म बिदेसिन चाहन्छु, म मुगलान भासिन चाहन्छु । तर मलाई थाहा छ, मेरो बिदेसिने सम्भावना अति न्यून छ । विद्यार्थी वा कामदार भिसामा जान उमेर र शरीर वाधक बनेको छ । पर्यटकको रूपमा जान फुटेको कौडी छैन । नातिनातिनाको जायजन्ममा हुँदा गइन्थ्यो होला तर मेरा छोराछोरीले देशको मायाले हो वा किन देश छाडेका छैनन् । नातिनातिना त जन्मेका छन् तर यही पुण्यभूमिमा । कुनै प्रतिनिधि मण्डलमा समावेश हुन पाए, उतै बेपत्ता हुन्थेँ तर करिब करिब म उपयोगिताहीन भइसकेकाले त्यो सम्भावना पनि रहेन । आफूले आफ्नै त प्रतिनिधित्व गर्न नसकेको मान्छेलाई कसले पत्याउँछ र । देशको माया गर्नुपर्नेले गर्दैनन् । मजस्ताको माया त बालुवामा पानी हुने रहेछ ।
तपाईंलाई लाग्यो होला – रामबाबु घिमिरेसँग देश प्रेमको भावना रहेनछ । छ, हजुर छ, देशप्रेम गर्दागर्दै मेरो र देशको यो हालत भएको हो । तपाईंलाई जस्तै मलाई पनि यो देशको माया लाग्छ, देशप्रेमकै कारणले म विदेश भासिन खोजेको हुँ । देशप्रेम भनेको पनि एक प्रकारको मनोरोग रहेछ । देशको हाल बेहाल भएको पनि थाहा नहुँदो रहेछ । तपाईंलाई शङ्का लाग्न सक्छ, ग्रिन कार्ड र विदेशी नागरिक हुँदाको सुविधा र सामाजिक सुरक्षा व्यवस्थाबाट म प्रलोभित भई उतैको हुन सक्छु । शङ्कै गर्न पर्दैन । म विदेशी नागरिक त किमार्थ हुन्न । परित्याग गरी घर फर्कंदा अनेक झन्झट बेहोर्नु पर्दो रहेछ । सरकारले पनि चिकित्सकले नारीलाई पुरुष र पुरुषलाई नारी बनाएजस्तै नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाई कमाल गर्न सक्दो रहेछ ।
तपाईंलाई यस्तो पनि लाग्न सक्छ कि रामबाबुजस्तो अल्लारे मान्छेलाई मायाजालमा पार्न सक्छन् । म विदेशी स्वास्नी कुनै हालतमा ल्याउँदिन किनकि यताका कुरा उता पुर्याउन सक्छे । घरका कुरा माइत पुर्याउन सक्छे । स्वदेशी गृहिणीको पालनपोषण धौधौ परेको बेला जतिसुकै मायाजालमा परे पनि धरोधर्म म विदेशी स्वास्नी ल्याउँदिन । हदै भए लिभिङ टुगेदरको सम्भावना रहला । हुन त स्वदेशी पतिपत्नी नै भए पनि एकअर्काप्रति समर्पित नहुने हो भने लिभिङ टुगेदरजस्तै हुने रहेछ । आर्थिक विपन्नताले कतिपय नेपालीको दाम्पत्य जीवन लिभिङ टुगेदर बनेको छ । अति नै आर्थिक सङ्कट परेकाले मैले श्रीमतीको सिक्री बेचेर सङ्कट टारेँ । केही दिन हाम्रो दाम्पत्य पनि लिभिङ टुगेदरजस्तै बन्यो । सुनको होस् वा फलामको सिक्री बन्धन हो भनी बल्लबल्ल सम्झाउन सफल भएँ ।
सकभर त म विदेशी आइमाईको मुखै हेर्दिन । मुस्लिम कन्ट्रीमा गइयो भने त हेर्न पनि पाइन्न । थाहा छ, दुःख र चिन्ताले उमेरमै मरीचझैँ चाउरिएका नेपाली नारीभन्दा विदेशी नारीहरू मनमोहनी हुन्छन् । तर म हरबखत सम्झने छु – म विदेश पैसा कमाउन आएको हुँ, स्वास्नी कमाउन होइन । म विदेशमा ढुक्कसँग बस्न सक्छु किनकि उमेरले नेटो काटिसकेकी मेरी धर्मपत्नीलाई हेर्दा कामवासना होइन, वैराग्यबोध हुनेछ । त्यसैले म घर फर्कंदा घर र श्रीमती दुवै सहीसलामत हुनेछन् । त्यसैले मेरो शरीर विदेशमा र मन घरमा हुनेछैन । म खुरुखुरु काममा लाग्नेछु ।
तपाईंलाई थाहा नै छ, विदेशमा हाम्रो देशमाजस्तो एकपटक नियुक्ति पाएपछि काम गरे वा नगरे पनि राजनीतिक पार्टीको कार्यकर्ता बने पछि तलब र अवधि पुगेपछि स्वतः पेन्सन पाइन्छ । त्यस दृष्टिले कर्मचारीहरूका लागि भूस्वर्ग हो – नेपाल ।
मलाई कुनै कर्मचारी, शिक्षक–प्राध्यापक देख्नासाथ कुन पार्टीको होला भनी जिज्ञासा उब्जन्छ । अपवाद स्वरूप कुनै पार्टीमा लागेको छैन भने ना.सु. बाट.जागिर सुरु गरेको बिचरा ना.सु.बाटै रिटायर हुन्छ । विदेशमा त नियुक्ति पत्र होइन काम गरेबापत पैसा पाइन्छ । त्यसैले म काममा गोरुझैँ जोतिनेछु । मेरो सञ्चालक घडी हुनेछ । म यताको दुःख सम्झेर उता अहोरात्र काममा खट्नेछु । देशमा त जुलुसमा सहभागी हुनु, हस्पिटलमा क्यूमा बस्नु र मलामी जानुबाहेक अरू काम नै छैन । अँ, नेता र पार्टीलाई धीत मरुञ्जेल गाली भने गर्न पाइन्छ ।
म देशप्रेमकै कारणले बिदेसिन खोजेको हुँ । खै कता गयो ? यो मुलुकबाट पैसा नै हरायो । मानिस हराएको सूचना त प्रहरीलाई दिने हो तर थाहा भएन देशबाट पैसा हराएको सूचना कसलाई दिने हो ? कसै कसैले जतनसाथ राखेका छन् कि ? थाहा भएन । पैसा कमाउन सकिन्छ कि, रिमिट्यान्स बढाउन सकिन्छ कि भनेर नै बिदेसिन खोजेको हुँ । तीन तहको सरकार छ मेरो देशमा । सरकारको जायजन्म जनताबाट भएको हो । जायजन्म दिएपछि पालनपोषण पनि गर्नै पर्यो । म पनि जनता हुँ । तीनै तहका सरकारलाई भोकोनाङ्गो नराख्नु मेरो कर्तव्य हो । म कर्तव्यच्यूत हुन चाहन्न । स्वदेशमा बसेर मबाट त्यो परम् कर्तव्य पूरा गर्न हरहालतमा असमर्थ भएकाले नै म बिदेसिन खोजेको हुँ ।
कसै कसैले यो देश टाट पल्टन सक्छ भनेको सुन्दा भाउन्न हुन्छ । हे पशुपतिनाथ ! म टाट पल्टे पनि यो देशलाई टाट पल्टनबाट जोगाऊ । म त जनता हुँ, जनता टाट पल्टेको विश्व समाचार बन्दैन । देश टाट पल्ट्यो भने देशको हुर्मत जान्छ । जनतालाई त बस्नलाई एउटा झुप्रो र मरेपछि मसान घाट भए पुग्छ । छानो बनाउन सक्छन् । जति उत्तम उपचार गरे पनि एक दिन मर्न परिहाल्छ । हाम्रो देशमा जनताको आयुको निर्धारण चिकित्सकले होइन, भावीले गर्छन् । यसमा दिमागलाई दुःख दिन पर्दैन । जुन दिन मर्छ, त्यही दिन भावीले मृत्यु लेखेको ठहरिन्छ ।
मेरो मनमा एउटा कुरा खेलिरहन्छ – देशमा अत्याधुनिक प्रविधियुक्त हस्पिटल आवश्यक कि अनावश्यक ? मलाई लाग्छ, त्यसमा हाम्रो अन्तश्चेतनाले कमाल गरेको छ । पद र पैसा हुनेहरू विदेश गई उपचार गरिहाल्छन् अनि मजस्ता टाट पल्टन लागेकाहरूको आयु लम्ब्याउनुको प्रयोजन के ? युवा उमेरका धेरैजसो बिदेसिए र जो छन् प्रतीक्षामा छन् र जान नपाएकाहरू छन् । जान नपाएकामध्ये म पनि एक हुँ । आयु लम्ब्याउँदा यो देशमा मजस्तै बुढाखाडा मात्र रहने छन् ।
विदेशीले होच्याएर बुढाखाडाको देश भन्न सक्छन् । मलाई मान वा अपमान जे गर्नुहोस्, तपाईंको इच्छा तर देशको अपमान म सहन सक्दिन । आधुनिक प्रविधियुक्त हस्पिटल नबनाएर हामी त्यो आक्षेपबाट मुक्त भएका छौँ । नकारात्मकभित्र सकारात्मक चिन्तन भनेको यही हो । विदेशीहरूलाई हामीले मजैसँग छकाइदिएका छौँ । छक्कापञ्जामा हामी अब्बल छौँ ।
हे, देवाधिदेव ! मेरो देशलाई टाट नपल्टने आशीर्वाद देऊ । हुन त प्रभु आफैँ आर्थिक मामलामा लापरवाह हुनुहुन्छ । आफ्नै जायजेथाको हजुरलाई कुनै चासो छैन । मैले धेरै वर्ष पहिले भक्तहरूले हजुरको जेथा खान्छन् – हस्पिटल खोल्नोस्, विद्यालय खोल्नोस् भनेको मान्नुभएन । अझै पनि मेरो अनुरोध स्वीकार होस् । हजुरलाई पित्तल वा सुन किन चाहियो । हजुर त दिगम्बर हुनुहुन्छ । हजुर अन्तर्यामी हुनुहुन्छ, हजुरलाई सबै थाहा छ ।
तर पनि मौन हुनुहुन्छ । हजुरले तेस्रो आँखा कहिल्यै खोल्नुभएन । मलाई त शङ्का लाग्न थालेको छ – वर्षौंवर्ष नखोल्दा हजुरको तेस्रो आँखा जाम त भएन ? हजुर दाता हो भन्ने कुरा भक्तहरूले बिर्से र याचक बनाइदिए । पैसा वा सुन चढाउँछन् र पाप कटनी वा कुनै कार्य पूरा गरिदिन आग्रह गर्छन् । हजुर के कुनै नेता वा कर्मचारी हो र ?
यो देश धेरै पहिलेदेखि लाहुरेको देश हो । अहिले सङ्ख्या र क्षेत्र बिस्तार भएको छ । विश्वका पुगनपुग सयभन्दा बढी देशमा नेपालीहरू पुगेका छन् । ती सबै नेपालका प्रतिनिधि हुन् । करिब एक चौथाइ जनसङ्ख्या विदेशमा कमाउन गएका छन् । रिमिट्यान्स भनेको तिनै हुन् । तिनले बेहोरेका दुःख, हन्डर, जेलनेल र अकाल मृत्युको हामीलाई कुनै चासो छैन । हामीसँग को कहाँ गयो ? उसको हालत के छ ? कुनै अभिलेख छैन । रिमिट्यान्स बढ्यो कि घट्यो ? हामीलाई त्योभन्दा बाहेक केही मतलब छैन । मैले एक दिन एक नेतासँग वैदेशिक रोजगार मन्त्रालय आवश्यक छ भन्दा उनको मुखमण्डलमा कुटिल मुस्कान देखा पर्यो । एक चौथाइ नेपालबाहिर छ । नेपाल भनेको नै नेपाली हुन् ।
आजकल हामी सहरको सौन्दर्यीकरणमा लागेका छौँ । सहरले झुप्राझुप्री देख्नै चाहँदैन । सहरलाई मजदुर चाहिन्छ र मजदुरलाई चार प्रहर रात बिताउन झुप्राझुप्री चाहिन्छ । सहरले मजदुरलाई होइन, झुप्राझुप्री मात्र मन नपराएको हो । सहरको हातगोडा भनेका नै मजदुर हुन् । मजदुरबिना सहर अपाङ्ग हुन्छ । अग्ला भवनको कौसीमा बसेर झुप्राझुप्री हेर्दा परम आनन्द हुन्छ, होला – उच्चताबाट लघुता हेर्दाको आनन्द ।
जवानीमा सहर पसेको एउटा मजदुर सयौँ भवन निर्माणमा सहभागी भई बुढो भएपछि रोगका कीटाणुसहित गाउँ फर्कन्छ र मृत्यु पर्खन्छ । समयको चक्र पनि अनौठो छ – मान्छे कुनै बेला मायालुलाई पर्खन्छ भने कुनै बेला मृत्यु पर्खन्छ । मायालु र मृत्युमा साम्यता के छ भने दुवैमा समाहित होइन्छ । म विदेश जाने कुरा गर्दै थिएँ, स्वदेशकै कुरामा अलमलिएछु । देशभित्रको कुरा सोच्दा वैराग्यबोध हुन्छ र गेरुवस्त्र, त्रिशूल र चिम्टाको खाँचो अनुभव हुन्छ – जय शिव शंकर !
यस्तो सोचाइ किन आयो भने १९ औँ शताब्दीदेखि क्रान्ति गर्दागर्दा थकित भएको छु । कुनै क्रान्तिले पनि परिवर्तन ल्याउन नसकेकामा चकित भएको छु । अबको बाटो भनेको कर्ममार्ग । भक्ति र हठमार्ग अपनाई सकियो । मेरो विदेश जाने निर्णय पनि कर्ममार्ग हो । पैसा कमाउने कर्म । आजकल विदेश जाने हुटहुटीले मन पनि ठेगानामा छैन । मनोविद्हरू भन्छन् – एउटै कुरा मात्र सोचिराख्यो भने सोचिएको कुरा वा वस्तुको भ्रमित रूप देखा पर्न थाल्छ । म पनि बेलाबेला विदेश यात्रामा हुन्छु र उर्वशी जस्ती एअर होस्टेजले दिएको पेय सेवन गरिरहेको हुन्छु ।
सम्भवतः दिवास्वप्न भनेको त्यही होला । अब म खास कुरा खुलस्त गर्छु । तपाईंलाई थाहै छ । म बिदेसिन सहज छैन । तर मनमा झिनो आशा पलाएको छ – मेरो एकजना साथी गुरुमहाराज बनेर विदेश पुगेको छ । मलाई मेरा पूर्व विद्यार्थीले गुरु भनी सम्बोधन गर्छन्, त्यसमा महाराज थपेपछि मेरो काम फत्ते हुनेछ । केही समय कुनै मन्दिरमा बसी देवताको सङ्गत गर्नु पर्ला, खरानी धस्नु पर्ला, विदेशको अनुदानमा निर्भर हामी सबैले अप्रत्यक्ष रूपमा त खरानी धसेका नै छौँ । यति मात्र कि मैले प्रत्यक्ष रूपमा धस्नुपर्ने भयो । निष्कर्षमा अब म देशको र मेरो आर्थिक हालत सुधार्न विदेश जान्छु । तपाईंसँग उतैबाट नेटमा कुरा गरौँला |



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










