हाम्रो प्रथम परिचयको दिन जीवनमा कहिल्यै नबिर्सने गरी महत्त्वपूर्ण छ । त्यो हो ३० जनवरी १९४८ को दिन- महात्मा गान्धीको हत्याकाण्ड भएको दिन । म र मेरा एकजना साथी सागरदत्त कोइराला काशीबाट पटना जान हिँडेका थियौँ हामी दुवैको निम्ति पटना एकदम नौलो थियो । विश्वेश्वरजीको नाउँको एक-दुई परिचय-पत्रको भरमा हामीले दुई बजेको ट्रेन चढेका थियौँ । अभागीहरू !! ट्रेनको झ्यालबाट धानको खेतीतिर हेर्दै विश्वेश्वरको रूपरेखा एवं स्वभावको हामीले जुन कल्पना गरेर समय बिताउने प्रयत्न गरेका थियौँ त्यो सब त पटना जक्सनमा प्लेटफार्ममा ओर्लनासाथ हावा भयो ।

हामी ट्रेनमा छँदै बापूको मृत्युको समाचार प्रसारित भयो र हामीले आफूलाई नयाँ ठाउँको स्टेसनमा कुली, टाँगा, मोटर, रिक्सा, पसल, गाइड प्रत्येक वस्तुरहित निराधार एवं निस्सहाय पायौं । वरिपरिको हरेक मानिसको मनमा दङ्गा फसादको सम्भावना थियो- कारण त्यस बेलासम्म हत्यारो हिन्दू हो अथवा मुसलमान त्यो जानिएको थिएन । कुन मुसिबतमा एउटाले ट्रन्क र अर्कोले गुन्टा बोकेर पटनाको राजपथमा कोजीनूक, व्याङ्करोड खोज्यौं होला- त्यसको कल्पना गर्दा आज पनि रौं ठाडो हुन्छ । कोही कसैसँग बोल्न नचाहने- मानिस- मानिसबीचमा एउटा अदृश्य भय, शङ्का र अविश्वास थियो- शायद त्यस पिचरोडमा टिलपिल गर्ने सडकको बत्ती बाहेक सबैतिर अन्धकार थियो । वातावरणमै त्रास
थियो ।

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरजीको बारेमा हामीले बनाएको कल्पना र उत्साह सब पखालिए- परिश्रमको पसिना र डरको धडकनमा । कोजीनूकमा मृत्युको शान्ति थियो । हामी पुग्यौं । नोकरको हात सामान कोठामा पुऱ्याउन लगाएर हामी सँगैको बङ्गालामा वकील साहेब खोज्न पस्यौं । कुनै अर्कै वकील परिवार रहेछन् । आँखाभरि आँसु सबैका, झोक्रिएका र जिज्ञासारहित । हामीलाई हेरेर पनि कसैले, को, किन, कहाँ ? सोधेन ।

मानौँ हामी त्यस बैठकमा पस्नु अर्थरहित थियो । यस्तो भान भो मानौँ त्यस रेडियोबाहेक अरू सबै चित्र निष्प्राण एवं निर्जीव छन् । नेहरु बोल्न थाले… The light has gone and I find darkness everywhere. त्यसै बेलातिर ढोकामा उभिन आयो, एउटा यस्तो मानिस जसको निम्ति हामीले १७१ माइलको यात्रा गरेको थियौँ । कसलाई थाहा थियो, हामी दुई जनाको निम्ति यस क्षण नेहरुको उल्टो भावना मनमा उदायो … The light has come and I find darkness nowhere. हामीहरूको निम्ति त्यस बेला विश्वेश्वरजी नै त्यस घडीको आशा-बिन्दु हुनुहुन्थ्यो । त्यस दिन एकै घरमा बसे पनि हाम्रो राम्रो बोलचाल भएन । भेट भयो र वहाँले भन्नुभयो- “अब आज के कुरा गर्ने ? भोलि कुरा गरौंला ।”

दुब्लो, अग्लो, गोरो, साँच्चि भनूँ भने प्रथम परिचयमा उनको कुनै यस्तो व्यक्तित्व झल्केन कि हामी प्रभावमा परौं । उनमा मैले एउटा खास कुराको अनुभव गरेको छु कि दु:ख, आपत् अथवा कष्टमा विश्वेश्वरजी आफ्नो अनुहारमा यस्तो एउटा आवरण हालिदिनु हुन्छ कि वास्तविकता बेपत्ता हुन्छ । मेकानिकल मुस्कान तथा लापरबाहीलाई जसले नजिकबाट अध्ययन गरेको छैन, त्यसले सोच्दछ कि उनी कठोर र क्रूर छन् । तर फेरि जसले उनलाई दङ्ग परेर खुला दिलले हाँसेको देखेका छन् उनी जान्दछन् कि विश्वेश्वरमा बाल-चपलता झैँ एउटा नरमिलो कुना पनि छ । आफूलाई खोलेर हाँस्दा उनी दुवै हात अगाडि लगेर फरक्क पल्टाएर, तस्वीरमा अथवा झ्याल बाहिर हेरिरहन्छन्- हाँसुञ्जेल । हाँस्न सकेर फेरि श्रोताको मुखमा उनको नजर फिर्दछ ।

यसरी हाम्रो परिचय भयो । दुई दिन साथ बस्यौं । तेस्रो दिन साथै काशी फर्क्यौं । रेलको डिब्बामा हामीले त्यसबेलाको राजनीतिक परिस्थितिको बारेमा निकै कुरा गर्‍यौं । मलाई थाहा थिएन कि विश्वेश्वरजीलाई जोशमा ल्याउन हुँदो रहेनछ र सकेसम्म छोटकरि कुरा गर्नु पर्दोरहेछ । यसैबीचमा एक चोटि ठूलो-ठूलो स्वरमा हामी बहस गर्दै थियौँ- अकस्मात् उहाँको घाँटी ख्याप्प बस्यो । साथको ह्याण्डबेगबाट गोली र थर्मसबाट एक गिलास पानी लिएर वहाँले त्यो औषधि खानु भयो । अनि मेरो अनुहारमा फैलिएको आश्चर्यलाई सोहर्दै वहाँले भन्नुभयो– “यो क्यान्सर आजकल फेरि बढेको छ । डाक्टरले धेरै नबोल्नु भनेको थियो । माफ गर्नोस् है ।”

त्यस बेला मलाई लाग्यो । त्यही वर्ष जब केही महिनापछि नै मलाई आफ्ना एक जना आत्मीयलाई लिएर बम्बइमा क्यान्सरको औषधि गर्न जानुपर्यो र मैले टाटा मेमोरियल हस्पिटलमा क्यान्सर पीडित रोगीहरू देखें, मेरो माया उनीप्रति झन् बढ्यो । पछि, क्यान्सरबाट मेरै पिताको जब दुःखद मृत्यु भयो- मेरो उनीप्रतिको माया कहिले पनि नटुट्ने गरी स्नेहमा परिणत भयो ।

त्यसपछि समयले हामीलाई कहिले ज्यादै नजिक ल्यायो कहिले टाढा हुत्याइदियो । हुन सक्दछ विश्वेश्वरजीको आँखाले मलाई कलेजको विद्यार्थीबाट सरकारी नोकर अनि पछि एउटा लेखक भइटोपल्दा आश्चर्य मान्यो होला । मैले पनि आश्चर्यसाथ उनीमा धेरै परिवर्तन देखें । म जसरी राजनीतिबाट किनार लागें त्यसरी नै उनी राजनीतिमा हेलिए …।

.. हिजो चाहिँ भेट्न गएँ । यही लेखको सिलसिलामा । राजनीतिक विश्वेश्वरलाई होइन, कथाकार विश्वेश्वरलाई अलि राम्ररी चिन्नु परेको थियो ।
मेरो पहिलो प्रश्न थियो- “तपाईंको साहित्यिक जीवन कहिलेदेखि शुरु हुन्छ ?”

जवाफ दिनुभयो- “सन् २९ देखि ।’

मैले मनमनै गुनेँ – “मेरो दुई वर्षको उमेरदेखि । चौबीस वर्ष भएछ ।”

“चौबीस वर्षको यो लामो अवधिमा तपाईंका कथाका रूप एवं शैली देखेर नेपाली साहित्यमा तपाईंले निकै नै दान पो दिनुपर्ने । खै, उस्तो केही देखिंदैन ।”

“मैले त पहिले हिन्दीमा लेखें । नेपालीमा धेरैपछि लेख्न थालें ।”

मैले सोधें… “मूल प्रेरणा तपाईंले कसका लेखनीबाट पाउनु भयो ? कृपया हिन्दी, अङ्ग्रेजी र नेपाली तीनै दिशातिर प्रकाश डाल्नुहोस् ।”

“अङ्ग्रेजीमा त भिक्टर ह्युगोका उपन्यासबाट । पहिले-पहिले म उनका किताबहरू अति चाख मानेर पढ्दथें । हिन्दीमा भने प्रेमचन्द्रजीबाट । तपाईंलाई शायद थाहा छैन होला प्रेमचन्द्रसँग मेरो व्यक्तिगत परिचय थियो । उनकै भनाइमा मैले आफ्नो जीवनमा सर्वप्रथम कथा लेख्न थालेँ । प्रेमचन्द्रजी तिनताक ‘हंस’का सम्पादक हुनुहुन्थ्यो । मेरो प्राथमिक कथाहरू ‘हंस’मा नै छापिएका थिए । शायद तिनको नाम… घोसला, पथिक इत्यादि थिए । नेपालीमा भने सन् १९३६ तिर श्री सूर्यविक्रमजीको सल्लाहबाट लेख्न थालेँ । त्यस बेला नेपालीको मेरो प्रथम कथा ‘इन्द्रवदन’ छापियो ।”

मैले अर्को प्रश्न गरेँ- “अँ । राजनीतिक जीवनले तपाईंको साहित्यिक जीवनलाई मारेन ? हुन सक्थ्यो कि विश्वेश्वर राजनीतिक नेताभन्दा बढी लेखकका नाउँमा नेपालको गगनमा चम्कन सक्थे । ”

“हुनसक्छ, आफ्नो आफ्नो विचार हो ।”

मैले सोधें, “तपाईंका कथामा जुन मनोवैज्ञानिक भावनाले प्राधान्य पाएका छन्, त्यसलाई केही मानिस फ्रायडको असर भनी ठान्दछन् “कसो ?” र, मैले दृष्टान्तको रूपमा भनें- ‘प्रगति’मा छापिएको देवेन्द्रराजको ‘विश्वेश्वरका कथामा नारीको वासना प्रधान रूप ।”

एउटा मीठो मुस्कान आफ्नो अनुहारमा छरेर वहाँले मतिर हेर्नु भो । अनि थाहा छैन मेरो मुखमा के देख्नुभयो वहाँ दङ्ग परेर हाँस्न थाल्नु भयो । दङ्ग परेर हाँस्दा वहाँ के गर्नुहुन्छ मैले माथि बयान गरिसकेको छु ।

अनि भन्न थाल्नु भयो- “मेरो कथाबाट अरूले जे माने लगाउन्, त्यो त उनीहरूको आफ्नो दृष्टिकोण हो, तर मैले जैले पनि आफ्ना कथाबाट सामाजिक कुनै एक बिन्दुलाई लिएर त्यसमा आफ्नो दृष्टिकोण राख्न चाहेको छु । तपाईंले मेरो कथा ‘सखी’ पढ्नु भयो ?”

मैले भनें- “पढ्न त पढें तर तपाईंको विशेष दृष्टिकोण सुनूँ !”

“सखी’को कथामा एक सुखी नवयुवक दम्पतीको चित्रण गरेको छु । उनीहरूलाई केही कुराको कमी छैन । जीवनक्रम स्थापित भइसकेको छ, त्यसमा कुनै हलचल, कुनै बाहिरी शक्तिको प्रवेश छैन । त्यस्तैमा एउटा मित्रले त्यस शान्त वातावरणमा प्रवेश गरेर त्यहाँ खलबली ल्याइदिन्छ । गृहस्थीको हृदयको वेग अर्कैतिर आलोडित हुन्छ । पाहुना चाँडै जान्छ तर आफूपछि एउटा खलबल र हलचल छाडेर ! यस कथाबाट मैले देखाउन चाहेको छु कि आत्मशान्ति तथा तृप्तिको निम्ति बीच-बीचमा एउटा क्रान्ति भैरहनु आवश्यक छ ।”

मैले बीचमा कुरा काटेर भनें, “पखनोस्, मैले यस्तै किसिमको कथा अङ्ग्रेजीमा पनि पढेको छु । तपाईंले मोपासाँको… कथा पढ्नु भएको छ ?”

“भन्नोस् ।” वहाँले भन्नुभयो ।

“धेरै वर्षअगाडि पढेको मोपासाँको त्यस कथाको सार शायद यस प्रकार छ । एउटा प्रेम-विवाह गरेर अधबैंसे भइसकेका दम्पतीले एकदिन पाउँछन् कि उनीहरूको जीवनमा एक किसिमको शिथिलता एउटा जडता आएको छ । पैसा भएकोले दुःखको समेत अनुभव तथा सुखको चाहना रहेन । उमेरमा जुन जोश थियो, उनीहरूको प्रेममा, एउटा रोमान्टिक वातावरण तथा एउटा अपराध गर्न लाग्दाको भय, त्यो पनि छैन । उनीहरू छलफल गरेर यो निर्णयमा पुग्दछन् कि अब आफ्नो प्रेमलाई स्फुरित गर्न बाहिरी शक्तिको मद्दत लिनुपयो । उनीहरू होटेलमा प्रेमी- प्रेमीकाझैँ भेट गर्ने मिलाउँछन् । अनि होटेलको ब्यायले त्यस स्त्रीलाई सोसाइटी गर्ल ठानेर रक्सी तथा खाना ल्याउँदा विचित्र किसिमले अनुहारमा हेरी मुस्काइदिन्छ, उनीहरूको हृदयमा एउटा धड्कन बढ्दछ । वातावरण नै रोमान्टिक भएर आउँछ र उनीहरू आफ्नो जीवनको पन्ध्र वर्षअगाडिको त्यस क्षणलाई सम्झन्छन् जब तिनीहरूको विवाह भएको थिएन तथा उनीहरू यसरी नै होटेलका कोठामा रात बिताउँथे । यस नयाँ परिस्थितिमा उनीहरूलाई आत्मशान्ति तथा तृप्ति हुन्छ । तपाईंको कथा झैँ ।”

वहाँले बीचमै भन्नु भयो- “हुनसक्छ ! हाम्रो यस विचारको सामञ्जस्य झल्कनु असम्भव होइन । मेरो विचार छ एउटा खलबली भइरहनु पर्दछ कि त्यसले एउटा प्रगति ल्याओस् । जस्तै… एउटा साधारण उपमा लिऊँ । सानो बिरुवा रोप्ने बित्तिकै काम खतम हुँदैन । त्यसलाई सपार्न बीच-बीचमा गोड्न पनि पर्दछ । नत्र जुन मलिलो माटोमा त्यो रोपिएको छ त्यो समयको थिचाइमा परेर जम्दै जान्छ ।”

अकस्मात् मैले एउटा चिनियाँ पत्रिकामा विश्वेश्वरको बारेमा लेखिएको एक लाइन झलक्क सम्झें । त्यस लेखमा एउटा पत्रकारले दुई दाजु-भाइको विश्लेषण यस प्रकार गरेको थियो- The difference between B.P. and M.P. is simply this, while the former is revolutionary evolutionist the latter is evolutionary revolutionist. कुरा पल्टाउँदै मैले सोधें- “तर चौबीस वर्षमा बाह्रवटा कथाले त्यो गोडाइ त पूर्ण हुँदैन ?”

विश्वेश्वरजी हाँस्नु भयो- ‘के गरूँ हेर्नोस् न, यो राजनीतिक जीवनले गर्दा अचेल म लेख्नै पाउँदिनँ । यहाँको राजनीति अलि सम्भालियोस् अनि म फेरि कथा लेख्न थाल्ने छु ।”

“तपाईं अब त नेपालीमा नै लेख्नु होला ?” मैले जिज्ञासासाथ सोधें ।

“भन्न सक्दिनँ त्यो भविष्यको कुरा । अँ, तपाईंलाई एउटा कुरा भनिदिहालेँ । मेरो उपयुक्त वातावरण छैन. या वातावरण उपयुक्त म छैन; तर एउटा कुरा मैले निकै नै अनुभव गरेको छु कि म आफूलाई नै समाजको एउटा विचित्र परिस्थितिमा नमिल्दो गरी जडिएको पाइरहेछु । काठमाडौँ अथवा नेपालको समाजमा बस्दा मलाई भारतीय समाज र संस्कृति आफ्नो हो जस्तो लाग्छ । यस्तो भान हुन्छ कि म हिन्दुस्थानमा हुर्कें, बढ़ें, उहाँकै वातावरण मेरा लागि उपयुक्त छ । अनि म जब भारतमा हुन्छु, मलाई लाग्छ यस नौलो देशमा म किन आएँ । यहाँको संस्कृति तथा समाजभन्दा म त निकै भिन्न छु । अनि मलाई नेपालको याद आउँछ । त्यस्तै छ मेरो भाषा, हिन्दीमा लेख्न बस्दा नेपाली शब्दहरू मगजमा जोरसँग घुम्न थाल्दछन्, अनि मेरो लेखन शिथिलिन्छ, अनि जब म नेपालीमा लेख्न थाल्छु, हिन्दीका शब्दहरूले मलाई ज्यादै सताउँछन् । त्यसैले हुनसक्तछ त्यस शिथिलतालाई मार्न म त्यस बेला जुन भाषा मगजमा आउँछ त्यसैलाई माध्यम मान्न सकूँ । अहिले म कसरी भनूँ नेपालीमै लेखुँला अथवा हिन्दीमा !”

मैले सोधें- “तपाईंको यो अनौठो परिस्थिति, (माफ गर्नुहोस् यसको उपयुक्त शब्द मैले पाइनँ, यसलाई कमजोरी भनौं) यो कमजोरीको मूल कारण के हुनसक्छ भन्न सक्नुहुन्छ ?”

“कमजोरी भन्ने र ? खैर…” वहाँ शब्द खोज्न लाग्नु भो क्यार ।

अकस्मात् मेरो मनमा फ्रायडको एक पङ्क्ति बिजुलीझैं चम्क्यो – Our civilization is, generally speaking, founded on the suppression of instincts. यही पङ्क्तिको उदाहरणसाथ मैले सोधें- “तपाईंको पनि यही किसिमको हालत सम्झूँ ?” वहाँले उल्टो मसँग प्रश्न गर्न लाग्नु भो- “तपाईंले फ्रायडका कृतिहरू पढ्नु भएको छ ?”

मैले हाँसेर भनें- “अलि अलि ।” अनि वहाँलाई केही सोध्ने मौका दिनुअगाडि मैले आफैँले प्रश्न गरेँ- ‘फ्रायडको विचार-धारा तपाईंलाई कस्तो लाग्छ ?”

तुरुन्त जवाफ पाएँ- “मलाई त राम्रो लाग्छ ।”

मैले आफ्नो विचार वहाँको अगाडि राख्दै भनें- “अरू सबता ठीक हो, तर फ्रायडले जुन यौनवृत्तिलाई ज्यादै महत्त्व दिएको छ त्यो मलाई चित्त बुझेन । उनको भनाइमा दूधे बच्चाले आमाको स्तनसँग आफ्नो ओठ रगडेर पनि आफ्नो वासनाको तृप्ति गर्दछ । आफ्नो यौन-चेतनालाई मार्ने उसको एक मात्र उपाय नै उसलाई त्यस बेला त्यही स्तन मात्र लब्ध छ । यो कुरा मलाई चित्त बुझ्दैन ।”

“किन ?”

“मेरो रायमा, त्यस उमेरको बालकमा Sex organ नै विकसित भइसकेको हुँदैन । अनि अविकसित अङ्गमा तृप्तिको अनुभव कसरी आउँछ ? हामीले विचार गर्यौं भने मनुष्यका शरीरमा यस्ता धेरै क्रिया छन् जो पहिले हुँदै हुँदैनन् तर उमेर बढ्नासाथ विकसित भएर आउँछन्- जस्तै जुँगा, दाह्री ।”

“हुनसक्छ, डाक्टरी दृष्टिबाट तपाईं कुनै हदसम्म ठीक हुनुहोस् । तर एउटा कुरा नभुल्नोस्, फ्रायडले जब सम्पूर्ण मनोविज्ञानलाई वासनामा केन्द्रीभूत गरेर त्यसैको माध्यमबाट आफ्नो कलम चलाए उनले आफ्नो कुरा प्रमाणित गर्न बालकको त्यस युक्तिलाई पनि छोड्न सकेनन् । उनको दृष्टिकोणबाट उनको कुरा एकदम सत्य छ ।”

म यसको खण्डनमा केही बोल्न चाहिरहेको थिएँ, वहाँले बीचमै मेरो कुरा पन्छाएर भनिहाल्नु भो- “मेरो कुरा नै सुन्नोस् न । कार्ल मार्क्सले जसरी संसारका प्रत्येक वस्तु र क्रियालाई आर्थिक दृष्टिकोणबाट लेखेर उनी आफ्ना भनाइका ढङ्गले सत्य छन्, उसैगरी नै फ्रायडले संसारका प्रत्येक वस्तु र क्रियालाई वासनायुक्त दृष्टिकोण दिए । तपाईंले अहिले जुन टाई बाँध्नु भएको छ यसैलाई लिऊँ । फ्रायडको दृष्टिकोणबाट तपाईंले आफ्नो Sex Pleasure को निम्ति लाउनुभयो । तपाईं चाहनु हुन्थ्यो कि अरू तपाईंतिर आकर्षित हुन् र उनीहरूको आकर्षणबाट तपाईंलाई आनन्द मिलोस् । तृप्तिको उपाय हो यो एउटा । अब यसै चीजलाई मार्क्सको दृष्टिकोणबाट हेरौँ । तपाईं आफ्ना सुटलाई पुग्ने र चाहिने पैसाभन्दा बढी पैसा कमाउनु हुँदोरहेछ र अनि यत्ति दामी टाई तपाईंको घाँटीमा झुन्डिन सक्दोरहेछ । यसबाट यो भन्न सकिन्छ कि तपाईं खान लाउन पुग्ने एउटा कुनै स्तरको आर्थिक परिस्थितिको मान्छे हुनुहुँदो रहेछ । दुवै आफ्ना दृष्टिकोणमा सत्य छन् । तपाईं अस्वीकार गर्न सक्नुहुन्न । अनि म यो पनि मान्दछु कि आज या सधैँ तपाईंले टाई बाँध्नुमा तपाईंको आफ्नो भिन्न दृष्टिकोण होस् ।”

विषयवस्तुभन्दा कति पर हामी बहकिसकेछौं, त्यो मैले त्यस घरी चाल पाएँ जब विश्वेश्वरजीले आफ्नू व्याख्या सिध्याउनु भो र मतिर केही बोलोस् भने झैँ गरी हेरिरहनु भएको ।

घडी हेरें । समय प्रायः समाप्त भैसकेको रहेछ । म हाँसिदिएँ । अनि त्यस वातावरणलाई सेलाउने मौका दिएर एकछिन पछि मैले सोधें, “कुनै दिन उपन्यास लेख्ने विचार छ ?”

“अहँ । समयको बरबादी मात्र हुन्छ- लेख्ने पढ्ने दुवैको । लेखेँ भने म त लघुकथा मात्र लेखुँला ।”

“तपाईंलाई उपन्यास मनै पर्दैन र ? भिक्टर ह्यूगो त शायद उपन्यासकार नै हुन् ।” “त्यस बेला म उपन्यास पढ्थेँ पनि । अनि तपाईंलाई मूल प्रेरणा कसले दियो ? भन्ने प्रश्नको जवाफमा मैले नाउँ लिएको हुँ । फेरि, यो नठान्नुहोस् कि मलाई उपन्यास पटक्कै मन पर्दैन । देशको व्यापक रूपमा, समय, समाज र साहित्यको विश्लेषण गर्दै लेखिएको उपन्यास मलाई मन पर्दछ जस्तै- The Good Earth ”

“नेपालीमा त्यस्ता उपन्यासको कमी नै छ !” मैले भनें ।

“कमी ? छँदै पो छैनन् ।”

मैले उठ्दै भनें- “अच्छा, विश्वेश्वरजी तपाईंका कृति चाँडै फिँजियोस् भन्ने शुभकामना साथ म अब बिदा पो हुन्छु !”

हामी दुवैले हात जोडिदियौँ ।

(शङ्कर लामिछानेकाे ‘बिम्ब-प्रतिबिम्ब’बाट)