सुरु पो कहाँबाट पो गरौँ !

साथीहरू हुन् भनेर जहाँबाट जसरी पनि सुरु गरेर भएन ! उनीहरूलाई पहिले जस्तो व्यवहार गर्न पनि त मिलेन ! पहिले पो कलेजको प्राङ्गणमा भेट्दा पछाडिबाट गएर पहिले ढाडमा धाप मारेर तर्साइन्थ्यो र पछि मात्रै हात मिलाउने, अंगालो मार्ने गरिन्थ्यो । तर समय बद्लियो । अब त ढोकामा पुगेर आदरसाथ, ‘के म भित्र आउन सक्छु ?’ भन्नुपर्छ, र भित्र पुग्नासाथ ‘नमस्ते !’ को सम्बोधन गर्नुपर्छ । साथी त हो नि भनेर औपचारिक ठाउँमा मजाक गर्न कहाँ मिल्छ ! साथी त हो भनेर तँ, तिमीजस्ता सम्बोधन गर्न त झन् मिल्दै मिल्दैन ।

त्यसैले मेरा सम्पूर्ण साथीहरूमा हार्दिक नमस्कार । आज छुटेको यत्तिका वर्षपछि तपाईँहरूलाई सम्झिदैछु । जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला ।

आउनुहोस्, केहीबेर कलेजका ती दिनतिर फर्किऊँ !

त्रिभुवन विश्वविद्यालय, मानवीकी संकायको अंग्रेजी विभागमा पढ्दाका ती दिन सम्झिऔँ । कति रमाईला थिए ती क्षणहरू । एमए पढ्ने हुँदा पनि हामीहरूलाई किताब खोल्न सर नै कक्षामा छिर्नु पर्थ्यो । सर नआउन्जेल क्याम्पसको आँगनमा हामी सबै सेक्सनका साथीहरू भेला भएर निष्फिक्री बात मार्थ्यौँ । देश, जनता, फिल्म, जागिर, राजनीतिलगायत सबै क्षेत्रहरू हाम्रा गफले छुन्थे । हामीहरू यी सबै क्षेत्रको आलोचना गरेर यो भएन र त्यो भएन भन्थ्यौँ । कति समय त हामी आफूले पढेकै विभागको अस्तव्यस्ततामाथि नै बात मारिरहेका हुन्थ्यौँ ।

“यो देशको राजनीति खत्तम छ । नेताहरू आफ्नो पेट भर्ने काममा मात्र तल्लीन छन् । पहिला आफू, आफ्नो परिवार, इस्टमित्र, नातागोता आदिको पेट भर्दाभर्दै समय सकिन्छ, हामीले राम्रो व्यवस्था कहाँबाट पाउनु ?”, यसो भनेर गफ गर्दागर्दै एउटा साथी कड्केर बोल्थ्यो, ” पख् ! म त्यो ठाउँमा पुगेपछि सबैभन्दा पहिला देश र जनताको हितमा काम गरेर देखाउछु !” उसले यो भन्दै गर्दा हामी उसलाई उडाउथ्यौँ ।

प्रज्वल अधिकारी

“यो देशको कर्मचारीतन्त्र नै ठिक छैन । हदभन्दा हद भ्रष्टचारीको अखडा बन्दै गइरहेको छ ।”, अर्को साथी बोल्थ्यो, “म लोकसेवा आयोग लड्दै छु, त्यो क्षेत्रमा पुगेर उदाहरणीय बनेर देखाइदिन्छु ।” यसरी गरिने गफमा हामी हरेक क्षेत्रको गफ गर्थ्यौँ र हरेक क्षेत्र राम्रो बनाउने कसम खान्थ्यौँ ।

यो देश सफा भएन, राजनीति फोहोरी भयो, शिक्षक ट्यालेन्ट भएनन्, हरेक क्षेत्रमा भ्रष्टचार भयो, जनतामा चेतना पलाएन, मानवीयता घट्दै गयो, विदेशिनेको सङ्ख्या व्यापक भयो आदि इत्यादि विषयमा गफ हुन्थ्यो हाम्रो र हामी सबैले यो सबै बेथितिबाट देशलाई मुक्त बनाउने कसम खान्थ्यौँ । त्यतिबेला, हामी सबैको आँखामा एउटै सपना थियो, देशको मुहार हँसाउने ।

हाम्रो ब्याचमा एक हजार जनाभन्दा ज्यादा थियौँ। र, हामी सबैको इच्छाहरू फरक-फरक थिए । यसरी हेर्दा सायद हामीहरू हरेक क्षेत्रमा उदाहरणीय बन्न सक्थ्यौँ ।

दिनहरू बित्दै गए । धेरै गफ र थोरै पढाइ गर्दागर्दै एमएको पढाइ सकियो र हामीहरू तितरबितर भयौँ । थेसिस लेख्दासम्म अलिअलि भेट भयो त्यसपछि भेट शून्यप्रायः भयो ।

आज तपाईँ साथीहरू कतिपय विदेशिनु भएको छ, कति साथीहरू गाउँ फर्केर कृषि गरिरहनुभएको छ, कति साथीहरू लोकसेवामा नाम निकाल्न सफल हुनुभएको छ, कतिले शिक्षक सेवा आयोगमा नाम निकाल्नुभएको छ, कति खेलाडी, कति हिरो/ हिरोइन, कति कलाकार, अझ भनौँ सम्पूर्ण क्षेत्रमा प्रभुत्व जमाइसक्नुभएको छ । तर अहिलेसम्म हाम्रो उबेलाको गफलार्इ कार्यन्वयन गर्दै कोही पनि कुनै पनि क्षेत्रमा उदाहरणीय सायदै बन्न सक्नुभएको छ ।

कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।”

मेरा प्रिय साथीहरू !

अब एकपटक हामीले एमए पढ्दैगर्दा गरेको गफ सम्झिने बेला आएको छ । हामीले कति मज्जाले भनेका थियौँ, “म त्यो ठाउँमा पुगेपछि उदाहरणीय बनेर देखाइदिन्छु ।”

आज तपाईँहरू वडा सचिव, अधिकृत, मालपोतको हाकिम, योजनाकार, शिक्षक, प्रहरी, नेता, उद्दमीलगायत के के हो के के बनिसक्नुभएको छ । यो सुन्दा/देख्दा अत्यन्तै खुसी लाग्छ । हर्षले मन भरिन्छ र लाग्छ, अब देश बन्ने भयो । मेरा साथीहरू, जो हामीले देश बनाउनु पर्छ भन्थे, आज उनीहरू त्यो स्थानमा छन् ।

अब केही मनको कुरा गर्छु ।

मेरो बिहे भएर बच्चा पनि भइसक्यो । तपाईँहरूमध्ये पनि कतिको भइसके होलान्, कतिको बिहेसम्म पनि भएको छैन होला । कतिका नानीबाबु त स्कुल जाने पनि त भैसक्यो होलान् ! यसरी हेर्दा, हामीहरू हरेक स्थानमा जिम्मेवार बन्ने बेला आइसकेको छ ।

मेरो बाबुलाई स्कुल खोज्दै जाँदा म तपाईँको स्कुलमा पुग्न सक्छु, योबेला मलाई नठग्नुहोला र मैले कसैबाट सुन्न नपरोस्, “त्यो स्कुलले ठग्छ ।”

मेरो सन्तानलाई कपडा किन्न म तपाईँको पसल आउन सक्छु र मैले दिएको पैसाबाट कर तिर्नुहोला ।

कहिलेकाहीँ प्रशासनिक कामले आउँदा बाहिरै सुन्न नपरोस्, “त्यो हाकिम जे कामको लागि पनि एक रुपैया नै किन नहोस्, घुसबिना काम गर्दैन ।”, र सुन्नु नपरोस्, “प्रहरीको ठूलो मान्छे भनेर क्यार्नु ? हाम्रा छोरीचेलीलाई कत्ति सुरक्षा छैन !”

मलाई कहिल्लै पनि यो नलागोस् कि मेरो साथी सचिव छ । र यही बेला मैले अलिअलि कमाइहाल्नु पर्छ । हामी साथी भए पनि मलाई तपाईँसँग डर लागोस् । तपाईँलाई देख्दा म अझ बढी अनुशासित बनूँ । तपाईँको स्कुलले मेरो छोराको ज्ञान नै नहेरी उच्च अंक नदियोस् । र मेरो छोराले यो नभनोस् कि, “बाबा त्यो सरले राम्रो पढाउनुहुन्न ।”

लोकसेवा आयोग पास गरेर जागिरे भएका ए मेरा साथीहरू ! मलाई तपाईँको नाम लिँदा गर्व महसुस भएर आओस् ।

सांसद बन्नुभएका मेरा साथीहरू, तपाईँको सादगी देखेर मेरो शिर ननिहुरियोस् ।

प्रधानाध्यापक हुनुभएका मेरो साथीहरू, म खुल्ला रूपले हिम्मत र विश्वासका साथ कसैलाई निशङ्कोच भन्न सकूँ, “त्यो स्कुलमा आफ्ना नानीबाबु भर्ना गर्नुहोस् ।”

लाग्छ, मलाई मेरा साथीहरू आफ्नो नैतिक कर्मले सम्मानित होऊन्, साँच्चै हामीले गफमा बनाउन चाहेको जस्तै देश बनोस्, र मैले सगर्व भन्न पाऊँ, “यी हरेक निकायका उच्च पदमा आशिन मेरा साथीहरू हुन् ।”

तर त्यो दिन आयो भने के होला, कि टिभीमा तपाईँहरूले जुत्ताको माला लगाएर टोल घुम्दै गरेको दृश्य, तपाईँले देश बेचेको समाचार, सुरक्षाको नाममा बलात्कारीलाई प्रश्रय दिएको खबर, घुस खाएको आरोपमा जेल परेको खबर, र कतै बाहिर निस्कदा तपाईँको नाम लिएर छि: छि: भन्दै गरेको गफ !

हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् ।

त्यो दिन कहिल्लै नआओस् कि हाम्रा सन्तानले हाम्रो कुकर्म टिभीमा हेरेर हामीतिर फर्केर भनुन्, “पख्नुस् बाबा/ममी ! म ठूलो बनेर यो देश बनाउछु ।” र सन्तानको त्यो कसम हामीलाई गफ नलागोस् ।  बरु हामीले चिनाउन सकूँ हाम्रा सन्तानलाई, “उ त्यो टिभीमा देखिएको अनुहार मेरो साथी को हो !” र हाम्रा सन्तानहरू हामीबाट प्रेरित होऊन् ।

लौ त साथीहरू, यो लेख लेखेर मैले तपाईँहरू सबैलाई हामीले गरेका गफ सम्झेको छु । हाम्रा गफहरू कार्यान्वयनमा आऊन् र हाम्रै पालामा देशको मुहारमा खुसी छाओस् ।

अँ साँच्ची, म चाहिँ हामीले कहिल्लै गफ नगरेको र कोही हुन नचाएको कवि हुन खोजिरहेछु । यसमा मैले देश र जनताको लागि के गरिदियोस् जस्तो लागेको छ, यो लेख पढेपछि भनिदिनु ल ।