
आमालाई सबैभन्दा प्यारो के लाग्छ भनी कसैले सोध्यो भने सायद सन्तान भन्ने उत्तर आउँछ होला । आमा सृष्टिकर्ता हुन् र त सृष्टिको मूल्य थाहा पाउँछिन् । सिर्जनाको मूल्यबोध गर्नु वात्सल्य हो । वात्सल्य नहुँदो हो त जीवनजगत्को अस्तित्व हुँदैन । अस्तित्वबोधको चेतना मातृभूमिप्रतिको श्रद्धा पनि हो । मातृभूमि वात्सल्यदायी परिवेश हो ।
प्रत्येक जीवमा स्वको चेतना हुनाले आफ्नो माया लाग्छ । आफ्नो सुरक्षा र अस्तित्वका लागि मानिसले युद्ध रोज्छ, शान्ति खोज्छ र क्रान्तिको वीज पनि रोप्छ । परिवारको मोहले समाज र पहिचान बच्छ । समाजप्रतिको कर्तव्यबोधले पहिचान र राष्ट्रियता बचाउँछ । राष्ट्रियताको श्वासले देश बचाउँछ । राष्ट्रवादीले देशको उन्नति रोज्छ । राष्ट्रवादीका लागि देशका प्रत्येक वस्तु र अवस्थामा मोह हुन्छ । राष्ट्रवादी नेतृत्वले महलको ममताभन्दा झुपडीको व्यथा बुझ्छ । झुपडीमा बल्ने मङ्गलदीप हजारौँ सूर्यभन्दा चम्किलो र रापिलो हुन्छ ।
आमाको चाहना सन्तानबाट र देशको चाहना नागरिकबाट प्रतिध्वनित हुन्छ । देशको शिक्षा, राजनीति र अर्थतन्त्रले नागरिकलाई आफ्नै आँगनमा नाच्न र आफ्नै बारीमा हाँस्न सिकाउनुपर्छ । विश्व क्षितिज नियाल्दा यही सोचले मानव उन्नत बनेको छ, समाज सभ्य बनेको छ, देश उन्नत बनेको छ । आफूतिर फर्केर हेर्यो भने मभित्रको स्वले मलाई धिक्कार्छ । हाम्रा सन्तानले बोली नफुट्दै अरूका लवज र संस्कार सिकेका छन्, हामीले सिकाएका छौँ । आफ्नी आमालाई गाली गरेर पराईको प्रशंसा गर्न सिकेका छौँ, सिकाएका छौँ ।
रोगले थलिएकी आमाले जन्माएको कुपोषित सन्तानको दूध खोसेर नेतृत्वको परिवार पालिदिएका छौँ । हामीले नैतिक शिक्षा पढ्यौँ तर नीति जानेनौँ । हामीले कृषि शिक्षा पढायौँ तर अनाज रोपेनौँ । विधि बनायौँ तर पालन गरेनौँ । अरूको भाग खोस्न सिक्यौँ, सहअस्तित्व पाठ पढेनौँ । हामीले किसानका खेत मासेर विलासका महल सजायौँ तर किसान बन्न सकेनौँ । हामी नेता बन्यौँ तर नेता बनाउनेका मस्तिष्कमा सजिन सकेनौँ । शिक्षाले मस्तिष्क किन्न र बेच्न सिकायो, मुटु चिनाएन । राजनीतिले परिवार चिन्यो तर राष्ट्र चिनेन । अर्थतन्त्रले किन्न सिकायो, बेच्न सिकाएन । विद्वत् मस्तिष्कले बक्न सिकायो, भोग्न सिकाएन ।
अहिले सन्तानमा सन्तोष छैन । जिउमा जाँगर र कर्ममा विश्वास छैन । शरीरमा स्वास्थ्य छैन । सम्पत्ति छ, सुख छैन । प्रतिभा छ तर प्रयोग गर्ने प्रयास छैन । आँखामा दृष्टिकोण र मुटुमा ममता छैन । बुद्धि छ, विवेक छैन । शिक्षा छ, ज्ञान छैन । हामीसँग यथार्थ सपना पनि छैन । त्यसैले होला मैले मेरो भन्न सिकेँ, म चिनिनँ । सन्तानले आफू चिने अरू चिनेनन् । हामीले परहित सोच्न सकेनौँ । हामीलाई प्रसव पीडाभन्दा साइरन राज उन्नत लाग्यो । अँगेनाको आगोभन्दा क्षितिजको उज्यालो प्यारो लाग्यो ।
म आँखा चिम्लेर मलाई र आँखा खोलेर देश हेर्छु र देख्छु सबै उडिरहेका छन् । पुँजीवादीहरू पैसा खोज्न र समाजवादीहरू विचार खोज्न उडिरहेछन् । कोही भोगका लागि र कोही भोकका लागि उडिरहेछन् । गरिब युवा काम खोज्न र ज्येष्ठ नागरिक ममता खोज्न उडिरहेछन् । बालमस्तिष्कमा विदेश गाडिसकेको छ । कान्ला र पाखा रोएको कर्मशील पाखुराले देखेको छैन । बारी बाँझो राखेर बिदेसिने रहर जागेको छ ।
विमानस्थलमा दिनहुँ दुई पङ्क्तिमा मानिसको भिड लाग्छ । एउटा पङ्क्ति नवविवाहिता पत्नीका आँसु, आमाको ममता र नम्बरी खेत बन्धकी राखेर पसिना बेच्ने यात्रामा छ । त्यही पङ्क्तिमा फक्रँदो यौवन, न्यानो अँगालो र सुखी परिवारको सुन्दर सपना पालो पर्खेर बसेको छ । विमानस्थलमा तपतप चुहिने बिछोड र पीडाको आँसु सभा, परिषद् र आयोगले देखेको छैन । ऋण काढेर कर तिर्न नसक्दाको पीडा र पसिनाले भिजेको रुमालले आँसु पुछ्न नसकेको पीडा सत्ताले देखेको छैन । सुन र लसुनमा फरक छ नि तर यो भिन्नता बुझाउने विधान हामीसँग छैन ।
बाबुआमाका आशा खुसी खोज्न क्षितिजभित्र हराउँदा मेरो राष्ट्रियतालाई अलिकति पनि दुखेको छैन । यही दैनिकीमा परिवर्तनकारी जनशक्ति बिदेसिएको देख्दा हाम्रा विश्वविद्यालयका चाणक्यलाई पनि नयाँ पुस्तक पढाउने रहर जागेको छैन । युवाले देश परिवर्तन गर्न सक्छन् भन्ने भाषण दोहोरिएको दोहोरिएकै छ तर कसको देश बनाउने हो भन्ने फैसला न्यायालयले गर्न सकेकै छैन । हामी हराएका छौँ, हराएको थाहा छ तर किन हरायौँ, छानबिन भएकै छैन ।
विमानस्थलमा अर्को पङ्क्ति पनि छ । भरखर बालिग भएका हँसिला अनुहार यहाँ के छ र बरु त्यहाँ छ भन्ने सोचमा उभिएका छन् । तिनका आमाबाबु सन्तान उडेको सपना देख्छन् । उड्दा फाँट देखिन्छ, हिमाल देखिन्छ, वन र नदी देखिन्छ । सायद मरुभूमि पनि देखिन्छ तर सबैले देख्दैनन् । आमाबाले पनि मरुभूमिको सिउँडी देखेका छैनन्, कल्पवृक्ष देखेका छन् । आफ्नो मुटु कसरी धड्कँदै छ भन्ने नबुझेका अल्लारे मनलाई पढाइका नाममा क्षितिजभित्र लुकाइदिएर समाज खुसियाली मनाउँछ ।
हाम्रा ज्ञान र विज्ञानका रक्षकले वायुयान चढ्दा आँखामा आँसु टलपलाए पनि मनामा हर्ष साँचेर फर्कने आमाबाबुको पनि कमी छैन । के हाम्रो शासनले ती युवाको मस्तिष्कलाई बेचिन र पलायन हुनबाट बचाउन सक्दैन ? के गाउँको मुखियाले सहरमा महल नबनाए हुन्न ? के मेरो देशले मलाई एक मुठी सास र न्यानो काख दिन सक्दैन ? सबै नेपालीले एक एक बिरुवा रोपेर जोगाए देश हरियो हुन्छ । एक एक फलका बिरुवा रोपे विदेशबाट फलफूल किन्नुपर्दैन । आफ्नो घरआँगन आफैँले सफा गरे सयौँ रोगको आगमन रोकिन्छ । मुहान सफा भए कुलो सफा हुन्छ ।
के हाम्रो शिक्षाले मुहान सफा गर्ने सिप दिन सक्दैन ? हामीलाई हाम्रै बजारमा बेच्न सक्दैन ? हाम्रा योजना सत्ता, भत्ता र ठट्टामै सीमित हुने हुन् ? शिक्षा र रोजगारीका लागि सीमापारि नै जानुपर्छ ? कुना कुनामा रोजगारी र स्वरोजगारी उम्रन सक्दैनन् ? घर बेचेर मुगलान् पस्ने बुद्धि र बर्कतलाई ऋण दिएर शिल्प बेच्ने बाटामा फर्काउने योजनामा समेट्न सकिँदैन ? यही यथार्थ बुझ्न र बुझाउन नसक्दा विद्यालय शिक्षा पूरा नगर्दै विद्यार्थीले विमानमा खुट्टा राखिसकेका हुन्छन् र यो हाम्रो नियति बन्दै छ ।
अरू शिक्षालाई आयआर्जनका रूपमा प्रयोग गर्दै छन्, हामी रेमिट्यान्समा आधारित अर्थतन्त्रमा रमाउँदै छौँ । यस परिदृश्यले हाम्रो सामाजलाई बालवृद्ध समाजको पहिचान दिन के बेर ? आमाबाबुले सन्तान प्रगति पथमा उडेको देख्न चाहन्छन् तर पीडाको पङ्ख लगाई परदेशतिर उडेको देख्न चाहँदैनन् । हामीले अहिल्यै सोच्न नसके घरमा पिर छाडेर परदेशको पिरमा डुब्ने दिन आउन के बेर ? हाम्रा विश्वविद्यालयले यसै विषयमा नयाँ सङ्काय खोले हुँदैन ?
मैले मेरा सन्तानले उताको सोच नबनाउन्जेल यही सोचिरहेँ । विश्वविद्यालयमा देशभक्तिको पाठ पढाइरहेँ । स्रोत र साधनको सदुपयोग समृद्धिको आधार हो भन्ने अर्थशास्त्र घोकाइरहेँ । मेरा सन्तानमा उताको मोह भरिएका दिन आमाको ममताले सन्तानलाई रोक्न सकेन । मेरो आदर्श र देशभक्तिले रोक्न सकेन । हाम्रो राष्ट्रियता, व्यवस्था र योजनाले रोक्न सकेन । उसले मेरा सबै आफन्तको उदाहरण दियो, माटो धरधरी रोएको देखायो ।
पसिना चुहाउने ठाउँ नभएको गुनासो गर्यो । बाटो बिग्रिसकेकाले चालकले दुर्घटना गराउने र यात्रा पूरा नहुने सङ्केत गर्यो । एक मुठी माटो देखाएर रक्तिम उर्वरता देखायो । आँसुका थोपा देखाएर पसिनाको मोल देखायो । यता आइज भनेर टाढाको परदेशीले दिएको आह्वान पत्र देखायो र मेरा अगाडि आफ्ना परिपक्व भई नसकेका पङ्ख फटफटायो अनि उड्नलाई खुट्टा उचाल्यो ।
म विवश भएँ । मेरो स्वाभिमान र राष्ट्रियता विवश भयो । मैले मेरो धर्तीलाई बाटो देखाइमागेँ । धर्ती निःशब्द र विवश देखियो । म हारेँ । मेरो स्वाभिमानलाई धिक्कार्दै आँखामा आँसु भरेँ र उड्न लागेको सन्तानको सहयोगीका रूपमा विमानस्थलको दोस्रो पङ्क्तिमा उभिएँ । उसकी आमाले पनि पछ्यौरीले कोस पुछेर मातृत्व लुकाइन् ।
आँसुका थोपामा नैराश्य लुक्छ । नैराश्यले उन्नतिलाई सुकाइदिन्छ । मैले प्रगतिको भँगालो रोक्न सकिनँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

