एकदिन पेन्डोरालाई स्वर्गका देवता ज्युसले एउटा सुन्दर बाकस दिए र ‘यसलाई नखोल्नू’ भने । सुन्दर आकर्षक बाकस बोकेर पेन्डोरा धर्तीमा आई । धर्तीबासीहरूले पेन्डोराको बाकस देखे । त्यो बाकस अत्यन्त सुन्दर थियो । त्यस समयदेखि धर्तीमा बाकसको महत्त्व बढ्दै गएको थियो रे !

मलाई पनि एउटा बाकसको रहर लाग्न थालेको थियो । मेरो एउटा छुट्टै बाकस होस्, त्यसमा मेरा रहर लागेका समानहरू राख्न सकियोस्, आफूलाई मन लागेको बेला बाकस खोल्न सकियोस् र बन्द गर्न सकियोस् ।

म आठ कक्षमा पढ्थेँ त्यतिखेर । एक दिन मैले साहस बटुलेर आमासँग बाकस मागँे ।

‘किन चाहियो बाकस ?’ आमाले प्रश्न गर्नुभयो ।

‘सामान राख्न,’ मैले भनेँ । आमाले ‘भो पर्दैन’ भने पनि मेरो जिद्दीका अगाडि उहाँको केही लागेन । आमाले नीलो रङको सानो बाकस दिनुभयो । आफ्नो विवाहमा माइतीबाट दिइएकोे त्यो बाकसमा आमाले विवाहमा बुबाले दिएको तिलहरी, मामाघरका हजुरबुबाले दिएका ढुङ्ग्री, केही खर्त्याकखुत्रुक सामान राख्नुभएको थियो, त्योभन्दा ज्यादा राख्नुभएको थियो माइतीका यादहरू ।

सागर गैरे

आमाको बाकसमा मैले राखेँ भारतीय नायकका पोस्टकार्डहरू, गुच्चाहरू, खोपी, भुस खेल्ने छिल्लर पैसाहरू, बुबाले ल्याइदिनुभएको सामान्य ज्ञानका पुस्तक र केही युवामञ्चका अङ्कहरू । यी नै मेरा जीवनका निजी सम्पत्ति थिए । मेरा रहरले जोडिएका नोट, कापीहरू, पुस्तकहरू, कलमहरू, मसी … ।

मेरा रहरहरू सुरक्षित राख्न बुबाले ताला ल्याइदिनुभयो बजारबाट । मेरो खुसीको सीमा नै रहेन । ताला खोल्छु, बन्द गर्छु । खोल्छु, बन्द गर्छु । गरिरहन्छु धित नमरुन्जेलसम्म ।

समयको परिवर्तनसँगै बाकसमा थपिँदै गए फर्माइस कार्डहरू, कामना, साधना, माधुरी पत्रिका, हुलाक टिकट, पत्रमित्रका चिठीहरू, नयाँ लुगा, घाँटीमा लगाउने स्टिलका पत्तीका माला, पुलिकको माला, जिब्रे टोपी, फोटाहरू … ।

समयसँगै थपिए साहित्य, जीवनी, इतिहास, … दर्शनका किताबहरू पनि । समय कसरी बग्यो । कपालको रङ बताउँछ । अनुहारमा मुजा पर्दैगएको छालाले बताउँछ । प्रिय पाठक ! तिमीलाई परै चिन्न नसक्नुले बताउँछ । थकानले बताउँछ । यस्ता धेरै सन्दर्भले बताउँछन् । मैले भोगेको समय नयाँ छैन । बस् समय रोकिएको छ बन्दाबन्दीमा परी । घरबन्दी परेर रोकिएको समयसँग भेट भएको छ यतिखेर मेरो । प्रिय मान्छे ! अवरोध खडा नगर मलाई । भूत, वर्तमान र भविष्यबारे धित मरुन्जेल संवाद गर्नुछ समयसँग र लेख्नुछ बन्दाबन्दीको त्रासदीपूर्ण समय पनि ।

घरबन्दीको फुर्सदमा म बाकस सम्झन्छु । जसले मलाई जिन्दगी बुझ्न सिकायो, सपनाहरू देख्न सिकायो, संसार बुझ्न सिकायो, कर्म गर्न सिकायो, कला बुझ्न सघायो, सिकायो अरू के के पनि । बाकसलाई जब सम्झिन्छु छुट्टैखाले तरङ्ग सल्बलाउँछ आफैँभित्र । बाकसको स्मृतिले आमाको वात्सल्य सम्झादिन्छ मलाई ।

ककौरामा खरको घर थियो । घर छेउमा गोठ थियो । आमा बिहानै उठ्नुहुन्थो । आगो सल्काउनुहन्थ्यो । आफ्ना भविष्यहरूलाई ब्युँझाउनुहुन्थ्यो । रहरहरू उमार्नुहुन्थ्यो । इच्छाहरू हस्तान्तरण गर्नुहुन्थ्यो । आफू भोकै बसेर आफ्ना भविष्यहरूको पेट भर्नुहुन्थ्यो । भविष्यको आँखा खोल्न विद्यालयसम्म पठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो तिम्रा आँखा खुले मेरा बन्द आँखामा पनि उज्यालो छिर्ने छ ।

बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो ।

बाकससँगै आमाको याद खुल्यो । आमाले खै के सोच्नु भयो र वर्षौँ उपयोग गरेको बाकस दिनुभयो मलाई । यसैमा मेरो किशोरकालको एउटा अध्याय नै अटाएको थियो । बाकस आमाको वात्सल्यको एउटा एल्बम थियो । त्यहीँ राखिएको थियो मेरो बाल्यकाल र किशोरकालका धेरै सम्झनाहरू । त्यो बाकस मेरो निम्ति पृथक संसार थियो । जब म फुर्सदिलो हुन्थेँ आमाले बुनेको परालको न्यानो गुन्द्रीमाथि बस्थेँ र बाकस उघार्थेँ । म बाँचेको संसारभन्दा फरक थियो बाकसभित्रको संसार । बाकस मेरो पुस्तकालय थियो, अभिलेखालय थियो, संग्राहलय थियो, आमाको वात्सल्य प्रेम थियो । बाकसभित्र म घण्टौँ हराउँथे, जसरी मोबाइल हात परेपछि हिजोआजका बच्चा भोक, प्यास, निन्द्रा सबै बिर्सेर हराउँछन् ।

बाकसभित्रका हरेक कुरालाई निँयालेर हेर्थेँ । बाहिर निकाल्थेँ फेरि सामानहरू मिलाएर राख्थेँ । जब म बाहिरको दुनियाँ पुरै बिर्सिएर बाकसभित्रको दुनियाँमा हराउँथे तब म ध्यानको एउटा कोर्स पूरा गरिरहेको हुन्थेँ । त्यो बाकसले मेरो गोपनीयतालाई जोगाइदिएको थियो । मेरो सपनालाई बचाइदिएको थियो, मेरो दैनन्दिनलाई व्यवस्थित गरिदिएको थियो ।

समयक्रममा कोठामा बाकसभन्दा कैयौँ गुणा ठूला दराज आए । टेबुल र काउण्टर आए । सुत्ने पलङमै पनि सामान राख्न मिल्ने घर्रा आए । त्यसपछि त्यो बाकसलाई एउटा कुनामा थन्काइएको थियो ।

घरमा जति आधुनिक सुविधा सम्पन्न सामान भए पनि बाकसको छाप मेरो मनमस्तिष्कबाट अझै मेटिएको छैन । त्यो बाकसले दिएको आत्मसन्तुष्टि म सिङ्गै कोठाभित्र कतै पनि भेट्दििनँ । ठूला र सुविधा सम्पन्न सामानबाट आत्मसन्तुष्टि प्राप्त हुन्छ भन्ने भ्रमबाट म मुक्त हुन्छु । स्नेह, माया, सम्झना जोडिएको छ भने साना वस्तुबाट पनि परमआनन्द प्राप्त हुँदो रहेछ नै ।

सम्झन्छु त्यो कुसे औँसीको दिन । म बाबाआमा भेट्न बिहानै ककौरा पुगेको थिएँ । छोराछोरी फोन गर्थे र छिटो घर आउन भन्थे । म हतारमा घर फर्कदै थिएँ । परैबाट देखेँ मेरो घरअगाडि कवाडीया बाकसजस्तो समान साइकलमा बाँध्दै थियो । आमाले दिएको बाकसको याद आयो । पाइला छिटो चालेँ । घर छेउमा पुग्दा बाकस बोकेको मान्छे पर पुगिसकेको थियो ।

मैले छोरा छोरीलाई सोधेँ, ‘कवाडीले के लियो ?’

उनीहरू मौन थिए ।

‘बाबा हजुरलाई पेन्डोराको जस्तै सुन्दर बाकस किनिदिएका छौँ । बिर्सनुहोस्, थोत्रो बाकस जसलाई कोठामा राख्दा पनि सुहाउँदैन ।’

पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए ।

त्यो बाकस पेन्डोराको भन्दा पनि सुन्दर थियो बाबु । जसमा मेरा रहरहरू थिए, देशका सपनाहरू थिए, आमाका माया, बुद्धका शान्ति, माक्र्सका विचार … थिए ।

म पेन्डोराको बाकस सम्झन्छु । बाकस नखोल्नु भनेकाले पोन्डोरालाई बाकस खोल्न हतार भयो । पोन्डोराले बाकस खोली । बाकसबाट निक्लिए डरलाग्दा जनावर, सर्प, बिच्छी, रिस, आवेग, स्वार्थ … के के हो के के । यी सबै धर्तीभरि फिँजिए ।

कवाडीले बाकस खोल्दा पेन्डोराका बाकसबाट फैले झैँ मेरा बाकसमा भएका कुरा फैलेलान् संसारभरि ? प्रश्नवाचक आँखाले कवाडीको साइकल हेरिरहन्छु परपरसम्म ।