ज्ञान सक्रियता वा जागरूकता हो । सिकाइ अवसर हो । अनुभवबाट सिकाइ प्राप्त हुन्छ र कर्मबाट व्यक्तित्व निर्माण हुन्छ । सेवा समृद्धिको कारक हो । यसबाट मानव मूल्यको अभिवृद्धि हुन्छ । ज्ञानको अभावमा सेवा र समृद्धि दुवै ओझेलमा पर्छन् ।

ज्ञान क्रिया र अनुभवबाट आर्जित सूचना हो । ज्ञान कुनै विषयको कल्पना हो । ज्ञानको अर्को रूप बुद्धि चाहिँ विषयगत स्वीकार्य अस्वीकार्य धारणा हो । सूचनाबोध र अन्तर्दृष्टि मानव ज्ञान हो । ज्ञानले व्यवहार खोज्छ, विज्ञानले प्रमाण खोज्छ । ज्ञानको गुण  नै जानेर बुझ्नु हो । सिकाइ र बुझाइ यसैका दुई पाटा हुन् । कलाकारिता सिकाइ हो ।मनस्थितिलाई तरल पार्ने माया, सहानुभूति आदि बुझाइ हुन् । सिकाइ प्रत्यक्ष अनुभव, मनोभावना वा सज्जन सङ्गतको उपज हो । विज्ञान चाहिँ ज्ञानको  विशेष वा  विशिष्ट स्वरूप हो ।

संसारमा सूचना प्रविधिको साथसाथै ज्ञानमा आधारित समाज निर्माण भएको छ । अहिलेको अर्थतन्त्र ज्ञानको विस्फोटको अर्थतन्त्र हो । वर्तमान समाजमा प्रतिक्षण ज्ञानको विस्फोट र सिर्जना भइरहेछ । वस्तुको व्यापारभन्दा ज्ञानको व्यापार गर्नेले समृद्धिको पाइला चालेका छन् । ज्ञानको  अद्यावधीकरण समृद्धिको आधार पनि हो ।

कार्य र  अनुभवबाट ज्ञानको जन्म हुन्छ । सूचना, जानकारी र  सिकाइबाट पनि  ज्ञान उत्पादन  हुन्छ ।सही व्यक्तिलाई सही समयमा सञ्चार गरिएको ज्ञानले सकारात्मक प्रतिफल दिन्छ । ज्ञान व्यवस्थापन गर्नेले समृद्धिलाई मित्र बनाउँछ । ज्ञानको व्यवस्थापन समाज, संस्कृति, सोच र उन्नतिलाई जीवन्त राख्ने स्रोत हो ।ज्ञानको व्यवस्थापनले समृद्धिको कक्षामा नयाँ पाठ सिकाएर  ज्ञान साझेदारी गर्छ । जीवनको गुणस्तर बढाउन, अपेक्षा पूरा गर्न र सफल अनुभवको प्रवाह गर्न  ज्ञान व्यवस्थापन गर्न जान्नुपर्छ ।

विश्व गाउँको अवधारणामा धनी र गरिबको विभाजनले विश्व विभक्त हुँदैन । सिक्ने र नसिक्नेबिचको खाडलले भने संसारमा धाँजा फाट्न सक्छ । यहाँ कोही पढिरहन्छन्, कोही सिकिरहन्छन् ।पढ्नेले सिरानीमा पुस्तकालय सजाउँछ र अर्काका ज्ञानमा आफूलाई समर्पित गर्छ । सिक्नेले क्षितिज घुमेर सिकिरहन्छ  र आफ्नो अनुभवले माटो सिँगार्छ ।मानिसको बुद्धि सच्चा कलाकारिताको असल रूप हो । बुद्धि र ज्ञानको व्यवसाय उन्नत हुन्छ ।

अज्ञानको व्यापारले संहार निम्त्याउँछ । वस्तुको उत्पादनले धन कमाउँछ ।ज्ञानको उत्पादनले मान कमाउँछ । हामी उचाइ बेच्छौँ, गहिराइ बेच्न सक्दैनौँ । गहिराइमा गाम्भीर्य हुन्छ भन्ने नबुझेर हामी सतहमा रमाउँछौँ, डुब्न डराउँछौँ । प्रत्येक व्यक्तिमा समान सम्भावना हुन्छ । फोहोर गर्ने भन्दा फोहोर रोप्ने ठुला हुन् । फोहोर रोपे अनाज सप्रन्छ । सम्भावनाले सफाइ फुलाउँछ । संसारमा सिकाउन सजिलो छ तर सिक्न गारो छ । जसले सिक्छ उसले गहिराइको व्यवसाय गर्छ ।

विश्वविद्यालय सिकाइको कोश हो । अनुभव सिकाइको विश्वकोश हो ।  हामी राजनीति, संस्कार, सोच र विश्वासको झोला बोकेर विश्वविद्यालय पस्छौँ, समाजमा पस्छौँ अनि मस्तिष्कमा फोहोरको बोरा भरेर आफूलाई ज्ञानी ठान्छौँ ।अपेक्षा र पूर्व सर्त बिनाकै सिकाइ मात्र वास्तविक हुन्छ ।  बरफको पहाड पानीमा तैरिन्छ तर दृश्यभन्दा अदृश्य भाग बढी छ भन्ने बिर्सेर हामी दृश्य संसारको प्रशंसा गर्छौं ।

खाली हातले कोट्याउँदा धर्तीमा सञ्जीवनी भेटिने पुरा कथा बिर्सेर प्रमाणपत्रमा स्तर खोज्छौँ । के आमाको मुस्कानमा कपाल फुलेका प्राध्यापकको मस्तिष्क हुँदैन ? के किनारबिना तलाउको मूल्य छ र ? के कविले लेखेपछि मात्र माटाको महिमा हुने हो र ? समाज वा संस्थामा दृश्यभन्दा अदृश्य पक्ष बढी हुन्छन् र यो बुझ्नेको सोचको संसारमा गहिराइ बढ्छ । अरूको चियोचर्चो गर्नु समयको जोखिम हो । लघुताभासले पनि मानिसलाई आज्ञापालक मात्र  बनाउँछ । मानिस न्यून सम्मानमा बाँच्न सक्दैन । सम्मानका लागि बडप्पन, घमन्ड, परपीडन र आक्रामक व्यवहार गर्नेले व्यक्तित्व विकास गर्दैन । यस्ता व्यक्तिको नेतृत्वले समाजको ज्ञान र सिपको संहार हुन्छ । असल नेतृत्वले मात्र ज्ञानको व्यवसाय गर्न सक्छ । ज्ञानको व्यापार गर्न गहिराइमा डुब्ने नेतृत्व चाहिन्छ ।

भावुकताले भवन बन्दैन । पथप्रदर्शक नेतृत्वमा भावनाभन्दा सम्यक् दृष्टि अधिक हुनुपर्छ । अन्तर्मुखी र असन्तुलित व्यक्तित्व समाजको आवश्यकताभन्दा खतरनाक हुन्छ । अरू बेठिक म ठिक वा अरू ठिक म बेठिक हुनै सक्दैन भन्नुभन्दा पनि म पनि ठिक, अरू पनि ठिक भन्ने सन्तुलित, आत्मविश्वासी र सकारात्मक सोचयुक्त नेतृत्वले ज्ञानमा आधारित समाजको मूल बाटो पहिल्याउँछ ।

ज्ञानको व्यवसाय गर्नेहरू अभिभावक हुन् । अभिभावकले अरूको हेरचाह गर्छन् । जीवनका हरेक सिँढीमा रोजाइ फरक हुन्छ । बच्चाले सिर्जनात्मक र साहसिक कार्य रोज्छन् तर सफल नहुन सक्छन् । युवाले सकारात्मक नकारात्मक सोचका बिचमा तटस्थताको वा समस्याको खोजी गर्छन् । युवा जोस क्रियाशील हुन्छ । अभिभावकले सन्ततिमा आफूभन्दा अग्रगामी र परिष्कृत सोचको अपेक्षा राख्छन् अनि बच्चा र युवाका हात र मस्तिष्कलाई टेवा दिन्छन् ।

मानिसले राजनीतिक, प्रशासनिक आदि पद पाउँछन् । पाएको पद कार्यक्षेत्रको सीमाभित्र सीमित राख्नुपर्छ । प्रतिष्ठा निरन्तर रहन्छ । पदले प्रतिष्ठालाई थिच्नु हुँदैन । व्यक्ति, समाज र राष्ट्रको प्रतिष्ठा बढाउने सोच परिवर्तन र समृद्धिको कारक हो । पदीय जिम्मेवारीमा बालापन, भावुकता र हठले लक्षित वर्गको सोचलाई लत्त्याउन सक्छ । बालापन बोक्ने नेतृत्वले अरूका कुरा लत्त्याउँछ । अभिभावकपन बोक्नेले निर्देशन दिन्छ । यी दुवैले लक्ष्य भेदन गर्न सक्दैनन् । नेतृत्वले युवापन बोक्नुपर्छ  । युवाले निराशालाई आशामा र शिथिलतालाई सक्रियतामा परिणत गर्न सक्छ । युवाले ज्ञानको व्यापार गरेमा  धर्ती प्रतिफलको सौन्दर्यले सिँगारिन्छ  ।

ज्ञानमा आधारित अर्थतन्त्र निरन्तर कुल गार्हस्थ्य उत्पादन बढाउने आधार हो । आफ्नो ज्ञान आफूबाट भिन्न हुँदैन ।जनताद्वारा चुनिएका विज्ञ शासकले समाज र नागरिकलाई शिरमा राख्छन् ।वैयक्तिक उचाइले उच्चतम इमानदारी र सुशासन जन्माउँछ ।  व्यावहारिक खुलापन र कानुनी शासनले आर्थिक विकासलाई दिशानिर्देश गर्छ ।

अनुभवमा आधारित सोच र कार्यशैलीले समृद्धिको मार्ग प्रशस्त गर्छ । औद्योगिक क्षेत्रको स्तरोन्नति,  श्रमिकको उत्पादकत्व वृद्धि कृषिको विविधीकरणमा युवा जोस र सोच ल्याउन समानको विश्वविद्यालयमा ज्ञानको अर्थतन्त्र सिक्नु आवश्यक छ । वस्तुको उत्पादनको  सम्भावना र निर्यात,  उत्पादन वृद्धि र आन्तरिक खपतका आधारमा हामीलाई अनुकूल हुने र अरूको भर पर्नु नपर्ने ज्ञानको व्यवसायको खोजीबाट नै हामी समृद्ध हुन सक्छौँ ।

युवालाई उच्चस्तरको गुणस्तरीय सिप दिएर मानिसको सोच र देशको मुहार परिवर्तन गर्न सक्छौँ । हामीले हाम्रो सोचाइ र संरचनामा रूपान्तरण गर्न नसके हामीसँग पछौटेपनको पहिचान रहिरहन्छ । गुणस्तरीय  शिक्षा, व्यावहारिक सिप, सूचना विधिमा पहुँच, अनुसन्धान र विकास तथा प्रतिफलमूलक लगानी  पहिचान सुधारका आधार हुन् । श्रम, प्रविधि, सिप, ज्ञान र नवीनताको खोज सेवा र पूर्वाधारका साध्य हुन् ।

ज्ञान अथाह छ तर खोज्न सकिन्छ । ज्ञानको व्यवस्थापन गर्नेहरूले समृद्धि र सन्तुष्टिको साथ पाएका छन् । म ज्ञानको बिउ रोपेर समृद्धि उमार्न चाहन्छु ।