सन्दर्भ बेल्जियमको:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको नवौं अधिवेशन सौरभ कारंजितको कमाण्डमा समिति निर्माण गर्दै केही दिन अगाडी सकियो । यो यात्रामा लागेकाहरू निरन्तर अनेसासको प्रवाहमा समाहित छन् । रुचिमा उतारचढाव आउनेहरू कहिले हाजिर हुन्छन् कहिले गयल । तर यसको गति सदैव समान छ । वि.सं.२०६३सालमा बेल्जियमका केही साहित्यिक मनहरूले स्थापना गरेको यो समाजको उद्देश्य सुरुवात कालमा धेरै थिएन । एउटा परिवार बनाएर आफ्ना भावनाहरू पखाल्ने, मन धुने र प्रेम बाँड्ने ध्येयले अनेसास बेल्जियमको निर्माण गरियो । केन्द्रले नेतृत्वदायी प्रेरणा दिँदै गयो । साहित्यिक कर्मीहरूले बेल्जियममा भएका स्रष्टाहरूलाई संगठित गरेर साहित्यिक गतिविधिलाई निरन्तर अगाडी बढाए । त्यसपछिका दिनहरुमा अनेसास बेल्जियम आफ्नै रफ्तारमा अगाडी बढिरहेको छ ।
मानिसको जीवन जस्तै साहित्यिक अभियान वा जागरणको जीवन पनि सरल रेखाबाट अगाडी बढ्न सक्दैन । बीच बीचमा धेरै खालका उतार चढावहरू आइरहन्छन् । यसले आफ्नो लामो जीवनमा धेरै भोगाइहरू भोगेको हुन्छ । अनेसासको सन्दर्भमा पनि त्यो नियम लागु नहुने कुरै भएन ।
त्यस्तै गरेर सन् २००७ मा स्थापना भएको अनेसास बेल्जियमको जीवनकालमा धेरै साहित्यप्रेमीहरूले नेतृत्व गरिसकेका छन् । स्थापना कालमा साहित्यकार कृष्ण बजगाईले नेतृत्व गर्नु भयो । अनेसास बेल्जियममा संस्थापकहरूमा उपाध्यक्ष बिमल गिरी, महासचिव रमेश कंडेल, सचिव शंकर बजगाईं, कोषाध्यक्ष कुम शाही र सदस्यहरूमा क्रमशः बिनिता रिमाल र खिम गुरुङले आफ्नो नाम साहित्यिक इतिहासमा संस्थापकको रूपमा दर्जा गराइसक्नु भएको छ ।
त्यसपछि २०११ को कार्य समितिमा बिमल गिरी, दिपेन्द्र केशी(२०१४), दिपकज्योती पौडेल(२०१६), राजकुमार पुडासैनी(२०१८), परमानन्द सापकोटा(२०२१), डिल्ली अम्माई(२०२३) र अहिले सौरभ कारंजितले अनेसास बेल्जियमको नेतृत्व गर्दै हुनुहुन्छ । यस संगठनको दोस्रो कार्यकालदेखि शाखामा रहेर काम गर्नु भएका साहित्यकार पंचम अधिकारी, मोहन खत्री, कथाकार जेबी शेर्पा लगायतका अग्रजहरू अहिलेसम्म अनवरत हुनुहुन्छ भने कविहरू क्रमशः ब्रह्म वाग्ले, यामु निरौला, नन्द घले, जमुना बास्तोला, गोपाल दाहाल, माधव सापकोटा, पत्रकार ओम शर्मा लगायत विभिन्न संघ संस्थाहरूले यो संस्थामा पुर्याएको योगदान अतुलनीय रहेको छ ।
अनेसास बेल्जियमले शुरुका केही कार्यकालसम्म विशुद्ध साहित्यिक पत्रिका ‘शब्दान्जली’को प्रकाशनलाई निरन्तरता दिन सक्यो । १७ जना आजीवन सदस्य भएको युरोपकै पुरानो यो साहित्यिक अभियानलाई बेनेलक्सका राजदूतहरूले निरन्तर प्रेरणा र माया दिइरहनु भएको छ ।
यो अविछिन्न यात्रामा यस संगठन भित्रका स्रष्टाहरूले यन्त्रवत्, रोड म्याप लघुकथा, हिउँको तन्ना हाइकु, श्रष्टा र डिजिटल वार्ता(कृष्ण बजगाईं), सम्झनाका तरेलीहरू, उपासना (गीतिसङ्ग्रह), विभाजित मन र सुनाखरी (हाइकु सङ्ग्रह), गोधुली मन, स्पन्दनका छालहरू तथा अजम्बरी मुक्तकसङ्ग्रह(बिमल गिरी), पथिक प्रवाशन उपन्यास(पंचम अधिकारी), समुन्द्र र सपना कथासङ्ग्रह (सञ्जु बजगाईं), युरोपको बस्तुगत सामान्य ज्ञान(दिपकज्योति पौडेल), सङ्ग्रह छरिएका सौरभ मुक्तकसङ्ग्रह, नर्थ सीको किनारबाट तथा अनुभूतिका अक्षरहरू कवितासङ्ग्रह (दिपेन्द्र केशी), बेसिक नेपाली अङ्ग्रेजी शब्दकोश (कुन्दन केशी), तपाईं युरोपमा गाडी चलाउनु हुन्छ, तपाईं निदरल्याण्ड बोल्न चाहनु हुन्छ ?(पदम गुरुङ), राजकुमार पुडासैनी, जीवनको आरम्भ कविता सङ्ग्रह युरोपको खाना बनाउने विधि सम्बन्धी रेसपी पुस्तक(हरि श्रेष्ठ) लगायत थुप्रै भाषा, संस्कृति र साहित्यसँग सम्बन्धित कृतिहरू दिइसक्नु भएको छ ।
त्यस्तै पङ्क्तिकारले थाहा नपाएका अन्य कृतिहरू पनि हुन सक्छन् । त्यस्तै अनेसास बेल्जियमले आफ्नै संकलन र प्रकाशनमा दुई कविता सङ्ग्रहका पुस्तकहरू समेत प्रकाशित गरिसकेको छ । जसमा नेपाली साहित्य सँगालो,जी वनको आरम्भ, युरोपमा नेपाली कविताहरू (कवितासङ्ग्रह) पर्दछन् ।
यसको अलावा बेल्जियमको सेंत्रुदेंन नगरपालिकाको साहित्यिक एकेडमी, अनेसास बेल्जियम र द हिमालयन सोसाइटीको संयुक्त आयोजनामा संकलित र प्रकाशित ‘फ्रित नेपाल’ नामक नेपाली र डच भाषाको कवितासङ्ग्रह अर्को एक उल्लेख्य कृति हो ।
त्यसै गरी गीतकार यसोदा थापाले पनि गीत रचनाको क्षेत्रमा निरन्तर मेहनत गरिरहनु भएको छ । उहाँका गीतहरूलाई विभिन्न गायकहरूले स्वर दिइसक्नु भएको छ । गीति साहित्यमा यो पनि एक महत्त्वपूर्ण योगदान हो ।
यसले आफ्नो जीवनकालमा साहित्यिक सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन लगायत विभिन्न शैक्षिक कार्यशालाहरू सम्पन्न गरिसकेको छ । अनेसास केन्द्रले आयोजना गरेका केन्द्रीय सम्मेलनहरूमा यसका नेतृत्वहरूले उत्तिकै महत्वका साथ भाग लिने गरेका छन् ।
नेपाली भाषाको सिकाइको सन्दर्भमा पनि अनेसासले अत्यधिक महत्त्व दिँदै आएको छ । यसले स्थानीय सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली भाषा कक्षा २००७ बाटै लुभेन शहरबाट सुरु गरेको थियो भने अन्त्वेर्पेन शहरमा २०१० बाट नेपाली कक्षा संचालनमा विविध प्रकारले प्रेरणा दिइरहेको छ । त्यस्तै बेल्जियमको ओस्टेनडे लगायत नेपाली भाषा स्कुलहरू विभिन्न आरोह अवरोह झेल्दै चलिरहेका छन् ।
मुख्य गरेर साहित्यिक विभूतिहरूको जन्म जयन्तीमा साहित्यिक कार्यक्रमलाई अनेसास बेल्जियमले अटुट रूपले निरन्तरता दिएको छ । त्यसको अलावा लेख रचनाहरूको क्षेत्रमा पनि बेल्जियमका स्रष्टाहरूले उल्लेख्य योगदान दिँदै आउनु भएको छ । अनेसास बेल्जियमले स्थानीय क्षेत्रमा बौद्धिक क्षेत्रको नेतृत्व गर्दै विभिन्न संघ संस्थाहरूले निकालेका वार्षिक पत्रपत्रिका तथा स्मारिकाहरूमा समेत आफ्ना रचना मार्फत आफ्नो र अनेसासको परिचयलाई अन्तर्राष्ट्रियकरण गर्न योगदान दिइरहेको कुरा अझै महत्त्वपूर्ण मान्न सकिन्छ ।
० ० ० ०
अनेसास केन्द्रसँगको अन्तर सम्बन्धबारे:
गतवर्ष अनेसासले विश्वभरका शाखाहरूको सम्मेलन अमेरिकाको बोष्टनमा गरेको थियो । त्यो सम्मेलनमा विशेष गरी प्रवासमा नेपाली साहित्यको प्रवर्धनबारे मात्र बहस भएन, त्यहाँ नेपाली भाषा सिकाइमा प्रवासका अनुभवहरूको समेत संश्लेषण गर्दै आगामी कार्य नीति र रणनीति बनाउने काम गर्यो । पुराना गल्ती र कमजोरीको समेत समीक्षा गर्दै भाषा सिकाइलाई समुदायको कर्तव्यसँग जोड्न पहल गर्ने नीति बनायो । समग्रमा भन्नु पर्दा, भाषासँग अभिन्न रूपले जोडिएको हुनाले अनेसासको बोष्टन घोषणामा साहित्य र भाषालाई हाड मासुको जत्तिकै महत्त्व दिँदै आएको कुरालाई संश्लेषण गरेको हो ।
हामीले बेल्जियम सँगसँगै युरोपको सन्दर्भमा पनि बोष्टनको घोषणाको दीर्घकालिक मर्मलाई आत्मसात् गर्ने भग्मजदुर प्रयत्न गरिरहेका छौँ । यसलाई सम्पूर्ण नेपाली डायस्पोराले आत्मसात् गर्न सके प्रवासबाट हाम्रो भाषा कहिल्यै हराउने छैन । त्यसैले हाम्रो जागरण भाषा र साहित्यको लागि सँगसँगै हुनु पर्छ । एक बिना अर्काको अस्तित्व असम्भव छ ।
अभियानले भाषा र साहित्यको महत्वलाई ताजगी र जीवन्तता प्रदान गरिरहन्छ । त्यसैले अनेसासका संस्थापक तथा अग्रज होमनाथ सुबेदीले भन्ने गर्नु हुन्थ्यो, ‘साहित्यिक अभियान नदी झैँ मन्द आवाजमा अघि बढाइरहनु पर्दछ । साहित्यलाई भाषासँग नजोडी साहित्यले मात्र गति लिने सक्दैन, भाषा मेटिए पछि साहित्यको मधु रसमा निर्लिप्त हुने पाठकहरू रहँदैनन् । एक बिना अर्काको अस्तित्व असम्भव छ ।’
संस्थापकले भनेझैँ नेपाली भाषाको यही महत्वबोधलाई मनन गरेर त्यसपछिका नेतृत्वहरूले यो संस्थालाई नेपाली भाषा साहित्यको ग्लोबल सञ्जाल बनाउँदै लग्नु भयो । अहिले यसले संसारभरिका नेपाली डायस्पोरालाई नेपाली भाषा र साहित्यको महत्वबारे जागरूक गराइरहेको छ ।
पदम सुबेदीको कालदेखि क्रमशः किरण ढुंगाना, अच्युत श्रेष्ठ, बसन्त श्रेष्ठ, सरला श्रेष्ठ, भिम प्रसाद रेग्मी, पुरुषोत्तम सुबेदी, डा.दुबसु क्षेत्री, मोहन सिटौला, डा.कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम बिश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश माइला र गोभर्दन पुजासम्मको कार्यकालमा अनेसासको साखा बिस्तारको काम मात्र भएको छैन, यसले आफ्नो दीर्घकालीन बाटोलाई पनि क्रमशः निखार्दै र अझ प्रस्ट पार्दै लागेको छ ।
कसै कसैलाई लाग्दो हो भाषा साहित्यको अभियानको गति सुस्त भो, कमजोर भो, जागरणले समुदायमा पार्ने प्रभाव नगण्य देखियो । अभियानको क्रममा त्यस्तो लागेको हुन सक्छ तर भाषा साहित्यको जागरणले झट्ट परिणाम दिन्छ, तुरुन्तै यसको प्रभावले गुणात्मक फड्को मार्छ र जागरणको असरले व्यापक रूपमा हल्लाउनु पर्छ भनेर सोच्नु अति हुन सक्छ । हामीले बुझ्नु बुझाउनु पर्छ कि प्रवासमा साहित्यिक र भाषिक जागरण एक दीर्घकालिक अभियान हो । यसको परिणाम आजको भोलि देखिने खालको हुँदैन ।
त्यसैले बोष्टन घोषणाले भाषा र साहित्यको सम्बन्धलाई समान महत्त्व दिँदै आफ्नो रणनीतिमा संगठन बिस्तारलाई मात्र महत्त्व नदिएर भाषा बचाउने जागरण बिना नेपाली डायस्पोरामा लेखिने साहित्यको महत्त्व कमजोर हुने निष्कर्ष निकालेको हो । त्यो घोषणाले समुदाय र भाषा, नेपाली साहित्य र पाठक, साहित्यको संवृद्धि र बौद्धिक प्रेरणा तथा साहित्यको अन्तर्राष्ट्रियकरणको मुद्दालाई रणनैतिक सारको रूपमा लिने बाटो तय गरेको हो ।
अर्को तर्फ, बोष्टन घोषणाले तात्कालिक कार्यनीतिको रूपमा संगठन वा शाखाको बिस्तार,प्रभावकारी कार्यक्रमहरूको व्यापकता, जनसमुदायको बीच अनेसासका गतिविधिहरूको प्रचार र नेपाली भाषाको पठन पाठनलाई एक परिवार एक पाठशालाको रूपमा लैजाने प्रतिबद्धता जाहेर गरेको छ । त्यस्तै अनुशासन र पारदर्शितालाई अनेसासले सर्वश्रेष्ठ मानक बनाउने कुरा पनि घोषणामा सुस्पष्ट रूपले उल्लेख छ ।
० ० ० ०
प्रवासी साहित्यको बुझाइ वा सार :
साहित्य कुनै सूत्रमा लेखिने तथ्यपरक विवरण नभएर मनोचैतन्य रुझान सहितको भावना हो । तर यसमा सामाजिक परिवेश, वस्तुस्थिति, चेतनाको स्तर र सांस्कृतिक आरोह अवरोहहरूको अद्वितीय छाप हुन्छ । साहित्यमा व्यक्त बहाव तथा अन्तरदृष्टिहरू निरपेक्ष हुँदैनन्, मनभित्र चलेका तरङ्गलाई एकीकृत गर्दै साहित्यले मनलाई आकर्षित गर्छ, भावहरूको भिन्न भिन्न टुक्राहरूलाई जोड्छ र मनलाई मात्र नभएर समाजलाई समेत परिवर्तनको निकास दिने कोसिस गर्दछ ।
साहित्यमा मानिसको बाह्य जीवनको परिस्थितिले ठुलो प्रभाव पारेको हुन्छ । जसले गर्दा उसको आन्तरिक जीवनको गोरेटो कोरिन्छ र साहित्यकारको भाव जगत् एउटा सिङ्गो सामाजिक मनोआकृतिमा प्रकट हुन्छ । सामान्यतः साहित्य, दुखको परिवेशमा लेखिएको हुन्छ, जुन आन्तरिक मानिस वा बाह्य जगतको किन नहोस्, भौतिक वा अभौतिक किन नहोस् । मनोरमण साहित्यको बोक्रो हो भने दुखबाट मुक्ति साहित्यको अन्तिम सार हो । त्यसैले साहित्यलाई सापेक्ष सार सहित स्विकार्न साहित्य प्रेमीहरू बाध्य हुनु पर्छ ।
माथिको कुरा साहित्यको सरल परिभाषा हो । तर हामी प्रवासी साहित्यको सन्दर्भमा भन्नु पर्दा प्रवासी सिर्जनामा यहाँको कठिन परिवेशलाई अनुकूलतामा बदल्ने र आफ्नो दिनचर्याको प्रभावपूर्ण अवस्थालाई सर्जकले परहेज गर्नै सक्दैन । आफ्नो भूगोलबाट टाढा रहँदा उसको मनलाई सबैभन्दा प्रभाव पार्ने नोस्टाल्जियालाई साहित्यको कन्दरामा लुकाएर राख्नै सक्दैन । भावनाको लामो यात्रामा आफू बसेको देश र आफू हुर्केको परिवेशबीच पुल नबनाई प्रवासी साहित्यको कथा, कविता, निबन्ध वा अन्य विधा गतिहीन हुने हुँदा स्वदेशको साहित्य भन्दा यो फरक बन्दछ । खासमा भन्दा डायास्पोरिक साहित्य बढी भावना प्रधान हुनुमा उसको उपस्थितिको अवस्था जिम्मेवार हुन्छ ।
यसर्थ हामी नेपाली भाषा, संस्कृति र साहित्यका विद्यार्थीहरूले अनेसासको प्लेटफर्ममा जम्मा भएर आफ्ना भावनाहरू पोख्दा कृतिहरूको प्रधान पक्षमा विक्षिप्तता देखिनु सामान्य हो ।
मातृभाषाको जीवन्तताको प्रश्न लामो र युगान्तक हुन्छ । एकाध वर्ष वा दशकको प्रयासले मात्र भाषा मानिसको जनजिब्रोमा रहेर बाँच्न, फल्न र फुल्न सक्दैन । जसरी कुनै एक भाषा जन्मन समुदायको लामो अभ्यास, व्युत्पत्तिको लामो शृङ्खला र अपभ्रंश तथा रूपान्तरणको युगिन बाटो पार गर्नु पर्ने हुन्छ । त्यस्तै यसको निरन्तर जीवन्तताको लागि पनि त्यहीँ बाटो हिँड्नु अनिवार्य छ । त्यसैले प्रवासमा भाषाको जीवन्तताका लागि निरन्तरको प्रयोग, जागरण र प्रेरणा अझै जरुरी देखिन्छ । नत्र प्रवासमा अल्पसङ्ख्यक भाषाहरू हराएर जाने खतरा रहन्छ ।
अन्तमा, अनेसास बेल्जियम मात्र नभएर संसारभरीका शाखाहरूले बोष्टन घोषणालाई संगठनको मार्ग निर्देशक बनाउन आफूले सकेको योगदान गर्नु पर्ने बेला आई नै सकेको छ । नेपाली भाषाको विस्तार र पुस्ता हस्तान्तरणको मुद्दा देशमा भन्दा प्रदेशमा गम्भीर छ । साहित्यको सिर्जनात्मक अभ्यासमा रुचि, ज्ञान, वातावरण र समय अभावका कारण जटिलताहरू धेरै छन् । तर पनि प्रवासका श्रष्टाहरुले अहिलेसम्म हजारौं बौद्धिक साहित्यिक कृतिहरू हाम्रो समुदायलाई प्रदान गरिसक्नु भएको छ । धार र रुचिहरू अनेक छन्, चेतनाका स्तरहरू फरक फरक छन् तर प्रवासी साहित्यको नोस्टाल्जिया र देश छोड्नुको पीडाबोध उस्तै छ । यही नेर प्रवासी हातले लेखेको रचना र नेपालभित्र लेखिएको कृतिबीच अन्तर छ । त्यसको असर नेपालभित्र बसेर पढ्नेलाई भन्दा भोग्नेलाई बढी हुनु स्वाभाविक हो । त्यसैले सिर्जनाको शक्तिलाई आफ्नो महसुस गर्ने मनभित्र पुर्याउन नेपाली पठन पाठनलाई आफ्नो लगायत प्रत्येक प्रवासीको घरभित्र पुर्याऊँ । यही नै यस लेखको प्रमुख सन्देश हुने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।