करिब वर्ष दिनपछि मनमा खुसी सजाउँदै म मेरो गाउँ पुगेँ । मलाई लागेको थियो गाउँ पस्नासाथ मेरा बालसखा भेट्ने छु र धेरै दिनको न्यास्रो मेट्ने गरी बाल्यकालका स्मरण फर्काउने छु । मेरो पाइला यही सोचमा अघि बढ्दै थिए । निकै बदलिएको मेरो गाउँमा मेरो सोचजस्तो परिवेश देखिएन । अगाडि दूधको क्यान बोकेर चिस्यान केन्द्र जाँदै गरेका गाउँले हजुरबाले सोध्नुभयो, “कहिले जान्छस् । अनि कहिले आउँछस् बाबु ?” । अचम्म लाग्यो उहाँले मलाई कहिले आइस् भनेर सोध्नुभएन ।
म मेरो घरतिर लागेँ, जमिन उस्तै थियो । वरपीपलका हाँगाले मलाई स्वागत गर्दै थिए । गाउँका खोलाको छङछङ उस्तै थियो । चराको चिरबिर उस्तै थियो । कुकुर उसरी नै भुक्तै थिए । एउटा फरक थियो गाउँमा काम गर्ने हात थिएनन्, माटालाई माया गर्ने मन थिएन । उड्दै छेउमा आएर मलाई नचिनेर फर्केका पुतलीहरू र मलाई छोएर पनि नलजाउने लज्जावती झारका बुच्का देखेर मन खिन्न हुँदै थियो म मेरै घरको आँगनमा पुगेँ । आँगनले झन्डै मलाई चिनेन । आमाले रातो माटाले पोतेको दैलाको डिलमा ढोगेर गोबरले भरखर लिपेको मझेरीमा पुगेँ । आमा खोक्दै ठुलो कुँडेमा दूध तताउँदै हुनुहुन्थ्यो । मैले गोडामा ढोग गरेँ र बाटामा किनेको फलफूल हातमा राखिदिएँ । आमाले फलफूल एकातिर राख्दै भन्नुभयो, “यहाँ अम्बा कुहिएका छन्, विदेशी स्याउ पो ल्याएछ । अनि कहिले जाने गरी आइस् त ?” आमाले पनि छोरो घर आएकामा भन्दा जाने कुरामा चासो राख्नुमा मेरो गल्ती हुन सक्छ भन्ने बुझ्न मलाई धेरै बेर लागेन ।
आमाको वात्सल्यमा हुर्केर ठुलो भएपछि सहरको कुतकुती लाग्दो रहरले मलाई घर छोडायो, गाउँ छोडायो, पहिचान छोडायो । आज आमाको मनमा समेत म गाउँ बस्दिनँ भन्ने बह भरिएको देख्दा आफ्नै जन्मप्रति पछुतो लाग्यो, कर्मलाई धिक्कार्न मन लाग्यो । आमालाई उत्तर दिन नसकेर धेरै बेर घोरिएँ । मलाई मेरो गाउँको माटो, हावा, पानी र ग्रामीण ऊर्जाले धिक्कारेझैँ लाग्यो । मैले मेरो अस्तित्व गुमाएझैँ लाग्यो । आफ्नै माटाको सुगन्ध नचिनेर म आफ्नै आँगनमा परदेशी र बिरानो भएझैँ लाग्यो । म सोच्न थालेँ, आमा बाध्यताले होइन मैले रहरले गल्ती गरेँ, अब माफी माग्नुबाहेक मसँग कुनै विकल्प छैन । मेरो यात्रा नै क्षितिज पारीको अनन्ततिर पुगिसक्यो । बिर्सन नसक्ने गल्ती गरेँ मैले ।
म घोरिएको देखेर आमाले भन्नुभयो, “किन घोरिएको ? मलाई थाहा छ तेरो मनमा गाउँको माया छ तर तँसँग अहिले बाध्यता छ । मलाई त यो घर, गोठ, धारो, जुठेल्नु मुटुझैँ प्यारो लाग्छ । तँलाई भन्दा कम माया गरेको छैन मैले यिनलाई । यिनले पनि मलाई आमा नै ठान्छन् । त्यो फूलको बोटले म छेउमा जाँदा मलाई माया गर्छ । त्यो इस्कुसको झाङ, बरको रुख र गुर्जाको लहराले मेरो मनको पोलाइ निको पार्छन् । कहिलेकाहीँ बिरामी हुँदा को छ र मेरो अस्पताल पुर्याइदिने सन्तान ? पल्लाघरका काकाका छोराबुहारी समुद्रपारि छन्, ज्वाइँछोरी पनि अर्को हप्ता उतै जाने रे । हाम्रो पनि त…” आमा बोल्न सक्नुभएन, “अनि बुहारी र नातिनातिना त आउँदैनन् होला ? के आउँथे बिचरा ? गाईगोठ, हिलोमैलो, घाँसदाउरा … यहाँको संसारै फरक छ । हामी पो हिलामा जन्मेर धुलामा हुर्कियौँ ।”
मलाई मेरी आमामा यति धेरै पीडा भरिएको छ भन्ने थाहा थिएन । आमाले झर्के बटुकामा एक गिलास तातो दूध दिँदै भन्नुभयो, “आज तँ र म सँगै खाना खाने है । के खान्छस् ? पहिले त मकैको भात दूधमा मुछेर खान मन पराउँथिस्, बिर्सिस् कि ? म बनाउँछु ।”
आमाका प्रत्येक वचनमा पीडा घोलिएको थियो, आँखामा वेदना पोखिएको थियो । मैले मेरो गाउँ र मातृभूमि छोडेर अनि सायद कर्तव्य निर्वाह नगरेर सहरको सुख खोजेकामा मलाई पनि पीडा भइरहेको थियो । “आज म पकाउँछु नि आमा,” मैले आमाको घाउमा मलम लगाउने कोसिस गरेँ ।
आमाले भन्नुभयो, “दुई दिनको पाहुना !”
आमा र मैले सँगै खाना खायौँ । खाना खाएर बारीमा निस्केँ । बारीभरि आमाको श्रम फलेको थियो तर सन्तानको वात्सल्य थिएन । बारीका कान्लामा हराभरा घाँस थिए तर घाँसमा प्रतिफलको आस थिएन । पारि देखिने बनेलीमा सुगन्ध थिएन । चराको चिरबिरमा सङ्गीत थिएन । घामका किरणमा इन्द्रेनी थिएन । हातमा जाँगर थिएन । घरमा युवा थिएनन् । पालीमा जुवा थिएनन् । टारमा अनाज थिएनन् । मुहानमा पानी थिएन । एक मुठी माटो टिपेर हेरेँ त्यसमा उर्वरता थिएन । थियो त केवल उराठ मानवता । आफूलाई बिर्सेर अरूलाई सुन्दर ठान्ने मृगतृष्णा । मन त्यसै त्यसै कुँड्याउने आधुनिकता । वरिपरि हेरेँ र थचक्क बसेँ । आँखा चिम्लेर भित्र हेर्दा मनले भन्यो, “के यहाँको माटाले तँलाई पनि आमालाई जस्तै चिन्यो ? तिम्रा सन्तानले तिमीलाई त चिन्लान् ?” मेरो शिर ग्लानिले निहुरियो अनि मन मातृभूमिप्रतिको श्रद्धाले छपक्कै भिज्यो ।
म केही दिन बसेँ र आफ्नो माटोसँग रोएर माफी मागेँ । वास्तवमा म मेरा सन्तानलाई असल बनाउन समुद्रपार पठाउने सल्लाह गर्न आमालाई भेट्ने निहुँमा घर पुगेको थिएँ । अब म कसरी भन्न सक्छु यो कुरा ? के मलाई मोठको तुलसीले प्राण वायु दिएन ? जरुवाको पानीले तिर्खा मेटाएन । वनमा फल्ने अमला, ऐँसेलु र जामुनले पोस दिएन ? फापरको ढिँडो र कोदाको रोटीले पेट भरेन ? साग बेचेर कमाएको पैसाले आङ ढाक्न सकिएन ? गाउँको चौतारामा बसेर हालेको सिलोकले इज्जत दिएन ? बालुन र सँगिनीले संस्कार दिएन ? किन मैले आमालाई रुवाएँ । किन सन्तानलाई मातृस्नेहको पाठ घोकाउन सकिन ? म सोच्दै थिएँ, एउटा मौरी भुर्र उडेर आयो र भुनभुनायो । सम्झेँ यसले पनि मलाई अब कहिले आउने भन्ने छ । फूलको रस र पराग बटुलेर अमृत बनाउने अनि मलाई निःशुल्क दिने त्यस मौरीले मलाई कस्तो मानिस ठान्दो हो ? म कसरी विवेकशील र सर्वश्रेष्ठ ठहरिएँ ?
जिन्दगी बगेको पानी हो । प्रवाह रोक्न सकिएला तर गतिशीलता रोक्न सकिँदैन । मैले फर्कनु नै थियो । किलकिलेमा पीडा र मनमा बह रोकेर आमासँग बिदा मागेँ । आमाले भन्नुभयो, “आँखाले देख्ने फूलको रङ र मनले देख्ने रङमा फरक हुन्छ । म मलाई आँखाले होइन, मनले चिन्छु । मैले तँलाई त्यस्तै बनाउन सकिनँ । के गर्छस्, सन्तानलाई जसरी पनि असल बनाउनु नै पर्छ । तिमीहरू पनि त आमाबा नै हौ नि । जा बाबु । अनि अब कहिले आउँछन् ?”
म बोल्न सकिनँ, भक्कानिएँ, रोएँ । आमाका काखमा लुटपुटिएर पाउमा शिर राखी भक्कानिँदै निस्किएँ । म हिँड्ने बाटो परपर लागेझैँ अनुभव भयो । बाटाका डिलका झार अन्तै फर्किए । पिप्ले धारामा आवाज आएन । लामिडाँडाको चिप्लो रातो माटो पनि आज चिप्लो लागेन । गाउँका कसैले मलाई आफ्नो ठानेनन्, मानेनन्, चिनेनन् । मलाई मेरो रगत नै आफ्नो झैँ लागेन । मैले मेरो स्वत्व गुमाएझैँ लाग्यो । आफूलाई युद्धमा हारेको योद्धा र मणि गुमाएको नागसँग तुलना गर्दै मैले गाउँको सीमा नाघेँ । मनमा ग्लानिको स्वर गुन्जिरह्यो अब कहिले आउँछस् ?
सहर पुगेँ । आफन्तको एक सन्तान उच्च अध्ययनका लागि आज समुद्र पार जान लागेछन् । आज नै मेरी फुपूका छोरा काम गर्न समुद्र पार नै जाने रहेछन् । एक जना हर्ष बोकेर उड्न लागेका थिए । अर्का चाहिँ घर बन्दकी राखेर घर बनाउन जान लागेका थिए । दुवै मेरो मातृभूमिका असल सन्तान, दुवैलाई हामीले माटो चिनाउन सकेनौँ । शिक्षाले सकेन, दीक्षाले सकेन । नेताले सकेनन्, शासनले सकेन । हामीसँग सबै चिज भएर पनि मन बदल्न सकिएन, बदलिएको मन फर्काउन सकिएन । म मेरी आमालाई सम्झँदै आफन्त बिदाइ गर्न विमानस्थल पुगेँ । आफन्तका आँखामा हर्ष थियो, फुपूका आँखामा वात्सल्य र पीडा थियो । दुवै उड्न लाग्दा मेरो शिर निहुरियो । सुनेँ, धर्तीले भन्दै थियो, अब कहिले आउँछौ ?
मैले आमा र धर्तीलाई चिन्न सकिनँ । सन्तानलाई रगत र पसिना चिनाउन सकिनँ । धर्तीले चाहिँ बेथितिको भार र उभार सहिरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।