म कपाल फुलेर सेतै भएको छु । फुल्नु आफैमा नराम्रो होइन यदि फलफूल हुँदो हो त । फुल्नु भनेको समय सङ्केत हो- चाहे त्यो फलफूल होस वा कपाल ।
कपाल अर्थात् रौँ । रौँ अर्थात् स्तनधारी हुनुको एउटा लक्षण । हामी मानिस पनि स्तनपायी भएरै होला टाउकोभरि रौँ अर्थात् कपाल भएको मन पराउँछौँ । तर आधुनिकताले कति छोपेको छ भने टाउको बाहेक शरीरको अन्य भागमा रौँ नहोस् भन्छ मान्छे । नपत्याए कतिपय बलिबुड अभिनेताहरूको सन्१९९० तिरको र हालको तस्वीर गुगल गरेर हेर्नुहोस् त । त्यति गर्दा पनि चित्त नबुझे ब्युटी पार्लरमा गएर वाक्सीङ गरी माग्नुस् थाह भइहाल्छ । तर जे भए नि टाउकोभरि कालो कपाल चाहन्छ मान्छे ।
कपाल स्वभावैले कालो र बाक्लो भएको राम्रो । तर आफ्नो कपाल त न कालो छ न त बाक्लो नै । मेरो कपालको कुरा गर्दा- अगाडि निधारबाट खुइलिँदै गएको सत्य छोप्न टाउको बीचको कपाल लामो बनाएर अगाडी सर्लक्क झार्ने गर्छु । किनभने कपाल सौन्दर्यको प्रतीक पनि हो । एक पटक मेरो एक सहकर्मी भाइले मलाई हेरेर भने, ” दाजु तपाई त साह्रै भाग्यमानी हुनुहुन्छ हौ ।”
“कसरी पो भाइ”
“निधार नै आठ रोपनी जति छ।”
म मख्ख परेँ । घर आएर ऐनामा निधार हेरेँ – धेरै वर्ष कुदाएको टायर जस्तै र चिल्लो रहेछ । त्यो दिनदेखि ऐना हेर्न मनै लागको छैन । कपाल झर्न थालेपछि के के पो गरिएन रोकथाम गर्न ? अदुवा लाइएन कि ? प्याजको झोलले नुहाइएन कि ? अम्बकको पातदेखि ऐसेलुको जरासम्म, महँगो महँगो जडीबुटी, इन्डियनदेखि चाइनिज औषधि सब लाइयो तर कपाल झर्ने क्रम हिउँदको पात जस्तै भो ।
यो त भयो मेरो कुरा । कपाल चिल्लो हुने कुरामा कसैको चाहिँ तालु पछाडिबाट चिल्लो हुन्छ पूर्णिमाको जून जस्तै । उनीहरूको पीडा पनि मेरो भन्दा कम छैन शायद । र यही पीडा बीच हामी सैलुन पुग्छौं । सैलुनमा विभिन्न स्टाइलका हेयर कटहरूको फोटो हेरी मसिन लगाइमाग्छौँ त्यो पनि जिरोमा । नभएको कपाल पनि काट्नै पर्ने अनि पुरा ज्याला तिर्नु पर्ने पीडा अझ बढी छ । कपाल नभए पनि काट्नै पर्ने चाहिँ किन भन्नु भा होला ? अघि नै भनिसकेँ सबै, कपाल सौन्दर्यको प्रतीक पनि हो ।
मानिस सुन्दर देखिन अनेकन् प्रयास गर्दछ । त्यस मध्ये एउटा प्रयास र प्रयोग कपालमा गर्दछ । विभिन्न थरीका हेयर कटहरू छन् कपालका । बीचमा भाँडो राखेर छेउछाउ चिल्याउने भड्डु कट । सबै चिल्याएर अगाडी ठाडो पार्ने ठाडे कट । कपाल लामो बनाएर बीचबाट सिउँदो हाल्ने तेरे नाम । अचेल त कन्सिरी मास्तिर लाइन हाल्ने लाइन कट । यी सब नाम हाम्रै आर्गानिक नाम हुन् । तर यी सब कटका लागि टाउकोमा कपाल हुनु चाहिँ आवश्यक छ है । खूब ठूलो पल्टेर पुरुष साथीहरूको मात्रै गफ हानेको ? भनी ठान्नु होला ।
होइन महिला साथीहरूको पनि कपालमा उतिकै हेयर स्टाइल र कटहरू छन् -चाउचाउ कट थाइ कट, गरा(स्टेप) कट खोइ के के कट के के कट ? शायद पुरुषकट भन्दा धेरै होला । अचेल त महिला मित्रहरूले कपालमा इस्तिरी गरेर सिधा कपाल बनाउनु हुन्छ बा । सिधालाई गुङ्ग्रुङ्ग बनाउने, टुप्पो सिधा फेद कर्ली, अनेक छन् । पछिलाग्नु नसक्ने गरी छन् । तर यी सब बनाउन कपाल चाहिँ हुनै पर्छ ।
हुन त अहिले नक्कली कपाल नपाइने पनि हैन । कोहीकोही नक्कली कपालकै भरमा हिरो, हिरोइन देखिएका छन् । यति हो सिँगार गर्न जान्नुपर्छ । र सिँगार्नको लागि रुपियाँ हुनुपर्छ । आधुनिकताको माग न हो उपाय धेरै छन् । त्यसमध्ये कपाल प्रत्यारोपण पनि एक हो । यो साधारण शल्यक्रिया भए पनि विभिन्न मापदण्डहरू छन् ।
स्वभावैले कपाल कालो हुन्छ । तर यो सबै जातिको मानिससँग मेल खाँदैन । कतिपय जाति/देशका मानिसहरूको कपाल रातो, फुस्रो, ब्लोन्ड आदि पनि हुने गरेको छ । सोही देखासिकी गरेर होला हामी पनि कपाल रङ्गाउने गरेका छौँ । रातो, फुस्रो अचेल त गुलाबी, हरियो आदि आदि रङ कपालहरू प्रशस्तै देखिन्छ । कपालको रङ जुनसुकै बनाए पनि हाम्रो तिर सेतो कपाल पटक्कै रुचाउँदैनन् मानिसहरू । कपाल फुले पछि मात्रै सेतो हुने गर्दछ । फुल्नु समय सङ्केत हो पहिले नै भनिसकेँ । कपाल फुल्नुले वृद्धावस्थाको सङ्केत गर्ने भएकाले मन नपरेको होला मान्छेलाई सेतो कपाल । मान्छे बुढाे हुन चाहँदैन । मान्छे सधैँ जवान हुन चाहन्छ ।
तर कपाल फुल्नु, कपाल झर्नु र बुढाे हुनु उस्तै हो कुनै पनि मान्छेको वसमा छैन । यसैले कपाल फुल्नु, झर्नु र बुढो हुनु प्राकृतिक भएकोले प्रकृतिविरुद्ध नजाने सुझाव दिँदै म चाहिँ लागे है सैलुनतिर कपाल रङ्गाउन – नीलो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।