मानिस सिर्जनशील प्राणी हो । प्रत्येक व्यक्तिमा विशेष क्षमता हुन्छन् । क्षमताको उपयोग व्यक्तिको पहिचान हो । आफ्नो क्षमताको सामयिक प्रयोगले मानिसले व्यक्तित्व विकास गर्छ । क्षमता आयआर्जन र अस्तित्व रक्षाको साधन पनि हो । क्षमताको उपयोग नगर्नेहरू पाखोबारीमा उम्रेका झारसरह हुन् । ती केवल जन्मन्छन्, हुर्कन्छन्, मर्छन् र माटामा मिल्छन् ।
प्रतिभा मानव साधन हो । यसले व्यक्तिको मान बढाउँछ र समाजको उत्पादकत्व वृद्धि गर्छ । प्रतिभाको व्यवस्थापन उन्नतिको कारक हो । सिकाइस्थलमा प्रतिभाको पहिचान हुन्छ र कार्यस्थलमा प्रतिभा प्रदर्शन हुन्छ । शारीरिक, मानसिक स्वरूप फरक भए पनि प्रतिभाविहीन मानिस हुँदैन । प्रतिभाको प्रस्फुटन गर्नेले पहाडको चुच्चामा पुगेर मैदानको दृश्यावलीमा रमाउन पाउँछन् । प्रतिभा प्रदर्शन गर्न नसक्नेहरू मैदानमा बसेर अरूले पहाड चढेकामा ईर्ष्या गर्छन् । ज्ञान र सिपका भण्डार विश्वविद्यालयहरू प्रतिभा हुर्काउने सिकाइस्थल हुन् । राज्यको दिव्यदृष्टि प्रतिभा प्रदर्शनका रङ्गमञ्च हुन् । खेतका गरा र बारीका कान्ला हुन् । हातका नङ्ग्रा र हलोका डोब हुन् । राज्यको समृद्धि र मनका हर्ष हुन् । मनको संसारमा मात्र प्रतिभाको मूल्य हुन्छ ।
राज्यका लागि मानव साधनका स्रोत विश्वविद्यालय हुन् । विश्वविद्यालयले कुशल, दक्ष, प्राविधिक र पेसानिष्ठ जनशक्ति उत्पादन गरेर परिवार र समाजलाई सुम्पन सक्छन् । रोजगार केन्द्र, शिक्षालय, सङ्गठन र सरकारलाई दिन सक्छन् । प्रतिभाशाली मानव स्रोत विकासका मुख्य पूर्वाधार हुन् । विश्वविद्यालयले जनशक्तिमा सिप र जाँगर भर्न सके तिनले आफ्नो परिवेशमा श्रम रोपेर सिर्जना उमार्छन् । विश्वविद्यालयले सिप दिन नसके प्रतिभाले परदेशमा रोजगारीको खोजी गर्छ । हाम्रा अध्यापकले सिकारुलाई हत्केलामा श्रम र मस्तिष्कमा सिप दिएर दीक्षित गराएमा पाइला पाइलामा सुनाखरी सम्पदा फुल्न सक्छन् ।
मानिसले मानवोचित जीवन निर्वाहका लागि आधार खोज्छ । आफ्ना मूल्यमान्यताको सम्मान खोज्छ । कामको खोजी र श्रमको मूल्यका लागि अवसर खोज्छ । वैयक्तिक विकासका अवसर खोज्छ । गुणस्तरीय शिक्षा र रुचिका विषय खोज्छ । नेतृत्व विकासका लागि समन्यायिक वातावरण खोज्छ । मिहिनेत, लगनशीलता र पसिनाको मोल खोज्छ । यो परिवेश सकारात्मक नभएमा मात्र विकल्पको खोजी सुरु हुन्छ । परिवेश शक्तिकेन्द्री परिवारवादबाट नियन्त्रित भएमा व्यक्तिले पलायन रोज्छ । सिकाइस्थल र कार्यस्थलले प्रतिभा आकर्षण गर्न सके पलायनवादी सोचकै अन्त्य हुन्छ ।
आकर्षण सन्तुष्टिको आधार हो । मानवीय सन्तुष्टिका लागि मानिसले करेसाकै पानी पिउन खोज्छ । आफ्नै स्रोत सदुपयोग गरेर आफ्नै आँगनमा रमाउन चाहन्छ । माटो कोट्याउँदा लागेको चोटमा आफ्नै बारीको जडीबुटी लाउन खोज्छ । बाघको ओडारमा मृग कहाँ रमाउन सक्छ र ? पराईको धनभन्दा आफन्तको मन ठुलो हो । हामीलाई हाम्रा स्रोतसाधनको सदुपयोग गर्न सिकाइदिए र अगुवाले वातावरण बनाइदिए पराईको छाप्रो छाउन को जान्थ्यो ? प्रतिभा व्यावसायिक नवीनता, रचनात्मक उपलब्धि र मौलिक दृष्टिकोण हो । यसबाट सामाजिक र वैयक्तिक उन्नति हुन सक्छ । यस्तो पाठ सिकाउने पाठ्यक्रमले कुन युवालाई पलायनको बाटो देखाउला र ? देश र समाज बिग्रेको होइन, बिग्रेको त केवल सोच र व्यवहार हो । यसलाई हामी आफैँले सुधार्न सक्छौँ भन्ने चेत खुलेमा चेतन मस्तिष्कले चन्द्रमामा बस्ती बसाउन सक्छ ।
हामी स्रोत साधनमा कमजोर छैनौँ । उर्वर तराईले मुलुकवासीको ओठमा खुसी ल्याउन सक्छ । हामी कृषिप्रधान देशका आधुनिक किसान बन्न सक्नुपर्छ । राज्यका आँखाले कृषिलाई आर्जन र निर्यातमुखी स्रोतका रूपमा देख्नुपर्छ । आफू बाँचेर अरूलाई बचाउन सिकाउने उन्नत पाठशाला त खेतका गरा नै हुन् ।
हिलामा रमाउने बाउसे र रोपाहार विश्वका सबभन्दा ठुला प्रायोगिक प्राध्यापक हुन् । खेत नालन्दा र तक्षशिलाभन्दा कम छैन । अनाजका भकारी हुनुपर्ने ठाउँमा कङ्क्रिटको सहर बन्नु मात्र भुल हो । उर्वर तराईले दिने स्वर्णिम सम्पदा, औद्योगिकीकरणको आधार र सहअस्तित्वको पाठ पढ्यौँ भने हामी हाम्रै संस्कारमा रमाउन सक्छौँ । मूलको पानी समाहाबाट झरिरहन पाए हाम्रो पेट भोको हुने छैन । छिमेकमा चामलको भाउ बढ्दा हामीले पेट खुम्च्याउनु पर्ने छैन । खुम्चिएको पेटले भतेरको सपना देख्नु पनि भुल होइन । सपना नदेखे मनका विकार फालिँदैनन् । फरक यति हो हामीले देख्ने सपना होइन, सिर्जना गर्ने सपना देख्नुपर्छ । सिर्जित सपना सधैँ साकार हुन्छन् । विकृत सपनाले प्रतिभाको ऊर्जालाई पलायनमा रूपान्तरण गर्छ ।
हरियो पहाड हर्षको आधार हो । भिरपाखा, वनजङ्गल र नदीनाला सदाबहार आय हुन् । वस्तुको मूल्य बुझेर बजारीकरण गर्न र पाहुनालाई पिँढीमा बसाएर स्वागत गर्न सिकाउने संस्कार भइदिए पहाडले पसिनाको मोल दिन्छ । झरनाको सङ्गीत र सौन्दर्य, वनको आरोग्य र शैत्य अनि बस्तीको विविधता र वैशिष्ट्यले पहाडलाई आनन्दको केन्द्र बनाएको छन् । सिकारुले वन र वन्यजन्तु सम्पदा हुन् भन्ने पढेर आफ्नै वनमा चराको चिरबिर र पशुको जम्काभेट देख्न पाए वनले घरमै सम्पत्ति ल्याइदिन्छ ।
वन, अनाज, पशु, खेती, संस्कृति र पाहुनाको सम्मान गर्ने शिक्षाले स्वरोजगार बनाउँछ । पैसाको मृगतृष्णामा मरुभूमिको राप सहनुभन्दा पैसाको बिउ रोप्न ढुङ्गाको काप खोज्नु बुद्धिमानी हुन्छ । हामी बुद्धि नभएर होइन, बुद्धिको प्रयोग नगरेर कमजोर भएको हौँ । हामी सम्पत्ति नभएर होइन, सम्पत्ति नचिनेर गरिब भएका हौँ । हामी शिक्षाको अवसर नभएर होइन, सिक्न र सिकाउन जनानेर बेरोजगार भएका हौँ । हामीलाई ओरालामा दौडिने होइन, उकालामा दौडेर प्रतिस्पर्धा गर्ने तरक्की चाहिएको छ । उकालो बाटो र पहाडको चुच्चाले हामीलाई यही सिकाइदिए पुग्छ ।
हाम्रो हिमाल विश्वको ताज हो । हिमालले झुक्न सिकाउँदैन । सम्पदा, सौन्दर्य र सम्मानको प्रतीक भएर युगौँदेखि ठडिएको हिमालले पहिचानको पाठ पढाउँछ । हिमालका पत्रपत्रमा हाम्रा पाठ पढेर अरू रमाएका छन् । अप्ठ्यारा खोँच र हिमनदीमा पुगेर अरू रमाएका छन् । डाँफेको रङ, यार्साको ओज, मार्सीको भोजन र हिउँको मुस्कानमा रमाएर अरूलाई पनि रमाउन सिकाए यहीँ कुवेरलोक भेटिन्छ । हामीले पैसा खोज्न सीमा काट्नुपर्दैन । विश्व पैसाको थैलो हातमा बोकेर हाम्रै आँगनमा आइपुग्छ ।
भुल यति भयो हामीले चाँदीको कलश र चन्द्रमाको किरण उस्तै ठान्यौँ । एउटा मङ्गलकलशका रूपमा सजिन्छ,अर्को आँखाको शून्यतामा हराउँछ । ठोस, तरल र ग्याँस बन्न सक्ने पानीको विशेषता र आफू सधैँ ठडिएर शिखर चुम्न सिकाउने हिमालको विशेषता हाम्रो मनले बुझिदिए हाम्रा प्रतिभाले हाम्रै हिमालमा मान पाउँछन् । कैलाश र मानसरोवरले कञ्चनजङ्घा र मकालुमा भेटी चढाउँछन् । हिमाली सौन्दर्यले उन्नतिको सगरमाथा सजाउँछ ।
मानिसका आँखाले रित्तो मात्र देख्छ । भरिएको देख्न आँखा चिम्लेर हेर्नुपर्छ । अँध्याराको विकल्प उज्यालो हो । आँखा चिम्लेर भित्र हेर्दा अँध्यारोभित्र उज्यालो देखिन्छ । मानिसको सृष्टि, बिरुवाको अङ्कुरण र शीतको जन्म अँध्यारामै हुन्छ । अँध्याराबाट आत्तिएर उज्यालाको खोजीमा दौडनेहरूको यात्रा अधुरो रहन्छ । अँध्यारामा उज्यालो खोज्न सके पानीमा आगो देखिन्छ, माटामा ममता भेटिन्छ । हामीसँग दिन, रात, हप्ता र वर्ष छन् । ऋतु, वनस्पति, जीव र जननी छन् । मन, मस्तिष्क, माटो र मानवीय गुण छन् । प्रतिभा र प्रगति छ । आधा खाली देख्ने सोचलाई आधा भरिएकामा परिणत गरी भर्न सिकाउने सोच र जोस भए हामीसँग सब थोक छ ।
अनुहार मानिसको पहिचान हो । आँखाले आफ्नो अनुहार देख्दैन । म आफ्नै आँखाले आफ्नो संसार हेर्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।