आफ्ना कमजोरीबाट असहमति भाव आउँछ र असहमतिले तनाव सिर्जना गर्छ । रोगले कमजोर अङ्गलाई सताएझैँ कमजोर बुद्धिले पनि दुर्बलतालाई बाहिर ल्याउँछ ।

 

मानिसले केलाई सबैभन्दा बढी महत्त्व दिन्छ ? किन महत्त्व दिन्छ ? कसरी आफ्नो इच्छा पूरा गर्छ ? यी विषय रहस्यका विषय त होइनन् तर व्यक्तिपिच्छे फरक उत्तर प्राप्त हुन्छन् । यी प्रश्नले पिरोलिरहेछ र म उत्तरको खोजीमा भौँतारिइरहेछु ।

प्राथमिकता र महत्त्व वैयक्तिक सोच हो । मानिसका प्राथमिकतामा स्वास्थ्य, धन, परिवार, शिक्षा, सेवा, प्रसिद्धि के पर्छन् ? शास्त्र र व्यवहारले दिने उत्तरमा नै समानता पाइँदैन । स्वास्थ्यबिनाको तन, विवेकबिनाको ज्ञान,  जाँगरबिनाको शरीर र इच्छाबिनाको जाँगरलाई शास्त्रले प्राथमिकतामा राख्दैन । भोलि आजको निरन्तरता हो । बेलुका बिहानको निरन्तरता हो । म जे गर्छु अरूले त्यही गर्छन्, ठग्दा ठगिन्छ, माग्दा मागिन्छ । व्यवहारको प्रतिरूप नै प्राप्ति हो । भाग्यले कर्म लेख्ने होइन, कर्मले भाग्य लेख्छ । पढेर मात्र बुझिन्न,  देखेर चेतिन्न,  परेर मात्र सिकिन्छ । म यस्तो व्यावहारिक सत्य देख्छु ।

मानिस तनावमा बाँचेको छ । मृत्युको त्रास तनावको कारण हो । कसैका कुरा वा कुनै विषयमा असहमतिले तनाव सिर्जना गर्छ तर सहमति खुसीको कारक बन्छ । तनाव र खुसी नदीका दुई किनारा हुन् । नकार तनाव हो, सकार खुसी । तनावले चिन्ता जन्माउँछ । चिताले एक पटक जलाउँछ तर  चिन्ताले बारबार जलाउँछ । असल व्यवहारले चाहिँ चिन्तालाई जलाउँछ । माया, सम्मान, सेवा, सद्व्यवहार चिन्ता जलाउने ऊर्जा हुन् । मानिसको गलत सोच र तनाव एक प्रकारको रोग हो । गुनासोरहित मन र स्वस्थ तन यसका औषधी हुन् ।

आहार, विहार, योग, ध्यान, प्राणायाम, सत्सङ र  समयको व्यवस्थापन बिरामी भगाउने सेवक हुन् । आहारको सन्तुलन र क्रियाशीलता दीर्घ जीवनको प्राण हो । मानिसले जन्म लिँदा स्वस्थ शरीर लिएर आउँछ र त्यसलाई बिरामी पारेर अन्त्य गर्न हामीलाई अधिकार छैन । रोग हाम्रो कमाइ हो,  नकमाउन पनि सकिन्छ । आफ्नो शक्ति कमजोर बन्न नदिने खुसीको खोजाइले रोगको कमाइ घट्छ । समृद्धि कमाउनुपर्छ तर रोगरूपी ऋण तिर्न सकिन्न । बुढ्यौली अपरिहार्य छ तर बिरामी हुनु हाम्रो कमजोरी सिवाय केही होइन । हाँसेर मरौँ, कुरा गर्दै मरौँ भन्ने सोच र व्यवहारभित्र खुसीको वीज लुकेको हुन्छ । रोगी मनले शरीरलाई रोगी बनाउँछ । स्वस्थ मन स्वस्थ जीवन हो ।

गहिरो, मिठो र प्यारो श्वास र हिम्मत तथा विश्वास सार्थक जीवनका दुई पाइला हुन् । डरले पछाडि धकेल्छ, हिम्मतले पाइला चाल्छ । ज्ञानलाई प्रयोग गर्ने आँटले व्यक्ति र समाजको स्वरूप परिवर्तन गर्छ । यसैबाट स्वस्थ भावनाको जन्म हुन्छ जसले वैमनस्यको सीमा नाघेर परसेवाको द्वार खोल्छ । परसेवाका लागि निस्वार्थ साथ र सहकार्य आवश्यक हुन्छ ।  धमिलो विचारमा सहकार्य हुँदैन । एकलकाँटे स्वभाव पनि भँगालामा मिसिँदैन । स्वस्थ भावनाले दया, करुणा, मिलनसारिता जन्माउँछ । नकारात्मक सम्बन्ध तनाव र बेखुसीको कारक हो ।

हामीमा अथाह स्मरण शक्ति छ । यसको प्रयोग नहुँदा पढाइ, लेखाइ र बुद्धि निष्क्रिय हुन्छ । स्मरण शक्तिको प्रयोग नगर्ने मस्तिष्क प्वाल परेको घैँटो हो । यसमा न त पानी भरिन्छ, न त मङ्गल कार्यमा सजिन्छ । दृढता, अठोट, सङ्कल्प जस्ता ऊर्जा यसैबाट चुहिएर सकिन्छन् । यसले हामीलाई पसिनामा सुस्ताउन, सुनेर आनन्द लिन, मिठो मानेर खान र गालीमा रमाउन दिँदैन ।  मानिसलाई तनावको पुञ्जमा परिणत गरेर बौद्धिक रच्छ्यानको परिचय दिन्छ ।

खुसी मनस्थिति सापेक्ष हुन्छ । खुसीको प्राप्ति असल परिस्थितिमा होइन असल मनस्थितिमा हुन्छ । खुसी मनले खुसी नै देख्छ, विरक्तिले नैराश्य देख्छ । मन नराम्रो भए भुवन नराम्रो हुन्छ । कविले कलम फेरुन्, मनकै कुरा लेख्छन् । मौसम र हावापानी जति बदलिउन् तातो वा चिसो नै हुन्छन् । मन मिले सुखको बीजारोपण हुन्छ, नमिले कलहको बाढी आउँछ । वैरभाव र घृणाले मन धमिलिन्छ । मानिसले मसँग छैन, म काम गर्न सक्दिनँ वा यो काम हुँदैन भन्ने भाव राख्न थाल्छ भने चिन्ता सुरु हुन्छ । यसको प्रतिच्छायालाई व्यवहारमा उतार्छ भने सम्पन्नताको सुरुआत भयो । मानिसलाई गरिब कुलमा जन्मने हक छ तर जन्मेर गरिब हुन अधिकार छैन । आफ्नो सर्वशील ऊर्जाको उपयोगबाट मानिस समृद्ध बन्न सक्छ । जीवन परिस्थिति र मनस्थितिको संयोग हो ।

आफ्ना कमजोरीबाट असहमति भाव आउँछ र असहमतिले तनाव सिर्जना गर्छ । रोगले कमजोर अङ्गलाई सताएझैँ कमजोर बुद्धिले पनि दुर्बलतालाई बाहिर ल्याउँछ । बुद्धिले परिवर्तन भएको मानिसले आफूलाई सधैँ अरूसमान देख्छ । पैसाले परिवर्तन भएको मानिसले आफूलाई सधैँ वरिष्ठ देख्छ । बुद्धि र पैसाका कार्य अलग अलग हुन्छन् ।  मानिसका अनुहार, स्वभाव र कर्म अद्वितीय हुन्छन् । अद्वितीय सोचले असल पथको खोजी गर्नु ऐश्वर्यको खोज हो । बन्न नसकेका काम र पूरा हुन नसकेको सोचलाई परधर्मले पूरा गर्छ । मानिसको धन बढ्यो तर बुद्धि बढेन भने परिवारमा अशान्ति आउँछ । हाम्रो जीवन आन्तरिक बलमा भर पर्छ । मनबाट स्मित मुस्कान निस्केमा खुसी प्राप्त हुन्छ । हाम्रो शिक्षा खुसीका लागि हुनुपर्छ सिर्जनशीलता र उत्पादनशीलता व्यवहार समृद्ध पार्ने उपाय हुन् ।  हाम्रो सिकाइ पनि शान्ति र समृद्धिका लागि हुनुपर्छ ।

म शान्ति चाहन्छु । शान्ति खुसीभित्र लुकको छ । मलाई अनन्त खुसीका लागि कठोर यातना स्वीकार्य छ ।