अमेरिकी नेपालीका दिनचर्या अर्थात् दैनिकीका बारेमा पनि एउटा लेख लेख्न सकिन्छ नि ! नेपाल अमेरिका पत्रकार (संघ नेजा)को वार्षिक प्रकाशन ‘प्रयास’को ११औँ अङ्कको तयारीका लागि सल्लाह गर्दा गर्दै यो प्रसङ्गमा पनि छलफल भयो । हो,लेख्न सकिन्छ तर कसरी के लेख्ने र कसले लेख्ने बारेमा तत्कालै निष्कर्षमा पुग्न भने सकिएन । तर लेख्नुपर्छ भन्नेमा चैँ सहमति भयो |

आ–आफ्नो दैनिकीको बारेमा सम्बन्धित व्यक्तिले त लेख्ने गरेकै छन्, कसैले कथा, उपन्यास, निजात्मक अनुभूति, नियात्रा आदिमा पनि यस्तो प्रसङ्ग प्रकट हुने गरेको पाइन्छ । सिर्जनात्मक वा निजात्मक लेखनको बाटो अर्कै हो तर पत्रकारिताको सन्दर्भमा सार्वजनिक नभएका व्यक्तिका निजात्मक प्रसङ्गमा चर्चा गरिनु कति उपयुक्त हुन सक्छ र कतिको सजिलो छ ? यसको विधि र शैली के हुने यकिन गर्न सकिएन |

अमेरिकी नेपालीको दिनचर्या दिनमा भन्दा पनि घण्टामा जोडेर गणना गर्नुपर्ने हुँदो रहेछ । यो सबैका लागि सामान्य गणित हो । एक दिनको समय २४ घण्टा हुन्छ, यद्यपि अमेरिकी नेपालीका लागि भने एक दिनलाई मुख्य ३ भागमा हेर्नुपर्ने हुन्छ । मूलतः यो सन्दर्भ अमेरिकी नेपालीको मात्र नभएर अमेरिकावासी सबै श्रमजीवी कामदारको हो । अमेरिकामा सामान्यतः ८ घण्टा काम गर्ने अमेरिकावासी नेपालीहरू भने ८ घण्टा पनि आरामले सुत्दैनन् तर बाँकी ८ घण्टाको समय के गरेर बित्छ पत्तै हुँदैन । अमेरिकी भूमिमा दुई दशकभित्र करिब ४०–५० देशका नागरिकसँग सहकर्मीका रूपमा काम गर्दा यो पङ्क्तिकारको अनुभवमा– तुलनात्मक रूपमा भाषा, धर्म, संस्कृति र राजनीतिले नेपालीको तुलनामा त्यति धेरै अरू कोही थिचिएका वा पिरोलिएका छन् जस्तो पनि लाग्दैन ।

साहित्यकार कृष्ण धरावासीले कतै चर्चा गर्नुभएको छ, ‘हामी अमेरिका आइपुगेकै छैनौँ । यस्तो हुन सक्छ, हामी नेपालकै एयरपोर्ट तिरै वा जहाजमाथि नै पो छौँ कि ?’ यसो त अमेरिकावासी नेपाली जनको लेखनी र अनुभूतिले हामीले अमेरिकामा पाइला टेकी नसकेको साहित्यकार धरावासीको मूल्याङ्कन पनि हाम्रा लागि उदाहरणीय हुन सक्छ । धरावासीको मत छ, ‘आफू वर्तमानमा हिँडिरहेको भूगोल र समाजलाई एकातिर छोडेर हामी आफूले छोडेको भूगोल र समाजकै रोनाधोनामा कलम चलाइरहेका छौँ, यस्तो लेखनले लेखकीय इमानदारिता प्रकट गर्दैन । हामी अनुमान र हाम्रा पुरातन आग्रह दोहोर्याई  रहेछौँ । हामीले आफू बसेको र भोगेको समाजको सामाजिक यथार्थता स्विकार्न नसकेको हो वा यो समाजमा भिज्न र रम्न नसकेका हौँ ?’

छोरी सुलेखाले एक दिन आमा–बुबालाई सँगै राखेर भनिन्, ‘तपाईंहरू सात समुद्र तरेर दसौँ हजार माइल टाढा आइपुगेको पनि वर्षौं बितिसके । तर, आफूले छोडेर आएको भूगोल र जीवन चाहिँ त्यही पहिलेकै देखिरहनुभएको छ । अब तपाईंहरूले छोडेको समाज पनि पहिलेकै जस्तो छैन । त्यहाँ पनि धेरै परिवर्तन आइसकेका छन्, जुन तपाईंहरूले थाहा पाउनु नै हुन्न । तर, तपाईंहरू भने हामीले आफ्नो समाज–संस्कृति आदिका मान्यता नबुझेको कुरा गर्नुहुन्छ । यहाँ बसेर तपाईंहरूले वर्षौं पहिले छोडेको त्यहाँको भूगोल र संस्कृति बुझेर त हामी कसरी अगाडि हिँड्न सकौँला र ?’ प्रतिवाद गर्न सकेनौँ, हामीले । यसो भनेको पनि सुनिएको थियो– छोराछोरीलेलाई जित्न सकिँदैन | अभिभावक छोराछोरीसँग हार्दा आनन्दित हुन्छन् पनि भन्छन् ।

‘गुमेका अवसरको चिन्ता गर्नुभन्दा पनि प्राप्त गर्न सकिने अवसरको खोजी गरौँ ।’ पाँच वर्ष पहिले आफ्नै फेसबुक स्ट्याटसमा उक्त सन्देश सेयर गरेको यो पङ्क्तिकार छोरीले भनेजस्तै आफूले करिब २ दशक पहिले छोडेको त्यही दसौँ हजार माइल टाढाको भूगोल वरिपरि घुमिरहेको छ, आज पनि । मानिसको मानसपटलमा एउटा निश्चित समयावधिभित्र त्यस्ता दृश्य र मान्यताहरू सेट भइसक्ने रहेछन्, जसलाई मेट्न कठिन मात्र होइन असम्भव नै रहेछ । प्रकृतिका कृति र विज्ञानका कृतिका बिचको फरक यही विचित्रको लीला रहेछ ।  विज्ञानका कृतिहरूमा चाहेको थप्न, नचाहेको घटाउन र हटाउन पनि मिल्ने तर प्रकृतिको कृतिमा भने न थप्न न घटाउन न त हटाउन नै सकिने ! पढेर आफूले संसार बुझेँ भनेर जन्मदिने आफ्नी आमालाई अनपढ भन्ने विद्वान्लाई डाक्टर नवराज केसीले केही महिना पहिले प्रकाशित उनकै कृति ‘शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)’ मा  सम्झाउँदै लेखेका छन् ‘हे विद्वान् बाबु, यो कुरा पनि बुझ, एउटी आमाको गर्भले जानेको विज्ञान संसारका सारा वैज्ञानिक अनि कम्प्युटरभन्दा उत्कृष्ट छ । यसको कला कुनै कलाकारको कृतिभन्दा लाखौँ गुणा सुन्दर छ ।’

अनौठो त के छ भने यस भूगोलमा बास गरेका कमै नेपालीले यसै भूगोलको सपना देख्लान् ! कसैले दाबी नै गरे पनि यस पङ्क्तिकारको दुई दशकको अनुभव फरक छ– विपनामा यही भूगोलमा चालेका पाइला सपनामा दसौँ हजार माइल टाढा कसरी पुग्छन् ? ती साथीसङ्गी, वनपाखा, गाउँ-सहर, उकाली-ओराली कसरी आँखा वरिपरि नाच्न आइपुग्छन् ? यिनलाई ‘अन–अफ, पज वा होल्ड’ केही गर्न किन मिल्दैन ? यो विचित्र लीला प्रकृतिका कृतिबाहेक विज्ञानका कुनै पनि कृतिमा स्वतःस्फूर्त आउने–जाने गर्छन् त ? ज्ञान–विज्ञान र प्रकृतिको यो सन्दर्भ अर्को कुनै प्रसङ्गमा थप चर्चा गरौँला । अहिलेलाई भने यो पनि– ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ –बालकृष्ण सम ।

सन्दर्भ अमेरिकी नेपालीको दैनिकीको थियो । हाम्रो अध्ययनका लागि ‘प्रयास’का लागि आ-आफ्ना दैनिकीको बयान उपलब्ध गराइदिन अनुरोध गरिएका व्यक्तिहरूबाट अपेक्षित ‘रेस्पोन्स’ नपाए पछिको विकल्प बयान हो यो, यो पङ्क्तिकारको । शतायु बोकेको मानव जीवनमा सबैभन्दा शक्तिशाली केही छ भने त्यो समय नै हो । समयको मूल्य र महत्त्व अमेरिकी कामदार  हुनुमा जति छ त्यति अरू कमैमा छ होला । घण्टाको गणना गरिने काममा एक दिन खानाका लागि आधा घण्टा बिदा अर्थात् ‘लन्च ब्रेक’ लिनु थियो ।

लन्च ब्रेक’मा जान हाजिरी मेसिनमा आफ्नो पासवर्ड राखिसकेको मात्र के थिएँ, तुरुन्तै अर्को मिनेट पो सुरु भयो अर्थात् आउट हुनासाथ एक मिनेट सकियो । हुन सक्छ २–३ सेकेन्ड भित्रै मेरो ‘लन्च ब्रेक’को एक मिनेट अर्थात् ६० सेकेन्ड सकियो ! यस्तो लाग्यो– यो त ठुलै अनुपातमा फरक पर्यो नि होइन र ? अनुमान गर्न सकिनँ, कसरी यस्तो भयो ? एक जना सहकर्मीसँग कुरा गरेँ, आउट हुन नपाउँदै मेरो त एक मिनेट पो सकियो नि ! उसले भन्यो– हाजिरी मेसिनको अगाडि गएर समय हेर्ने र अर्को मिनेट सुरु हुनासाथ पासवर्ड टाइप गर्ने, तेरो एक मिनेट जोगिन्छ । तर, धैर्यता त गर्नै पर्छ । कहिलेकहीँ केही सहकर्मीहरू हाजिरी मेसिनको अगाडि गएर एक छिन उभिएको देख्थेँ । एक मिनेटको पनि सेकेन्ड जोगाउन यो शतायु आयुको धनीले कति धैर्यता गरौँ ?

यस्तै दैनिकी हामी धेरैजसो अमेरिकावासी नेपालीहरूको हुने गर्छ ।  काम जुनसुकै प्रकृतिको होस्- यहाँ काम गर्ने समयमा काम नै गर्नुपर्छ,अर्को विकल्प हुँदैन । अमेरिकामा वैधानिक रूपमा बसोबास गर्ने परिवारहरूका लागि सामान्यतः ८ घण्टा काम गरेपछि उनीहरूलाई बसाइ वा जीविकाको लागि भने असहज हुँदैन । व्यक्तिका कुनै पनि इच्छा र आकाङ्क्षा, अध्ययन, भ्रमण, खानपान, मनोरञ्जन आदि –पैसाका कारण असम्भव नै भने हुँदैनन् । यी सबै कुराको पछाडि समय व्यवस्थापन महत्त्वपूर्ण हुने गर्छ । अमेरिकामा पैसा र पावरले काम गर्दैन, ‘सिस्टम’ले गर्छ । त्यसर्थ, ठुला-ठुला स्वार्थहरू छाडेर जीवन निर्वाहको पाटोबाट हेर्दा अमेरिका विश्वको रोजाइको देश बन्नुको पछाडि यही ‘सिस्टम’ नै प्रमुख हो ।

भूगोलको यो भीमकाय अमेरिकी भूमि पनि हामी नेपालीका लागि त्यति धेरै ठुलो लाग्दैन | यहाँ आए पनि तँ कहाँको होस् र म कहाँको हुँ ? माइती-मावली, घर-गाउँ वा ससुराली केलाउँदा फुपू-फुपाजु र काका-काकीभन्दा हामी कोही टाढा पुग्दैनौँ | यो पङ्क्तिकारको नै उदाहरण पर्याप्त हुन्छ होला- इलामका अधिकारी एक जना बडाबाका ज्वाइँ हुन् भने कैलालीका बम अर्को बडाबाका नाति | इलामदेखि डडेलधुरा, हुम्ला र रसुवासमेत ६० भन्दा बढी जिल्लामा आफैँले पाइला टेकेपछि चितवन ससुराली हुनेका लागि बाँकी नेपाल त कति नै पो ठुलो छ र ? काम गर्ने कम्पनीमा एक दिन एक जनाले नेपालीमा सोध्नु भयो- ‘दाइ, तपाईं पनि नेपाली नै हुनुहुँदो रहेछ !’ हो | ‘नाम देखेर चिनेँ |’ कोभिड महामारीका कारण मास्कले मुख छोपेपछि घरैका मानिस चिन्न गाह्रो हुन्थ्यो सुरु सुरुका दिनमा | तर बानी पर्दै गएपछि थाहा भयो- मानिस चिन्न मुख नै देखिन पर्ने त रहेनछ- बढी ल्याङ्वेज पढे पर्याप्त हुने रहेछ |

एकै कम्पनीमा काम गर्ने भएपछि थप चिनजान पनि हुँदै गर्ला नि त भनेर मैले धेरै सोधखोज वा चिनजानको सन्दर्भ कोट्याइन | ती बहिनीले मेरो ‘नेम ट्याग’ पढ्न सकिन्, मैले उनको नाम पढ्न पनि सकिन |

‘कहाँ बस्नुहुन्छ ?’ मैले सोधेँ |

‘नजिकै |’

‘तर म जति नजिक त होइन होला ?’ मैले प्रतिप्रश्न गरेँ |ती बहिनीले, ‘खुसी लाग्यो । चिनजान भयो’ भन्दै अर्कातिर लागिन् |

उनलाई बिचैमा अर्को सहकर्मीले सोध्यो, ‘तिमीहरूको पुरानै चिनजान हो कि के हो ? एउटै भाषा पो बोल्दा रहेछौ त ?’

ती बहिनीले स्वतःस्फूर्त भनिन्, ‘ही इज माइ ब्रदर |’

अमेरिकी जीवनको २ दशकमा आधा दर्जनमा पर्ने कम्पनीमा यो पङ्क्तिकार प्रवेश गर्दै गरेको केही दिन मात्र भएको थियो | दुई तीन दिनपछि ती बहिनीसँग कुरा गर्ने सहकर्मीले सोध्यो, ‘तेरो बहिनीले किन यहाँको काम छोड्यो ? राम्रो काम पायो होला हैन त ! मैले सम्झेको छ भनिदिनु है |’ मलाई अहिले पनि थाहा छैन, नेपाली भएकै नाताले निर्धक्क ‘ऊ मेरो दाजु हो’ भन्ने ती बहिनीको नाम के होला ?

कहाँ थियो बास अघि म को थिएँ

कसो गरी यो पिँजरा लिँदो भएँ

कहाँ छ जानु कुनसाथ लिईकन

तँलाई मालुम छ कि यो कुरा मन ?

– कवि शिरोमणि लेखनाथ पौड्याल ।

यसरी नै बग्दै जाने हो भने आजको मध्यरातसम्म पनि हातका यी औँलाहरूले मनको बह पोखिरहनेछन् । यसै मे महिनाको २०–२१ मा टेक्सासमा हुने नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आठौँ अधिवेशन तथा १६औँ साधारण सभाका लागि तयार गर्दै गरेको प्रयासमा यो बह समावेश नहुन पनि सक्छ । बिहान ७ बजे काममा पुग्नु त हामीले  रोजेकै रहर हो- गुनासो कसैसँग गर्न कहाँ मिल्छ र ? जीवनका दैनिकीका आ-आफ्ना भोगाइ सबैको अलग अलग नै हुन्छन् | यी भोगाइहरू एक अर्काको अनुभवबाट सिक्ने सच्याउने र अगाडि बढ्ने प्रेरणाका स्रोत पनि हुन सक्छन् |

मध्यरातमा यो बह बिट मार्दै गर्दा जनकवि केशरी धर्मराज थापाले आधा शताब्दीभन्दा पहिले गाएको यो गीत म मेरा  विज्ञ पाठकहरूलाई पुनः स्मरण गराउँछु–

जन्मेको देशलाई नेपाली भेषलाई

नेपालीले माया मार्यो   बरी लै

रोप्दै छौँ हामी काट्दै छौँ हामी

दाइँ हाल्छ अर्कै पाखाको आई

अरू देश सबै जागेर उठे

हाम्रो त आँखा चिम्लेर सुते

बिरानो देशमा लागेका भाइ

फर्केर हेरि देऊ नेपाललाई ।

 नोट: यसै हप्ता सार्वजनिक नेपाल अमेरिका पत्रकार सङ्घको वार्षिक प्रकाशन ‘प्रयास’, अङ्क-११,२०२३/ केही सम्पादनसहित प्रस्तुत – लेखक |