बुढी पोल्ने सङ्क्रान्ति वर्षा ऋतुको समाप्तिमा पर्छ । आश्विन सङ्क्रान्ति (कन्या सङ्क्रान्ति)को सङ्क्रमणको सूचक मानिन्छ । मानस खण्डमा स्थान अनुसार बुड्डौनी, बन्ढुनी, बुढी पोल्लु, पुतना पोल्ने आदि नामले सङ्क्रान्ति मनाइन्छ । असोज सङ्क्रान्तिको दिनदेखि सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्छ । पर्वले शीत ऋतुको आगमनलाई सङ्केत गर्दछ । पहाडतिर असोज महिनादेखि जाडो सुरु हुन्छ । गाईबस्तुको रक्षार्थ पशुपालकले रोग र गोठको सुरक्षामा ध्यान दिन्छन्‌ । हिउँदमा घाँसपातको अभाव हुन्छ । गोठमा चिसो लाग्ने हुँदा गोठको मर्मत गरिन्छ । पशुको स्वास्थ्यको ख्याल गरिने हुँदा पर्वलाई पशु कल्याणको रूपमा लिन सकिन्छ ।

पशु धनको कल्याण, सुरक्षा र स्वास्थ्यको कामना गरिने पर्व बुढी पोल्लु/पोल्नु हो । बुढी शब्दले उमेरवार स्त्रीलाई जनाउँछ । बुढी पर्व किन मनाइन्छ भन्ने बारेमा महाभारतकालीन श्रीकृष्णसँग सम्बन्धित लोककथा छ । यो पर्व मानस खण्डको पहाडी जिल्लामा मनाइन्छ । बसाइँ सराइसँगै अन्य क्षेत्रमा मनाउन थालिएको छ । उहिले पहाडी भूभागमा गाईभैँसी रोजगारको प्रमुख श्रोत एवं उद्योग मानिन्थ्यो । गाईबाट घी उत्पादन गरिन्थ्यो । खेतीपातीबाट उत्पादन भएको अन्न बेच्ने प्रचलन खासै थिएन । गाईको घिउ भारतीय बजारमा बेचेर घरधन्दा चलाइन्थ्यो । गोरामा एकसरो लुगा फेर्ने संस्कारलाई घिउले साकार पार्दथ्यो । विनिमयका दृष्टिकोणले खेती भन्दा भरपर्दो व्यवसाय र नगद नारायण हात पार्ने वस्तु घी नै थियो । हिन्दु संस्कारमा गाईको दूध, दही, मही, घी धार्मिक रूपमा प्रयोग हुन्छ । मानिसको जीवन निर्वाह र कृषि कर्ममा पशुपालनको अहम् भूमिका रहँदै आएको छ । मानस खण्डको भौगोलिक परिवेशले पशुपालन व्यवसायको महत्त्व झल्काउँछ ।

बुड्डौनीका बारेमा मानसखण्ड अन्तर्गतका जिल्लामा के कस्तो प्रचलन रहेको छ भनेर पङ्क्तिकारले सामाजिक सञ्जाल मार्फत्‌ अभिमत लिने प्रयास गरेको थियो । विशेष गरी कर्णाली, सेती, महाकाली लगायतका भूखण्डमा कुन स्थानमा कसरी मनाइन्छ भन्ने सोध खोज गर्ने उद्देश्यले सर्वेक्षण गर्न खोजिएको थियो । प्राप्त भएका सुझाव एवं अभिमत निम्नानुसार राख्ने प्रयास गरिएको छ ।

देवी दत्त कलौनी (बैतडी/कञ्चनपुर)का अनुसार भगवान् श्रीकृष्णले पुतला राक्षस्नीलाई मारेका हुँदा सोही खुसीयालीमा भाद्र १ गते बाटेकी बुढी असोज १ गते बेलुका पोलिन्छ । बुढी पोल्दा “थु बुढी थु” भनेर बुढीको चारैतिर ग्वालाहरू काँक्रो चपाएर थुक्छन्‌ । बुढी पोलिएपछि खरानीलाई तेलमा मिसाएर तिलक बनाई ग्वाला सोही ठाउँमा र घरमा आएर गोठका गाईबस्तुलाई तिलक लगाउँछन् । पशु वस्तुलाई रोगव्याधि नलागोस् भनेर मङ्गलमय कामना गरिन्छ ।

तारादत्त जोशी (बैतडी/कञ्चनपुर) का अनुसार भदौ १ गते ग्वालाहरूले बुढी हाल्ने र असोज १ गते गाईबस्तुको गोठमा कुनै रोग नलागोस् भनी ओल्साको मुठोले “बुढी मार्लो, मेरो गाई पाल्लो” भन्दै गोठ सिसोडिन्छ । बुढी पोलेर तिलक बनाएर गोठका गाईवस्तु र ग्वालाले लगाउँछन्‌ । यस प्रकारको चलन बैतडी, बझाङको बुङ्ल र दार्चुलामा छ ।

केशव दत्त जोशी (दार्चुला/कैलाली)का अनुसार भाद्र १ गते गौचरन क्षेत्रमा स्याउला सहितको हाँगाले बुढी बनाइन्छ र असोज 1 गते सबै गोठाला मिलेर बुढी पोल्छन्‌ । पोल्ने क्रममा काँक्रो, ओखर, चामल, गुड (भेली) चपाएर बुढी पोलेकोमा थुक्दै “थु बुढी थु” भन्दै बुढीको परिक्रमा गरिन्छ । अन्तमा जलेको कोइलाको तिलक आफू र घरपालुवा पशुलाई लगाउने चलन छ ।

डा. पानसिंह ठगुन्ना (दार्चुला/कञ्चनपुर)का अनुसार भाद्र १ गतेका दिन गौचरनमा घाँसपात र स्याउलाले बुढी बनाइन्छ । भाद्र मसान्तका दिन घरमा बुढीको पुत्ला बनाएर गोबरको खातमा राखिन्छ । असोज १ गते घर-घरमा बनाइएको बुढीको पुत्ला लिएर गौचरनमा बनाइएकी बुढीसँगै राखेर आगो लगाइन्छ । बुढी पोल्दा ग्वालाहरू घरबाट लिएर गएको भुटेका मकै र काँक्रो चपाएर जल्दै गरेकी बुढीको परिक्रमा गर्छन्‌ । यसो गर्दा वर्ष भरिमा आफ्ना पशुवस्तुलाई रोग व्याधि लाग्दैन भन्ने जन विश्वास छ ।

चेतराज पनेरु (डडेलधुरा/कञ्चनपुर)का अनुसार बुढीको कार्यक्रम भाद्र सङ्क्रान्तिबाटै सुरु भई महिनाभर बाटाघाटामा पर्ने झ्याङ्झाडी सफा गर्दै वनवेत जाँदाआउँदा काँचा र सुकेका हाँगाबिँगा बन्ढुनीमा जम्मा गरिन्छ । असोज १ गते साँझपख काँसका लुडी (बुढी) बनाएर राता, सेता, पहेँला फूलले सजाइन्छ । त्यसपछि सोही वस्तुले गोठ भित्रका बस्तुभाउको पूजा गरी द्यार(सल्ला)को झिरा (झरो) को राँको बालेर काँसको लुडी र राँको घुमाउँदै गोठको भित्रबाट “गाई बाच्छी पाल, बुडी निकाल” भन्दै घर गोठ वरिपरि समेत घुमाइ कुटुना बुढीलाई गाउँ भरीबाट बन्ढुनीतिर धपाउँदै लैजाने गरिन्छ । बन्ढुनीमा पुगेर “गाईबाच्छी पाल, बुढी निकाल” भन्दै परिक्रमा गर्छन्‌ । उपस्थित सबैले एकपटक लुडी घुमा  बन्ढुनीमा आगो लगाएर जलाउँछन् । काँक्रो र चामल चपाएर “थुइ  बुढी थुइ” भनी कुटुना बुढीलाई थुकिन्छ । अन्तिममा बन्ढुनीका अगुल्टा घुमाउँदै लुतो फाल्ने चलन छ । भैलो समेत गाएर समापन गरिन्छ ।

चन्द्रकान्त पन्त (बैतडी/कैलाली)का अनुसार कंशले पुतुना बुढीलाई अह्राइखटाई श्रीकृष्णलाई मार्न स्तनमा विष दलेर मार्ने योजना बनाएको थियो । पुतुनाले श्रीकृष्णलाई काखमा लिई दूध चुसाउन थालेपछि श्रीकृष्णले दूध चुस्ने बहानामा पुतनाको वध गरे । पुतनाको वध भएपछि श्रीकृष्णले दूध पिएको हुँदा पुतलाई आमाको दर्जा दिई दाहसंस्कार गर्न लैजाँदा शवको खुट्टा डोरीले बाँधेर घिसार्दै जलाउँदा उसको कुकृत्यलाई सम्झेर श्रीकृष्णले थुकेका हुँदा “थु बुढी थु” भन्ने प्रचलन चलेको देखिन्छ ।

सिद्धराज भट्ट (बैतडी, दमरखोली)का अनुसार भाद्र १ गते बनाएकी बुढीलाई असोज १ गते पोलिन्छ । प्रत्येकको घरबाट तीन ओटा सानो बुढी बनाइन्छ । तीनवटा मध्ये एउटा घरको धुरीमा राख्छन्‌ । अर्को फलेको काँक्राको झालमा र तेस्रो बुढीसँगै पोल्ने गरिन्छ ।

वीरबहादुर ठगुन्ना (दार्चुला, मार्मा)का अनुसार गोठ, गोबर मलको खात, गाई गोरु, ग्वाला, गौचरन आदि नासिएकाले रीतिरिवाज इतिहासमा सीमित छ । असोज १ गते बिहानै गोठ सफा गरी गाईबस्तुको नमुना बनाएर फूलमाला पहिर्‍याई पूजा गरी गाईबस्तुलाई अघाउन्जेलसम्म आहारा खुवाउने चलन थियो ।

कमला बिष्ट (बैतडी/ललितपुर) का अनुसार भदौ १ गते बुढी बनाएर असोज १ गते गाईको गोठमा रोग, दोख, अलिछिना नलागोस् भनी ओल्सा, बेल्डा, गारङालो, फुर्क्या र पुतल्याठी मिलाएर ३ मुठा बनाइन्छ । जसमध्ये एक मुठाले गोठ सिसाडी घरको छत (पाखा) फालिन्छ । दोस्रो भकारो (पर्सा) मा गाड्ने र तेस्रो मकै (घोगा)को डाँठमा बुङ्गो बनाइ बाँधेर बुढी पोल्दा “थु बुढी थु, तोइ बुढी मार्लो, मेरो गाई पाल्लो” भन्दै निभ्दै गरेकी बुढीलाई पिटिन्छ ।

उपरोक्त कथनबाट कथाको विषयवस्तु र प्रचलन स्थान विशेष फरक-फरक पाइन्छ । समय क्रमसँगै आधुनिक सुविधाले गर्दा अन्य व्यवसाय गर्न सहज भएकोले पशुपालन सम्बन्धी मनाइने चाडपर्व लोपोन्मुख हुने क्रममा छन्‌ । ऋतु परिवर्तनसँगै पशुपन्छी सम्बन्धित मनाइने चाडपर्वमा नागपञ्चमी, बुढी बाटँने सङ्क्रान्ति, बुढी पोल्ने सङ्क्रान्ति, काग तिहार, गाई तिहार, बहर/गोरु (बल्ल) तिहार, कुकुर तिहार आदि पर्दछन्‌ । हिन्दु धर्मावलम्बीले गाईलाई लक्ष्मी र आमाको रूपमा सधैँ पूजाआजा गर्छन्‌ । जन्मदेखि मृत्युसम्मका संस्कारमा गाईको पञ्चगव्य (दूध, दही, घी, गोमूत्र र गोबर), पञ्चामृत (दूध, दही, घी, चिनी र मह) र गहत पवित्र मानिन्छ । बुड्डौनी पर्वले गाईबस्तुको भौतिक सुरक्षा र रोगव्याधी नलगोस् भनेर पशुपालकलाई सचेतना फैलाउने पर्व पनि हो । पशु स्वास्थ्यका दृष्टिकोणले चाडपर्वको वैज्ञानिक आधार र तथ्य दिन नसकिए पनि मनोवैज्ञानिक आधार स्पष्ट छ ।

मानस खण्डमा बुढी पोल्ने सांस्कृतिक पर्वको रूपमा स्थापित भएको छ । बर्खा अनेकानेक किसिमका रोगको सङ्क्रमण सूचक भएकोले पशुवस्तुको स्वास्थ्यको कामना सहित बुढी पोल्ने पर्व मनाइन्छ । पशुपालकले आफ्ना पशुवस्तुलाई क्वारेन्टाइन गरेको अर्थमा यसको अवधारणालाई लिन सकिन्छ । मानस खण्डका चाडपर्वको वैज्ञानिक आधार खोजिनु आजको आवश्यकता हो । आधुनिक आयातित प्रचलन भन्दा परापूर्व कालदेखि चलिआएका प्रचलनका बारेमा सोध खोज र अनुसन्धान हुनु पर्दछ । आलेख लेखिनुका पछाडि मानस खण्डमा बुड्डौनीका बारेमा सोधखोज गर्नु नै रहेको छ । गाईबस्तुको सरसफाइ, पोसिलो आहारा खुवाउने, गोठको सरसफाइ, चरनको सरसफाइ आदिले आधुनिक क्वारेन्टाइनको झझल्को पाइन्छ । यसबारेमा थप अनुसन्धान हुनु आवश्यक छ । क्वारेन्टाइनको दायरामा पर्ने गोठाला, दूध दुहुने किसान आदि बुढी पोल्ने कार्यक्रममा सहभागी हुनुले पर्वको सांस्कृतिक महत्वसँगै पशुवस्तुमा लाग्ने रोग विज्ञानको दृष्टिकोणले क्वारेन्टाइनको विधि अपनाएको देखिन्छ ।

गोठ सिस्याड्न चाहिने पाँचवटा वनस्पतिले रोगनिरोधकको रूपमा  प्रयोग गरेको हो जस्तो लाग्छ । पर्वले पशुपालकको मनोविज्ञानलाई सकारात्मक भाव जागृत गरेको पाइन्छ । किसानले गोठ सिस्याड्दा गाउने लोकगीतको भाव त्यस्तै रहेको छ-

ओल्सो ल्युँलो, बेल्डो ल्युलो
गरगिलो ल्युँलो, गाड-गोधरान है ल्युँलो
तेरी गुसाइँ/रिथी बची रौ, तै बची रये
एक गोर्‌ बठेइ गोठ भरी झौ

एक गुसाइँ बठेइ भितर भरी झौ

अर्थ: गोठ सिस्याड्ने क्रममा पशुपालकले गाईलाई सम्बोधन गर्दै तिम्रा लागि राम्रो घाँसपात वन, पाखा, खोलाबाट काटेर ल्याउला । तिमी दीर्घायु हुनु । तिम्रो मालिकको पनि दीर्घायु होस्‌ । तिमी एकबाट गोठभरिको सङ्ख्यामा वृद्धि हुनु । तिम्रो मालिकको पनि सन्तानले घर भरियोस्‌ ।

गौचरनमा निर्माण गरिएकी बुढी पोल्न जाने समयमा एउटा सानो लठ्ठी/डाँठमा बेल्डो, ओल्सो/अम्रिसो, गरङालो, चुलेसी/फुर्क्या (सेतो पात भएको) र पुतल्याठी आदिको बुङ्गाकार बनाइन्छ । यी पाँचवटै वनस्पतीय  स्याउलाको मुठो पारी गोठका चारै कुना सिस्याड्ने कार्य गरिन्छ । जसको आशय गोठमा भएका रोगव्याधीि, छलछिद्र, अनिष्ट, कुदृष्टि आदि नास होस् र बाहिरबाट आएको रोगव्याधी भित्र पस्न नसक्ने शक्ति मिलोस् भन्ने हो । पशुलाई गोठ न्यानो होस्‌, स्वास्थ्य रहुन्‌, सुरक्षा होस्‌ भन्दै आराधना गरिन्छ । गोठ सिस्याडे पछि पर्सो (भकारो)मा गाडिन्छ ।

आधुनिक भाषामा भन्नुपर्दा गोठमा भएको नकारात्मक शक्तिको विनाश र सकारात्मक शक्तिको विकासको आव्हान गर्ने परम्परा बुड्डौनी हो । गाईबस्तुलाई दुःख, पीडा, रोगव्याधी नलागोस् भनेर कूल देवतासँग प्रार्थना गरिन्छ । बर्खाको अन्त्य भएपछि हिलो र चिप्लो हट्दै जान्छ । बर्खामा उर्लेका खोलानाला सुस्त र सुक्दै जान्छन्‌ । गाईबस्तुलाई लेकबाट बेँसी ल्याउँछन् । बर्खामा बाढी, पैह्रो र खोलानालाले थुनिएका मानिस आवतजावत गर्न थाल्छन्‌ । पर्वको बहानामा गोठका खाल्डाखुल्डी पुर्ने, माकुराको जालो हटाउने, चिस्यानबाट मुक्त गराउन स्याउला बिछाउने, चिसोबाट बचाउन प्वाल टाल्ने, पोषणयुक्त आहाराको प्रबन्ध गर्ने, पशुका शत्रुबाट सुरक्षा गर्ने आदि प्रबन्ध गरिन्छ । पशुपन्छीको कल्याणकारी कामकारबाही गरिने भएकोले यस पर्वलाई पशु कल्याणको पर्व भन्दा फरक नपर्ला । पशु अधिकारकर्मीले मानसखण्डले सदियौँदेखि पशु कल्याणमा खेलेको भूमिकालाई मध्यनजर गरी सुदूरपश्चिम सरकारलाई सोही दिनलाई “पशु कल्याण दिवस” घोषणा गर्न लगाउनु जरुरी छ । प्रदेश सरकारले यसबारेमा आफ्नो धारणा ल्याओस्‌ भन्ने माग छ ।

बुढी पोल्ने दिनको साँझपख गाउँका ग्वालाहरू हात-हातमा मसाल जस्तै बुङ्गो लिएर बुढी बनाएको चरन/वनमा जम्मा हुन्छन्‌ । ग्वालाहरू सामूहिक भेला हुन्छन्‌ । गोठ सिस्याड्ने कार्य सकिएपछि उनीहरू हर्षोल्लासपूर्वक बुढी पोल्न जान्छन्‌ । बुढी पोल्दा आवश्यक पर्ने सरजाम (घी, सलाई, काँक्रो, ओखर, भुटेको मकै आदि) साथमा लिएर जान्छन्‌ । बुढीलाई लुतो वा रोगको प्रतीकको रूपमा मानिन्छ । बुढी पोल्नु भनेको पशुमा भएका र भविष्यमा हुने सबै किसिमका रोगव्याधी नष्ट हुन्छन् भन्ने लोकविश्वास छ । वनमा निर्मित बुढी पुतनाको प्रतीक हुन्‌ । बुढी बाट्ने/निर्माण गरिने पारम्परिक स्थान हुन्छ ।

बुढीको भनिनुका पछाडिको लोककथा अनुसार द्वापरयुगमा महाभारतकी पात्र पुतनासँग जोडिएको छ । पुतना नामकी राक्षस्नी बालक कृष्णको वध गर्न कंशले पठाउँछन् । पुतना गोकुलमा पुगेपछि उनले भेटेजतिका बालकलाई कृष्ण सम्झेर दूग्धपान गराउँदै ज्यान लिइन्‌ । गाउँमा हाहाकार भयो । पुतनाले सुन्दर स्त्रीको रूप धारण गरी गोकुल प्रवेश गरेकी थिइन्‌ । कृष्णलाई घर-घरमा गएर खोजिन्‌ । जब पुतना कृष्णको घरमा पुगिन् तब कृष्णले ऊ राक्षस्नी हो भन्ने थाहा पाए । पुतनाले कृष्णलाई काखमा लिएर आफ्नो विषयुक्त दूधपान गराइन्‌ । कृष्णलाई दूग्धपान गराउँदा कृष्ण मर्छ भनेर सोच्न थालिन्‌ र उनी खुसी भइन्‌ । कृष्णले दूध पिउँदै राक्षस्नीलाई आकाशमा उडाउँदै लगेर प्राण हरण गरे । बेहोसी अवस्थामा पुतना जङ्गलमा खस्छिन् र केही पलमै मृत्युवरण गर्छिन्‌ । बालकमारा राक्षस्नीलाई कृष्णले मारेको खुसीयालीमा ग्वालाहरूले विजयोत्सव गरे । गोकुलवासी ग्वालाहरू प्रत्येक वर्ष पुतना मारिएको उपलक्ष्यमा स्याउला जम्मा गरी पुतनाको आकार सम्झेर “बुढी” सम्बोधन गर्दै जलाउन थाले । समय क्रमसँगै परम्पराको रूप धारण गर्दै अहिलेसम्म जीवन्त छ ।

पहिला-पहिला आधुनिक पशु विज्ञानको विकास भएको थिएन । रोगका कारण पशुवस्तुको अपार हानी नोक्सानी हुन्थ्यो । जडीबुटी बाहेक एलोपेथी औषधोपचारको सुविधा थिएन । रोगव्याधी लाग्दा जडीबुटी, जन्तर मन्तर, फुकफाक, धामीझाँक्रीको सहारा लिनुको विकल्प थिएन । पशु विज्ञको अभावमा रोगको उचित पहिचान हुने कुरै भएन । पशुपालकले आफूअनुसार रोगको पहिचान गरेका पाइन्छ । जस्तै- नाकमुख सुकेमा सुक्टिला, छेरिएमा पन्टिला, लक्षण नदेखाई अचानक मृत्यु भएमा बान पर्नु, खोकेमा धुर्सो (दम) आदि रोगको नामकरण गरेको पाइन्छ । बुढी पोल्दा सबै किसिमका रोगहरू नासिन्छन्‌ र पशुधनको सुरक्षा हुन्छ भन्ने मनोविज्ञानले पशुपालकलाई सकारात्मक ऊर्जा दिएको पाइन्छ ।

बुढी पोल्दा खुसी मनाउँछन् । रोगव्याधी आदि पोलिएको ठान्छन्‌ । पुतना भर्खर जल्दै छे जस्तो भावले हो-हल्ला गर्छन्‌ । बुढी पोलिएर खाक हुने अवस्थामा काँक्रो, ओखर, भुटेको मकै आदि चपाएर “थु बुढी थु, हाम्रो लुतो लैजा” भन्दै आगोमा थुक्छन्‌ । कहीँ कहीँ काँक्रो प्रसादको रूपमा बाँड्ने प्रचलन छ । कहीँ बुढीलाई थुकेको मध्ये बाँकी रहेको काँक्रो खान हुँदैन भन्ने मान्यता छ । बुढी पोलेर खरानी पारेपछि जतातिर धुवाँ उड्छ उतैतिर “लुतो/रोग व्याधि” गएको अनुमान गरिन्छ । आगो निभाउँदा साँच्चिकै पुतना नै जलिरहेको भान गरी प्रतिस्पर्धात्मक पिटाइ गरिन्छ । बुढी पोल्दा बचेखुचेका हाँगा, ठाक्रोलाई नजिक गाउँलाई सम्बोधन गरी हाम्रो “लुतो लैजा” भनेर ग्वालाहरू रमाउँदै होहल्ला गर्छन्‌ । बुढीलाई ठटाउँदै गरेको ठुटो सोही गाउँलेलाई सम्बोधन गर्दै हाम्रो “लुतो गयो” भन्दै फाल्छन्‌ । बुढी पोलेको स्थानबाट मकैको खोस्टोमा खरानी र कोइला लिँदै घी वा तेलमा दलेर तिलक बनाइन्छ । बुढी पोल्न गएका ग्वालाहरू आ-आफू तिलक लगाउँछन् । बाँकी तिलक सुरक्षित घर ल्याएर पशुवस्तुलाई लगाउँछन् । घर फर्किने क्रममा दौडने प्रतिस्पर्धा हुन्छ । जो पछाडि रहन्छ उसलाई लुतो लाग्छ भन्ने लोक मान्यता छ । पशुमा तिलक लगाउँदा भएको रोगव्याधी निको हुने र भविष्यमा रोग लाग्दैन भन्ने लोकविश्वास छ ।

यो पर्व नितान्त पशुधनलाई स्वस्थ राख्न मनाइन्छ । सदियौँदेखि पशुधन संरक्षणको भावनाले पर्वको लोकप्रियता बढ्दै गएको छ । आजभोलि गाईबस्तु छाडा छाड्ने र बसाइँ सराइँका कारण परम्परागत तवरले बुढी पोल्ने संस्कार लोपोन्मुख हुँदै गएको छ । डडेलधुराको पोखरामा बन्ढुनी पोल्ने समयमा स्थानीय मानिस एकै स्थानमा भेला भई देउडा खेल्छन्‌ । बिहानै तिलाडी र भाटा गाउँबाट राँकेजुलुस निकाल्दै देवदेवताको नारा लाउँदै बाजागाजाका साथ बुढी पोल्ने गरिन्छ ।

आधुनिक परिवेशमा सहरी क्षेत्रमा पशुपन्छीका विशाल फर्महरू स्थापना हुँदै छन्‌ । सरकारले अहिले पशुपन्छी बिमा योजना लागु गरेको छ । पशुधन सुरक्षार्थ सरकारले पशु बिमा नीति अवलम्बन गरेको छ । पहिला पशु बिमा योजना थिएन । पशुको  मृत्यु भएमा पशुधनको नोक्सानी शतप्रतिशत पशु धनीले व्यहोर्नु पर्थ्यो । पशुलाई रोग व्याधि, प्राकृतिक प्रकोप र दुर्घटना हुँदाको सम्भावित नोक्सानी रोक्ने विकल्प थिएन । बुड्डौनी प्रथाले पशुपालकलाई मनोचिकित्स सेवा प्रदान गरेको थियो । सोही प्रथाको प्रेरणा र विकसित रूप आधुनिक पशु चिकित्सा विज्ञान र बिमा योजना हो भन्दा अत्युक्ति नहोला ।

बुड्डौनीले पशुपालकलाई आफूले पालेका गाईबस्तुलाई पोषणयुक्त आहारा खुवाउने, गौशालाको सरसफाइ गर्ने, रोगव्याधीबाट बचाउने उपाय अवलम्बन गर्ने, गौशालाको व्यवस्थापन गर्ने, पशुको सरसफाइ, व्यायाम गराउने आदिको प्रबन्धमा ध्यान दिने बाध्य गराउँछ । मानसी संस्कृति र परम्परा अद्वितीय एवं अनमोल छ । यहाँका मानिस प्रकृतिसँग नजिक छन्‌ । प्रकृतिमा आस्था र विश्वास राख्छन्‌ । बुड्डौनी पर्वमा घरपालुवा गाईबस्तुको मङ्गलकामना गरी मनाउँछन् । मानव र पशुपन्छीका बीचको प्रेम र अन्तरसम्बन्धलाई उजागर हुन्छ । मानिसले आफू सहित पशुपन्छी र प्रकृतिको स्वास्थ्य कामना गर्दछन् ।

समग्रमा बुढी पोल्ने पर्व नितान्त गाईबस्तुमा समर्पित विशेष उत्सव हो । पौराणिक लोककथाअनुसार भगवान् कृष्णलाई बालक अवस्थामै विषाक्त दूध चुसाएर मार्न खोज्ने पुतना राक्षस्नीलाई कृष्णले मारेको उपलक्ष्यमा खुसी हुँदै पुतनाको शव जलाएकै दिन “पुतला दहन” सँगै पशुपालनको मङ्गलमय कामना गरिन्छ ।