पप्लुले प्रमोसन पाएर म्यारिज बनिसकेको पनि थुप्रै वर्ष भइसकेको रहेछ। यो कुरो तासको गड्डीमा ५२ पत्ती हुन्छ भन्ने समेत पत्तो नहुने म जस्तालाई के थाहा हुनु। धन्यवाद त श्रीमतीलाई पो दिनु पर्छ मैले, त्यस्तो महान् प्रमोसनको जानकारी उनैले गराएकी हुन् मलाई। अनि उनैले भनेर थाहा पाएको, किट्टी र साइटिङ् जस्ता खेलहरू इतिहास बनिसकेछन्।

यो थाहा नपाउनु र नजान्नु पनि अभिसाप बन्छ कहिलेकहीँ। अहिलेको जमानामा एउटा जाबो जुटपत्ती पनि खेल्न नजान्ने भनेर खप्की खानु पर्छ मैले दिनहुँ। तासको गड्डीको हिसाब किताबमा जिरो भएकैले गर्दा म पुरानो मानसिकताको, पिछडिएको, अन्धविश्वास, रमाइलो गर्न नजान्ने अनि के के हो नामको उपाधिले सजिएको छु।

साथीभाइको ग्यादरिङमा म्यारिजको चस्का चल्नु स्वाभाविक भैसकेको सर्वविदितै छ। पप्लुले कति सङ्घर्षपश्चात् हासिल गरेको प्रमोसनको रमाइलो मनाउने क्रममा हरेक दिन कहिले कसको घरमा त कहिले कसको घरमा ग्यादरिङ हुने गरेको पनि अब नौलो कुरा रहेन। तर जति ग्यादरिङ भए पनि जति रमाइलो मनाइए पनि आफूलाई चाहिँ “कालो अक्षर भैंसी बराबर” नै रह्यो।

त्यसैले मेरो घरमा म्यारिज ग्यादरिङ अहिलेसम्म हुन सकेन अनि रोक्न सकिएन त्यस्ता ग्यादरिङतिर जानबाट मेरी श्रीमतीलाई। उनको करकापमा दुई चार चोटि म पनि सामेल नभएको भने होइन म्यारिजको खेलमा तर मात्र एक दर्शक हेतु। तेरो यति प्वाइन्ट र मेरो यति प्वाइन्ट, उसको माल अनि त्यसको मालको हानथापमा पुरै खेल सकिसकेछ। आफूले छेउ पनि बुझिएन, टुप्पो बुझ्ने त परै जावाेस।

उनीले सिकाउन प्रयास गरेकी थिइन् “सिक्वेन्स बनाउनु पर्छ, फ्ल्याट बनाउनु पर्छ” भन्दै तर मलाई के सिक्वेन्स अनि के फ्ल्याट।  मेरो यो बुझाइको कमजोरी उनीलाई मेरो नालायकी लागिदिन्छ अक्सर अनि सबैको अगाडि सहनु पर्छ मैले, “मान्छेले उहाँ म्यारिज खेलेर घर बनाइसके, हजुर चाहिँ अहिलेसम्म जुटपत्तीमा नै अल्झिरहनु।” पाण्डव र कौरवको जुवामा पाण्डवले सम्पत्ति गुमाएको त थाहा थियो मलाई तर म्यारिज खेलेर घरै बनाएको चाहिँ थाहा थिएन।

धन्यवादको पात्र बनेकी थिइन उनी पुनः एक पटक अर्को जानकारी दिए बापत। घर नै बनाउन सकिने यो गज्जबको खेल त सिक्नु पर्यो कि क्या हो भन्ने ख्याल नआएको होइन मनमा त्यतिखेर। तर के गर्नु ‘माल र सिक्वेन्स’ बुझ्न यो जुटपत्ती पनि नबुझ्ने दिमागले सकेन। हावा भरिएको दिमागको उपमा आइलागेको थियो त्यस पश्चात्।

मलाई म्यारिज सिक्न हौसला दिने हेतु, यस खेलका फाइदाहरूका बारेमा विश्लेषण भएका थिए त्यति बेला सबै जना बाट। हिसाब किताबमा दक्ष भइने, भावी चालहरूका बारेमा योजना बनाउन सकिने, मान्छेको साइकोलोजी बुझ्न मद्दत मिल्ने, अरूको खेलबाट सम्पूर्ण खेलकै अनुमान गर्न सकिने अनि सबैभन्दा ठुलो कुरा पैसो आर्जन हुने। ठुलो प्वाइन्ट र ठुलो मालको करामतले घरै ठड्याउन सक्ने भाग्य पनि आइलाग्ने रहेछ यो म्यारिजको वरदान लागेमा।

यो सुनेपछि मलाई म्यारिज, पप्लुको प्रमोसन रूप मात्र नभएर साक्षात् लक्ष्मी नै हुन् जस्तो लागेको छ। हार्नेहरूको छुट्टै अनुभव, छुट्टै विश्लेषण होला। लहैलहैमा म्यारिज ग्यदरिङमा आफ्नो सम्पत्ति स्वाहा पार्नेहरूको पिडा र घरको रडाको कसले सुन्ने अनि कसले देख्ने, यसको कथा पनि छुट्टै होला। बलेको आगो ताप्ने समाजमा हरुवाहरूको के महत्त्व हुन्छ र। शायद त्यसैले होला म पनि जित्ने र महल खडा गर्नेहरूकै मात्र जोड घटाउ गर्न व्यस्त छु।

अब केही क्षण यस खेलका अन्य पहलुहरूमा छलफल गरौँ।

यस खेलमा माहिर बुद्धिजीवीहरू सिक्वेन्स र मालहरूको तालमेल भएको खण्डमा समाजवाद भित्रिने र देशले काँचुली फेर्ने कुरा गर्छन्। म चाही उनीहरूको कुरा एक रत्ती बुझ्दिन। समाजवादलाई कहाँ जुवासँग गाँसेको भनेर हकार्छु तर उनीहरू हाम्रो जस्तो विकासोन्मुख देशमा रोजगारीको ठुलो भाग ओगटेको एउटा नितान्त सामाजिक क्रियाकलापलाई जुवाको नाम दिन नहुने तर्क गर्छन्। अझ थप्छन् उनीहरू, म्यारिजले दल, वर्ग, रङ, जात केही भन्दैन।

यो अहिलेको युवाको माग पनि हो र देश विकाशको लागि एउटा महत्त्वपूर्ण आवश्यकता। म्यारिजको चर्चा कहाँ छैन। स्कुले केटाकेटीदेखि कलेजका जवान, घरकी गृहिणी, हजुरबुवा र हजुरआमा, सरकारी कर्मचारी अनि खोरमा थुनिएकाहरू सबै म्यारिजमा रमाउँछन्, प्वाइन्टको जोड घटाउमा व्यस्त रहन्छन्, माल आयो भन्दै उफ्रिन्छन्, समयको सदुपयोग गर्छन्, बेरोजगारीको अन्त्य गर्छन् र मौका मिले लक्ष्मी भित्र्याउँछन्।  यिनीहरूलाई तिहार कुर्नै पर्दैन लक्ष्मी भित्र्याउन। कोरम पुगेमा ३६५ दिन नै सिक्वेन्स मिलाउन तत्पर म्यारिजका सौखिनहरूको जति वर्णन गरे पनि कम नै हुन्छ।

पप्लुको प्रमोसन पश्चात् म्यारिजले चलाएको चक्करले कल ब्रेक जस्तो पपुलर खेल पनि लुप्त हुने हो कि भन्ने भयले पिल्सिएकाहरु कहिलेकाहीँ स्वाद फेर्न कल ब्रेकले पनि स्थान पाउनु पर्ने विचार व्यक्त गर्छन्। म सहमति जताउन सक्दिन। कारण उही, अबुझपन। उता श्रीमती भने, म्यारिज बाहेक अरू सबै अल्छी लाग्दा खेलहरू भन्दै पन्छिन्छिन्। त्यसैले गर्दा होला म्यारिज ग्यादरिङ जस्तो कल ब्रेक ग्यादरिङ भएको सुनिँदैन। भएकै भए पनि अहिले सम्म मेरो जानकारीमा नआइपुग्नेले श्रीमतीको त्यस खेल प्रतिको वितृष्णा प्रस्ट्याउँछ।

यतिन्जेलसम्म त सबैलाई थाहा भई नै सक्यो होला, “म्यारिजले गाँजेको समुदायको ठुलो हिस्सा आजको खेल सकिँदा भोलिको सिक्वेन्स अनि मालको सपनामा रातभर कोल्टे फेर्दै बिताउँछ।” अनि कोरम पुर्याउन आउने खेलाडीहरू ‘कट फर सिट’ गर्दै आफ्नो भाग्य चम्किने कुरामा आश्वस्त हुन्छन्। म जस्ता अबुझ चाहिँ उही थोत्रो ट्याम्पु र बस चढ्दै जागिर धाउँदैमा व्यस्त रहन्छन्।