कार्यकक्षमा काम गरिरहेको थिएँ ।
निजी सहायक माधवजीले चिट दिनु भयो- “कोही हजुरलाई भेट्न आउनु भएको छ ।”
व्यस्त भएकाले सोधेँ, “के काम रहेछ, सोध्नुभएन ?”
“छुस्स भेट्न मात्र आउनु भएको रे, काम केही छैन, भेट्ने मात्र काम रे । पाको उमेरको, कपाल जिङरिङ्ग, अलि रफ खालको …।”
“पठाइ दिनुस् माधवजी ।”
सानोकाजी सर अचानक मेरो कोठामा पस्नु भो । ‘चिनेनौ ? म पद्योदय हाइस्कुलको सानोकाजी सर के’ । त्यसपछि ग्वाम्म अँगालो मार्नुभो र जानुभो । चिया खान पनि मान्नु भएन । ‘प्रशासनको उच्च तहमा बसेको शिष्यलाई कसरी बसेको रहेछौ भनेर हेर्ने रहरले आएको । तिमी काममा व्यस्त छौ, डिस्टर्ब गर्न हुन्न । मेरो धोको पूरा भो, अहिले म गएँ’ भन्दै ठा-ठाडै मेरो कोठाबाट बाहिरिनु भो ।
उहाँलाई लिन म आफै बाहिर जानु पर्थ्यो । मान र आदर गरेर ल्याउनु पर्थ्यो । त्यसो गर्ने मौका पनि दिनु भएन, थाहा दिएर आउनु भएको भए पो !
अर्को दिन शिक्षा मन्त्रालयमा भएको समय, अपरिचित नम्बरबाट फोन आयो । उठाइन । सरुवा माग्ने, धम्की दिने फोनहरू धेरै आएकाले पनि अपरिचित फोन उठाइन । सेटमा कलर आइडी पनि थिएन । टेक्स्ट मेसेज आयो-‘फोन पनि नउठाएको । हेर न म के गर्छु’ । डराएर आफैले फोन गरेँ । नरेन्द्र सर हुनुहुँदो रहेछ । ‘शिक्षकको अभिभावक कुर्सीमा पुगेछौ । शिष्य आफ्नै अभिभावक बन्दा नाक घिरौँलो जत्रो भएको छ । तिमीलाई थाहा नदिई कुनै दिन तिमी बसेको हेर्न आउँला’ । नरेन्द्र सरलाई शिक्षा सचिव आफ्नै विद्यार्थी बनेको हेर्ने कत्रो रहर !
आफूलाई पढाउने शिक्षक शिक्षिकालाई सम्झेजति स्मृति बिम्बमा ल्याएँ । क, ख पढाउने ठूलो दाजु, उहाँलाई मलाई अक्षर चिनाउन कम्ती गाह्राे परेको थिएन । तर उहाँ सरभन्दा दाजु । श्याम खाजु, उमेश दाजुले पनि गाउँको स्कुलमा पढाउनुभएको थियो, उहाँहरू पनि सरभन्दा दाजु । भुवनेश्वर गुरु, केदार सर, रोहित सर, बडाल सर, अम्बिका मिस, ईश्वरी मिस, शुष्मा मिस, नरेन्द्र सर, नरेश गोपाल सर, उपेन्द्र प्रेमी सर, श्याम सर, विजयालक्ष्मी मिस, सुरेन्द्र सर, झङ्क सर, कृष्णबहादुर सर, श्रीहरि सर, फणिन्द्रसर.. ।
सानो कक्षाका सर मिसहरूको सम्झना अहिले पनि ताजै छ । कलेज, युनिभर्सिटीका सर मिसहरूसँगका प्रसङ्ग त्यति ताजा छैनन् । अम्बिका मिसले कक्षामा चिट चोर्दा खोस्नु भो, तर कारबाही गर्नु भएन । तिमीले पनि चिट चाेर्ने ? मिसको यो वचनले मलाई अहिले पनि आफ्नै मनले अपराधी मान्छ । त्यो चिट अहिले पनि मिसको व्यागमा सुरक्षित हुनुपर्छ । अब नचोरोस् भनेर होला, तीन चार पटक समूह नै चिट देखाइ दिनु भो । कारबाहीको त्यो शैली, शायद मनोवैज्ञानिक रूपमा कारबाही गर्नु भो । शुष्मा मिस बित्नुभो कि क्या, कहिल्यै देखिन । श्याम सर विदेशमा ठूलो वैज्ञानिक बन्नुभएको छ क्यार । विज्ञान धेरै राम्ररी पढाउनुहुन्थ्यो तर छोटो समय । उपेन्द्र सर, श्रीहरि सरले साहित्य लेख्न, दुख पोख्न, अरूबाट नरिसाउन र धैर्यका कुरा सिकाउनु भो । विजया मिस, नरेन्द्र सर र सानोकाजी सरले अनुशासन सिकाउनु हुन्थ्यो ।
एउटा व्यक्तिको व्यक्तित्व निर्माणमा धेरै गुरुहरूको योगदान हुन्छ । गुरुहरू आफू आदर्श भएर आफ्ना राम्रा चेलालाई आदर्श मान्दा रहेछन् । शिष्य सपार्नु शिक्षकको सपना हुँदो रहेछ । आफ्ना शिष्यहरूको अभिलेख नै हुँदो रहेछ उहाँहरूमा । एउटा विद्यार्थीले राम्रो गर्दा उनीहरूको आत्मसम्मान र आत्मसन्तुष्टि बढ्दो रहेछ, नराम्रो हुँदा बेस्सरी नै चित्त दुखाउँदा रहेछन् ।
मनमनै सोचेँ-शिक्षक जागिरे होइन । शिक्षण जागिर होइन सेवा हो, पेसा होइन समर्पण हो । आदर्श शिक्षक आशा गर्दैन, आशा दिन्छ, उत्साह उमार्छ र अनन्त भविष्यको बाटो देखाउँछ । शिक्षक, मातृभूमि र आमा एकै हुन्, दिन्छन् मात्र, लिने भनेको असलपनको अपेक्षा हो । हामी असल भए भने शिक्षकले पाएको महसुस गर्छन् । शिक्षकको सपना असल शिष्य हो । शिक्षा भनेकै शिक्षक हो । शिक्षक राम्रा भएर नै कागजका अक्षरहरूले जीवन पाएका हुन्, काँचो माटो जस्तो विद्यार्थीले परिपक्वता आर्जन गर्दै नवोन्मेषी यात्रा गरेका हुन् । एउटा आदर्श शिक्षक उज्यालो दिन्छ, अँध्यारो निभाउँछ, ज्ञान र व्यवहार सिकाउँछ, सीप र शील सिकाउँछ । त्यो सिकाउँदा शिक्षक भने आफै ज्ञानको दियो बन्छ, जो अरूको उज्यालोका लागि आफै भने बल्दैबल्दै बिलाउँछ ।
आजभोलि शिक्षकहरू समाजबाट आलोचित छन् । समाज, सरकार र स्वयम् शिष्यहरू शिक्षकलाई आदर गर्दैनन् । शिक्षककै कारण शिक्षा बिग्रेको छ, समाज बिग्रेको छ, राजनीति, व्यवस्थापन बिग्रँदै छ । खराब शिक्षक अपवाद हो, शिक्षक समाजको आदर्श हो । अपवाद विधि र व्यवहारले बनाउने हो, फेरि त्यो व्यवहार र विधिलाई व्यवस्थापनमा बदल्ने नेपथ्यको पात्र पनि शिक्षक नै हो । समाजमा सिद्धान्त र शैलीबिच खाडल बढ्दै गएको छ । नीति निरीह बन्दै छ, नैतिक आचरण र आदर्शहरू हराउँदै छन् । त्यसैले आदर्श शिक्षकको महत्त्व झनै बढेको छ । ज्ञानको दियो बाल्ने शिक्षकलाई दियो बालेर समाजमा खोज्न परेमा त्यसको निष्कर्ष हो समाज सुधारको प्यासमा आक्रान्त छ ।
शिक्षक कुनै चानचुने व्यक्ति र विषय होइन । शिक्षक शिष्यलाई महानता देखाउँछ, महान् बनाउँछ । शिक्षकहरू कसैले नजितोस् तर आफ्ना शिष्यले जितोस् भन्ने भावनामा समर्पित हुने गर्छन् । आफूलाई पलपलमा परास्त गरोस्, आफूभन्द ज्ञानी र गुणी बनोस् सम्झन्छ । अर्जुन आफूभन्दा कैयन गुण महान् बन्दा द्रोणाचार्य कति खुसी थिए । सिद्धार्थलाई महानता देखाउने यशोधराभन्दा सिद्धार्थ कति महान् भए । कक्षाकोठाका बज्रस्वाँठ आइन्स्टाइनलाई अक्षर र अङ्क जोड्न सिकाउने साथीभन्दा आइन्स्टाइन कति महान् बने । शिष्य आफूभन्दा ठूलो, आफूभन्दा ज्ञानी, शिल्पी, साधक बन्दा शिक्षक मन देखिनै प्रफुल्ल हुन्छ । यसो गर्ने सोच सामर्थ्य नभएको शिक्षक शिक्षक नै होइन । त्यो त पेसाजीवी हो । शिक्षकहरू सेवा गर्छन्, पेसाजीवीहरू पेट पाल्छन् । गुरुहरू ज्ञान संस्कारका अभिभावक, आमाबुबा कर्मका अभिभावक । असल शिक्षक अभिभावक हो । आमाबुबाजस्तै ।
शिक्षक आफ्ना हरेक कार्य-प्रकार्यमा शिष्यलाई ज्ञान दिइरहेको हुन्छ । बोल्दा, हेर्दा, व्यवहार गर्दा, जे गर्दा नि शिक्षक पढाइरहेको हुन्छ । शिष्यको निर्माण गरिरहेको हुन्छ । यसो गर्दा गर्दै उ विश्व नवनिर्माणको दर्िहलो जग बनिरहेको हुन्छ । विश्वका हजारौं महान् गुरुहरू यो विश्व निर्माणका जग हुन् । त्यसैले शिक्षक हेपिनु हुन्न, लत्रिनुु हुन्न । पेसा र कर्मप्रति गर्वमा रहेर विश्व नवनिर्माणमा उत्साही रहनु पर्दछ ।
गुरुकुलमा शिक्षकहरू वेदवेदान्त, अध्यात्म र नीति शास्त्र सिकाउँथे । युद्धकला र राज्य कौशल सिकाउँथे । त्यति बेला राज्य र समाज कला-आदर्श, अध्यात्म र चरित्रको जग चाहन्थ्यो । शासन र समाज व्यवस्था त्यसैको आधारमा चल्थ्यो । आज गुरुहरू सीप, संस्कार र ज्ञान आविष्कार सिकाइ रहेका छन् । समाज निमानवीकृत होला कि, मानव सिर्जनाले मानिसलाई नै उछिनेर विध्वंस मचलाउला कि, मासिलाई नै कम अक्ला कि, माया, ममत्व, भावना र भूगोल खोस्ला कि भनेर आत्मिक चेत सिकाइरहेका छन् । एकसाथ प्रविधि र विधि, निर्माण र नियमन सिकाइरहेका छन् । शिक्षक स्वयम् आदर्शको अभ्यास शाला हो, ज्ञानको प्रयोगशाला हो ।
राजनीतिले बाटो बिराएको छ, विधिभन्दा विलाशनमा नेतृत्व रमाउँदा शिक्षक नैतिक राज्यकौशल सिकाउने दायित्वमा छ । समाज बरालिएको छ, साथी स्वार्थमा छन्, श्रीमान-श्रीमती सौदाको सम्बन्धमा लहसिएका छन् । परिवार विशृङ्खलताको सङ्घारमा छ । व्यापारीले नैतिकता छाडेका छन् । राज्यसंरचनाहरू कुँजिएका छन्-शक्तिहीन साहसहीन, ओजहीन-आवाजहीन । कर्मचारी कर्म गर्न लजाइरहेको छ । त्यसैले शिक्षकहरूले कक्षा कोठाबाट जागरणको अभियान गर्नुपरेको छ । खोक्रो पेट, खोपिल्टाका गाला र जिङ्ङ्रिङ्ग कपाल शिक्षकहरूले प्रज्ञाका ऐलान गरेर नै समाज सही बाटोमा आउन सक्छ । शिक्षकको जागरणले नै सबैलाई कर्म र कर्तव्यमा आचरण ल्याउन सक्छ ।
अहिले जति शिक्षकको आवश्यकता कहिले थिएन । त्यसैले यो समाजको विनिर्माणका लागि शिक्षक पेसा होइन, सेवा हो, शिक्षक जागिर खाँदैन सिर्जना सिकाउँछ । चक बनेर कालोपाटीमा लेखिँदा-लेखिँदा सकिन्छ, सेतोपाटीमा घस्रिदा-घस्रिँदै सकिन्छ । उकाली-ओरालीमा धाउँदा धाउँदैमा प्राण जाला तर उसले रोपेको ज्ञान, सिकाएको सीप संस्कारको आदर्श सधैँ साँधैका लागि फैलिरहन्छ । त्यसैले शिक्षक सकिँदैन, अर्कोले निरन्तरता दिन्छ । शिक्षक अभियान हो । शिक्षकको नाम सकिएर हिम्मत, आशा, उत्साहको अनन्तता दिने गति हो, प्रगति हो । शिक्षक बिग्रिए सबै बिग्रन्छ, समाज नै अँध्यारो बन्छ, ब्रहण्ड क्रोधित हुन्छ र मानिसले श्रेष्ठता गुमाउँछ । शिक्षकलाई साहस र बल दिनु समाजको दायित्व हो ।
कक्षा कोठाका जागिरे सबै शिक्षक कदापि होइनन् । शैक्षिक अनुष्ठानमा राफ-रवाफमा मीठा बोली बोल्ने सबै शिक्षक होइनन् । शिक्षकका नाममा स्वार्थ र सङ्कीर्णता साँध्ने कोही शिक्षक हुन सक्दैन । शिक्षक हुन त रिस, राग, द्वेष, दुर्भाव, विलासिता, अहड्ढार सबै आफूबाट फालिदिएर सेवा र शिष्यमा समर्पित हुनुपर्छ । जीवन सिकाउने, निर्माण सिकाउने, माया सिकाउने, देशभक्ति सिकाउने मात्र सच्चा शिक्षक हो । शिक्षक मृदुभाषाले मन जित्नु पर्छ, विद्वताले मस्तिष्कमा बस्नु पर्छ र समर्पणले सेवा गर्नु पर्छ । शिक्षक त्याग र कर्म सिकाउँछ । त्यसैले शिक्षक आदर्श हो, ऊर्जा हो र शक्ति हो । शिक्षक उदाहरण र उदारता हो । त्यसो नभए त्यो आफैमाथिको अन्याय हो । आफैमाथि अन्याय कसले गर्छ र ?
शिक्षक समाजको जीवन्त पुस्तकालय हो । शिष्यलाई योगस्थ बनाउन शिक्षक आफै योगस्थ बनेर अन्तर्दृष्टि र ज्ञानको क्षितिज उघारिदिँदै अगि बढ्न सिकाउँछ । जीवनको बाटो देखाउने ज्ञानपुञ्ज रिसाउँदैन, सधैँ गम्भीर मुस्कान छर्छ, सौम्य र शालीन हुन्छ । उदाहरणीयता उसको वैशिष्ट्य हो । जस विद्यार्थीलाई दिन्छ, जोखिम आफै लिन्छ । उ महान् बन्दैन, अरूलाई महान् बनाउँछ । त्यसैले उ झनै महान् हो । आशा निर्माण गर्छ, प्रेरणा गर्छ । आत्मविश्वास उमार्छ ।
सकारात्मकताको शक्ति, समझको सामर्थ्य दिन्छ । दार्शनिक कन्फुसियसले भनेथे- शिक्षकले शिक्षा दिन्छ, शिक्षाले आत्मविश्वास, आत्मविश्वासले आशा र आशाले चाहिँ शान्ति दिन्छ । त्यसैले शिक्षक अनन्त शान्तिको जग हो । ज्ञानको झिल्का हो जो झिल्किँदा सानो देखिए पनि समाज नै उजेलाउने आगो दन्काउँछ । सर्वपल्ली राधाकृष्णनले त्यसै भनेका होइनन्-शिक्षक समाजको उत्कृष्ठ विषय बन्नुपर्छ । शिक्षक किसानजस्तै हो, जो बिरुवाको भविष्यका लागि हरेक पलमा भूमिका खेल्छ, झरी, हुरी, खडेरी, अवरोध, हारप्रहारको सामना गरी बिरुवालाई प्रतिफल दिने सामर्थ्यमा पुर्याउँछ । एउटा विद्यार्थीको मनमस्तिस्क, व्यवहार वृत्ति, सीप संस्कार सबैका लागि शिक्षक अहोरात्र पसिना र प्रयत्नले मलजल गर्छ । र, विद्यार्थी सफल हुँदा प्रसन्नताको सगरमाथा चढेर शीतल सुस्केरा हाल्छ, आफैलाई भुल्न पुग्छ ।
गुरु विश्वामित्र र वशिष्ठले रामचन्द्रलाई सत्य र आदर्श सिकाएका थिए, चित्तशुद्धिको दीप जलाउन सिकाए । वेदव्यास जगद्गुरु बनेर ज्ञानको दिव्यचक्षु दिए । गुरु सन्दीपानले कृष्णलाई कला र ज्ञान सिकाएका थिए । तर ज्ञान दिने गुरुहरूभन्दा ज्ञान लिने शिष्यले संसार जगाउन पुगे । द्रोणशिष्य अर्जुन उनलाई अर्जुनदृष्टि दिने गुरुभन्दा कैयन गुणा पारङ्गत बने र स्वयम् गुरुसँग सत्यको लागि युद्ध गरे, गुरुलाई नै पराजित गरिदिए । द्रोणदृष्टि कहाँ भनिन्छ छ र ? अर्जुनदृष्टि विख्यात बन्यो । शुद्धोदनले भने दुःख वा प्रकृतिलाई गुरु मानेर बुद्धत्व प्राप्त गरेका थिए । इसामसिहले आत्मत्वको अनुभूतिलाई गुरु मानेर आत्मा बुझ्न र सत्यमा कर्मको पूजा गर्न भने । दार्शनिक सेक्रेटसले आत्मात्वलाई गुरु मानेर सत्य र सुशासनको फलाको चोक चोकमा उभिएर गरेथे, सबै बटुवा उनका शिष्य थिए । उनका शिष्य प्लेटो उनीभन्दा ठूला दार्शनिक बने । प्लेटोको शिष्य एरिस्टोटल उनीभन्दा झनै महान् दार्शनिक बने, बहुआयामिक दार्शनिक । शिक्षक-शिष्य अनन्त शृङ्खलामा अनवरत छ र प्रत्येक पुस्ता अर्कोलाई आफूले पाएको भन्दा उम्दा ज्ञान दिँदै झन् उम्दा ज्ञानको आधार बनाउँछ । यो ज्ञान निर्माणको शृङ्खला विकासको नियम पनि हो ।
बालक आफ्नी आमालाई पहिलो गुरु र वक्षस्थललाई पहिलो पाठशाला बनाउँछ । आमा माया र संस्कार सिकाउँछिन् । त्यै बालक बुवाको हात समाउँदै सङ्घर्ष र परिपक्वता चाहिँ बुबाबाट सिक्छ । यस अर्थमा बुवा सन्तानको दोस्रो शिक्षक हो । त्यसपछि सामाजिकता र सहयोग साथीबाट सिक्छ । साथी उसको तेस्रो शिक्षक हो । उ बाँचेको परिवेश र परिस्थिति उसको चौथो शिक्षक हो । त्यसैले एक आदर्श शिक्षकमा आमा जस्तो निस्वार्थ माया दिने, बुबा जस्तो कर्तव्य र सङ्घर्षको उत्साह जगाउने, साथी जस्तो सम्पूर्ण सहयोगी र प्रकृति जस्तै विशाल र उदात्त अनि परिस्थितिजस्तो प्रत्युत्मन्नमतिको सद्गुण हुन्छ ।
महान् शिक्षक सामान्य होइन, अपवाद पनि हो । सबै पढाउनेहरू कक्षाकोठाका सामान्य उत्कृष्टतामा होइनन्, उदाहरणीयता र असामान्य साहसमा रहनुपर्दछ । परिस्थितिका जटिलतालाई सरल समाधानको सामर्थ्यमा रहनुपर्दछ । त्यसैले पाठ्यक्रम पढाएर अपवादको शिक्षक बन्न सक्दैन । अपार उत्साह, संयम, साहस र परिस्थितीय सीपले शिक्षकलाई महान् बनाउँछ । अक्षर होइन, संसार पढाएर आफूलाई अपवाद सिद्ध गर्छ । शिक्षकले जसरी व्यवहार गर्यो, त्यसैको सापेक्षमा विद्यार्थीको व्यक्तित्व बन्ने हो । यस्ता शिक्षकहरू समयले मागिरहेको छ । द्रोणाचार्य जस्तो गुरुले मात्र समाजलाई चाहिएको अर्जुनदृष्टि दिने शिष्य जन्माउँछ । परिस्थितिलाई गुरु मानेर त्यहीबाट सिक्ने सामर्थ्य जन्माउँछ ।
परिस्थितिबाट कसरी सिक्नुपर्छ वा सिकाउँछ भन्ने सन्दर्भमा मेरा आफ्नै अनुभूतिविम्ब पनि पल्टाउँछु । डा गोविन्द केसीसँग वार्तामा रहँदा सरकारी दायित्व र केसीसँगको हार्दिकतालाई संयोजन गरेर नै सफलता पाएको थिएँ । सरकारको प्रतिनिधि भएर मात्र होइन, परिस्थितिको अन्तरवोध गर्न नसकिएकाे भए वार्ताले निष्कर्ष पाउँदैनथ्यो । चुनावलाई मितव्ययी बनाउने अभियानमा कार्यालयबाट लखेटिएँ तर निष्ठा र नैतिकताको फराकिलो शिक्षा त्यहाँबाट म लघारिएपछि नै समाजले पाएको थियो । शिक्षकले खोलिदिने निष्ठा, नैतिकता र इमानका आँखाले समाजमा सदाचार बाँचेको हो ।
समाजमा असल र खराबका सङ्घर्षमा अन्ततः असलले नै जित्छ । कहिलेकाहीँ त खराब गर्नेहरू पनि प्रायश्चितले जितेकै महसुस गर्दछन् । प्रायश्चित गर्नु, गल्ती स्विकार्नु पनि महानता हो । रत्नाकर डाकूँ वाल्मीकि गुरु बनेकै हुन् नि । महर्षि बनेपछि वाल्मीकि कसैप्रति दूषित भाव राख्दा आफ्नै मन मैलो हुन्छ, असल व्यक्ति अरूलाई दुखबाट मुक्ति दिलाउन परे आफै दुख झेल्छ भन्ने मन्त्रले संसारलाई उपदेश दिन थाले ।
तर अहिलेको समाज र परिवेश सरल छैन, न सिक्ने विकल्पहरू नै सीमित छन् । समाज र परिवेशमा धेरै विकल्प भएपछि ती सबै शिक्षक भए । प्राचीन कालमा गुरुकुल, हिजोसम्म छापा अक्षर, त्यसपछि कक्षाकोठा र विकसित पेडागोगी, अनि सूचना प्रविधि र आज त च्याट बोट अर्को शिक्षक भएर देखा पर्यो । यतिमा टुङ्गिनेवाला छैन, अनिश्चय क्रूर र जबरजस्त भएर आएको छ । पाठ्यक्रमको प्रविधि, किताबी फर्मेट र कक्षा कोठाको चौघेराबाट शिक्षक तिमी धेरै पर पुग्नुपर्छ । धेरै विकल्पले सेन्सरी ओभरलोड बनेर अन्यमनस्कतामा शिक्षक पर्यो भने त्यसले शिक्षा होइन मात्र अलमलाइदिन्छ र समाजले असल बाटो भेट्टाउन नसकी दिग्भ्रमित हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।