित छ । यो समय व्यवस्थापन, फुर्सदको सदुपयोग र तनाव विसर्जनको प्रतीक पनि बनेको छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु, गोवर्धन, हली र भाइको पूजा गरिने, बत्ती र फूलले घर सजाउने र देउसीभैलो खेल्ने यो पर्व सबै उमेर समूहका लागि विशेष हुने गर्छ ।

पुराण भन्छ: सूर्यका छोरा यमराजले बहिनी यमुनाको निम्तो स्वीकार गरी यमपञ्चकका बेला बहिनीका घरमा गई प्रेम र आत्मीयता प्रकट गरेका थिए । सृष्टिको नियमितताका लागि मृत्युको व्यवस्थापन गर्ने उनले बहिनीलाई मागेको कुरा दिन्छु भन्दा यमुनाले भनिछन्: तपाईँ हरेक वर्ष आजकै दिन आफ्नो कामबाट बिदा लिएर मलाई भेट्न मेरो घरमा आउनुहोस् । सबैका दिदीभाइ, दाजुबहिनीको प्रेम अटल रहोस् । चेलीबेटीका माइती दाजुभाइको आयु र कीर्ति बढोस् । यमराजले पनि मन, वचन, कर्म र शुद्धचित्तले सबैको भलो चिताउने बहिनीको मङ्गलकामनाको आशीर्वाद दिएछन् । यही दिनदेखि तिहारले दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मान्यता पाएछ । मेरो विचारमा आजको रमझमसहितको तिहार वास्तवमा परिवारका सदस्यको खुसी र मिलनको चाड रहेछ । संस्कृतिलाई व्यवहारमा बदल्ने मानव अधिकार र कर्तव्य सिकाउने शास्त्र रहेछ ।

तिहार कृषकले अन्नरूपी सम्पत्ति घरमा भित्र्याउने स्वर्णिम शरद्मा पर्छ  र यसले खुसी र उमङ्गको उज्यालो भित्र्याउँछ । म तिहार पर्वको सांस्कृतिक र सामाजिक मात्र होइन वैज्ञानिक महत्त्व पनि देख्छु । यस पर्वमा हामी कागको पूजा गर्छौँ र खानेकुरा दिन्छौँ । काग जस्ता चरा वातावरण सन्तुलनका आधार वा प्रतीक हुन् । काग चतुर, सर्वभक्षी, अन्वेषक र न्यायी पन्छी हो । बालीनालीमा लाग्ने किरा खाइदिएर कागजस्ता चराले कृषकलाई जैविक उत्पादनमा सहयोग गरी स्वास्थ्यवर्धन गर्छन् । कागको पूजा चराप्रेम र तिनको वासस्थान रक्षा तथा पारिस्थितिक सन्तुलनको दिगो अवधारणा हो । कुकुर अपराधी पत्ता लगाउने, अध्ययन अनुसन्धानमा सहयोग गर्ने, घरको रेखदेख गर्ने चोरडाँकाबाट बचाउने,  प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिने आज्ञापालक पशु हो ।

मानिसलाई सुरक्षा र संरक्षण दिने  स्वामीभक्त प्राणी कुकुरको पूजा सहअस्तित्व र इमानदारीको कदर हो । गाईले दूध, मलमूत्र तथा हलो र गाडा तान्ने गोरु दिएर हाम्रो जीवन सहज बनाउँछ । गाईतिहारमा हामी जीवनोपयोगी शिल्पको सम्मान गछौँ । गाईको गोबरले घरआँगन लिपपोत गरेर घर पवित्र तुल्याउने तथा अन्धकार रातलाई उज्यालो प्रकाशले झिलिमिली पारी गरिने ऐश्वर्यको प्रतीक लक्ष्मीपूजाले अज्ञानलाई चेतनाले हटाउनुपर्ने सन्देश दिन्छ । गोबर र माटाका दियो तथा केराका दाप्चामा बालिने सिरुका बात्ती प्राकृतिक हुन् । यसमा तमसोमा ज्योतिर्गमयको सन्देश छ । आफ्नो परिवेश र प्राप्तिमा रमाउने दीक्षा छ । सुखरात्रिका रूपमा भैलो खेलेर समृद्धि कामना गर्ने सन्तुष्टि छ । जसले दिन्छ मानो उसको सुनको छानो भन्दै भैलिनीले दिने आशिष्‌मा थोरै दान दिन सक्नेलाई ठुलो आशिष् दिने समता र समाजवादी सन्तुलन छ । पुरातन पर्वभित्र आधुनिक सोच लुकेको छ ।

पहाडपर्वतको हरियालीले अक्सिजन दिएर प्राणीको प्राण रक्षा गर्छ । हामी प्रकृति संरक्षणका लागि पूजा गछौँ । खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गरी प्रकृतिको सम्मान गछौँ । गाई, गोरु र गोवर्धनको पूजा सहअस्तित्व र दीर्घ जीवनप्रतिको इमानदारीको पूजा हो । यक्षिणीका रूपमा होस् या  लक्ष्मीका रूपमा होस्, लक्ष्मीको पूजा धनसम्पदा प्राप्तिको कामनाका लागि गरिन्छ । स्वस्थ र निरोगी शरीर तथा शुद्ध र पवित्र मन धन कमाउने आधार हो । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्नु मानिसले मानिसको सम्मान गर्नु मात्र नभई निरोगिता र पवित्रताको सन्देश पनि हो । तिहार बिग्रेको मन सुधार्ने र भत्केको सम्बन्धमा लेप लाउने पर्व पनि हो ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्दै मृत्युदेव यमराजको आह्वान गरिन्छ र मङ्गलको कामना गर्दै ढोकामा ओखर र यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, कहिल्यै नओइलाउने मखमली फूलको माला, सधैँ हरियो रहिरहने दुबो तथा कहिल्यै रङ उडेर नजाने सयपत्रीको माला, सेल रोटी र मिठामिठा परिकार चाहिन्छ । दिदीबहिनीले  पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेकेपछि फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरिन्छ र  दाजुभाइको शिरमा तेल लगाइन्छ । सगुनका रूपमा दही खुवाउने पनि चलन छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा पहेँलो, निलो, सुन्तला, सेतो, हरियो, रातो र कालो गरी सात रङको टीका लगाइदिइन्छ । सप्तरङ्गी टीका शान्ति, गाढा प्रेम र निरोगको प्रतीक हो । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । यो आनन्दानुभूतिको प्रतीक हो ।

बाहिरी रूपमा हेर्दा तिहार एक सांस्कृतिक पर्व हो तर यसभित्र अनेकौँ सकारात्मक पक्ष रहेका छन् । आधुनिक दृष्टिमा यसले प्राङ्गारिक, जैविक र प्राकृतिक उत्पादनका साधनको सुरक्षा र समानुपातिक प्रयोगलाई सङ्केत गर्छ । पशु र मानवबिचको पुरातन सम्बन्धलाई सम्मान गर्दै पशुपालनको समृद्धिलाई सङ्केत गर्छ । ऐश्वर्यका नाममा सम्पत्तिको पूजाआजा गर्दै स्वच्छ कमाइ, मिहिनेत, समृद्धि, स्वास्थ्य र आयआर्जनका स्रोतको सदुपयोग र सुरक्षा सञ्चेतना सिकाउँछ । समाज सुधारको कारक शिक्षाको महत्त्व बोध गराउँछ । प्रकृतिको पूजा गर्दै वातावरण रक्षाको सन्देश दिन्छ । किसानको सहयोगी गोरु र खेतबारीमा काम गर्ने हलीको पूजा तथा श्रद्धा गरेर श्रमको सम्मान गर्न तथा माटो चिन्न सिकाउँछ ।

दाजुबहिनी र दिदीभाइको आत्मीयतालाई कृषि र उत्पादनसँग जोड्छ । तिहारमा प्रयोग हुने सेल, मिठाई, तरकारी, ओखर, बदाम, कटुस, अमला, बिमिरो, सुन्तला, सुपारी, पान, सतीवयर, सयपत्री, मखमली, दुबो आदि सबै हाम्रा उत्पादन हुन् । इन्द्रेनी रङ बनाउने आधार पनि वनस्पतिका पात, काण्ड जरा र फल हुन् ।

अहिलेको सहरिया सभ्यताले निम्त्याएका भाइमसलाले नेपाली रुपियाँलाई विदेश पठाएको छ तर तिहारको ऐतिहासिकता स्वावलम्बी र निर्यातमुखी छ । यसभित्र आफ्नै खेतबारीको उत्पादनले चाड मनाउन सक्ने समृद्धि छ । यसमा नेपाली श्रम, सिप र उत्पादनको बजारीकरणको अर्थतन्त्र छ । यसले संस्कृतिभित्र संस्कार र मर्यादा सिकाएको छ । स्रोतको सदुपयोग र आर्जन शिल्प सिकाएको छ । बाँच र बचाउको पाठ सिकाएको छ । भ्रातृत्व र ममताको सभ्यता विकास गरेको छ । यसमा भकारीमा अन्न भरेका सम्पन्न मनको दानशीलता र खुसीको भण्डार छ । हाम्रो आफ्नै संवत्को सुरुआत गरी आफैँलाई पुजेर दीर्घ जीवनको कामना गर्ने महानता छ । सभ्यता, संस्कृति, समृद्धि र इतिहासको सङ्गम छ ।

तिहार न्यानो पहार र शारदी बहार हो । संस्कृतिको आड र मानवताको पाठ हो । म सबैको स्मित खुसीभित्र रमाउन चाहन्छु ।