१.विषयप्रवेश
लोकजीवनमा विभिन्न आस्था,विश्वासहरू रहेका हुन्छन् । यिनै आस्थाहरू, विश्वासहरूलाई लोकले आ-आफ्ना ढङ्गले अभिव्यक्त गर्दछन् । यस्तो अभिव्यक्ति सकेसम्म कलात्मक बनाउँदा लोकसाहित्यको संवर्द्धन भइरहेको हुन्छ । लोकजीवनका आस्था, विश्वास, व्यवहार, चिन्तन र अनुभूतिहरूलाई कल्पनाको आवरण दिएर रोमाञ्चक तत्त्वहरूको मिश्रण गरी कलात्मक रूपमा प्रस्तुत गरिने लोकसमुदायद्वारा रचना गरिएको मौखिक साहित्य लोकसाहित्य हो; यस्तो साहित्य लोकसमुदायमा रचना गरिन्छ र लोकसमुदायमा नै प्रचलनमा रहेको हुन्छ (पराजुली,२०६६:१) ।
सोह्रौं शताब्दीको पाश्चात्य पुनर्जागरणसँगै लोकसामग्रीहरूको अध्ययन-विश्लेषण सुरु भयो । थुप्रै विद्वानहरूको यस क्षेत्रमा एकैसाथ आँखा परेकाले लोकसाहित्यको अध्ययनका भिन्दाभिन्दै पद्धतिहरू तयार भए । आज लोकसाहित्यको अध्ययन आफ्नो अनुकूलताका आधारका सिद्धान्तलाई लिएर गर्न सकिने भएको छ । यी सिद्धान्तहरूको प्रयोगका लागि मुख्य दुई वटा विधिहरू आज प्रचलित छन्:
१.पाठकेन्द्रित अध्ययन
२.क्षेत्रकार्यकेन्द्रित अध्ययन
१.१ पाठकेन्द्रित अध्ययन
यो अध्ययन लोकसाहित्यका मूल सामग्रीलाई आधार बनाएर गरिने अध्ययन हो । यस अध्ययनमा उपलब्ध सामग्रीको शास्त्रीय विश्लेषण गरिन्छ । तुलनात्मक पद्धति, संरचनावादी पद्धति, पाठालोचन पद्धति, कथामानक रूपपद्धति, अभिप्राय अध्ययनपद्धति आदि शास्त्रीय पद्धतिहरू हुन् । यस अध्ययनमा निर्धारित सामग्रीभित्र रहेका वस्तुतथ्यहरूको मात्र अध्ययन गरिन्छ ।
१.२ क्षेत्रकार्य केन्द्रित अध्ययन
लोकसाहित्यको अध्ययन गर्दा सम्बन्धित क्षेत्रमा गएर मूल पाठ र त्यसको प्रस्तुति विधि एवम् सामाजिक संस्कृति तथा त्यसको महत्त्व र उपयोगितासमेतको व्याख्या-विश्लेषण गरेपछि मात्र लोकसाहित्यका विधाहरूको मूलस्वरुप प्राप्त हुन्छ भन्ने दृष्टिकोणबाट यो पद्धति अभिप्रेरित छ । यस मतलाई कार्यसम्पादन पद्धति भनिन्छ । यस्तो पद्धतिभित्र आउने थुप्रै विद्वानहरूमध्ये डेलहाइम्स पनि एक हुन । उनको कथनको जाति तत्त्व पद्धति एक सरल विश्लेषणको पद्धति हो । डेलहाइम्सको कथनको जाति तत्त्व पद्धतिले क्षेत्रमा प्रस्तुत गरिएका लोकप्रदर्शनलाई स्थानीय सन्दर्भसहित विश्लेषण गरिनु पर्छ भन्ने कुरामा जोड दिएको छ ।
०००
२. कथनको जाति तत्त्व पद्धतिको परिचय
तत्कालीन क्षेत्रीय सन्दर्भलाई पनि सँगै राखेर लोकसाहित्यका विधाको अध्ययन-विश्लेषण गर्नुपर्छ भन्ने सन्दर्भवादी पद्धतिभित्र डेलहाइम्सको कथनको जाति तत्त्व पद्धति पनि पर्दछ । डेलहाइम्स भाषाशास्त्र र लोकवार्ता दुवैका विद्वान हुन् । यिनले भाषा र लोकवार्ताको अध्ययन गर्दा भाषिक अभिव्यक्ति भएका साहित्य वा साहित्येतर विषयमा जातीय तत्त्व र सम्बन्धित परिवेशको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका छन्, जुन आजको नवीन सिद्धान्तका रूपमा परिचित छ । यसलाई कथनपद्धति (speaking model) भनिन्छ । यिनले speaking शब्दका प्रत्येक अक्षरबाट एकएक सूत्र बनाएका छन् र तिनै सूत्रलाई आधार बनाएर लोकसाहित्यको अध्ययन गर्न सकिन्छ । ती सूत्रहरू यी हुन्:
१. s-setting and scene (परिवेश र दृश्य)
२. p-participants (सहभागीहरू)
३. e-ends (उद्देश्य)
४. a-act sequence (कार्यको क्रम)
५. k-key (सुर)
६. i-instrumentalities (करणत्व)
७. n-norms (प्रतिमानहरू)
८. g-genre (विधा)
२.१ परिवेश र दृश्य
लोकसाहित्यका विधा प्रस्तुत हुने परिवेश भिन्ना-भिन्नै हुन्छन् । सम्बन्धित विधाको अध्ययन गर्दा अध्येताले परिवेश र दृश्यलाई समेटेर विश्लेषण गर्नु पर्दछ । लोकसाहित्य प्रस्तुत हुने ठाउँ र समय परिवेश हो । कुन ठाउँमा कुन समयमा सम्बन्धित विधा प्रस्तुत गरियो भन्ने कुरा स्पष्टसँग उल्लेख गर्नु पर्दछ । दृश्य भनेको त्यस परिवेशका मानिसहरूको सांस्कृतिक-मानसिक स्थिति हो । सम्बन्धित कार्यप्रति सहभागीहरूको मानसिक अवस्था के-कस्तो छ भन्ने कुराको विश्लेषण हुनु पर्दछ । यस नचरीमा अनौपचारिक परिवेश छ, धार्मिक नाटक भएकाले यो प्रदर्शन प्रति सहभागीहरूको धार्मिक आस्था र श्रद्धा छ ।
२.२ सहभागीहरू
सम्बन्धित प्रस्तुतिमा सामेल हुने सबै मानिसहरू सहभागीभित्र पर्दछन् । यसमा वक्ता वा गायक, श्रोता वा दर्शक, अभिनेता वा प्रस्तोता, सम्पादक र आयोजकहरू पर्दछन् । नेपाली लोकनाटकमा अभिनेता, दर्शक, गायक, वादक र सम्पादकहरू सहभागीका रूपमा रहन्छन् । यिनीहरूको परिचय दिँदा सम्बन्धित प्रस्तुतिमा सहभागीको भूमिका, जातीय स्थिति, धर्म, उमेर, लिङ्ग, पेसा आदि वैयक्तिक पहिचान दिनु आवश्यक छ ।
२.३ उद्देश्य
विना उद्देश्य लोकसाहित्यका विधाहरूको प्रदर्शन वा प्रस्तुति गरिँदैन । यस्तो प्रस्तुतिको मूल उद्देश्य के हो भन्ने कुरा अध्येताले स्पष्ट पार्नु पर्दछ । लोकसाहित्यको प्रस्तुति मनोरञ्जन, अनुष्ठान, शिक्षा, सञ्चार र अर्थोपार्जनका निम्ति गरिन्छ । यी उद्देश्यहरूमध्ये सबै वा केही उद्देश्यहरू त्यस कार्यमा हुन्छन् । प्रस्तुतिको लोकरीति र उद्देश्य के हो भन्ने कुरा छुट्याई खुलाउनु आवश्यक हुन्छ ।
२.४ कार्यको क्रम
प्रदर्शनको क्रम वा कथ्य अभिव्यक्तिको क्रमलाई कार्यको क्रम भनिन्छ । प्रस्तुति पालैसँग गरिन्छ । यस्तो क्रमैसँग भएको कथन वा प्रदर्शनका विभिन्न मोडहरू, घटनाहरू वा विधिविधानका क्रमहरूको व्याख्या अध्येताले क्रमैसँग गर्नु पर्छ ।
२.५ सुर
प्रस्तुतिमा आउने ध्वनिको उतारचढाव र भावभङ्गीमालाई सुर भनिन्छ । सामान्य कथनमा सुरको महत्त्व हुँदैन । गायन र सङ्गीतसँग सम्बन्धित विधामा सुरको महत्त्व रहन्छ । यही सुरले नै श्रोताको मन आकर्षित गर्दछ । लोकनाटकको प्रस्तुतिमा आएको प्रस्तोताको ध्वनिको आरोह अवरोहबाट घटना वर्णनमा प्रभाव पर्दछ र सङ्गीत अनि भङ्गिमाको प्रयोगद्वारा लोकाभिव्यक्ति सरस, ओजपूर्ण तथा प्रभावकारी हुन्छ ।
२.६ करणत्व
कथ्य अभिव्यक्तिको रूप र शैलीलाई करणत्व भनिन्छ । प्रस्तोताले मानक भाषा वा भाषिका कुन प्रयोग गरेको छ? त्यसको शैली औपचारिक वा अनौपचारिक के कस्तो छ? भन्ने जस्ता प्रश्नका बारेमा गरिने विवेचना करणत्वभित्र पर्दछ । लोकसाहित्यको प्रदर्शनमूलक विधाको अध्ययनमा भाषा, वेशभूषा, प्रस्तुति शैली र सङ्गीत एवम् उपकरणहरूको चर्चा पनि आवश्यक हुन्छ । प्रदर्शनमूलक प्रस्तुतिमा भाषा मात्र नभएर विधागत प्रस्तुतिको शैलीको पनि महत्त्वपूर्ण भूमिका हुन सक्छ त्यसैले लोकनाटकको करणत्वको व्याख्या अपेक्षाकृत महत्त्वपूर्ण हुन जाने हुनाले यस्तो प्रदर्शनमूलक विधाको भाषा, वेशभूषा, प्रस्तुतिशैली र सङ्गीतको गहन अध्ययन हुन जरुरी छ ।
२.७ प्रतिमानहरू
प्रतिमान भनेका सामाजिक मूल्यमान्यताहरू हुन् । प्रस्तुत गरिएको प्रदर्शनका सामाजिक मूल्य र मान्यताहरू के के हुन भन्ने कुराको विश्लेषण यस शीर्षकअन्तर्गत गर्नु पर्दछ । अध्येताले सामाजिक प्रतिमानहरूलाई ख्याल गरेर अध्ययन वा विवेचना गर्नु पर्दछ ।
२.८ विधा
प्रस्तुतिको विधा के हो भन्ने प्रश्नको उत्तर खोज्ने काम यस शीर्षकमा गरिन्छ । लोकसाहित्यका विधाहरू परिवर्तनशील हुन्छन् । एक ठाउँमा प्रदर्शन गरिएको प्रस्तुति अर्को ठाउँमा कथ्य मात्रै हुन सक्छ । नेपालमा लोकनाटकका रूपमा प्रदर्शन गरिने भारत, बालनहरू बिस्तारै कथ्य अभिव्यक्तिका रूपमा मात्रै परिवर्तित भइरहेको अवस्था छ । एउटै लोकसामग्री भिन्न-भिन्न विधामा परिवर्तन हुन्छ । अध्येताले सम्बन्धित प्रस्तुतिको पूरा अवलोकन गरी विधा खुट्याउनु पर्छ र त्यसको विशेषता सहित प्रकाश पार्नु पर्छ ।
०००
३.कथनपद्धतिका आधारमा चौरको नचरी नृत्य नाटिकाको विश्लेषण
३.१ पृष्ठभूमि
नेपाली लोकसमाजमा सदियौँदेखि राम र कृष्णका गाथाहरू गाइँदै आएका छन्, राम-कृष्णका भक्तिमा, तिनीहरूका जीवनमा भएगरेका कार्यको अभिनय गरेर नृत्यहरू प्रस्तुत गरिँदै आएका छन् । यस्ता गायनहरू अभिनयहरू लोकजीवनका विभिन्न उत्सवहरूमा, विभिन्न अनुष्ठानहरूमा, विभिन्न आकाङ्क्षाहरूको परिपूर्तिका खातिर र विशुद्ध मनोरञ्जनका लागि मात्र पनि प्रस्तुत गरिन्छन् । कतै बालनका रूपमा, कतै धमारीका रूपमा र कतै नचरीका रूपमा आफ्ना इष्टदेवताको आराधन गर्ने चलन नेपाली लोकसमाजको प्राचीन चलन हो । मानिस जन्मदा, छैठी-न्वारान गर्दा, छेवार-ब्रतबन्ध गर्दा त्यसको दीर्घजीवनको कामना गरेर पुतबढाइँ आदि विभिन्न नाम दिएर नचरी लगाइन्छ ।
जन्मेको बच्चाको प्रगति-उन्नतिको कामना यस्ता नचरीहरूमा मुख्य उद्देश्य रहन्छ । कसैका सन्तान नभएको अवस्था छ भने पुत्र (पुत्री) प्राप्तिको कामना गरेर नचरी लगाइन्छ-हरिवंश पुराणजस्तै । यस्तै प्रकारले जीवनका विभिन्न घटनालाई शुभमङ्गल बनाउन नचरी लगाइन्छ । मानिसको मृत्यु भएपछि पनि मृतकको आत्माको चीरशान्तिको कामना गरेर रीतपूर्वक मृतकका नाममा नचरी लगाइदिने गरिन्छ । यसरी नचरी लगाउँदा परम्परागत रीतिलाई अनुसरण गरेर विभिन्न देवीद्यौराली,सिमेभूमे, पुठाझाँक्रीहरु आदिका साथमा श्रीकृष्णको आराधन गर्दा भक्तले चाहेको फल प्राप्त गर्दछ भन्ने लोकविश्वास रहिआएको छ । चौरको नचरी पनि यही विधिविधानसँग जोडिएको लोकविश्वासयुक्त नचरी हो । यसको नचरी लाउने विधिलाई कथनपद्धतिका आधारमा प्रस्तुत गरिन्छ ।
३.२ परिवेश र दृश्य
धौलागिरि अञ्चल वाग्लुङ जिल्लाको पश्चिमी भेगमा पर्ने अधिकारी चौर गाउँविकास समितिको वडा नं.९ चौर; (हालको ठेगाना ढोरपाटन नगरपालिका – ५, गण्डकी प्रदेश) २०६७ साल असार महिनाको १२ गते शुक्ल पक्षको पूर्णिमा तिथि, शनिवार, साँझ आठ बजेको समय, रात पर्न सुरु भएको मात्र छ, ठुलो साँझ भएको छ । असार महिनाको हतारो पनि आज पूर्णिमाका दिन गोरु बारिने हुँदा खेतको काम नभएकाले किसानहरूलाई छैन, थकाइ मारेका छन् । राक्सेमा निकालिएको बिजुलीले घर-घर मात्र होइन बाटो घाटोसमेत यस वर्षबाट झिलिमिली भएको छ ।
आज गाउँलेहरू गोपाल गिरीका घरमा जम्मा भएका छन् । गोपाल गिरीले छविलाल सापकोटा र रुन्दती सापकोटाकी माइली छोरी विवाह गरेका हुन् । छविलाल सापकोटाको पहिलै देहान्त भैसकेको थियो । यस वर्ष ज्येष्ठ २८ गतेका दिन रुन्दती सापकोटाको पनि ८५ वर्षको उमेरमा देहावसान भयो । पोहोर साल रुन्दती सापकोटाको चौरासी-पूजा गरिएको थियो ।
त्यस पूजाका अवसरमा यिनको अरू दीर्घजीवनको कामना गरेर, यिनले परिवार र समाजलाई आशीर्वाद दिइरहुन्, बाटो देखाइरहुन् भन्ने कामना गरेर नचरी लगाइएको थियो । रुन्दतीका छोराहरूले वैदिक विधिपूर्वक काजक्रिया गरी दानदक्षिणा गरी ,मलामी खुवाई यही असार ९ गते कोराबाट बाहिर आइसकेका हुन् ।
कुनै मानिसको जीवनकालमा उसका घरमा नचरी लगाइएको भए वा कुनै मानिस खुद आफै नचरीको एउटा पात्रका रूपमा काम गरेको भए उसको मृत्यु भैसके पछि बन्धनबाट मुक्त गराइदिनु पर्छ भन्ने मान्यता पनि रहिआएको छ । यस्तो बन्धनबाट मुक्तिको कामना पनि नचरी लगाएरै गरिन्छ । जीवनकालमा गरेको असल काममा पनि कतै त्रुटि भएको भए बन्धन रहेको हुन सक्ने विश्वासमा यस्तो नचरीबाट अब केही बन्धन रहन्न र मृतात्माले मुक्ति-कैवल्यमुक्ति प्राप्त गर्दछ भन्ने लोकमान्यता रहिआएको छ । त्यही लोकमान्यताको विश्वासमा गोपाल र उनकी श्रीमतीले यो नचरीको आयोजना गरेका हुन् । रुन्दतीकी माइली छोरीको घर अर्थात् गोपाल गिरीको घर रुन्दतीको घरको नजिकै छ । माइली छोरीले आफ्नी आमाको मुक्तिका खातिर नचरी लगाइदिने इच्छा गरेकाले आज यस घरमा नचरीको आयोजना गरिएको हो ।
३.३ सहभागीहरू
यस नचरीमा निम्नानुसारका मानिसहरुको सहभागिता रहेको छ-
मादले : गौरे कामी
गौरे कामी स्थानीय बासिन्दा हुन् । यिनी दलित जातिका अशिक्षित सामान्य किसान हुन् । हाल यिनको उमेर ७० वर्षको छ । यिनका बाबु अमर्खे पनि मादले थिए तर गौरे १० वर्षको हुँदा नहुँदै यिनी बितेकाले बाबुबाट गौरेले नचरी सिक्न पाएनन् । १० वर्षको कलिलो केटाले जति देखेर सिक्थ्यो त्यति मात्र सिके । गौरेका काका तिखु- सिपालु नामले गाउँमा चिनिन्थे । तिखु घर बनाउने, दार काट्नेजस्ता कामका साथै नचरी लगाउन पनि निकै सिपालु थिए । यिनै आफ्ना काका तिखुबाट गौरेले जीवनको पछिल्लो समयमा नचरी लगाउन सिकेका हुन । वैंसमा नचरीतिर ध्यान दिन राम्ररी पाएनन् ।
काका तिखुले आफ्नो जीवनसँगै नचरी पनि मर्ने ठानी नचरीमा साथै हिँडिरहने, राम्रो स्वर भएको आफ्नो भतिजालाई सिकाएर जाने बिचारबाट गौरेले सिक्ने अवसर पाएका हुन् । आफ्ना काका तिखुको मृत्यु पछि नचरीको पूरै जिम्मा सामाजिक कारणले यिनकै काँधमा आएको हो । काकाले जसरी गर्थे त्यसरी नचरी लगाउने काम गर्न नसक्दा यिनले दु:ख मनाउ गर्छन् । वर्तमान पुस्ताले सिकोस् भन्ने कामना गर्छन् । परम्पराप्रति विश्वास गर्ने, आफ्नो नचरीको शक्तिमाथि भरोसा भएका र समाजको कल्याणकारी कार्यमा लागिरहने हुनाले यिनले समाजबाट प्रतिष्ठा पाएका छन् । गाउँका सबै मानिसले यिनलाई आदरभावले हेर्दछन् । गरिब र निम्न जातका भए पनि लोकोपकारमा संलग्न रहने बानीले गर्दा यिनलाई अग्रजका रूपमा लिइन्छ ।
मारुनी (सिँगारु)उत्तम पुन
उत्तम पुन पनि स्थानीय बासिन्दा हुन् । यिनी समाजका प्रतिष्ठित परिवारका सदस्य हुन् । यिनका जिजु खड्कलाल र बाजे मानसिंह गाउँका मुखिया थिए, बाबु वेगबहादुर पढेलेखेका शिक्षित, लामो समयसम्म माध्यमिक तहमा शिक्षण गरेका व्यक्तित्व हुन्, उत्तम स्वयम् भने सामान्य शिक्षा प्राप्त, परम्परालाई जोगाउनु पर्छ भन्ने मान्यता भएका मानिस हुन् । हाल यिनको उमेर ३७ वर्षको छ । उत्तमभन्दा पहिला खिमलाल खामीले मारुनी(सिँगारु) भएर नाच्ने गर्थे तर अब खिमलालको उमेर र शरीरले नसक्ने भएकाले अनि नयाँ पुस्तालाई सिकाउने हेतुले खिमलाल यस नचरीमा पनि उपस्थित भएर मारुनी उत्तमलाई पथप्रदर्शन गरिरहेका छन् ।
मादलेका सहायक खुमलाल पाैडेल
यिनी पनि स्थानीय बासिन्दा हुन् । पञ्चायतको अन्त्यतिर अधिकारी चौर गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित भएका खुमलाल पौडेललाई गाउँ समाजका सबैले आदरपूर्वक प्रधान, प्रधान दाइ, प्रधान बा भनेर नाता वा स्तर अनुसारको सम्मान गर्दछन् । हाल यिनको उमेर ७० वर्षको छ । बैँसदेखि नै नचरीका कहिले पर्छुङे ,कहिले मादलेका सहायक हुँदै यिनले कार्य गर्दै आएका छन् । यिनी नचरीको शक्तिका प्रति विश्वास भएका, परम्परालाई जोगाई राख्नु पर्दछ भन्ने मान्यता राख्ने, समाजका प्रतिष्ठित व्यक्ति हुन ।
पुर्सुङे : खिमलाल कामी
यिनी अमर्खेका नाति हुन् । हाल यिनको उमेर ७५ वर्षको छ । आजका पुर्सुङे भए पनि यिनको परिचय मारुनीका रूपमै थियो, जोडिएर आएको छ ।
सहायक पात्रहरू
यस नचरीमा सहायक पात्रहरू थुप्रै छन् । मादलेलाई नाचेर सहयोग गर्ने वेगबहादुर पुनको परिचय उत्तमसँग जोडिएर आएको छ । परम्परालाई हराउन दिनु हुँदैन भन्ने यिनको मान्यता छ । हाल ६५ वर्षको उमेरका यिनी क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व हुन् । मारुनीलाई कपडा पहिराउने खिमा कामी विवाह नगरी बसेकी महिला हुन् । यिनले जान्ने भएबाटै सिँगारुलाई सिँगार्ने काम गर्दै आएकी हुन् र आज पनि सिँगार्ने र कपडा उतार्ने काम गर्दै छन् । सेमु कामी आङ बान्ने कार्य गर्ने सहयोगी हुन, यिनले पनि पहिलेदेखि नै यो कार्य गर्दै आएका हुन् । अन्य सहयोगीहरू हा…ई गर्नेहरू – नन्दरास कामी, मतिलाल कामी, भीमबहुर पुन, रामकुमारी पुन र घनश्याम गिरी हुन् । गोपालका घर परिवार र ससुराली परिवार पनि सहयोगीहरू हुन् ।
सम्पादन सहयोगी : यकराज पौडेल
यिनी त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहका विद्यार्थी हुन् । मेरो अनुरोधमा गर्मी विदामा घर वाग्लुङ जिल्ला, अधिकारी चौर गाउँविकास समिति वडा नं. ९ गएको समयमा अडियो तथा भिडियोमा त्यहाँ भए गरेका कार्य जस्ताको तस्तै विवरण रेकर्ड गरेर ल्याइदिएका हुन् । हाल यिनको उमेर २३ वर्षको छ ।
भिडियो खिच्ने सहयोगी ऋतुवर्ण पौडेल
यिनी स्थानीय बासिन्दा नै हुन । परम्परा जोगाउनु पर्छ भन्ने मान्यता राख्ने यिनी स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यसहायक हुन् र यिनको उमेर हाल ३५ वर्षको छ । यिनले त्यस नचरीका सबै दृश्यलाई आफ्नो भिडियो क्यामेरामा खिची सम्पादनका लागि सहयोग गरेका हुन् ।
यकराज र ऋतुवर्णका सहयोगमा मैले यस नचरीको सम्पादन गरेको हुँ ।
३.४ उद्देश्य
प्रस्तुत नचरीको उद्देश्य दिवङ्गत रुन्दती सापकोटाको आत्माको चीरशान्तिको कामना गर्नु हो । जीवन क्षणभङ्गुर छ, जन्मका साथमा मृत्यु आएकै हुन्छ, मृत्युमा चिन्ता गर्नु हुँदैन भन्ने सन्देश लोकमा दिनु पनि यस नचरीको उद्देश्य रहेको पाइन्छ । साथै यस नचरीबाट समाजमा मनोरञ्जन दिनु पनि यसको उद्देश्य रहेको देखिन्छ ।
३.५ कार्यको क्रम
यस नचरीका मूलतः छ वटा शृङ्खला छन्:-
१. नाचनेहरू आउने, धजा बाँध्ने र आँङ बाध्ने
२. सिङारु (मारुनी) पहिराउने
३. कृष्णचरित्रमा नचरी लगाउने
४. साँखी मार्ने
५. आशीर्वाद दिने
६. सिङारु र मादले फुकाउने
नाचनेहरू आउने, धजा बाँध्ने र आँङबाध्ने
बाटोमा जम्मा भएका सहभागीहरू मादल पैंछन बजाउँदै गीत गाउँदै नचरी लगाउने घरतर्फ आए । गीत यस्तो थियो:
नारु र आया भनी बाटो-घाटो पन्छाइदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी खला-आँङन पन्छाइदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी गुन्द्री-काम्ला ओच्छाइदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी दियो-बत्ति बालिदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी कुल-कुलान ढोगिदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी मनको मैलो पन्छाइदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरु र आया भनी बाटो-घाटो पन्छाइदेउ
जसको घरमा सुलच्छिन माइ उसैको घरमा दियो बाली उजेलो
नाचरुहरू गोपालका घरमा आएर टक्राक-टुक्रुक बसे । बिजुलीले घर झिलिमिली थियो । भित्रबाट टपरीमा एक माना चामल र त्यसमाथि बलेको दियो राखेर ल्याएर घरको पिँढीमा राखिदिए ।
त्यसपछि धजा बाँध्ने काम भयो । पहिला डैनीलाई भनेर एक जोर कालो धजा घरदेखि केही पर लगेर मादले गौरेले अह्राएबमोजिम हिँड्ने बाटोभन्दा केही माथि किम्बुको रुखमा एकजना सहयोगी घनश्याम गिरीले बाँधे । त्यसपछि घरका वरिपरि शिकारी, झाँक्री, देवी-द्यौता तथा घरका कुलद्यौतालाई घरभित्र आजका काममा बाधा नपार भन्दै धजा बाँधियो । त्यसपछि मादलेका स्वर्गीय गुरु तिखुका नाममा र मादलेका छेउनी-भेउनीका नाममा धजा बाध्ने काम भयो । त्यसपछि दुईवटा मादल र पैँचनमा एकेक जोर धजा बाँधे । अरु सबै धजा रातो-सेतो मिसिएका थिए तर मादलेका छेउनी-भेउनीलाई बाँधेका धजामा पहेँलो कालो आदि रङ्ग मिसाइएको थियो जसलाई पँचरङ्ङे धजा भनिन्छ ।
त्यसपछि घरभित्रबाट अँगेनामा ओदानका तीनवटा खुट्टाबाट ल्याइएको खरानी (जसलाई तीन चुलाको खरानी भनिन्छ) भुइँमा राखियो । त्यसलाई सेमु कामीले आफ्ना कुर्कुच्चाले तीन पटकसम्म कुचेर हातमा उठाएर मनमनै केही कुरा गुनगुनाए (म कार्यपत्र प्रस्तोताले टेलिफोनमा सोध्दा सेमु कामीले साँझको समय पारी त्यो मन्त्र बताइदिएका हुन् जुन यस्तो छ: -ॐ सिमे भूमे घर आँगन अङ्ग बाँधौ, सिर बाँधौ, चाँरा बाँधौ, आँखै बाँधौ, जटा बाँधौ, हात बाँधौ, पाउ बाँधौ, दसै इन्द्रिय बाँधौ, बाँण बाँधौ, मन्तर बाँधौ, पूर्बै बाँधौ, पश्चिम बाँधौ, उत्तर बाँधौ, दख्खिन बाँधौ, आकासै बाँधौ, पातालै बाँधौ,दसै दिशा बाँधौ, गुरुका शक्तिले मेरा भक्तिले बाँधौ, सिरि महादेउकि बाचा, पारबताकी बाचा, सत्गुरुकि बाचा ) । त्यो खरानी पहिला मादलेलाई त्यसपछि उमेरका मर्यादाक्रममा सबै सहभागीहरुलाई पहिला दुवै गोडामा ,त्यसपछि दुवै कुममा, त्यसपछि छातीमा र अन्त्यमा चाँरामा (निधारमा) लगाइदिए । यस कार्यलाई आङ बान्ने कार्य भनिन्छ ।
सिङारु (मारुनी) पहिराउने
यस कार्यका लागि पहिला एउटा काम्लो भुइँमा विच्छ्याइयो । त्यसमाथि सिङारुले पहिरिने कपडा राखियो । त्यस काम्लोभन्दा बाहिर भुइँमा ढोगेर उत्तम पुन काम्लोमा प्रवेश गरे । काम्लोमा टेक्नासाथ चारैदिशा, आकाश र भुइँमा गरी ६ पटक नमस्कार मुद्रामा ढोग गरे । मादलेहरूले कपडा पहिराउने गीत मादलको तालमा गाउन थाले । खिमा कामीले गीतले भनेअनुसार उपलब्ध सामान पहिराइदिन सुरु गरिन । कतिपय सामान पहहिराइदिएको अभिनय मात्र पनि गरिन । जस्तो:- सिरै लाउनि सिरफूल भन्दा मुजेत्रो ओढाइ दिने र नाकै लाउनी नथिया भन्दा लगाइदिएको अभिनय गरेकी छन् । विलम्बित लयमा गाइएका कपडा पहिराउने गीत यस्ता छन्:-
सिरै लाउनी सिरफुल पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
नाकै लाउनी नथिया पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
गलै लाउनी हमेलु पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
कुमै लाउनी चोलिया पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
बजुऐ लाउनी चुरिया पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
कम्मरै लाउनी घाघरी पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
गोडै लाउनी घँगरा पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
यसरी शिरमा सेतो फेटाले बाँधिएको मुजेत्रो पाखरासम्म झरेको, त्यसबाहिर गलामा कम्पनीका टाटे हमेलको माला लगाएको, त्यसतल चौबन्दी चोली लगाएको, दुवै हातका नाडीमा काँडे चुरी लगाएको, कम्मरभन्दा तल मुजा भएको घाघरी लगाएको, दुवै खुट्टामा घँगरा लगाएको नारी भेषको मारुनी (सिङारु) तयार भयो । त्यसलाई घरभित्र लगेर कपडाले ढाकेर लुकाएर राखे ।
अब मादलेको पालो आयो । मादलेका शरीरमा पहिल्यै कपडा लगाइएको छ । उनको पहिरन यस्तो छ:-
शिरमा सेतो पगरी, जिउमा चौबन्दी भोटो, त्यसको बाहिर आस्कोट, आस्कोटबाहिर ऐँठे खादी, तलपट्टि सेतो मलमलको किनारामा कालो भएको किनारे खादी, त्यसलाई रातो बुट्टा भएको पटुकाले कम्मरमा बाँधिएको, पाखीका झुम्का दुवै हातका तल पर्ने गरी किनारे खादीबराबर हुने गरी मिलाएर छोडिएको । त्यसमा खिमाले सिङारुलाईजस्तै कम्पनीको टाटे हमेल लगाइदिइन । मादलेका सहयोगीको पनि पहिरन उस्तै छ तर केही रीति गरिएन । मादलेलाई हमेल लगाइदिँदा मारुनीलाईजस्तै भाका हालेर गीत गाइएको छ:-
सिरै लाउनी सिरफुल पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
गलै लाउनी हमेलु पैराउ रानी चन्द्रमा
एकु दाँरा इन्द्रेनी एकु दाँरा क्विरेनी एकु दाँरा झुलेमुले घाम हो…लोकले हेरुन राम
यसपछि हा…ई…को लयमा मादले र उनका सहयोगीहरू पालैसँग नाचे । यस समयमा मादलको ताल र हा……ई…… मात्र सुनिन्छ । केही बेरको नाचो पछि घरमालिकका पक्षबाट अक्षता छर्केर सबैलाई पवित्र पार्ने काम भयो । भित्र लगिएको सिङारुलाई बाहिर ल्याइयो, आँगनमा गएपछि मादलेसँग हा……ई….का तालमा मारुनी २० मिनेट जति नाचे । नाचो सिद्धिएपछि छिटो हाल्ने भनी एक बोतल रक्सी ल्याएर घरमालिकले दिएपछि त्यो खानेहरूले चाखे र अल्कोहल सेवन नगर्नेलाई समय मुताबिकको फलफूल- पाकेका आरु बाँडे सबैले केही न केही प्रसाद खाए ।
३.५. ३.कृष्णचरित्रमा नचरी लगाउने
अबको कार्य निरन्तर ६ घण्टा जति चलेको छ । बीच-बीचमा थाकेजस्ता पनि देखिएका छन् । कृष्णचरित्रको प्रसङ्गमा कतै-कतै राम-कथाको कुरा पनि आएको भान हुन्छ । खण्डित अवस्थामा भए पनि कृष्ण गाइएको छ । मनोरञ्जनका प्रसङ्गहरू पनि आएका छन् । गौरेको मधुर गलाले अरू कुराहरूलाई ओझेल पारेको अनुभूति हुन्छ । दर्शक-श्रोताहरू मुग्धावस्थामा छन् । बिलम्बित लयमा गाइएको र सोही तालमा नाचिएको नचरीमा कथा खण्डित भएको सामान्य दर्शकलाई पत्तो हुँदैन । यस खण्डका केही गीतहरू यस्ता छन्:-
झेलखानैमा छम्मर्-छम्मर् किरिस्न, देवकीको मनै धुरुरु
खोलिजाउ साङलु खोलिजाउ तगालु गकुलैमा जान्चु भुरुरु
दाँरै पारि मखमले फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
दाँरै पारि गोर्दौलीको फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
दाँरै पारि थुङेसरी फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
दाँरै पारि गुराँसैको फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
दाँरै पारि सुनबुकी फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
दाँरै पारि चमेलीको फुलुवा, दाँरै वारी वासन
टिपी लेउन सोर सय गोलेनी किरिस्न जिउलाई चराउन
हरि बर्नाउला वरि बर्नाउला देवी-सरस्वति बर्नाउला
गकुलमा हिनने गोपिनी-किरिस्न जिउलाई बर्नाउला
दइ चोरे कसोरी भाँरा फोरे कसोरी कसोगरी बोके मुसल
जाम-जाम ए है जाम-जाम सङि हो हेर्नलाई छेम-कुसल
छम्मर-छम्मर किरिस्नले बिन्जे बनमा बजाए मालिङैको मुरली
पछि लाए गोलेनी मेला जान भुलेनी मुहनीको अनुह्वारैले
आफनै मामाले बाबा आमा ठुनेका बलराम्ले मनमनै परे गुनेका
किरिस्नको मुरली मनमनै परे गुनेका हा… मनमनै परे गुनेका
पुतनाको परान कङस भयो हैरान किस्नजिउको तागत
कङसैको तागत बनि गयो कागत हा…बनिगयो कागत
कङ्सासुर मारने बाबा आमा तारने द्वारकामा हाले दरिबार..
राधिकाका पियारा रुक्मनीका हियारा आठैवटी गरे घरिवार
सोरसए गोलेनीले फूल लिई मनमा थाकुरलै सम्जी-सम्जी दुले बनमा
मयाजालमा भुलाउनी थाकुरैको काम सम्जी-सम्जी दुले बनमा
एकु सीता भातैले इजेत गैन दुर्पता रिखी भागे लाज मानेर
इजेत सतीको कति चोटी रखाए मन-मन आफै जानेर
धर्म-धर्मी बँचायौ पाप-पापी पचायौ कुर्क्षेत्रमा पापी पचायौ
रख्खे गरे किरिस्न परिम्हामी तिम्रै सरन आ है तिम्रै सरन
साँखी मार्ने
यतिञ्जेल बिलम्बित लयमा कृष्ण चरित्र गाइएकोमा अब हा…. गरेर १५ मिनेट जति नाचेपछि द्रुत लय सुरु भयो । मादलेले आकाशतिर हेरेर देवताको वर्णन गर्न थाले । त्यो वर्णन यस्तो छ:-
आकाशकको वासुकी नाग, तिम्रै सरन,
पातालका काली नाग, तिम्रै सरन,
काली भोटका तिका लामा, तिम्रै सरन,
रुपातालका देउता, तिम्रै सरन,
मरचुलाका वाइस बराहा तिम्रै सरन,
फागुनेका पुठासितका झाँक्री सिकारी, तिम्रै सरन,
उत्तरगङ्गाका वाइस बराहा, तिम्रै सरन,
चोइनेटाका पुठासितका झाँक्री सिकारी, तिम्रै सरन,
रुद्रतालका बराहा, तिम्रै सरन,
सुप्राङका लाटी देउ, तिम्रै सरन,
कोट-कोटमा बस्ने नरसिङ देउता, तिम्रै सरन,
रिडी-गन्डकीका रिखेसोर, तिम्रै सरन,
आठ गाउँ खोलाका थानी मन्देली, तिम्रै सरन,
नेपालका पशुपति तिम्रै सरन,
कइनबोटका बाइस बराहा, तिम्रै सरन,
अर्नाकोटका बराहा, तिम्रै सरन,
डाँडागाउँकी देवी, तिम्रै सरन,
मालिकाका बरजु, तिम्रै सरन,
यस घरका कुल-कुलान, तिम्रै सरन,
हो….मेरो मारुनी, तिम्रै सरन ।
आशीर्वाद दिने
साखी मार्दै गर्दा भित्रबाट नाङ्लोमा चामल त्यसमाथि दीयो बालेर केही रुपियाँ-पैसा राखेर पिँढीमा ल्याइसकेका छन् । साँखी मार्दा जति देवी-देउताहरू पुकारिएको थियो त्यति सबैलाई पालैसँग पुकारेर आशीर्वाद माग्ने काम भयो ।तिनका केही गीतहरू:-
हा….सुन-सुन वासुकी नाग— वासुकी नाग हो……….. एकु बिन्ती लेउ …(घरमालिकको नाम पुकारेर) लाई अनाज देऊ । यही ढाँचामा बराहासँग भेडाको वर मागिएको छ, अरु धेरै देवी-देउरालीसँग अनाज, धन सम्पत्ति मागिएको छ, यसै घरका कुल-कुलानसँग सुनको वर मागिएको छ, यो सुनको वर अरु कसैसँग मागिएको छैन ।
आशीर्वाद सकिएपछि दान नचाए र दान दिने गोपाल गिरीका परिवारलाई पाती लगाइदिए ।
सिङारु र मादले फुकाउने
हिजो साँझ जसरी लगाइएको हो लगभग त्यसै रीतले फुकाउने कार्य गरियो । उनै खिमा कामीले लुगा फुकालिदिइन । गीतको क्रम यस्तो थियो:-
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
सिरै लाउनि सिर फूल भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
लिलै लाउनि तिकिया भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
नाकै लाउनि नथिया भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
गलै लाउनि हमेलु भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
कुमै लाउनि चोलिया भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
हा… कोरिबाटी चुलठी त काइयोँभरी केश
कटियै लाउनि घाघरी भैँमा राख मारुनी तब ह्वौला मरिदैको भेस
मादलेका पगरी र हमेल निकाले तर अरु पहिरन निकालेनन् ।
खमारीको मादल पूर्व घरको,
गोरी(गोडी) लाउने पैँचन पस्सिम घरको — भन्दै पैचन निकाले ।
विदाइका गीतहरू गाउँदै नाचरू हिँडे ।गीत यस्ता छन्:-
रुझेको भाले कति बासला थाकिगो मारुनी कति नाचला
अहिले भैसी काँ चरे लेखै दमारे गैजान्च नाचरु बस रामरी
सुर
यस नचरीको मुख्य आकर्षणको विषय नै यसका सहभगीहरूको खासगरी मादले गौरे कामीको रागात्मक हाउ भाउ हो । प्रस्तुतिमा आएको प्रस्तोताको ध्वनिको आरोह अवरोहबाट घटना वर्णनमा प्रभाव पर्दछ र सङ्गीत अनि भङ्गिमाको प्रयोगद्वारा लोकाभिव्यक्ति सरस, ओजपूर्ण तथा प्रभावकारी हुन्छ । गद्यभाषालाई पनि लय प्रदान गरेर गाउँदा ज्यादै श्रुतिमधुरता आएको थियो । रातभरिको सो कार्यक्रममा प्रस्तोताहरू थाके पनि दर्शक-श्रोताहरू मन्त्रमुग्ध देखिन्थे ।
करणत्व
प्रस्तुत नचरी स्थानीय भाषिकामा प्रस्तुत गरियो । नेपाली भाषाको पूर्वेली भाषिकाको पर्वते उपभाषिका हुँदा हुँदै पनि सिमानामा भएका कारण भल्कोत र मैकोटदेखि पश्चिमतिर बोलिने भाषिकाको मिश्रण रहेको खसानी उपभाषिकाको यसमा प्रयोग भएकोछ । यसको प्रस्तुतिमा प्रचुर मात्रामा अभिनय रहेको छ । जोर मादल र घँघरा-पैचनले गाउँ नै सङ्गीतमय बनेको छ ।
प्रतिमानहरू
यो नचरी लोकजीवनको धार्मिक आस्थाको एउटा नमुना हो । विधिविधानपूर्वक गरिने अनुष्ठानले यस लोक परलोक दुवै सप्रन्छन् भन्ने पूर्ण आस्था र विश्वास लोकसमुदायले राख्दछ । यही आस्था र विश्वासमा कृष्णचरित्रमा आधारित चौरको नचरी लगाउने कार्य पूरा गरिएको देखिन्छ । यो लोकजीवनको आस्थाको एउटा नमुना हो ।
विधा
कृष्णचरित्रमा आधारित प्रस्तुत नचरी लोकसाहित्यको अभिनय प्रधान विधा हो । यसमा लोकनाटकमा पाइने तत्त्वहरू पाइन्छन् । यसको प्रस्तुतिमा सम्पूर्ण कृष्णचरित्र आउन सकेको छैन । खण्डित अंशहरूको प्रस्तुति भएको नृत्य-नाटिकामा यसलाई राख्न सकिन्छ ।
०००
४.निष्कर्ष
डेलहाइम्सको कथन पद्धतिलाई आधार बनाएर नेपाली लोकसाहित्यका प्राय: सबै विधाहरूको अध्ययन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत अध्ययनमा भएको छ । लोकसाहित्यका विधाहरूको अध्ययनमा क्षेत्रकार्य, स्थानीय सन्दर्भ र लोकप्रचलनलाई ध्यान दिनुपर्छ भन्ने मान्यता रहेको डेलहाइम्सको कथनको पद्धति व्यवहारिक रूपमा उपयोगी छ भन्ने तथ्य यस अध्ययनबाट स्पष्ट हुन्छ ।
यसमा गरिएको नचरीको विश्लेषणले स्थानीय संस्कृतिको विवेचना एवम् संरक्षणमा पनि जोड दिइएको छ ।
०००
सन्दर्भसूची
१- कामी,गौरे, धौलागिरि अञ्चल, बाग्लुङ जिल्ला, अधिकारीचौर गाउँविकास समिति वडानं-९ ।
२- पराजुली,मोतीलाल,२०६६,लोकसंस्कृति (वर्ष ४,पूर्णाङ्क ६),काठमाडौँ:नेपाल म्युजिक सेन्टर ।
३- बन्धू,चूडामणि २०५८,नेपाली लोकसाहित्य,काठ्काडौँ:एकता प्रकाशन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।