प्रिय मित्र कुसुमजी,

सुमधुर सम्झना ।

धेरै वर्ष भयो चिनजान भएको सामाजिक सञ्जालमार्फत । बसाइको भूगोल फरक भएकाले भौतिक रूपमा हाम्रो भेट भएकै थिएन । तपाईँ काठमाडौँमा रहेर साहित्य लेखिरहँदा म पनि यहीँ कतै थिएँ । आआफ्नै कामको चटारो, नाम परिचित भएपनि भेट्नु अनि बोल्नु प्राथमिकतामै परेनन् । तपाईँले आफ्नो कर्मभूमि अमेरिका बनाउनुभयो त्यसपछि न हो हाम्रो चिनजान भएको ।

फेसबुकको म्यासेन्जरमा कहिलेकाहीँ कुरा हुन्थ्यो तर तपाईँ अमेरिकामा के गर्नुहुन्छ, नेपालमा घर कता हो ? यी कुरा पनि सोध्न मैले खास जरुरत नै ठानिनँ । आत्मीय नै नभएका मान्छेले मलाई पनि यस्ता व्यक्तिगत कुरा सोधेको मन पर्दैन । तर, यसो चाहिँ भन्थ्यौँ, ‘नेपाल आएपछि कफी खाने ।’

पार्श्वधुन

पार्श्वधुन

तपाईँ अहिले नेपाल आउनुभएको छ तर कफी भेट नै भएको छैन । साहित्यिक साथीहरूको साझा बाचा हुन्छ, भेटेर कफी खाने । मैले चाहिँ पत्याइनँ । हुन त दशैँको चटारोमा तपाईँ नेपाल ओर्लिनुभयो, म पनि आफ्नै काममा व्यस्त भएँ । तर, मेरै स्कुटरमा अभय श्रेष्ठ दाइको घर  गुण्डु भक्तपुर जाँदा एक दुई जना साथीभाइको कुरा त काट्न भ्याइयो । कफी नै पिएर बसेका थियौँ भने पनि त्यस्तै कुरा त हुन्थे नि, ‘फलानाले र ढिस्कानाले त बबाल लेख्छन् यार, त्यसले त पात पनि भुलेत्राकै पात लेख्छ यार …।’

अभय श्रेष्ठ दाइको घरमा खाएको अम्बा र आलुको अचार जिब्रैमा झुण्डिने थियो बाई ।

तपाईँले मलाई राम्ररी चिन्नुको एउटा माध्यम भनेको अन्नपूर्ण पोस्टमा छापिएको  कथाकार भानु बोखिमको कथासङ्ग्रह ‘रूमानी साँझ’को मेरो समीक्षाले पनि हो । त्यसपछि हो मैले तपाईँलाई यो कृष्ण कुसुम त इन्जिनियर रहेछ भनेर चिनेको ।

कथा, कविता अनि उपन्यासका बारेमा थुप्रै कुरा हुन थाले हाम्रा । तपाईँको एउटा कथा पढिसकेर मैले तपाईँ त फलाना पार्टीमा आस्था राख्ने मान्छे हो  भनेर मैले सोधेको थिएँ । त्यतिबेला तपाईँले हो भन्नुभएको बिर्सिनु भयो कि ? अनि बारम्बार किताब निकाल्नुहोस् भनेर झकझकाइरहन्थेँ । लागेको कुरा प्रस्टै भन्थेँ । रिसाउनुहुन्थ्यो ।

तपाईँका धेरै कथा पहिला नै पढेको छु । कथा कस्ता लेख्नुहुन्छ भन्ने मलाई बोध छ । मैले हेर्दाहेर्दै गणेश घिमिरे र तपाईँको सम्पादनमा ‘परदेशका कथा’ प्रकाशित गर्नुभयो । त्यस्तै ‘आँगन छोडेपछि’ संस्मरणात्मक कृतिको पनि सम्पादक भएर काम गर्नुभयो । गजलसङ्ग्रह ‘अमृतको प्याला’ त धेरै वर्ष अगाडि आइसकेको हो ।

अरूले यस्तो लेखे, उस्तो लेखे भन्न सजिलो छ तर लेख्न साँच्चै सजिलो छैन । तपाईँको कथासङ्ग्रह ‘पार्श्वधुन’ बजारमा गइसकेपछि त्यो समाजको बन्छ, लेखकको निजी मात्रै हुँदैन । कृतिका शक्ति सीमा दुवै हुन्छन्, छाती सानो नगर्नू ।

आजबाट बजारमा हिँड्ने ‘पार्श्वधुन’लाई मेरो शुभकामना अनि तपाईँलाई पनि ।