फोनमा औंला चलाउँदा – चलाउँदै एउटा ज्ञानीको स्वरूप देखें । पछि थाह भो अर्जुन पराजुली आफ्नो कवि लिएर इमेज च्यानलमा पुगेका रहेछन् । म औधी रमाएँ । आयोजकको प्रस्तुति सन्तुलित र आदरणीय थियो । यसले पनि मलाई एकाग्र रहन प्रेरित गर्यो । मात्र राजनीतिक जीवलाई परिक्रमा गर्ने संचार श्रृंखलामा, स्रष्टा र विद्वानहरुलाई प्रश्रय नमिल्ने परिवेशमा अर्जुन पराजुलीलाई नायक बनाएर साहित्यको स्वाद बाँढ्ने श्रेय खरेल भाइलाई दिनैपर्छ । म उनलाई आभार भन्छु ।
साहित्यको स्वाद लिन म पनि गँजडी जस्तो भएको छु । मैले पढ्ने कवितामा म ताच्छिल्य खोज्छु । एकैछिन भए पनि चौतारी बन्छ । चमत्कार भेटियोस् भनेर त्यसैको कामना राख्छु । कुतूहल देओस् त्यसको आकर्षणले म सम्मोहित भएर तानियूँ । बौद्धिक चास्नीले लोभ्याओस् र त्यसैमा लठ्ठिएर आनन्दातिरेकमा विह्वल बनूँ । मेरो आत्माको काव्य–तीर्खा यही हो । यस्तै कुराहरू मनमा राखेर म अर्जुन पराजुलीको कविलाई सुन्न उत्सुक हुन्छु । यो अवसर जुराइदिएकोमा इमेज च्यानललाई पनि धन्यवाद भन्छु ।
अर्जुन पराजुलीअर्जुनको कवि ज्ञानी, महात्मा जस्तो हैन, बिल्कुल फरक देखें । आजका राजनीतिक जीव जसरी राज्य–विप्लव गर्ने असुर–शक्ति लिएर आएको छ, त्यसैगरी अर्जुनका कवि आग्नेयास्त्र र वरुणास्त्र लिएर त्यसलाई दग्ध–शमन गर्ने प्रचुर ऊर्जा भरेर आएको छ । सागरभित्र बडवानल हुन्छ भन्ने विश्वास अब साकार हुन्छ भन्ने लाग्छ । हो पनि ज्ञानी, वेदपुरुष वा उपनिषद् पुरुषहरू सधैं जल–शीतल भएरै बस्छन् भन्ने छैन । सबै दधीचि हुँदैनन्, दुर्वासा र भीष्म पनि हुन्छन् । परशुराम पनि बन्छन् । जब अस्त्र– उठाउने वेला हुन्छ, पछि सर्दैनन् । मैले अर्जुनको कविलाई गाण्डीवधारी नै देखें । त्यसमा अजेय योद्धा बसेको छ । न पराजयबोध गर्छ न कुनै सन्धि–संझौता !
साहित्यकार जहिले पनि सत्ताको विपक्षमा उभिएको हुन्छ । इतिहास, संस्कृति, कला, गौरव तथा जीवनको सुन्दर पक्षमा वकालत गरिरहेको हुन्छ । ऊ माटोको रक्षा र त्यसको सुरभिको वृद्धिका लागि आफैँलाई बाजीथाप्तै रहन्छ । देशघातीतत्व बाहेक बाँकी सबै उसैका हुन्छन् । हरेकले उसलाई आफ्नै ठान्छ । समाजमा जति आदरणीय व्यक्ति कलमधर हुन्छ कलाकार हुन्छ (चित्रकार) शायद अर्को व्यक्ति हुन्छ भने त्यो खोज्नैपर्छ । ९७ सालका शहीद रूखमा फले (?) ती आदरणीय छन्, अरु बारे गुन्नै पर्छ । कसिंगर जस्तो देखिए पनि सर्वप्रिय हुनु र दीर्घजीवी बन्नु गौरवको विषय भएन र ? मुलुकको स्वाभिमान र अलङ्कार होइनन् र विद्वान कवि र लेखकहरू ?
वास्तविक लेखक स्तुति गायक हुँदैन, अग्निवर्षक नै हुन्छ । ऊ विचारको उत्पादक हो, जनक हो ऊ मर्दैन, ऊ हार्दैन । त्यसैले कवि पराजुली युगको आवश्यकता हो ।
हो लामो पर्खाइपछि युगले एउटा कवि पाउँछ, नेता पाउँछ, योध्दा पाउँछ । कवि त जन्म्यो अब योद्धा जन्मन बाँकी छ । मुलुकले त्यो पनि जन्माउला गर्भाधान भइसकेको हुनुपर्छ । उसको स्वागतमा तत्पर रहनुपर्छ ।
भन्न सजिलो छैन – युगले कवि जन्माउँछ या कविले युग ! जसरी बुझे पनि हुन्छ । सरल भावले यति नै भनौं यो व्यवस्था र यो राजनीतिले अर्जुन जस्तो कवि जन्मायो । अर्जुनको कवि लक्ष्य–भेदनमा अर्जुन जस्तै छ र प्रत्येक प्रहारमा ऊ सफल छ ।
व्यवस्था र राजनीति थाम्ने त जनता हुन्, म हुँ, हामी हौं । मुलुकलाई यो दुर्दशामा पुर्याउने पनि हामी नै हौं । यसैका लागि मतदान गरेर छानेर नेता ल्याएका हौं भनेरे कविले होशपूर्वक औंल्याएका छन् । उनी आफ्नो चिन्तन सङ्ल्याउनु पर्ने दृढता प्रकट गर्दछन् । हो नि टाउकोलाई कन्टेनर बनाएपछि स्वच्छता आउँछ कहाँ ? आलोक फैलिन्छ कसरी ? कवि गैर काव्यवाणीमा पनि काव्य नै बोलिरहेका हुन्छन् ।
अर्जुनको कवि मुलुकका लागि बोल्छ, सुधार र परिष्कारका लागि बोल्छ । सत्य र यथार्थ बोल्छ । व्यथित मनका लागि त्यो पथ्य/औषधि हुन्छ, दुरात्माहरूका लागि बाढी झंझा र हिमपात बन्छ । कविको काव्यवाणीले दलपति र तिनका सेनालाई सन्तप्त बनाउँछ । विचरा अविद्याकै कारण आफूलाई दासभावले खुम्च्याउँछ र पतिकै इशारामा देशबन्धुलाई नङ्ग्याउँछ तर्छाउँछ । किनकि उलाई विवेक प्रयोग गर्ने अधिकार छैन । नतिजा अर्जुन कविको उदय हो ।
कविता वाचन पनि कला हो, यहाँ अर्कै मिठास र सौन्दर्य छाएको हुन्छ । कविकै वाणीमा काव्य सुन्न पाउनु पनि महत्वको कुरा हो ! संगीतमय भाव लहरीले तानेर पाठक/स्रोतालाई अर्कै संसारमा पुर्याउँछ भने कविताको सिद्धि मान्नै पर्छ । म पनि तानिएँ क्यार ! मलाई छुँदैरह्यो, म नशालु देखिँदै रहें । अनुभव यस्तै बन्यो ।
अर्जुनको कवि दलवादमा नलागेर हुर्केको तथा राष्ट्रबोधी चिन्तनले उठेको अब्बल दर्जाको स्रष्टा हो अन्यथा, अभिधामा ध्वनि र गूढ व्यंग्य, आलोचनात्मक चेत यसरी मुखर हुन सक्थ्यो र ? दलपति र उसका सेनाद्वारा बबुरा कवि त्यसै निचोरिएर थिल्थिलो हुन्थ्यो र कलम भाँचेर झोक्राउँदै बस्थ्यो । तर योद्धा एक्लै ‘देवदत्त’ फुक्न समर्थ छ । राजनीतिक शक्तिले देखाएका गतिविधिले नै समाजमा व्यंग्य छरेका हुन् । तिनैको गुम्फनमा व्यंग्यको रस मिल्छ । वाह !
अर्जुनका प्रत्येक कवितामा महाकाव्य समेटिएको छ । प्रत्येक लाइनमा एउटा सर्ग बाँधिएको छ । समय, सन्दर्भ र स्थितिको परिप्रेक्षबाट त्यो व्याख्येय देखिन्छ ।
उनका कविता राष्ट्र, जीवन, घटना अराजक गतिविधिका ऐतिहासिक चित्रावलि हुन् । यदि इतिहासले छल गर्न खोज्यो भने, साहित्यका पृष्ठबाट ऐतिहासिक तथ्यहरुको टिपोट–संकलन गर्नुपर्ने स्थिति आयो भने त्यहाँ यस्तै कविताले महत्व पाउने छन् । द्विविधा छैन ।
अर्जुनका कविता उस्तै पाठकका लागि यथार्थ अवसन वा श्रृंगार रहित लाग्ने छन्, तर हैन यी कविता ध्वनिमा, अलंकारमा र औचित्यमा नै बोल्दछन् । ‘विभावना’ विना कविता प्रायः बोल्दैनन् । कदाचित् काव्यशास्त्रीय अध्ययन गर्ने अवसर यी कविताले पाए भने यिनको महत्व अर्को पक्षबाट पनि चुलिने छ र त्यसले कविको मेधालाई अत्यन्त उच्चता प्रदान गर्नेछ ।
पढौं वा सुनौं अर्जुनका कविताले चित्रात्मक दृश्य सम्प्रेषित गर्दछन् । यो पक्ष महत्वपूर्ण मानिन्छ । शब्दका माध्यमले चित्र निर्माण गर्नु असाधारण प्रतिभाको द्योतक हो । यो विधि तारीफ योग्य छ ।
सम्प्रेषण शक्ति प्रचुर छ– कवितामा !
सरलताबाट उठेका उचाइ, गहिराइ र व्याप्तिको नापतौल गर्न हामीले छुट्टै यन्त्र लिनुपर्ने हुन्छ कि भन्छु अन्यथा कवितामाथि न्याय हुने छैन ।
अर्जुनको काव्यशैली ऋजु र सूत्रात्मक भए पनि गहन तथा सारगर्भित छ । शब्दकोशमा उनी समृद्ध छन् । कलम समाउने व्यक्ति नै अग्लो र दीर्घजीवी हुन्छ भन्ने कुरा यहाँ पनि पुष्टि हुँदैछ । नत्र आजसम्म प्लेटो र अरिस्टोटल किन पढिँदा हुन् ! दोहोर्याएर भनौं भने नेहरूभन्दा टैगोर प्रतिवर्ष अग्लिंदै गएका छैनन् र !
कवि अर्जुन पराजुली युग, समाज र राजनीति निरपेक्ष छैनन् । बुझ्न घोरिनै पर्ने भो । उनले आफ्नो युगको भार आफ्ना काँधमा उठाएका छन् । निर्माण, जुझारु र विद्रोही कविको हैसियतले उनको पहिचान असाधारण बन्दछ । हो, यी औंला केवल सुकोमल अङ्गमा मात्र परिक्रमा गर्दैनन् कठोर कर्मका लागि पनि तत्पर हुन्छन् । त्यसैले कवि उद्घोषण गर्छः
यैः कान्ता–कुच–मण्डले कररुहाः सानंदमारोपिताः
तैः किं मत्त–करीन्द्र–कुम्भ–शिखरे नारोपणीया शराः ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।