मैले विधार्थी जीवनकालमा नै साहित्यका धेरै जसो विधाहरू पढेँ । यथार्थ, काल्पनिक, स्वैरकाल्पनिक, धार्मिक, आध्यात्मिक विषयका अनेकन पुस्तकहरू पढेँ । ती विषयहरूमा आधारित भएर लेखिएका थुप्रै कथा, कविता र निबन्धहरू बढी पढेँ। नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका साहित्यहरू पढेँ । लय मिलाएर, सस्वर वाचन गरेर धेरै कविताहरू कण्ठस्थ पनि गर्थेँ । कथाहरू पढेपछि हरेक कथाका घटना, परिवेश तथा पात्रहरू पनि दिमागमा मज्जाले बस्थे । निबन्धहरू पढेपछि भने लेखकले कुनै एउटै विषयमा पनि कति धेरै जानकारी राख्दारहेछन् भनेर अचम्ममा पर्थेँ ।
मेरा नेपाली र अङग्रेजी विषयका गुरूहरूले बुझाउनुभएका दुवै विषयका व्याकरणका नियमहरू पनि मज्जैले म कण्ठस्थ गर्थेँ । बुझेरै पढ्थेँ र तिनीहरूको प्रयोग गर्ने अवसरहरूका बारेमा जिज्ञासा राखेपछि गुरूहरूले केही सिर्जनात्मक रचनाहरू रचेर देखाउन भन्नुहुन्थ्यो । त्यसैबेलादेखि हो मैले पढ्ने र लेख्ने कामलाई बराबर समय दिन थालेको । ती दुवै कार्यले मेरो लेखन र पठन सीपको विकास गर्यो।
उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ।
विधालय तह सकेर विश्वविधालयमा पुगेपछि मलाई साथीभाइहरूबाट लेख्न र पढ्न थप हौसला मिल्यो । विश्वविधालयका गुरूहरूले पनि हामीलाई औपचारिक अध्ययन गरेर साहित्य सिर्जना र तिनीहरूको पठनमा लाग्न हौसला दिनुभयो । त्यसका साथसाथै उहाँहरूले समालोचनात्मक दृष्टिकोणअघि सारेर पढ्ने र लेख्ने बानीको विकास सँगसँगै गर्नाले नै एउटा व्यक्ति सफल सामाजिक व्यक्ति हुनसक्छ भन्नुभएको मेरा कानमा अझै गुञ्जिरहन्छ।
हो, हामीले पढ्दा र लेख्दा हरेक रचनामा समाजको चित्र खोज्नुपर्ने हुन्छ, समाजको चित्र उतार्नुपर्ने हुन्छ। यथार्थ विषयवस्तुमा लेखिएका साहित्यिक रचनाहरू पढ्दा समाजको चित्र छर्लङ्ग हुन्छ । काल्पनिक रचना पढ्दा भने समाजसँग जोडेर हेर्नुपर्छ र लेख्दा समाजलाई केन्द्रविन्दुमा राखेर लेख्नुपर्छ । मैले पढेकाका साहित्यिक एवं गैरसाहित्यिक लेख रचनाहरूले मलाई सधैं सन्तुष्टि दिने गरेका छन् । मैले साहित्यका विविध विधाहरूमा लेख्ने गरेका रचनाहरूले पनि केहीहदसम्म सन्तुष्टि दिइरहेका छन् ।
सन्तुष्टि मिल्दामिल्दै पनि मलाई भने एउटा समस्याले सधैं पिरोलिरहेको हुन्छ ।
म पाठकको रूपमा कुन विधा पढूँ ?, अनि लेखकको भूमिकामा आफूलाई कुन विधामा अघि बढाउँफ ?, मैले त मेरा वरिपरि रहनुभएका सारा विद्वानहरूले साहित्यिक, गैरसाहित्यिक, आध्यात्मिक सबै विषयका पुस्तकहरू पढ्नुभएको देखेको छु । सामाजिक, आर्थिक, राजनितिक हरेक क्षेत्रका समसामयिक विषयमा वहस गर्नुभएको देखेको छु । त्यसैगरी धेरैभन्दा धेरै लेखकहरूले साहित्यको वहुविधामा कलम चलाइरहनुभएको पनि देखेको छु । के उहाँहरू सबै क्षेत्र र विषयमा सक्षम भएकैले यसरी अघि बढिरहनुभएको हो त ?
पढ्नेले जति पढे पनि, लेख्नेले जति लेखे पनि आखिर खपत हुने भनेको यही समाजमा हो । यही समाजका स्रोता, पाठकहरूले सुन्ने र पढ्ने हुन् । तर फेरि अर्को प्रश्न उब्जिन्छ, के मैले हरेक विषयमा बोल्न सक्ने कुनै एक व्यक्तिको नाम लिन सक्छु ? साहित्यको बहुविधामा कलम चलाएर ख्याती कमाएका कुनै एकजनाको नाम सहजै लिन सक्छु ?, गारो हुन्छ मलाई । मलाई मात्र होइन धेरैलाई त्यसरी कुनै एक व्यक्तिको मात्र नाम लिन मुस्किल नै हुन्छ ।
ज्ञानविज्ञानको क्षेत्रदेखि खेलकुद, कलाकारिता, व्यापार वा कुनै पनि पेशा, व्यवसायमा आधारित क्षेत्र नै किन नहोस, हरेक व्यक्ति एउटा विषयमा मात्रै लागिपरेको देखिआएका छौं। उदाहरणको रूपमा हामी डाक्टरलाई लिन सक्छौं । मष्तिस्कको शल्यक्रिया गर्ने चिकित्सकले मुटुको शल्यक्रिया गर्ने दक्षता हासिल गरेको हुँदैन । एउटा डाक्टरले एउटामात्र विषयमा विशेषज्ञता हासिल गरेको हुन्छ र अन्य विषयमा सामान्य जानकारीमात्र राखेको हुन्छ । यति कुरा प्रष्ट भइसकेपछि म फेरि आफैँलाई अनेकन प्रश्न गर्छु । पढ्ने र लेख्ने विषय के खुला विषय होइनन् र ? के पढ्न र लेख्न पनि दक्षता हासिल गर्नै पर्छ र ? पढ्ने लेख्ने बाटोमा कसैले तगारो हालेका हुन्छन् र ?
म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ?
केही समय अघिमात्र मैले मेरा मित्रलाई एउटा कविता पढेर सुनाएको सम्झन्छु। कविता सुनिसकेपछि उनी ट्वाल्ल परेर बसेका थिए। केही बुझिनँ भनेका थिए। कवितामा प्रयुक्त शब्दहरू इंगीत गर्दै के आगो पनि बोल्छ ? पानी पनि झम्टन्छ ? के हावाले आफैँ छुन आउँछ ? अनि कोपिला चुँड्दा बोटलाई पनि पीडा हुन्छ ? यी सबै वाहियात तर्कहरू हुन् भन्दै मैले सुनाएको कविताको धज्जी उडाएका थिए । अनि मेरो मष्तिस्कमा विल्कुलै नयाँ कुरा संचार भएको थियो त्यसबखत । वास्तवमा धेरैले कविता लेख्ने भए पनि त्योभन्दा धेरै पाठकहरूले कविता बुझ्दैनन् । अनि धेरैले कविता जस्तो कविता लेख्नै सक्दैनन् । यथार्थमा, कविता थोरैले मात्र बुझ्न सक्छन् भन्ने कुरा मेरो सामु छर्लङ्ग भएर आयो । तर म कसरी लेख्दैछु त कविता ? कसरी पढ्दै छु त म कविता ? के म कविता बुझ्छु ? के म कविता लेख्न सक्छु ? मैले लेखेको कविता कविताका असली पाठकहरूसम्म नपुगेसम्म म आफूलाई कसरी कुन कोटीको कवि भनेर मान्नु ? नाम चलेका कविहरूले लेखेका कविताहरू हेर्ने हो भने ती सरल र सामान्य हुँदाहुँदै पनि चर्चित छन् । मैले त्यही कोटीका कविता लेखेँ भने म कसरी म रहन्छु त ? अनि मैले विल्कुलै भिन्न तरिकाले लेखेँ भने सबै पाठक स्रोता मेरा मित्रझैं निक्लिए भने ? यी तमाम प्रश्नहरूले मलाई कहिल्यै सुखपूर्वक कवि हुन दिएन । अनि म अनेकन विधामा कलम चलाउन बाध्य बन्छु । म अलमलमै हुन्छु मेरा निम्ति कुन विधा उपयुक्त हो भनेर ।
एउटा सर्जकले साहित्यका हरेक विधामा कलम चलाएर अघि बढ्नु आफैँले जानाजान दुर्घटना निम्त्याउनु हो भनिन्छ । दुर्घटनामा नपरौं, यसमा सबैको सदिच्छा हुन्छ । तर म के लेखौं त अब ? यही प्रश्न नाम चलेका लेखक सर्जकहरूको मस्तिष्कमा पनि उठ्ने गरेको पाउँछु । दुर्इचारवटा कथा, कविता, अख्यानसँगै चर्चित भएर सधैं त्यही रचनाहरूको ब्याज खाइरहने र नाम बेचिरहने होइन भन्ने उहाँहरूलाई प्रष्टरूपमा थाहा छ। विधा परिवर्तन गर्दाको खतरा सधैं रहिरहेकै हुन्छ। हिजोअस्तिसम्म कवि भनेर चिनिएका सर्जक आज कथाकार अनि भोलि सफल आख्यानकार नबन्न सक्छ। आज सीधै आख्यानकारमा दरिएका सर्जकलाई भोलि आख्यानकारको पल्ला भारी हुनसक्छ।
मलाई यस्तै लाग्छ, एउटा मात्र विधा समाएर लेख्नाले लेखकलाई सधैं असजिलो महसुस हुन्छ । प्रश्न तेर्सिएकै छ सामुन्ने, एउटा सर्जक किन बहुविधामा लेख्न तम्सिन्छ ?
आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा !
यतिका प्रश्नहरू सामु हुँदाहुँदै पनि म लेख्छु जे जे आउँछ अहिले । भोलिका दिन कसले देखेको छ र ? सोच्छु, पाठकले जुन विधामा आफूलाई रूचाउँछन् त्यहीबमोजिम स्वीकार गर्नेछन्। तर अन्तर्मनमा फेरि थप कुराहरू आइरहेछन् । लेखकका पनि आँखा उघारिदिने पाठकहरू हुन्छन् । ‘तपाईँ यो होइन त्यो विधा समाउनुहोस्, त्यसमा भन्दा यसमा दख्खल राख्नुहुन्छ’, भनेर उत्साहित बनाउनुहुन्छ । त्यसैगरी विभिन्न साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाहरूका दिग्गज सम्पादकहरू पनि त हुन्छन् लेखकलाई डोर्याउने । लेखकहरू डोरिएर हिँडे भने न उनीहरूले आफूलाई स्थापित गर्न सक्षम हुने हो । आफूले कुन विधालाई अघि बढाउँदा धेरैभन्दा धेरै पाठकमाझ आफ्ना विचार र सिर्जनाहरू लिएर सधैं जान सकिन्छ भन्ने त हो नि मुख्य कुरा !
मेरा निम्ति लेखन जस्तै पठनमा पनि केही समस्या त अवश्य छन् । के मात्र पढ्ने भन्ने प्रश्न बहुतअहं प्रश्न हो ? मेरा लागि मैले कुन विधा पढेर समाज बुझ्न सक्छु अनि कुन विधा पढ्दा आफूलाई आनन्द प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । कलिलो उमेरमा अनेक विधाका पुस्तकहरू पढे पनि अहिले आएर समाजको निम्ति सशक्त विचार बोकेका पुस्तकहरू नै पहिलो रोजाईमा आउँछन् । लेखकहरूले कुन विधामार्फत् आफूले खोजेका ती तमाम अब्बल स्तरका पठन सामाग्री पस्किएका होलान् भनेर खोजी गर्नु मेरो सुख हो । सबैमा यो बानी लागू नहुन सक्छ, तर पनि पढ्दा फेरि उस्तै भावना सल्बलाउँछन् ।
पाठकको मन पठनमा नअडिनुमा एकैपटक बहुविधा पठनमा लाग्नाले नै हो भन्ने मेरो ठहर रहेको छ । मेरा मित्र भन्नुहुन्छ, ‘एउटा उपन्यास पढ्न थालेको कस्तो झ्याउ लाग्दो लाग्यो सुरूमै, बरू छोटामीठा कथा, कविता पढ्न पाए हुन्थ्यो ।’, खुरूखुरू पढ्ने भन्दा नि समस्याको चाङ तेर्स्याउनुहुन्छ उहाँ, र उहाँजस्ता अरू पाठकहरू । अनि कसरी पठन अघि बढ्छ त ?
अर्की दिदी भन्नुहुन्छ, ‘बाबु ! मैले त त्यो लेखकको यो यो पुस्तक पढेँ, तर उहाँका केही पुस्तकहरू बुझे पनि अरू पुस्तकहरू केही बुझिनँ ।’, यस्तो पठन स्थिति छ हाम्रासामु ।
लेखकको कुन विधामा आधारित पुस्तक पढ्ने भन्ने कुरा पाठकको बजारले निर्धारण गर्दै आइरहेको हुन्छ । एउटा प्रख्यात कविले लेखेको नयाँ आख्यान काव्यिक होला तर आख्यानका दृष्टिकोणबाट हेर्दा कमजोर लाग्न सक्छ । एउटा आख्यानकारले लेखेको कविता कविता नबनेर आख्यानमा सिमित भएको हुन सक्छ । अनि कसले पढ्लान र त्यस्ता रचनाहरू ?
कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ ।
ममा पनि त्यो पनि समस्या रहेछ । मैले जुनसुकै विधा पढ्न नहुने रहेछ। पाठकको रूपमा मैलै आफूलाई कुनै एउटा विधामा केन्द्रित राखेर अघि बढ्नुपर्ने रहेछ । आख्यान मन पराउने हो भने लघुकथा, लामा-छोटा कथाहरू अनि उपन्यासहरू पढ्नुपर्ने रहेछ । हाइकु, मुक्तक, गीत, गजलहरूलाई एउटा कोटीमा राखेर कवितालाई भने छुट्टै दर्जा दिएर पढ्दा उपयुक्त हुनेरहेछ । कवितामा मन बसेमा पाठकले समाजका अति सूक्ष्मरूप पनि मिहिन ढंगले केलाउन सक्ने हुन्छन् जुन दृष्टिकोण आख्यान पढ्ने पाठकमा विकसित नभएको हुन सक्छ । ममा पनि समाज र यसका अवयवहरूमाथि सूक्ष्म दृष्टिकोण राख्ने क्षमता विकास नभएको हुन सक्छ । यसर्थ म आख्यान पढ्दा जुन आनन्द प्राप्त गर्छु त्यो कविता पढ्दा गुमाउन सक्छु । छट्पटी बढ्छ कविता पढ्दा, के लेख्यो कविले ? यस्तो मानसिक स्थितिले पठन रुचीमै पूर्णविराम पो लगाउने हो कि भनेर म रन्थनिन्छु कहिलेकाहीँ।
लेखन र पठनकार्य बिशुद्ध रूपमा मन र मस्तिष्कका कसरत हुन् । मन र मस्तिष्कदेखि जुन विधामा रुची राख्छौँ, हामीहरूले त्यही विधामा कलम चलाउने गर्यौं भने हाम्रो लेखक मन पनि सन्तुष्ट हुने र हाम्रा पाठकहरू पनि खुसी हुने रहेछन् । त्यसैगरी हामीले आफूलाई सहज लाग्ने र आफूले खोजेको खुसी र आनन्द पाइने विधामात्र पढ्नुपर्ने रहेछ । यसो गर्दा पाठकले कहिल्यै धैर्यता नगुमाउने रहेछौं ।
लेखक र पाठकको मन सदैव प्रसन्न अवस्थामा रहनु महत्वपूर्ण अवस्था हो। यस्तो अवस्थालाई हामी सबैले सधैँका निम्ति अनुकूल बनाइराख्नु पर्दछ । यसरी समयले एउटा रफ्तारमा हिँडाउने छ र भोलि लेखक-पाठक सबैले आ-आफ्नो गन्तव्य अवश्य भेट्नेछन् भनेर आशावादी हुनुपर्ने आजको आवश्यकता हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।