हिन्दुहरूका चार धाम जस्तै बौद्ध धर्मावलम्बीहरूका चार धाममा गौतम बुद्ध जन्मेको स्थल लुम्बिनी, ज्ञान प्राप्ति स्थल गया, प्रथम ज्ञान प्रसारण स्थल सारनाथ र निर्वाण स्थल कुशिनारा हो ।

केही वर्षअघि बुद्ध जन्मेको स्थल लुम्बिनीको दर्शन गर्न गएको थिएँ । बुद्ध जन्मेको  स्थल लुम्बिनी नेपालमा हुनु गौरवको विषय हो । बुद्ध धर्मको खास गरी दार्शनिक पक्षका पुस्तकहरू पाए जति पढ्ने गरेको छु । संसारभर छरिएका अर्बभन्दा बढी सङ्ख्याका बौद्ध धर्मावलम्बीहरूले जीवनमा एक पटक लुम्बिनीको दर्शन गर्ने इच्छा राखेका हुन्छन् ।

मैले थाहा पाएअनुसार भारतीयहरू सकेसम्म लुम्बिनीलाई ओझेलमा पार्न चाहन्छन् र उनीहरूद्वारा भित्रिएका पर्यटकलाई सकेसम्म थोरै समय मात्र नेपालमा बसाउन चाहन्छन् । आफ्नै नाइटोमा कस्तूरी बोकेर कस्तूरी खोज्दै भौँतारिने मृगजस्तै हामी पनि गौतम बुद्ध सम्बन्धित स्थलहरूको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गर्न चुकेका छौँ— मलाई त यस्तो लाग्छ गौरवको साथमा भन्न हिचकिचाइरहेका छौँ त्यसै भएको हुँदा विश्व सम्पदामा सूचीकृत गरिएको लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल बनाउन यथार्थमा अझ सकेका छैनौँ ।

भावनामा बगेर वा कसैबाट प्रेरणा पाएर म यो लेखिरहेको छैन । हरेक वर्ष संसारभरका न्यूनतम ९५ देशका लाखौँ पर्यटक बुद्ध जन्मिएको स्थान लुम्बिनीको दर्शन गर्न आउने गरेका छन् । यहाँ सोच्नु पर्ने कुरा छ, तब पनि सो क्षेत्रमा पर्यटन उद्योग फस्टाउन सकेन किन ? पर्यटकहरूलाई बुद्धको जीवनीसँग सम्बन्धित रुपन्देहीस्थित लुम्बिनी बाहेक देवदह र कपिलवस्तुको रामग्राम (बुद्धको अस्तु गाडिएको स्थल)को महत्त्व बुझाएर, आकर्षित गर्न सकेनौँ किन ?

अँ … साँच्चै भन्ने हो भने समग्र लुम्बिनी (बुद्धसँग सम्बन्ध जोडिएको स्थल) प्याकेज बनाएर पर्यटकको मन मस्तिष्कमा महत्त्व बुझाएर— सोही बमोजिमको तयारी गर्न सकेमा नेपालको पर्यटन उद्योग अवश्य फस्टाउने छ । भगवान् गौतम बुद्धले बोधिसत्त्व (बुद्धत्व) प्राप्त गर्नु अघिको नाम सिद्धार्थ गौतमको नामबाट नामाकरण गरिएको सिद्धार्थनगर (भैरहवा)लाई लुम्बिनी प्रवेशद्वार बनाएर मात्र पुग्दैन, यथार्थमा बौद्धमय बनाउनु पर्छ । नामाकरण त गरियो । आन्तरिक र बाह्य परिवर्तन नगरिएको हुँदा पर्यटकको मन जित्न नसकेको जस्तो लाग्दछ ।

विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो, लुम्बिनी । विश्वको बौद्ध धर्मावलम्बीलाई यस क्षेत्रले सप्ताहभर ज्ञान र भ्रमणमा रम्न लगाउन सक्ने वातावरण बनाउनै पर्छ । बौद्ध धर्मका जन्मदाता भगवान् गौतम बुद्ध हाम्रै देश नेपालमा जन्मिए पनि हामीले लुम्बिनीलाई संसारभर चिनाउन सकेनौँ । रुपन्देही जिल्लाको लुम्बिनी गौतम बुद्धको जन्मथलो ।

संसारभर अर्बभन्दा बढी सङ्ख्याका बौद्धले जीवनमा एक पटक लुम्बिनी दर्शनको इच्छा राख्ने गर्छन् । मैले सोचेँ, गौतम बुद्धको जन्म स्थल लुम्बिनी नेपालमा छ र सो अनादर होइन सम्मान गर्न लगाउन म कोसिस गर्नेछु । पूर्वाधारको अभाव, प्रचारप्रसार र योजनाको कमीले गर्दा चाहे जति विदेशी पर्यटक भने भित्र्याउन सकेका छैनौँ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा बुद्धकी आमा माया देवीको मन्दिर (बुद्ध जन्मेको सङ्केत चिन्ह अर्थात् मार्कर स्टोन, मूर्ति र पुरातात्त्विक वस्तुहरू छन्), अशोक स्तम्भ, पुष्करणी (मायादेवीले बुद्ध जन्माउनु अघि नुहाएको पवित्र पोखरी), अखण्ड शान्तिदीप, विश्वशान्ति स्तूप, विभिन्न मित्रराष्ट्रले बनाएका मनमोहक गुम्बा, जैविक तथा वृक्ष विविधता, सिमसार, उद्यान, सङ्ग्रहालय, अनुसन्धान केन्द्र, दुर्लभ पन्छी सारस, हरिण, नीलगाई र विविध पुरातात्त्विक वस्तु अवलोकनीय छन् ।

एक जना साथीले भनेका थिए, बुद्धको जीवनी र कार्यसँगै छिमेकी जिल्ला कपिलवस्तु र नवलपरासी पनि सम्बन्धित छन् । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रमा बुद्धका बुवा राजा शुद्धोदनको दरबार थियो । तिलौराकोटको यही दरबारमा बुद्धले २९ वर्षसम्मको गृहस्थ जीवन बिताएका थिए । मलाई लाग्छ— २९ वर्षमा गृहस्थी त्यागेका सिद्धार्थ गौतमले कठोर साधनापछि ३४ वर्षको उमेरमा ज्ञान (बोधिसत्त्व) प्राप्त गरेपछि नै उनलाई बुद्ध भनिएको हो ।

लुम्बिनीदेखि २७ किलोमिटर पश्चिममा रहेको तिलौराकोटमा दरबारको भग्नावशेष र पुरातात्त्विक वस्तुको सङ्ग्रहालय छ । बुद्धका वंशज शाक्यहरूको विडुडभद्वारा वध गरिएको सगरहवा, तिलौराकोटदेखि साढे तीन किलोमिटर उत्तरमा पर्दछ । दुई किलोमिटर दक्षिणमा रहेको कुदान बुद्धले ज्ञानप्राप्तपछि गृहनगर आएर पहिलो पटक बावु र छोरा राहुललाई भेटेको र राहुल नवदीक्षित (भिक्षु) भएको ठाउँ अब उपेक्षित रहने छैन । नवलपरासीको देवदह बुद्धको ससुराली तथा मावली हो र यहाँ सयौँ वर्षको मानिएको (केहीले बुद्धकालीन पनि भन्ने गर्छन् ।) धार्मिक महत्त्व पाइसकेको विशाल पाकडको रुख छ । नवलपरासीमा कन्यामाई, बौद्यीमाईका ससाना मन्दिरका साथै विविध पुरातात्त्विक महत्त्वका वस्तु पनि छन् ।

मैले सम्झनामा नवलपरासीमा सूर्योदयको बेला देखेको मनमोहक हरियालीबाट सुखानुभूति पाएको ताजै राखेको छु । बुद्धको अष्ठधातु गाडिएको रामग्राम— बुद्धको नातेदार, राजपरिवार कोलिय राज्यको राजधानी समेत हो । सदरमुकाम परासी बजारदेखि तीन किलोमिटर दक्षिणमा छ अस्तु राखिएको बुद्ध स्तूपा । झरही खोलाको किनारमा छ रामग्राम बुद्ध स्तूपा— मौन अभिव्यक्तिको साथ ।