सानोमा काम बिगार्यो कि बा हकार्नु हुन्थ्यो, “तँलाई गोरु” भन्दै।

“गाईको पोइलाई पो गोरु भन्छन् म त मान्छे”, म जाइलाग्थे बा माथि नै।

त्यसपछि जे हविगत हुन्थ्यो मेरो, त्यो यहाँ के बयान गर्नु। कुरोको चुरो नबुझ्दा सधैँ गोरु नै कहलिएर बिते बालापनका दिनहरू। आफ्नो राम्रो छोरोलाई गोरु भनेको आमालाई के मन पर्थ्यो, तर बाको अगाडि उहाँको पनि के जोड चल्थ्यो र ! गोठमा बाँधेर राखेको गोरु भन्दा पनि गए गुज्रेको स्थिति आइलाग्थे अक्सर। कतै खेत जोत्न हलोमा बाँधी दिने हुन् कि भन्ने डर नभएको एक दिन पनि भएन।

एउटै सवाल उठ्थ्यो मनमा, “म गोरु कसरी भएँ ?” उत्तर खोज्दा खोज्दै जिन्दगीले कैयौँ वसन्त पार गरिसकेछन् पत्तै भएन।

आज म छोरोलाई “गोरु” भन्दै हकार्छु ।

उत्तरमा ऊ कराउँछ, “म गोरु भए, हजुर गोरु को बा।”

उता श्रीमती च्याँठिन्छे, “अनि म चाहिँ त्यसो भए गाई ?”

अनि सुरु हुन्छ गाई, गोरु र बाछाको लडाइँ।  यो लडाइँमा को जित्छ मलाई थाहा हुँदैन तर हार भने सधैँ मेरो नै हुन्छ र गोरुको उपाधि पुन एक चोटि दोहोरिन्छ मलाई।

बाले दिएको गोरुको परिभाषा खोज्न नसकेको मलाई श्रीमतीले अर्को गोरुको जुवा बाँधी दिन्छिन् अनि छोरो, “बा त गोरु” भन्दै नाच्न थाल्छ। हलो र जुवा भिरेको म न त खेतमा जोतिन सक्छु न त छोरोसँगै नाच्न सक्छु।

आफ्नो हालत देख्दा मलाई गोठमा बाँधेर राखेको गोरु सँगै रिस उठेर आउँछ। परालको त्यान्द्रोमा उग्राई रहेको ‘राते’ कहिले नजिकैको गाईलाई हेर्छ अनि कहिले मलाई। त्यसको हेराइले जिस्काइरहेको भान हुन्छ। शायद ऊ भनिरहेको होला, “हेर म पनि गोरु अनि तँ पनि गोरु। मान्छे भएर के नै पो लछारपाटो लायौ र !”

बिहान उठेदेखि राति नसुतुन्जेल सम्म जोतिँदा, उसले भनेको साँचो झैँ लाग्छ मलाई। ऊ खेतमा जोतिन्छ भने म बिहान उठ्ने बित्तिकै घरमा जोतिन्छु । त्यसपछि अफिसमा जोतिन्छु अनि अफिसपश्चात् पुनः घरमा जोतिन आइपुग्छु। आवश्यकता को हलो र जुवामा बाँधिएको म, घरमा श्रीमतीले जोत्छिन् कहिले त कहिले छोरा छोरीले। उता अफिसमा हाकिम लगायत आफू भन्दा माथिकोले पालै पालो जोत्छन्। अनि म जोतिइरहन्छु। गोठमा बाँधेको गोरुले आराम पाउँछ तर मैले पाउन्न।

मेरो छिमेकी हवलदार शर्मा जी भन्छन्, “तपाईँलाई अफिस नै खेत बन्यो जोतिनलाई भने हामीलाई चाहिँ सडक।” उसको कुरा सुन्दा मलाई जोतिने टाउको विभितता जान्न मन लाग्छ। कोही कहाँ जोतिन्छन् त कोही कहाँ। कोही गल्लीमा जोतिन्छन्, कोही हल्लिँदै जोतिन्छन्। कोही भट्टीमा जोतिन्छन्, कोही टट्टीमा जोतिन्छन्। कोही भन्सारमा जोतिन्छन्, कोही टक्सारमा जोतिन्छन्। कोही सडकमा जोतिन्छन्, कोही जोतिँदा तडपको दुखेसो पोख्छन्। जोतिनु नै हाम्रो कर्म हो भन्दै कोही स्वदेशमै जोतिइरहेको देख्न पाइन्छ त कोही जोतिनलाई विदेशतिर लाग्छन्। जनताहरू जोतिइरहन्छन्, नेताहरू जनतालाई जोतिरहन्छन्। कहिले यताको खेत हराभरा, कहिले उताको।

थानामा जोतिनु र बहानामा जोतिनु एउटै हो भन्नेहरू कहिलेकाहीँ जोतिँदा घुँडा धसिने कुरा गर्छन्, अनि स्वदेश भन्दा विदेशमा जोतिँदा हुने फाइदाहरूको बखान गरेर थाक्दैनन्।

यस्ता बकम्फुसे कुराहरू सुन्दा म आफू मात्रै गोरु होइन रहेछु भन्ने कुरामा विश्वस्त हुन्छु। यी तिनै गोरुहरू हुन् जुन ठाउँ पिच्छे जोतिँदाको मूल्याङ्कन गरिरहेका हुन्छन्, कतै के फाइदा त कतै के। यस्ता कुराहरूले गर्दा जोतिने टाउको विश्लेषण गर्न बाध्य हुन्छु म।

ठिक ठाउँमा जोतिँदा दिन सप्रने, बेठिक ठाउँमा जोतिँदा घुँडा घस्रने स्वाभाविकै हो। त्यसैले समय र अवस्था अनुरूप आफूलाई कस्तो गोरुको रूपमा परिणत गर्ने अनि कहाँ जोतिने भन्ने पनि जान्नु पर्ने रहेछ। महत्त्वपूर्ण कुरा अर्को के पनि हो भने, जोतिने र जोत्ने को तालमेल। जोतिनेले नमान्दा र जोत्नेले जोत्न नजान्दा मै हुँ भन्ने गोरुहरू पनि खेत छोडेर भागेको कैयौँ दृश्य र उदाहरणहरू देख्न र सुन्न पाइन्छ। “ह ह माले ह ह, ह ह राते ह ह” गुन गुनाउँदै खेतको गराहरू हलोले चिर्दाको आनन्द नै छुट्टै भन्छन् उस्तादहरू। एक थरी “यो साँढेलाई जति घिचाए पनि काम चाहिँ एक पैसाको पनि गर्ने होइन”, भन्दै गुनासो पोख्ने पनि भेटिन्छन्।

साँढेको नम्र रूप गोरु। त्यसैले होला बाले मलाई गोरु भनेको, म शायद विनम्र भएर। नत्र भए म साँढे हुन्थे होला। मेरो उपद्रोको मात्र चर्चा चल्थे होलान्। घरदेखि लिएर सडकसम्मको उपद्रोहरूको लिस्ट नै तयार हुन्थ्यो होला। अनि मेरो नाम पनि अन्य साँढेहरूको नाम सँगै मिलाएर राखिन्थ्यो होला। जो मन लाग्यो त्यसै सँग, जहाँ मन लाग्यो त्यही, जुन बेला मन लाग्यो त्यही बेला सिँगौरी खेल्दै बस्नु मेरो दिनचर्या हुन्थ्यो होला। खेतको हलोमा म अल्झिन्न थिए होला, दाइँ गर्दा म रमाउँदिन थिए होला। म त उन्मत्त भएर सडक, बजार, गर्दै सभा र सदन सम्म आफ्नो उग्र रूप देखाउँदै बस्थे होला। धन्न म साँढे चाहिँ भइन।

साँढे नभएकोमा म खुसी छुवा गोरु बनाइएकोमा दुःखी छु, म छुट्ट्याउन सक्दिनँ। बाठाहरूको भिडमा कहिले साँढे जुधाई गर्दै अरूलाई मनोरञ्जन दिनु अनि कहिले गोरु दौडाइ गर्दै आफ्नो सिप देखाउनु नियति भएको यो अवस्थामा साँढे भए पनि गोरु भए पनि खासै फरक चाही पर्ने रहेनछ। जुधाउन, दौडाउनी, बजाउनी, अनि पछार्नी गर्दा रमाइलो मान्नेहरू बुद्धिजीवी वर्गमा पर्ने कुरा म गोरुलाई के थाहा हुँदो हो र त्यसैले होला उनीहरूले गोरुहरूको कमी भएको कुरा गर्दा आफू रनभुल्लमा परेको।

यस्ता बुद्धिजीवीहरू गोरुहरूको कमी भएकोले भैँसीले बाहुल्यता पाएको कुरा गर्छन् आज भोलि। उनीहरू गोरुको विकासमा सरकार सुस्त भएको टिप्पणी गर्छन्। सुस्तताकै कारण होला शायद आजभोलि जताततै भैँसी मात्र देखिन्छन्। दोबाटोमा पाक्ने म:म को ठेला होस् वा ठुला वडाको डिनर मा बन्ने परिकार होस् भैँसीको बोलवाला सबैतिर देखिन्छ। भैँसीले यस्तरी जकडेको समाजमा गोरु भएर अस्तित्व जोगाउन गाह्रो हुने अनुभव म लगायत सबै गोरुहरूको छ। फलस्वरूप गोरु बचाउ अभियान थाल्नु पर्ने आवश्यकता भएको हो।

सरकारले यस अभियानमा राम्रो बजेट छुट्टाइदिए र उत्तर दक्षिणतिर बाट उच्च कोटिका गोरुहरू झिकाई स्थानीय गोरुहरूलाई तालिम दिन सकिने कुरा यस अभियानसँग संलग्नहरू गर्ने गर्छन्। तालिम प्राप्त गोरुहरू जता पनि जोतिन तयार रहने कुरा सबैको अनुभव हो। यिनै तालिम प्राप्त गोरुहरूबाट केहीलाई पार्टी सुध्रिढिकरणको लागि पनि जोताउन मिल्ने कुरा गर्छन् पार्टीका नेताहरू। यस्तो भएपछि देशको विकाशमा गोरुहरूको योगदान अझ बढ्नेछ।

बाले सानोमा गोरु भनेर होच्याएको भान भएको मलाई देशको विकाशमा म जस्तै गोरुहरूको योगदानको चर्चा चल्न थालेपछि गोरु हुन पाएकोमा गर्व महसुस हुन थालेको छ। मैले जस्तै महसुस गर्न थालेका छन् अन्य गोरुहरूले पनि।

यतिखेर गोरु, साँढे र भैँसीहरूको त्रिकोणात्मक सम्बन्धले देश विकास हुने यकिन भएपछि यी तिनको बैठक बस्न लागेको छ। अनि म लगायत अन्य गोरुहरू बैठकको निर्णय सुन्न आतुर हुँदै रेडियो र टिभी अगाडि धर्ना लगाइरहेका छौ।