क्या दामी !

दामी अर्थोक होइन प्रश्नहरू र प्रश्नका लागि राखिएका पृष्ठभूमिहरू हुन् । कवि तथा निबन्धकार राजु झल्लुप्रसादले काठमाडौंबाट इनबक्समा पठाएका प्रश्नका भाषा थिए ती । कहिले कहिले प्रश्नहरूमा पनि मन लोभिने रहेछन् । कक्षा १ देखि रुखा र विरक्त लाग्दा प्रश्नहरूको सामना गएर आएको म । कति प्रश्नले अत्यास निम्त्याएर असफल बनाइदियो होला । कति प्रश्नले सफल पनि बनाए होलान् । लोकसेवा र अन्तर्वार्ताकाका झटाराहरूले यो दिल धेरै घायल पनि भएको पनि थियो तर आज ती सब प्रश्नका सुइराहरू मेरा लागि भुत्ते भइसके र तिनले चिथोरेका घाउहरू पनि निको भइसकेका छन् । यति बेला इनबक्समा देखेका प्रश्नहरूमा मन लोभियो ।

साउनको २६ दिनको ४ बजेको हुँदो हो म्यासेञ्जरको बक्समा केही सन्देश देखेँ । अनि शब्द निस्कियो प्रश्नका भाषा पनि क्या दामी ! परीक्षामा यस्तै भाषा प्रयोग भइदिए दिल कति चौडा भएर उत्तरको समुद्र खसाइदिन हुन्थ्यो नि । मन तरल भएर उत्तरपुस्तिकामाथि बगिदिन्थें सायद । कहिल्यै फेल भइन्नथ्यो कि ? बिचारका भङ्गालाहरु पाजिन्छन् आफैंमाथि । तर बेकार ।

राजु काठमाडौंमा बस्छ र म बस्छु धादिङ । ऊ मेरो भाइ पुस्ताको औडाहा लेखक हो । धेरै कुरा नढाँटी लेख्छ वा  खोज्छ । खोज्छ  कताकति चिप्लन्छ र धुलो नलागेको बहानाका लागि टकटक्याएर सफा हुन खोज्छ । धेरैले सफा देख्लान् म कतै कतै धुलो देखिहाल्छु र बहाना नगर है तिमी मैलिएकै छौ भन्दिन मन लाग्छ । ऊसँगै हि‌‌डेका अनेक मैला थैलाहरू अगाडि  देखेर उसको अबोध चिप्ल्याइप्रति टिठ लागेर आउँछ अनि प्रेमले अङ्कमाल गर्छु उसलाई होइन उसका सफेद अक्षरहरूलाई अनि मनले नै भनिदिन्छु क्या दामी लेख्छौ यार ?

रातको ९ बजिसकेको छ । मैले राजुलाई आठबजे तिम्रा झटारालाई मट्याङ्ग्राले हानिदिन्छु भनेको थिएँ । आफैं चिप्लिएँ ।

म लेखक होइन वा हुन सकिन । मेरो लेखक मनलाई धेरै ठाउँमा दालभातको विषले डसेको छ । व्यवहारका अनेक उल्झनहरूसँग अलमलिएर  अक्षरहरूसँग अन्याय गरिदिएको छु । कक्षाकोठाका उच्चाटमा मोदनाथ प्रश्रितको महाकाव्य पढाउँदा धरातलकी लेखिकाको आँसुले बाटो छेकेर एक्लै रन्थनिएको छु । म मोदनाथलाई लेखक भनौँ कि अपराधी मेरो पाठ्यक्रम मौन छ । त्यसैले शब्दहरूसँग  सौदाबाजी गरेको छु अनि  मेरा लेखहरू सत्रतिर टालो हालेजस्ता हुन्छन् होला । कसो राजु जी ?

सकेसम्म आफूलाई नढाँटी लेख्नु र मनलाई ढाँटेर लेख्नुमा उस्तै फरक छ जति फरक ऊ त्यो आकाशमा मस्त मुस्कुराइदिने जूनको हाँसो र मेरा यी उत्तरहरूमा छन् जस्तो लाग्छ ।

तैपनि आफूलाई ढाँट्न मन लाग्दैन । ढाँट्ने काम त राजनीतिकर्मीहरूलाई दिऊँ । उनीहरूले सबैका लागि ढाँटिदिन्छन् । सुन्नुहुन्छ ढाँटका फलाकोहरू ?
…बुढीगण्डकी आयोजना यो आर्थिक वर्षमा प्रारम्भ गरिनेछ । यो ढाँट सुन्दै आएका कति वर्ष भयो ?
…शिक्षा ऐन यसै वर्ष जारी गरिनेछ । यो ढाँट बोल्ने शिक्षामन्त्री अशोक राई कतिऔं हुन् ?
…शिक्षा र स्वास्थ्य निःशुल्क गरिनेछ । संविधानबाट यो धारा पारित गर्दा ताली पिट्ने फटाहाहरू कति छन् ?
…केरुङ् काठमाडौँ रेल…बेनी जोमसोम रेल …
…पानी जहाजमा सरर नेपाली झण्डा फहराएर विदेश यात्रा …

कति सुन्नुहुन्छ फट्याँइहरू ?

मर्छ भन्ने जान्दा जान्दै –

…तपाईँलाई ठिक हुन्छ । नआत्तिनुस् भनेर मिठो झुट बोल्ने डाक्टरहरूको सङ्ख्या कति छ ?

… हाँडी जस्तो अनुहारलाई ए मेरी जून भन्ने प्रेमीहरू कति छन् ?

राजु जी यी भ्रमहरुबाट टाढा रहेर सत्य बोल्न मन छ र थाहा छ सत्य तितो हुन्छ त्यो तितो मलाई अमला जस्तै मन पर्छ ।
म्यासेञ्जरमा उत्तरहरू लेखेँ दश बजिसकेको रहेछ र बाहिर हेरें जून बादल भित्रैबाट अलिअलि लजाएर मुस्कुराइरहेको देखेँ ।
कतै कतै लाटाकोसेराहरूले उरालेको उलुलु स्वर पनि सुनिरहेको छु र बीच बीचमा भुकिरहेका गल्लीका कुकुरहरूका एकोहोरो स्वर आइरहेको छ भुक भुक भुक ।

अस्पताल जाने सडकको छेउमै छ घर र आफन्तजन बिमार परेका तथा सुत्केरी व्यथाले आक्रान्तजनको चित्कार पनि देख्नु, सुन्नुको क्षणमा छु ।
बेला बेला मन भागेर चिप्लिन्छ अनि सामसुङ् मोबाइलको स्क्रिनमा आँखा ठोक्किन्छ– देख्छु नक्कली डाक्टर र सक्कली सांसद सुनिल शर्मा पक्राउ ।

लेख्न बसेको छु । कम्प्युटरका किबोर्डमाथि अल्छी औलाहरू जबरजस्त घिस्रिरहेका छन् । कसलाई विषयवस्तु बनाएर लेखौं के लेखौं । कसरी लेखौं ?

..हाम्रा प्रधानमन्त्री प्रचण्डलाई थाहा छ बुढी गण्डकी बनाउनु पर्छ र यो पनि थाहा छ यसमा कमिशनको डल्लै बुत्याउन पाइन्छ । यी परस्पर विरोधी विचारहरूको धुर्त्याइँ हामीले बुझेका पनि छौ हामीले बुझेका थाहा हुँदा हुँदै उनी पटक पटक चिप्लिरहन्छन् र कालो लागेकै अनुहारले बिग्रेको ट्रकको पादजस्तो झुटो बोलिरहन्छन् ।

अशोक राइले पूर्व शिक्षा मन्त्रीले जस्तै शिक्षा ऐन आउँछ भनेर ढाँटे ढाँटेको पनि डेढ वर्ष भयो । हामीलाई थाहा छ शिक्षा ऐन आउँदैन र आए पनि बिचौलिया, निजी विद्यालयको पक्षपोषण र व्यापारीहरूकै हितमा चोबलिएर आउँछ । यो देखेर पनि मैले नदेखेजस्तै क्याबात् भन्नु पर्छ उसकै हातबाट दीक्षान्त प्रमाणपत्र लिनुपर्छ क्या दुर्दशा ? क्या भ्रम छ हामीहरूमा ? सेटिङ् र गेटिङ् पार गरेर राक्षसहरूलाई पुज्नु छ र देवता भन्नै पर्छ ।

चुनावमा नेताहरूले भने नेपाल चाइना रेलवे यातायात  सञ्चालन हुनेछ । नेपाल भारत रेललाइन बिस्तार गरिने छ हामीले पत्याइदिएकै हो त । ताली पिटेकै हो त । युवाहरूलाई निःशुल्क विदेश पठाइदिन्छु । भनेकै हो त, सुनिल शर्माहरूलाई करोडौं लिएर टिकट बिक्री गरिदिएकै हो त, अनि यिनीहरूको झुटलाई सफेद सत्य मानेर हामी औला खिउँज्याल भोट हालिरहन्छौं । खाँणहरू, शर्माहरू, आलमहरू, जन्मइरहन्छौं । कल्पिरहन्छ, अहो ! कति भ्रमहरूको खेती ओढेर बाँच्नु छ हामीलाई । यस्ता झुटहरूको माझमा बसेर सत्य उत्तर लेख भन्छौ यार ! मलाई कम्ता पिडा हुँदैन ।

रातको ११ बजिसकेको छ र चन्द्रमा आधा छापिएको छ । यति बेला उसको अधुरो स्वरुप देखिएको छ तर उज्यालो । प्रस्टै छ । मुस्कान बेहद चहकिलो छ । देशमा अनेक मुद्दाहरू उठिरहेकाछन् । नक्कली भुटानी शरणार्थी प्रकरण त्यही प्रचण्ड आँधीमा छोपिएजस्तै, सुनिल शर्मा प्रकरण, चुनावमा उठेका रेलका किस्साहरू, बुढीगण्डकीका कहानीहरू, लडाकु प्रकरणका कथाहरू, बेला बेला ऊ त्यो बादलभित्रको जूनजस्तै  बेला बेला देखिन्छ र कालो शेरजस्तो बादलले  छोपिन्छ नै । मानौं त्यो बादल ब्ल्याक होल हो जहाँ पुगेपछि हर प्रकरणहरू सामसुम भइदिन्छन् ।

हामीलाई थाहा छ नि हर लहराहरूको फेद हुन्छ र फेद नउखेलेसम्म त्यो पलाइरहन्छ, मुन्टो उठाइरहन्छ । फेद ब्ल्याक होल भित्रै छ । जहाँ पुगेपछि फेरि जन्मनु पर्दैन, त्यहाँ नै लय भइन्छ । कृष्णले भनेका छन् सबै कुरा मलाई समर्पण गर तिमी मुक्त हुनेछौ ।

श्रीकृष्णले अर्जुनलाई गीताको अठारौं अध्यायको ६६ औं श्लोकमा भनेका छन् :

“सर्वधर्मान्परित्यज्य मामेकं शरणम् ब्रज
अहम् त्वाँम सर्वपापेभ्यो मोक्षयिष्यामि मां शुच”

क्या गजब दृष्टान्त !

ल्हारक्यालहरू, सुनिल शर्माहरू, दिनेश अधिकारी चरीहरू, मनाङेहरू तिमी हामीभन्दा बडा दार्शनिक छन् झल्लु, ! बढा ज्ञानी छन् तिनीहरूले गीता त खर्लप्पै खाएका पो रहेछन् त ।

ती सूक्तिमा कृष्णले भनेका रहेछन् सबै कर्तव्य अकर्तव्यको भावबाट मुक्त होऊ, सबै धर्म, कामहरू मलाई समर्पण गर र मेरै शरणमा आऊ , म तिमीलाई मुक्त गरिदिन्छु ।

उहिले एक कृष्ण थिए र पो अर्जुनलाई सजिलो थियो । अहिले तीन तीन कृष्ण छन् । पुष्पकमलकृष्ण, शेरकृष्ण र खडगकृष्ण कसको शरणमा जाँदा मोक्ष पाइन्छ ? मुक्त भइन्छ ?

बडो दोधारमा छ समय यतिखेर ।

फेरि आकाशमा हेरें, उस्तै मस्किरहेछ चन्द्र ।

उसलाई थाहा छ अहिले भर्खरै कालो बादलले छोपिनु छ र हराउनुछ मेरै शिर माथिबाट । तैपनि ओठमा मुस्कान छोड्दैन । मलाई थाहा छ म सानो हुँदा पनि यो उस्तै उज्यालो मुस्कान फ्याँकेर लोभ्याउँथ्यो । म टिप्न कोशिस गर्थे । समात्न कोशिस गर्थे‌ं तर अहँ भेट्टान्नथें । पटक्कै समात्न सक्दिनथें । लाग्थ्यो यो मेरो लागि होइन । हो मेरो लागि होइन । कालो बादलका लागि हो । कालै समयका लागि हो ।

त्यसैले राजु यो समय, राजनीति,साहित्य र अनेक हर्कतमा लेखिने छिनाझपटी, पुरस्कार, प्रशंसा र तक्मा, पदकहरू सबै सबै ऊ त्यो जून जस्तै हो हाम्रा लागि जसले छोपिनु पर्छ एकै छिनमा र सङ्लिनु पर्छ अर्को क्षणमा । किनकि उसभित्र पनि त दागहरू छन् । दाग नभएकाहरूलाई के मैलिनु र के सङ्लिनु ?

हामीलाई बराबर छ ।

चन्द्रमा अझै पुरिँदै छ यति बेला अब म हेर्न सक्दिन र ल्यापटप बन्द गर्छु ,झरी पर्न सुरु गरिसकेको हुन्छ । झरी आकाशबाट जस्तै मनबाट पनि खसेको छ ।