पूर्वकथन –

अहिले विश्वमा चलेको घोर हतियारको होडबाजी, हिंसात्मक गतिविधि, चरम नैराश्य, धार्मिक आस्था केन्द्रप्रति विमुखता र उदासीनता, नैतिकताको ह्रास आदि समस्याहरूबिच मानिसको अस्तित्व खतरामा पाइन्छ। अर्कापट्टि पर्यावरण प्रदूषणको बढ्दो चाप र त्यसका दुष्परिणाम देखिन थालेको छ। अहिलेको समयमा अतिवृष्टि, अल्पवृष्टि, अतिउष्ण, अतिशीत आदि देखा पर्न थालेका छन्। विश्वमा कतै खडेरी परेको पाइन्छ त कतै बाढ आएर अशान्ति छाएको छ। चारैतिर हाहाकारको स्थिति छ। पुराण मूलतः दुई प्रकारले आयोजना गरिन्छ- पारिवारिक तवरमा र सार्वजनिक तवरमा। जसरी लाए पनि पुराण समाज, नैतिक, चारित्रिक, आध्यात्मिक, धार्मिक आदिका उत्थानका लागि अति उपयोगी र सार्थक हुन्छ।

यो एक प्रकारले नैतिक र धार्मिक कानुनलाई जनसमक्ष ल्याउनु हो। मान्छेभित्रको नैतिक उत्थानलाई उजिल्याउनु, मानवता, भ्रातृत्व, विश्व शान्तिको सन्देश दिनु हो। प्रत्येक मानिसमा जुन नैतिक र ईश्वरीय चेतना हुन्छ, त्यसलाई जगाउनु र ज्ञान दिलाउने एउटा माध्यम हो पुराण। सरकारी कानुनले भन्दा बढी यो धार्मिक कानुनले मानिसलाई नैतिकता र अनुशासनमा बाँधेको हुन्छ। हाम्रो मनोविज्ञानसित पनि पुराणको सम्बन्ध छ। हाम्रो सनातनता हाम्रो मन मस्तिष्कमा गहिरो गरी बसेको छ औ पुराण सुन्दा यसले तुष्टि पाउँदछ। संसारमा आएर हामीलाई असल काम गर्ने अभिलाषा रहेको हुन्छ। पुराण आयोजना गरेर हामी हाम्रो जीवनको महत्त्व, कर्तव्य र संस्कार बुझ्छौँ। यस्ता पावन कार्यको प्रभावको कारण हामी कुकर्म गर्न सक्दैनौँ बरु परोपकार र मानवता धर्म पालन गर्ने अठोट लिन्छौँ।

श्री १८ महापुराणको महत्त्व –

प्राचीन कालदेखि अनुप्राणित हुँदै आएका दिव्य कथालाई पुराण भनिन्छ। पुरातनस्य कल्पस्य पुराणानि विदुर्बुधा (मत्स्यपुराण ५३/६३) अर्थात् पुरातन कालका घटनाहरूले पण्डितजन पुराण भन्छन्। वायुपुराणमा पनि पुराणको परिभाषा यसरी दिएको छ-

यस्मात्पुरा ह्यनितीदं पुराणं तेन हि स्मृतम्।

निरूक्त मत्स्य यो वेद सर्वपापैः प्रमुच्यते ।। (वायुपुराण १/२०३)

विद्वान्‌हरूले उपपुराणका पाँच लक्षण वृत्ति, रक्षा, मुक्ति, हेतु, अपाश्रय (ब्रह्म) मानेका छन् भने महापुराणका दशवटा लक्षणहरू- सर्ग, विसर्ग, वृत्ति, रक्षा, मन्वन्तर, वंश, वंशानुचरित, संस्था, हेतु र अपाश्रय मानेका छन्। पुराणहरू १८ वटा र १८ वटै उपपुराणहरू पाइन्छन्। पुराणहरू हुन्- ब्रह्म, पद्म, विष्णु, वायु, भागवत्, नारद, मार्कण्डेय, अग्नि, भविष्य, ब्रह्मवैवर्त, वराह, लिङ्ग, स्कन्द, वायु, कूर्म, मत्स्य, गरूड तथा ब्रह्माण्ड। उपपुराण कुन कुन हुन् भन्नेबारे विद्वान्‌हरूमा मतैक्य छैन। बहु प्रचलित उपपुराणहरू हुन्- सनत्कुमार, नरसिंह, नन्द, शिवधर्म, दुर्वासा, नारदीय, कपिल, वामन, उशनस, मानव, वरुण, कलि, महेश्वर, साम्ब, सौर, परासर, मारीच तथा भार्गव। शुरुका अक्षर ‘म’ भएका २, ‘भ’ भएका २, ‘ब्र’ भएका ३, ‘व’ भएका ४, ‘ना’ भएको १, ‘लि’ भएको १, ‘प’ भएको १, ‘अ’ भएको १, ‘कू’ भएको १. ‘स्क’ भएको १, ‘ग’ भएको १ गरी जम्मा १८ महापुराण हुन्छन्। यसलाई सजिलो गरी देवीभागवतमा यसरी सूत्रबद्ध गरिएको छः

मद्वयं भद्वयं चैव ब्रत्रयं वचतुष्टम्।

नालिंपाग्नि पुराणादि कूस्कं गारूडमेव च।। (देवीभागवत् १/३)

मानव जीवन र सृष्टिका यावत् घटनाक्रमलाई पुराणहरूमा लोकोपकारी आख्यानमा ढालेर व्यक्त गरिएको छ। यसैले पुराणमा भूगोल, इतिहास, लोकधर्म, सृष्टिचक्र, पापधर्म-विवेचना, मुक्ति, जरामरणका हर्षामर्षको चित्रणका शिक्षाहरू पाइन्छन्। यीबाहेक दान, व्रत, साहित्य, व्याकरण, छन्दशास्त्र, सङ्गीत, भक्ति, योग, ईश्वरातार, शिल्पशास्त्र आदि पनि पाइन्छन्। जीवन जगत्‌का बारे समग्र चिन्तनलाई समाहित गर्नुपर्ने हुँदा ठाउँठाउँमा अविश्वसनीय प्रसङ्गहरू पनि नपाइने होइनन् तर तिनले पनि केही न केही मानवोपयोगी ज्ञान दिएकै हुन्छ। यसकारण पुराणको श्रवण अविचलित र स्थिर चित्तद्वारा मात्रै समीचीन श्रवण हुन सक्दछ। पुराणको रचना कालबारे विवाद छ। कतिसम्म निर्विवाद भन्न सकिन्छ भने पुराण ईश्वीपूर्व पाँच हजार वर्षदेखि ईश्वी चौथो, पाँचौँ- छैटौँ शताब्दीसम्म क्रमिक संशोधन परिमार्जन गरिँदै लेखिएको हो।

विल्सन नाम युरोपेली विद्वान्‌ले विष्णु पुराणलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि उन्नाइसौँ शताब्दीको अन्त्यदेखि पुराणहरूको व्यापक अध्ययन हुन थालेको हो। पारटिजर नाम विद्वान्‌ पुराणहरूकाे साङ्गोपाङ्गो अध्ययन गरे। स्मिथले पनि त्यस क्रमलाई अघि बढाए। आन्ध्रा जातिको वर्णन मत्स्यपुराणमा, मौर्यहरूको वर्णन विष्णुपुराणमा अनि गुप्तवंशको वर्णन वायुपुराणमा पाइन्छ। अध्येताहरूले प्राचीन भूगोल, राजपरम्परा, संस्कृति आदिको खोज पुराणहरूकै आधारमा गर्न थालेका हुन्। पुराणको अध्ययनमा रेप्सन, स्मिथ, जायसवाल, भण्डारकर, रायचौधुरी, रङ्गाचार्य, आल्तेकर, जयचन्द्र आदि विद्वान्‌हरूले विशेष रुचि राखेर पुराणहरूमा वर्णित अर्थशास्त्र, समाजशास्त्र, शासन प्रणाली, धर्मतत्त्व, न्यायप्रणाली, ललितकला, शिल्पकला, साहित्यशास्त्र, छन्दशास्त्र आदिबारे विवेचना गरेका छन्।

छान्दोग्य उपनिषद्‌मा पुराणलाई पञ्चमवेद भनिएको छ। महभारत रचनाकालमा पनि केही पुराण थिए। त्यसैले महाभारत आदिपर्वमा (१.२३३) पुराणका अनेक राजाहरूको नाम पाइन्छ। मनुस्मृतिमा पनि पुराणको चर्चा पाइन्छ। पुराणका आदि रचनाकार वेदव्यास नै थिए भनिन्छ र एउटै ब्रह्मपुराण थियो अनि त्यसैमा अङ्ग उपाङ्ग थप्दै लगी अनेकौँ परवर्ती पुराणहरू लेखिए भनी एक थरी विद्वान् भन्दै छन्। व्यासका शिष्य लोमहर्षण, लोमहर्षणका छ जना शिष्यहरू सुमति, अग्निवर्षा, मित्रयु, शाशपायन, अकृतवण र सावर्गीले पुराणका संहिता उपसंहिताहरू थप्दै गए भन्ने विश्वास प्रचलित छ।

पुराणका निश्चित रचयिताबारे केही भन्न सकिन्न। पुराणमा थप्ने घटाउने क्रम अद्यपि जारी छ यद्यपि यसको मूल भाव र मर्ममा कुनै थपघट पाइँदैन। पुराणहरू न त पूर्णतः एतिहासिक तथ्यसङ्गत छन्, न त पूर्णतः कपोलकल्पित। आधुनिक तर्कबुद्धिले मात्र पुराणको मर्म भेट्न सक्दैन। पुराणहरू भित्र डुबुल्की लाएर तिनमा भएको शिक्षा, तत्त्वचिन्तन, इतिहास र भूगोलका मोती टिप्न सक्नुपर्छ, त्यही नै पुराणश्रवणको महत्त्व हो। पुराण धर्मग्रन्थ मात्र होइन, ज्ञान र इतिहासको कलात्मक दिग्दर्शन पनि हो। रामायण, महाभारत र पुराणहरूलाई खालि पौराणिक ग्रन्थ मान्नु त्रुटिपूर्ण हुन्छ किनभने तिनमा इतिहास, भूगोल, जीवनदर्शनका तथ्यसङ्गत प्रसङ्ग पाइन्छन्। कल्पनाको लेपन भने तिनमा हुन्छ वा छ नै।

पुराण विज्ञान होइन तर विज्ञानको प्रेरणाभूमि चाहिँ हो। पुराणमा पाइने सृष्टि-उत्पत्ति रहस्य, प्राणवन्त वनस्पति जगत्, समुद्रमा आएका उत्ताल आँधी, गणेशको अर्धमानवयुक्त गजशीर, देवताहरूको आकाश उडान आदिबाटै पनि मानिसले बिग-ब्याङ रहस्य, जगदीशचन्द्रको वनस्पति संवेदन सिद्धान्त, अङ्ग प्रत्यारोपन, विमान जेटको परिकल्पना, गरेका होइनन् भन्न सकिन्न। सचेत रूपमा नभए पनि प्राचीन पुरा कथाहरू मानवको अवचेतनमा रहेका हुन्छन् जसले मानिसको कल्पनाशीलता र सृजनशीलतालाई सतत: प्रभावित प्रेरित गर्दछ। यसैले हामी पुराणका सन्तान हौँ। हामी छौँ किनभने हाम्रोअघि कोही थियो, उनीहरूका अघि पनि कोही थियो-उनीहरूको चेतना परम्परा थियो।

महापुराण आयोजना गर्दाका ख्याल गर्नुपर्ने केही कुराहरू

आजको युग सूचना, प्रविधि र इन्टरनेटको युग हो। हत्केलामा आँट्ने मोबाइलमा विश्वकोश अँटाउन सक्छ।अठारै पुराण अँटाउन सक्छ। शास्त्र ज्ञान अहिले सजिलै उपलब्ध छ। प्रविधि र विद्युत्-संचार माध्यमले केही दशक अगिसम्म अप्राप्य ठानिएको ज्ञान अहिले हात हातमा ल्याइदिएको छ। पुराणहरू लेखिएको समय र अहिलेको समयमा आकाश पाताल अन्तर छ। उहिलेको वर्णव्यवस्था अहिले छैन। वर्णव्यवस्था मध्य युगको अथवा ईश्वीपूर्वका समयमा युग सुहाउँदो समाज व्यवस्था थियो, अहिले छैन। यसैकारण पुराणमा आएका उस बेलाका प्रसङ्गलाई अहिलेको देश-काल परिस्थितिअनुरूप ढालेर बुझ्नुपर्ने हुन्छ। बुझाउनेले बुझाउनु पर्ने हुन्छ। शब्दहरूका अर्थ समयको गति सँगसँगै खुम्चिने, फैलिने र बदलिने हुन्छ।

पुराणको कथावाचक हुनु लरतरो काम होइन। उसले यस्ता अर्थसङ्कुचन, अर्थविस्तार र अर्थान्तरणलाई बुझेर मिलाएर, युगसापेक्ष बनाएर भन्न सक्नुपर्छ। उदाहरणार्थ, उहिले प्रवीणको अर्थ वीणा बजाउन जान्ने बुझिन्थ्यो। अहिले जे पनि राम्रो जान्नेलाई प्रवीण भनिन्छ। उहिले सुशिक्षित, सभ्य बुझाउन आर्य भनिन्थ्यो अचेल एउटा निश्चित जातिलाई मात्रै आर्य भनिन्छ। उहिले ब्रह्मज्ञान वा ब्रह्मविद्या जान्नेलाई मात्र ब्राह्मण भनिन्थ्यो। अहिले ब्राह्मण जात विशेषलाई मात्र बुझिन्छ। ब्राह्मण शब्दबाटै बाहुन शब्द बनिएको हो। धर्मग्रन्थमा ब्राह्मण शब्द भएका ठाउँमा गुरु, पुरोहित, आचार्य, मार्गदर्शक आदि शब्द लगाउँदा उचित हुन्छ। त्यसो नगर्दा ब्राह्मण जात विशेष नै बुझिन्छ जसले गर्दा समाजमा गलत सन्देश जान सक्छ किनभने अहिलेको समाज वर्णाश्रम समाज होइन।

मानिसहरू गुरुपुरोहित आचार्य विद्वान् पण्डितका मुखारविन्दबाट पुराणकथा सुन्न टाढा-टाढाबाट भक्तिपूर्वक आएका हुन्छन्। उनीहरू शुद्ध प्राञ्जल नेपाली भाषामा कथावाचन श्रवण गर्न चाहन्छन्। पुराण परिसरमा प्रवेश गरेपछि नै मनमा धार्मिक, पवित्र भावना भरिन थाल्छ। त्यहाँ उच्छृङ्खलता सुहाउँदैन। व्यासमा बसेका पण्डितले पछि फर्केर खैनी चेपेको, शिरपोष झिकेर बाहिरतिर रगरग गरेको राम्रो देखिँदैन। यी सबै पारिस्थितिकीय झिनामसिना कुराहरूबारे विज्ञजनले आचार्यजनले सतर्क हुँदा सुनमा सुगन्ध हुन्छ।

वेद र पुराणमा अनेकौँ ज्ञानका मणिमाणिक्य र गाडधन छन्। तिनलाई झिकेर, टकटक्याएर पवित्र, श्रुतिमधुर बनाएर भक्त-श्रोताजनअघि पस्कनु महत्त्वपूर्ण कुरा हो। यस्तो दायित्वलाई बहन गरेर बसेका गुरु-आचार्यबाट अलिकति पनि स्तरहीन वा बेटुङ्गो कुरा खुस्किए श्रोताका दाँतमा ढुङ्गा लाग्छ। कतिपय आचार्य प्रमोदी स्वभावका हुन्छन्। त्यो नराम्रो होइन। प्रमोदी हुनु कहिलेकाहीँ अहितकारक पनि हुन्छ। ठिक ढङ्गमा हास्यरस उत्पन्न गर्न सके त्यही मिठो, श्रुतिमधुर हुन्छ। कथावाचकले श्लील, स्वच्छ नेपाली भाषाको प्रयोगलाई लत्त्याउनु अरुचिकर, अश्रेयष्कर हुन्छ। नचाहिँदो गरी टुक्राटुक्री अङ्ग्रेजी शब्द नलगाएको उचित हो। यसले गर्दा आध्यात्मिक वातावरणको गरिमा कायम रहन्छ।

पुराण कथावाचक आफूलाई युगसचेत राख्न स्वामी विवेकानन्द, अरविन्द, ओशो, सद्गुरू, अभेदानन्द, श्री श्री रविशङ्कर, राम महर्षि, साई बाबा देवदत्त पटनायक, क्षितिचन्द्र चक्रवर्ती र अन्य अनेकौँ महापुरूषको ग्रन्थ पढे त्यसको सुप्रभाव आफ्नो वाचन क्षमतामा पर्दछ। उहिले प्रशस्त स्थान उपलब्ध हुँदा वास्तुसम्मत घर दैला, झ्याल बनाउन सम्भव हुन्थ्यो। अहिले शहरभित्र मुस्किलले तीन शय वर्गफुटको जमीन पाइयो भने आफुलाई धन्य मान्नुपर्छ। वास्तुपूजन वा वास्तुनियमका अनेकौँ विकल्प छन्। बुझाउँदा परिस्थितिअनुरूप वास्तु समायोजन गर्नुपर्छ। यस्ता सामान्य कुरामा कथावाचकले चित्तबुझ्दो व्याख्या गरिदिए असल हुन्छ।

यो युग लोकतन्त्रत्मक, गणतन्त्रत्मक युग हो। अहिले नारी पुरुष बराबर छन्। संविधानले बराबर हक दिएको छ। भारतीय समाज पुरुषप्रधान समाज थियो हाम्रो धेरजस्तो वेदका ऋचा पुरुषले लेखेका छन्। प्राचीन नारीहरू वेदज्ञ थिएनन् भन्ने चाहिँ होइन तर पुरुषतन्त्र भारतीय समाजको आधार थियो। अहिले नारीहरू सेना, पुलिस, उच्चाधिकारी, विधायक, मन्त्री, प्रधानमन्त्री समेत बनिसके। उहिलेका कतिपय धर्मग्रन्थहरूमा नारीलाई उचित सम्मान नदिएका प्रसङ्ग पनि छन्। यसकारण उहिले भनिने गरेको परस्त्रीसंसर्ग, परपुरुष-संसर्गलाई अवैध यौन सम्बन्ध भनेर सच्याउनुपर्ने भएको छ। परपुरुषसंसर्ग पनि आपसी सहमतिअनुकूल भएमा कानुनसम्मत मानिन्छ। यसकारण अवैध भन्नु युक्तिसङ्गत हुन्छ। यसरी आफैं युगानुकूल हुनुपर्छ। नारीहरूले नै हुन् शृङ्गार-पटार गर्ने। यसबाट उनीहरूको सौन्दर्य वृद्धि हुन्छ। यसकारण गाजल, पाउडर, लिपस्टिक लाउने भनेर नारीमाथि हेयभाव प्रकट नगर्नु नै उत्तम हुन्छ।

हाम्रा प्राचीन ग्रन्थहरू सबै उच्च कोटिका छन् तर अचेल ती ग्रन्थहरूमा रहेका प्रतीकलाई खुट्याएर बुझ्नु कठिन पर्न थालेको छ। कैलाश पर्वतमा बस्नेलाई कैलाशपति भनिन्छ। पर्वतमा बस्ने नारीलाई पार्वती भनिन्छ। मानसरोवर छेउछाउमा नै पृथ्वीका आदिमानव थिए भनी नृतत्वविद्हरू भन्दै छन्। मानसरोवरमा कमल फूलमा विष्णु विराजमान भएको सन्दर्भ यसरी पनि हेर्न सकिन्छ। आधुनिक भौतिक शास्त्रले सृष्टिको मूलसार शक्ति वा एनर्जीलाई मान्दै छन्। प्राचीन धर्मशास्त्रले भनेको आदिशक्ति स्वरूपा दुर्गा भनेको यही नै हुनुपर्छ। एवम रीतले पुराना प्रतीकहरूको समसामयिक अर्थव्याख्या गर्न सके प्राचीन ध्वनि विज्ञान नितनवीन र नितसान्दर्भिक रहनेछ।

यस्तो सार्वजनिक महापुराण सम्पन्न गर्दा समाजका मानिसहरूले उदात्त, धर्मपरायण र निस्वार्थ भावले श्रमदान, अर्थदान र वस्तुदान गरी तीन किसिमका दान दिएका हुन्छन्। आआफ्नो क्षमता, बुताले भ्याएअनुसार कसैले धेरै त कसैले थोरै दान दिएका हुन्छन्। यस महापुराणमा श्रमदान त अद्वितीय, अद्भुत र प्रशंसायोग्य थियो नै, धनदान दिन पनि मानिसहरू निकै रुचि देखाएकै हुन्। घरघरमा गएर राशि सङ्कलन नगरेर त्यस महापुराणमा आउने भक्तहरूले स्वेच्छाले यथाशक्ति अर्थदान दिएका हुन्। यो नीति सफल र स्तुत्य हुन्छ। महापुराणमा चाहिने वस्तुदान दिने पनि निकै देखिए। राशि दिनेको रकमको नामावली भने माइकमा प्रस्तुत नगरेकै राम्रो भयो। यद्यपि कसले कति के दिए भनेर वस्तुदान दिएको नामावली माइकमा सार्वजनिक रूपमा घोषणा गरियो, यो नगर्दा हुन्थ्यो भन्ने पर्यवेक्षकीय ठहर छ। किनभने २० बोरा चामल दिने दाताचाहिँ गजक्क पर्ने र एक किलो चिनी दिने दाता भने खिन्नता वा हीनताबोध गर्ने सम्भावना बढी हुन्छ। यस्तोमा मानिसले आफ्नो नाम भरसक गोप्य राखेर नै दान दिने मनसाय राखेका हुन्छन्।

महापुराणभित्र साहित्यिकता हुन्छ ?  

महापुराणलाई साहित्यभित्र राखेर हेर्नु भने कुनै औचित्य छैन। यी दुवै बेग्ला बेग्लै विषय हुन्। महापुराणदि निर्देशनात्मक हुन्छ भने साहित्य अनिर्देशनात्मक हुन्छ। महपुराणमा गुरुसम्मित शैलीमा अर्ती उपदेश दिएको पाइन्छ भने साहित्यमा कान्तासम्मित शैलीमा अर्ती उपदेश दिएको हुन्छ। पुराणमा बाध्यकारी हुन्छ साहित्य भने त्यस्तो हुँदैन। पुराणमा यस्तो गर्नु उस्तो नगर्नु भनेर डर देखाइन्छ तर साहित्य त्यही कुरालाई लोभका रूपमा देखाइन्छ। पुराणमा उपदेश प्रत्यक्ष हुन्छ साहित्यमा परोक्ष हुन्छ। साहित्य वैकल्पिक हुन्छ, बढी काल्पनिक हुन्छ। रागात्मक अनुभूति र आत्माभिव्यञ्जनाको अभिव्यक्ति नै यसको अभीष्ट हुन्छ।

यद्यपि महापुराण र साहित्यमा केही सामान्जस्य पाइन्छ। यी दुई विपरीत कुरा होइनन्, बरु एकर्काका पूरक हुन्। यी दुईमा केही अन्योन्याश्रित सम्बन्ध छ। महापुराणमा डुबेर सुन्ने बुझ्नेका लागि भने त्यसभित्र पनि साहित्यिक रस पाउन सकिन्छ। साहित्यमा पाइने, आनन्दानुभूति, रागात्मकता, कल्पना, आख्यान आदिबाट साहित्यिक रस पाउन सकिन्छ। अझ साहित्यिक रसले युक्त कथा व्याख्याताले भने पुराणलाई पनि साहित्यिक वस्तुसरह व्याख्या गर्न सक्छ।

पुराणभित्रका राम कृष्ण, शिव, पार्वती, दक्ष प्रजापति, सुकदेव, प्रह्लाद आदिका कथा नै साहित्यिक रूपमा पूर्वीय काव्य सिर्जनाका उपजीव्य र प्रकीर्ण काव्यका रूपमा प्रस्तुत गरिन्छन्। रामायण, महाभारत, श्रीकृष्ण जन्मकथा, उनका जीवनलीला आदि नै साहित्यिक सामाग्रीका स्रोत बनेका छन्। कृष्णलीला र रामायण, शिव पार्वती, गणेश, दक्ष प्रजापति आदिका हजारौँ कथालाई प्रकीर्ण काव्यका रूपमा पनि प्रस्तुत छन्। यसकारण महापुराणका वस्तुलाई नै साहित्यिक आधारस्रोत र कच्चा पदार्थ बनाइएका छन्। महापुराणहरूलाई एउटा आख्यान कृतिका रूपमा अध्ययन गरे त्यसमा साहित्यिक रसास्वादन गर्न सकिन्छ।

नेपाली साहित्यकै प्रसङ्गमा कुरा गर्नु हो भने पनि यसको प्राथमिक कालीन र माध्यमिक कालीन साहित्यको मूल स्रोत नै पुराणादि थियो। प्राथमिक र माध्यमिक कालभरिकै प्रायः जसो पद्याख्यान र गद्याख्यानमा रामकथा, कृष्णलीला, प्रह्लादभक्ति कथा आदिले प्रमुखता पाएको पाइन्छ। आधुनिक कालीन साहित्यका कृतिमा पनि यस्ता पुराण स्रोतलाई आधार बनाएको देखिन्छ।

महापुराण : नेपाली संस्कृतिको आधार-

महापुराण हिन्दु सनातनी संस्कृतिको मेरुदण्ड पनि हो। यसभित्र वर्णित नैतिकता, निष्ठा, कर्तव्याकर्तव्य, विवेकशीलता आदिका आधारबाट नै संस्कृति सिर्जना भएको पाइन्छ। नीर–क्षीर-विवेक परख गर्न, सामाजिक नैतिक पथानुशरण गर्न महापुराण आधार बनेका छन्। हाम्रो जीवनका हरेक चर्याभित्र हाम्रो आध्यात्मिक पृष्ठभूमिले भूमिका खेलेको हुन्छ। राम-सीताका आदर्श जीवन हाम्रो जीवनमा प्रभावशाली बनेर रहेको पाइन्छ। हाम्रो संस्कृतिका अनेक पक्षहरूका आधार भूमि विभिन्न महापुराण र तिनका कथा उपकथा हुन्।

अन्त्यमा

महापुराण आयोजना चाहे व्यक्तिगत रूपमा होस् वा सार्वजनिक रूपमा होस्, यसको धेरै महत्त्व छ। यसको आयोजना गर्नु नै हामीभित्रको धार्मिक, आध्यात्मिक, नैतिक, सामाजिक चेतनाको विकास गर्नु हो। हाम्रो चेतनामा नै वंशाणुगत रूपमा सुषुप्त अवस्थामा रहेका आध्यात्मिक, नैतिक चेतनालाई जगाएर त्यसलाई विकास गर्नलाई यस्ता खालका धार्मिक गतिविधि हुन आवश्यकता हुन्छ। हाम्रोमा अठार पुराण छन्। यी अठार पुराणमध्ये श्रीमद्भागवत पुराण सबैभन्दा बढी आयोजना गरिन्छ भने श्रीदेवीभागवत्, ब्रह्मपुराण, शिवपुराण आदि पनि आयोजना गरिन्छ।

यसरी आयोजना गरेर हामी हाम्रो आध्यात्मिक चिन्तनलाई विकास गर्न सक्छौँ। पुराणको आयोजनाले सार्वजनिक रूपमा सबैका निम्ति उपयोगी सिद्ध हुन्छ। महापुराण साहित्य, संस्कृति र धर्मको आधार स्रोत हो, जीवन शैलीको मूल आधार हो, कल्पना रागात्मकताको उत्सभूमि हो। पूर्वीय हिन्दु सनातनी जीवनको आधारस्रोत हो।

(प्रस्तुत आलेख तयार गर्दा कल्याणका केही अङ्कको आधार लिइएको छ।)