भेटिनु नयाँ कुरा प्राप्तिको सुरुआत हो । नभेटिनु बिर्सिंदै जानुको अभिसाप हो ।

प्रत्येक भेटले सम्बन्धलाई नवीकृत गर्छ । सुधार्छ, सपार्छ र अझ सुन्दर पार्छ । धूमिल हुँदै-हुँदै धमिलिँदै, क्रमशः पुरानिँदै गइरहेका सम्झनाहरू बिउँझिन्छन् र वर्तमानमा झलमल्ल देखिन्छन् । बिर्सिएका सम्बन्धहरू भेटिएपछि, चिनिएपछि पुनः जागृत हुन्छन् । बौरिन्छन्, बिउँझिन्छन् र भेटिनुको उपलब्धि सार्थक बन्छन् । भेटिएपछि धेरै प्राप्ति र खुसी मिल्छ । सन्निकट सम्बन्ध पुनः स्थापित हुन्छ ।

त्यसैले हिजोआज भेटिनुमा शङ्का हुँदैन । बरु भेटाइहरूले पुराना द्वेषहरू मेटिन्छन् । नयाँ सम्बन्धको नवीकरण हुँदै नौलो उल्लास र ऊर्जा मिल्छ । सायद स्थानीय तहहरूमा ‘मेलमिलाप डेस्क’ को स्थापना यसकै लागि भएको हो । वास्तवमा मन मिल्नु, मिलाउनु, भेट्नु, भेटिनु भनेको मित्रताको ‘स्वर्णिम पक्ष’ हो । नभेट्दा वैमनस्य पनि बढ्छ । शङ्का, उपशङ्काको अन्त्य भई मेलमिलाप, मैत्रीभावको बीजारोपण हुन्छ ।

बिछोडिएपछि केही हुँदैन । टाढा-टाढा कता हो कता । को कहाँ, के कस्तो केही अत्तोपत्तो हुँदैन । केही महसुस पनि गर्न सकिँदैन । सम्बन्ध, मित्रता, साथीत्व, आत्मीयता हुन्छ, हुँदैन केही थाहा हुँदैन । यस्तो भएपछि समवेदना शून्य सम्बन्ध । अपरिचित नाता ‘को हो-को हो’ को बिरानोपन अर्कै ग्रहको मान्छे जस्तै लाग्छ ।

भेट्न आउनेहरू, आउँछन्, आइरहेछन् । नभेट्नेहरू जान्छन् गइरहेछन् । आउँछु भनेर नआउनेहरू मात्र होइन; जान्छु भनेर नजानेहरू पनि छन् । भेट्छु भनेर नभेट्नेहरू पनि यहीँ छन् ।

कति टाढा मनहरू नजिकिँदै आउँछन् । कतिपय नजिक मनहरू भने टाढिँदै जान्छन्, जाँदा रहेछन् । नजिक र टाढाको दूरी भन्नू भावनात्मक कुरा रहेछ । पृथक् मन र मुटुको कुरा रहेछ । भेटिँदैमा सारा खुसीले उरुङखात ‘आनन्द’ दिने होइन । नभेटिँदैमा पीडाले छटपटीको ‘सकस’ दिने होइन ।

अलिकति सन्तुष्टि र संस्कारको कुरा । अलिकति मित्रता र मनको कुरा । अलिकति सद्भाव, विश्वास र विवेकको कुरा । तथापि भेटिँदैमा प्राप्तिको ‘सगरमाथा विजयी’ हुने होइन । नभेटिँदैमा ‘बरबादीको भड्खालो’मा परिने पनि होइन ।

खुसी मनले मित्रता गाँस्न टाढादेखि पनि धाइरहेछन् । नजिकको तीर्थ हेला भएर हो कि ! आउनै पर्नेको चाहिँ पाइला अन्तै मोडिन्छ । र, ‘आउँछु’को औचित्य समाप्त हुन्छ ।

भेट्ने ‘चाहना’लाई कहाँ रोक्न सकिन्छ र ! नभेट्ने ‘बहाना’लाई के भन्न सकिन्छ र ?

भेट्छु भन्नेहरू, भेट्न अवश्य आउँछु भन्नेहरू भने तर्किरहेछन् । टाढिँदै गइरहेछन् । बहाना बनाएर मिति सारिरहेछन् । खै किन हो कुन्नि पर-पर झन् पर भागिरहेछन् । व्यस्त मान्छेले बरु फुर्सद मिलाएर भेट्छन् । तर फुर्सदका मान्छेले समय मिलाउन नचाहँदो रहेछ ।

कति साह्रो ढाँटहरू । कति धेरै आस देखाउनेहरू । पर्खाउनेहरू र झुक्याउनेहर ! माया गरे जस्तो गर्ने र श्रद्धा देखाएको स्वाङ पार्नेहरू । तारिफ गरेर तड्पाउनेहरू । प्रशंसा गरेर प्रताडित बनाउनेहरू । र, अन्ततः आउँछु भनेर नआउनेहरू ! जान्छु भनेर नगई गफिरहनेहर उस्तै-उस्तै जस्तो लाग्छ ।

भेट भएपछि कति-कति कुरा गर्ने मन हुन्छ । कति प्रश्न सोध्नुपर्ने हुन्छ । कति जवाफ पाउने आस हुन्छ । कुराका पोका खोलेर आपसमा कति खुसी बाँड्ने मीठो चाहना हुन्छ । कति हाँस्ने, कति बात मार्ने, कति रमाउने सपना हुन्छ । तर प्रतीक्षा बेकार शून्यमा परिणत हुँदा परिस्थिति प्रतिकूल बनिदिन्छ । पर्खिंदा बाचा बाँधेको दिन आइपुग्दा कुरा अर्कै हुन्छ । भेट्ने दिन र भेट्ने समयले नेटो काटिसक्छ ।

भेटिने रहर केवल रहरै मात्र बाँकी रहन्छ । प्रसङ्ग अर्कैतिर मोडिन्छ । प्रेमिल भेटको पल चकनाचुर हुन्छ । बिछोडको पीडा थपिन्छ । विरहको पल भित्रिन्छ । मिलनको सपना केवल सपनैमा सीमित रहन्छ ।

त्यसपछि न भेटिन्छ, देखिने त कुरै भएन । बिस्तारै ‘हाई-हलो’ को निकटता पनि बिरानो बन्दै जान्छ । चिनाजानीको परिचित चेहरा र चरित्र पनि समाप्त हुन्छ । ‘रहलपहल’ कुरा गर्नु छ धेरै भन्नेहरू नै अनायासै बेखबर भइदिन्छन् । आत्मीयपनमा आबद्ध ‘प्रिय मनहरू’ पनि एक्कासि ‘निष्ठुरी’ बनेर संवाद-सम्प्रेषणको सिलसिलाबाटै टाढिन्छन् ।

सम्बन्धको ‘मानक’ यो होइन । भेटको ‘प्रयोजन’ प्रयोगमा हुनु हुँदैन । टाढा र नजिकैको दूरी, संवाद र सम्बन्धको पाटो । बोली र व्यवहार अनि साथ र सहयोग सबै भेटका ‘साधक’ हुन् । होइनन् ‘बाधक’ । बरु प्रगाढ सम्बन्धका ‘मानक’ हुन् । आत्मीय मित्रताका ‘पहिचान’ हुन् ।

भेटहरू छिन-छिनका र दिनैपिच्छेका पनि हुन्छन् । कुनै भेटहरू महिनौँ र वर्षौंपछिको अन्तरालमा समेत हुन्छन् । भेटहरू जुनसुकै हुन् ती सबै भेटहरूले मित्रवत् सम्बन्ध सुमधुर बनाउनुपर्छ । जस्तो कि मित्रराष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुख तथा प्रतिनिधिको भेटघाट हुन्छ । त्यस भेटले दुई देशीय सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ । त्यसले विकास र समृद्धिको उचाइमा पुर्‍याउन सहयोगको आदान-प्रदान गर्छ ।

पहिले-पहिले भेट हुन मुस्किलको कुरा हुन्थ्यो । भेटको संयोग जुर्न हाटबजार लाग्ने समय कुर्नुपथ्र्यो । मेलापर्व, जात्राउत्सव पर्खिनु पर्थ्यो । तर आज भेटिनलाई कुनै छेकाबार छैन । कसैको कुनै बन्धन अथवा रोकावट केही हुँदैन । भेटिनलाई मान्छे-मान्छे नै आमुन्नेसामुन्ने हुनुपर्छ भन्ने छैन । अप्रत्यक्ष रूपमा पनि भेटाइका सिलसिलाले सुरिलो स्वरूप हुर्काउँदै आएको छ । अब भेटिने बार र छुटिने बारको अन्धविश्वास तोडिएको छ । यो बार भेट्नु हुँदैन, त्यो बार छुट्नु हुँदैन भन्ने मान्यता बद्लिएको छ । अन्ततोगत्वा भेट सधैँ हुनुपर्छ, भइरहनुपर्छ ।

तथापि मान्छेको मन भाँडिँदै हो कि ! मान्छेको मन बद्लिँदै छ कि ! थाहा छैन मान्छे कति ‘मायालु’ कि ‘निष्ठुरी’ बन्दै छ ? ‘भो अब नभेटौँ’ पनि भन्नै नसकिने रहेछ । कति अप्ठ्यारो, कति असजिलो, कति नरमाइलो पनि …। परन्तु ‘भेट्दिनँ’ भन्दैनन् । ‘आउँदिन’ पनि भन्दैनन् । ‘आउँछु नि है !’ भन्छन् तर आउँदैनन् । मुखले ‘भेट्ने है ।’ भन्छन् तर आफैँ फरार हुन्छन् । खै के बाध्यता हो टाढिनु ? किन हो कुन्नि आउँछु भन्न नछोड्नु तर नआउनु !

आउँछु भनी मिति र समय तोक्नेहरू कता हो कता । बरु अचानकै टुप्लुक्क भेट हुनै नसक्ने मान्छे भेटिन्छन् । भेटिँदैन भनेर कहिल्यै नसोचेको मान्छे भेटिन्छन् । भेटिन नचाहेको मान्छेसँग भेटिनभन्दा बिछोडिन हतार हुन्छ आफूलाई । भेट्नुपर्ने मान्छेसँग भने भेटिएपछि छुट्टिने मन हुँदैन । भेटिन्छ अवश्य भनेर विश्वस्त भएको मान्छे चाहिँ केही गरे नि भेटिँदैनन् ।

भेट्न नचाहेको मान्छे बारम्बार भेटिइरहन्छन् । जता पनि ऊसँगै ‘जम्काभेट’ भइहाल्छ । आफूले नदेखे जस्तो गरे पनि उसले झुलुक्क देखिहाल्छ । अनि ‘नभेटौँ’ भने पनि भेट्नै पर्छ । ‘नबोलौँ’ भने पनि बोल्नै पर्छ । तर आफूले ‘भेट्छु’ भनेको र भेट्नेले पनि ‘भेट्न आउँछु’ भनेको मान्छे कतै मान्छेको भीडमा हराउँछ । निष्ठुरी सहरमा निष्ठुरी मान्छेलाई ‘खोजेर’ पनि भेटिँदैन । ‘बोलाएर’ पनि सुन्दैन । निम्तो दिएर पनि आउँदैन । अनुनय, विनय व्यर्थ हुन्छ ।

भेट्नुको आस देखाउने छट्टुहरू कता टाप कस्छन् ? बाचा तोडेर भाग्नेहरू कहाँ लुकेर बस्छन् ? तर लाग्दैन कि, कहिल्यै भेटिँदैनन् ती, कहिल्यै अब फर्केर आउँदैनन् । अलिकति धिपधिपे आशा रहिरहन्छ । त्यही आसले त मान्छे बाँचिरहन्छ । जति निराशा आए पनि एक दिन त अवश्य आशाको उज्यालो दिन आउँछ भन्ने विश्वास हुन्छ ।

कतिसँग भेटिने मन हुन्छ । कतिसँग ‘भेटिन’ हैन बरु ‘छुटिन’ नै बढी मन हुन्छ । तर भने जस्तो, सोचे जस्तो र चाहे जस्तो चाहिँ नहुँदो रहेछ ।

यद्यपि कहीँ कतै नभेटिने ठाउँ नहोस् । बिछोडिने क्षण नआओस् । भेटिने अवसर बारम्बार दोहोरिरहोस् । भेटिएर छुटिएपछि फेरि कहिल्यै नभेटिने बिछोड नहोस् । बिछोडले मिलन निम्त्याओस् । मिलनले भेटाइका अवसरलाई सिर्जनशील पारिरहोस् ।

कति थरी कामना, कति धेरै चाहनाहरू हुन्छन्  । ती सबै-सबै स्वार्थ प्रेरित नभई रहुन् । बरु मेलमिलापको पवित्र आवरणमा अवतरित भइदिउन् । भेट्छु भनेर भेटिने समय टाढिएर कतै अनकन्टारमा खेर नजाओस् । आउँछु भनेर आउँदै नआउने निष्ठुरी मन कसैको नहोस् ।

हरेक दिनको भेट ‘विशेष’ होस् । हरेक भेटले नयाँ ‘खुसी उपहार’ ल्याओस् । हरेक भेटले ‘मायाको स्पन्दन’ गराओस् । प्रेमको प्रकम्पन प्रस्फुटन गराओस् । भेटिनु र छुटिनुको परम्परागत क्रम भङ्ग नहोस् । समयको सदुपयोग गर्दै भेट र भलाकुसारी नित्य-निरन्तर होस् । मिलनको मिलनसारिताले फड्को मारोस् । ‘कुवा’ होइन ‘सागर’ को छलाङ मारोस् । भेटौँ, भेटिरहने मन लागिरहोस् । उन्नति, प्रगति, समृद्धि र सुखका संलाप गरिरहन पाइयोस् ।

परन्तु हजार सपनाहरू देखिन्छन्, तर बिउँझिँदा ती सबै बिर्सिन्छन् । एउटै पनि यथार्थमा रूपान्तरित हुँदैनन् । भेटिने बाचा पनि त्यस्तै रहेछन् सायद । पर्खाइको पीडा ‘पर्खाउनेलाई’ के थाहा ! पर्खिनुको पट्यारलाग्दो क्षण ‘पर्खिनेलाई’ मात्रै थाहा हुन्छ । पर्खिनेले सबै कुरा सहेको हुन्छ, सहनै पर्छ ।