साधारणतया मानव समुदायबीच विचार विनिमय गर्ने साधन हो- भाषा । यसका साथै भाषा भावाभिव्यक्तिको साधन पनि हो । भाषालाई कहिल्यै कसैले पनि उपेक्षा गर्न सक्दैन । भाषाको अन्त्य हुनु, वास्तवमा मानिसको सार्वभौमिकता र उन्नतिको अवसान हुनु हो । राष्ट्रको पहिचान खतरामा पर्नु हो । नेपालको सन्दर्भमा भन्दा हाम्रो देश विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृति आदिको सह–अस्तित्वले युक्त देश हो । विविध सन्दर्भमा देखिएको यो एकता नेपालको विशिष्ट चिनारी नै हो । अनेकता भएर पनि एकता देखिएको नेपालीको साझा तत्व भाषा पनि हो । त्यो भाषा, हाम्रो नेपालको राष्ट्रभाषा नेपाली हो । अनेकताका विविध आयामहरूमा एकता भएजस्तै प्रत्येक नेपालीबीच भाषागत रूपमा पनि मेलमिलाप छ,  सद्भाव छ र सहृदयता छ । भाषाकै कारणले सारा नेपालीमा राष्ट्रियता मजबुत छ । यही भाषाको तागत बुझेरै कवि बालकृष्ण सम भन्छन्,

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति

जीव वैभव भाषामै बाँच्दछन् पछिसम्म यी ।

मूलतः नेपाल एकीकरणपछिको जातीय मिश्रणलाई नेपाली भाषाले नै साझा र माध्यम भाषा बनेर भूमिका खेल्यो । साहित्य रचनातर्फ पनि यही भाषामा कलमवीरहरू लागी परे । त्यसो त भाषाको विकसित र परिपुष्ट रूप हो साहित्य, यसमा निहित ज्ञान, विज्ञान तथा गुण, बौद्धिक विकास । त्यसैले भाषाको उन्नयनका लागि साहित्यलाई सबैले उच्च भन्छन् ।

जितेन्द्र बस्नेत

यी त भए भाषा र यसको महत्वका कुरा, अब नेपाली भाषा, राष्ट्रियता र भानुभक्तको सन्दर्भ चर्चा गरौँ । भानुभक्तले कलम चलाउन थालेको समयमा नेपाली भाषा सामान्य बोलचाल र कामचलाउ भाषा मात्र थियो । साहित्यको क्षेत्रमा यस भाषाको प्रयोग ज्यादै न्यून थियो ।  उच्चवर्गका व्यक्तिहरूले संस्कृत अध्ययन गर्ने परम्परा थियो । संस्कृत पढेपछि उनीहरू प्रायः आफ्नो विद्वता संस्कृतमै उत्कृष्ट ठान्थे र प्रस्तुत हुन्थे । नेपाली भाषालाई तुच्छ मानी अपहेलना गर्थे । त्यसैले गर्दा हाम्रो भाषामा गिरावट देखा पर्दै थियो । भानुभक्त पनि संस्कृत नै पढेका ब्राम्हण थिए । तर उनलाई आफ्नो भाषाप्रति मोह थियो । स्वजाति, स्वभाषा र सभ्यताप्रति प्रगाढ आस्था थियो । त्यसैले उनले नेपाली भाषामा कवितात्मक चैतन्यलाई समाहित गरेर संस्कृत साहित्यकै उत्कृष्ट ग्रन्थ रामायणलाई सरल र सहज रूपमा जनमानसले आत्मसाथ गर्नसक्ने गरी प्रस्तुत गरे । पठित पण्डितहरूको कटाक्ष सहेरै भए पनि रामायणको नेपाली रूप अन्ततः सामान्य साक्षरदेखि विद्वान्सम्मका सबैको हृदयमा स्थान पायो, भानुभक्त स्वतः जनकवि भए ।

आफ्नो भाषाको दाँजोमा काव्यकलाको लागि अरू भाषा प्रभावकारी हुन नसक्ने दुरदर्शन दृष्टिकोणले रामायण सिर्जना गर्नु राष्ट्र र राष्ट्रभाषाप्रतिको उनको प्रेमको पराकाष्ठ नै थियो । वास्तवमा सुगौली सन्धिले विराम लागेको नेपाल एकीकरण अभियान र वीर भावनामा आएको आँचपश्चात भक्ति धाराका काव्यिक साहानुभूतिहरू मलम बनेर नेपाली समाजमा प्रसारित भए । संस्कृतका विद्वान्हरूको मात्र पेवा रहेको आदर्श पुरुषोत्तम, वा मर्यादा पुरुष, श्री रामको गाथा, नेपाली माटोको सुवास र सुगन्धमा मिसिँदै, घरघर दैलोदैलो पुग्यो । भर्खर जोडिएका भुरे टाकुरे राज्यहरूको भौतिक सीमामा एकत्वको भावना यही नेपाली भाषाको शिल्पमा कुँदिएर निर्माण भएको काव्यले जोड्यो र भाषाको मानक रूप स्थापित गर्दै लग्यो । ।

वास्तवमा राष्ट्रियता र एकताको लागि भौगोलिक सीमा मात्र हैन, भाषिक एकता र आध्यामिक चिन्तनको र समताको जरुरी हुन्छ। त्यो अभाव उनै भानुभक्तले पूर्ण पारिदिए। रामगाथा र त्यसको भाव के खस, के नेवार, के मधेसी, के हिमाली, के पहाडी सबैतिर गुन्जिन थाल्यो । “यही भाषिक उत्कृष्टताको प्रसंसा गर्दै बालकृष्ण सम लेख्छन् । “नेपाली भाषामा त्यति मिठो अधिकार आजसम्म कसैको भएन, लेखनाथले संस्कृतको शरण परेर पनि,शम्भुप्रसादले फारसीको भर परेर पनि भानुको स्थान लिन सकेनन्। देवकोटाले शाकुन्तलामा भाषा प्रदर्शन गरे तर भानुभक्त ध्रुवतारा झै अचल रहे “त्यसैले उनी नेपाली भाषाका परमात्मा हुन् ।”

भानुभक्त अघिका कविहरूले पनि भाषामा कविता नलेखेका होइनन् तर तिनीहरूमा भाषिक त्रुटि, मिश्रण भावगत अस्पस्ट रहे, जसलाई जनताले रुचएनन् । जब भानुभक्तीय रामायण आयो, त्यो प्रसाद गुणयुक्त सीप सबैले रुचाए । उनी भाषामा कति पोख्त थिए र उनमा कति मौलिकता थियो भन्ने कुरा उनको जीवनीमा आधारित विभिन्न प्रसङ्गका कविताकलाबाट प्रष्ट हुन्छ । कतै नैतिकताका कुरा, कतै व्यङ्ग्य प्रहार त कतै विकृतिको उजागर, सबैमा चोटिला शब्द खन्याए । सबैले बुझे, नेपाली भाषा यति सुशोभित र उन्नत रहेछ ।

यी योगदानहरू मुलतः समाज र राष्ट्रका लागि योगदान नै हुन् । रामायण पढेर सोही राम र सीता भएनन् तर काव्यमा वर्णित आर्दश, मातृभूतिप्रतिको प्रेम, र भाषा सबैलाई स्वीकार योग्य भयो । भाषामा एकरूपता आयो, अक्षर ज्ञानप्रति सबैको लोभ जाग्यो । नेपाली संस्कार अनुरूपको काव्य लेखनले गर्दा उनका पूर्ववर्ती कविहरूमाझ पनि उनी लोकप्रिय बने । उनको भाषामा कति नेपाली रङ मुछिएको छ भन्ने कुरा अशोक वाटिकामा पति वियोगमा छटपटाएर बसेकी सीताजीको रावणसँग प्रतिकार गर्दा निस्केको रिसयुक्त वाणीबाट थाहा हुन्छ ।

“पाजी रावण, बोल्दछस् बहुत दुर्वाच्य बक्बक् गरी ।

राघवदेखि डराई छल्न भनी एक् सन्यासीको रूप धारी ।।

जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले ।

राम लक्ष्मण नहुँदा हरिस तँ बुझिले मर्लास् यसै कालले ।।”(भा. रा. सुन्दरकाण्ड)

 

भानुभक्तले नेपाली भाषामा रामायण नलेखीदिएको भए नेपालीलाई राष्ट्रियता भन्ने कुरा बुझ्न अझ धेरै समय लाग्ने थियो । भर्खर राष्ट्रभाषा बनेको नेपाली भाषा उनको काव्य सँगसँगै घरघर पुग्यो । मीठो भाषा संवेदनशील विषय, सर्वप्रिय आध्यात्मिक चिन्तन र मनछुने भावले गर्दा नै रामायण सबैले गुनगुनाउन थाले । रामायण सबैको सुख दुःखको साथी बन्यो ।

निष्कर्षत:बग्ने नदीको प्रवाहसँग भानुको भाषिक सीप तुलना गर्न सकिन्छ । संस्कृतमा कविता कोर्नु त्यतिबेला ठूलो कुरा मानिन्थ्यो । उनी सक्थे, तर पनि विदेशी भाषा अनुशरण गरेर आफ्नो भाषालाई  अपहेलना गर्न उनले जानेनन् । यसलाई माथि उठाउनुमा नै आफ्नो गौरव ठाने । तब पो संस्कृतको काव्य नेपालीमा उनले लेखेपछि सबैको मुखमा गुन्जिन थाल्यो- “एक दिन नारद सत्यलोक पुगि गया…………।”

यसपश्चात् मात्र नेपाली इतरका भाषीहरूमा पनि यसको मोह बढ्यो । नेपाली भाषाको स्थिति मजबुत बन्दै गयो, यसको श्रेय भानुभक्तलाई नै जान्छ । अन्तमा राष्ट्रप्रेम मुखरित भएका थुप्रै फुटकर रचनादेखि उनले रामायणको नेपालीमा अनुवादमात्र गरेनन्, आफ्नै ढाकर र खुर्पेटो, आफ्नै रीतिरिवाज, डाँडाकाँडा र माटोको सुवास अनि सजीवतामा यसलाई रङ्ग्याएर हरेकको जिब्रोले बोल्ने भाषालाई आफ्नो काव्यको गति बनाएर फैलाए । त्यो नै नेपाली भाषाको पहिलो र उत्कृष्ट, महान् क्रान्ति र परिवर्तन थियो ।

यही कार्यका खातिर मोतिराम भट्ट, जसले उनका पाण्डुलिपिलाई प्रकाशन गरे र भानुभक्तलाई  आदिकविको संज्ञा दिए र त्यही पदवीबाट हामी उनलाई चिन्दछौ । जुन तथ्य आज पनि सबै राष्ट्रप्रेमी र साहित्यप्रेमीका लागि उत्तिकै सान्दर्भिक र अनुकरणीय छ ।