(म्याग्दीको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको प्रकाशोन्मुख पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’को एक अंश)
पहाडमा खाई–खेली हुर्केको हुनाले म बलियो थिएँ । बाध्यताले गर्दा मैले ९ वर्ष नपुग्दै गोठाला बन्नु पर्यो । ठाउँ ठाउँमा गोठ सार्ने चलन थियो । आफ्नो जग्गा भएको ठाउँमा मलका लागि गाईबस्तु सारिन्थ्यो । कहिले घर नजिकै गोठ हुन्थ्यो भने कहिले टाढा । त्यहाँ राती एक्लै एक्लै सुत्थेँ । मनमा रत्तीभर डर लाग्दैन थ्यो ।
हाम्रो गोठमा १२ ओटा गाई थिए । तिनलाई घाँस दिनु, कुँडो खुवाउनु, भकारो फाल्नु, किलोमा बाँध्नु नित्य कर्म थियो । बिहान गाईलाई चरन क्षेत्रमा लगेर छाडिदिन्थ्यौँ । जङ्गलमा चराउन लैजान्थ्यौँ । दिनभर चरेर गोधूलि साँझमा भुईँको धुलो उडाउँदै उनीहरू गोठमा फर्कन्थे ।
गाईहरू सितिमिति जङ्गलमा बास बस्दैनन् । साँझ बास स्थलमा फर्कन्छन् । भेडाहरू त जङ्गलमा हराउन पनि सक्छन् । तिनताका हाम्रो गाउँमा भेडा पाल्नेहरू थोरै थिए ।
जसका धेरै गाईभैंसी हुन्थे तिनले बर्खा लागेपछि माथि लेकमा लान्थे । माथि फूलबारी, मोहर डाँडातिर लैजान्थे । थोरै गाईडिंगा हुनेहरूले घरबारीकै कटेरामा राख्थे । कसैका कटेरा ढुङ्गाका हुन्थे भने कसैका खरका । लेकमा चाहिँ काठ र भकारीले गोठ बनाइन्थ्यो ।
हामीमध्ये धेरैको बेँसीमा पनि जग्गा थियो । त्यसैले हिउँदका तीन महिना मङ्सिरदेखि माघसम्म हामी गाईडिँगा लिएर बेँसीमा झर्थाैं । बेँसीमा करिब डेढ महिना बसेपछि मौसम फेरिएसँगै तिनलाई फेरि माथि गाउँतिर उकालिन्थ्यो । आफ्नै जमिन हुनेहरू अलिक लामो समय बस्थे । जग्गा हुनेहरूले त्यहाँ सानो गोठ बनाएका हुन्थे ।
एवम् रितले गोठ संस्कृति चल्थ्यो ।
बेसीमा झर्दाको जिन्दगी बेग्लै थियो । जसको जग्गा तल थिएन तिनीहरू पनि अर्काको जग्गामा अस्थायी गोठ बनाएर बस्थे । हाम्रो जग्गामा पनि भकारीले बारेर गोठ बनाइन्थ्यो । म त्यहीँ बस्थेँ । गोठ वरिपरि गाईहरूलाई बाँधिन्थ्यो ।
गाईहरू दिनभर चर्न जान्थे । हामीहरू खाना खाएर घाँस काट्न जान्थ्यौँ ।
गाउँलेको आफ्नै नियम हुन्छ । गोठ सार्ने मिति अगुवाले तोक्थे । त्यसै अनुसार सबैले गर्नु पर्थ्यो । वैशाखमा माथि गाउँमा पनि बाली लगाई सकिन्थ्यो । सीमित चरन हुन्थ्यो । अनि माथिमाथि लगिन्थ्यो ।
सजिलो हुँदैन गोठाले जीवन । प्रायः गोठ अस्थायी रूपले बनाइएको हुन्थ्यो । कहिले हुरी आएर भकारी फालिदिन्थ्यो, रातभर खुला आकाशमुनि सुत्नु पर्थ्यो । कहिलेकाहीँ बाघको डरले थुरथुर काम्थ्यौँ । कहिले गाईहरू किलो उखेलेर बाली खान जान्थे ।
जसको धेरै खेती उसका धेरै गाईभैंसी हुन्थे । बेसीमा बस्दा बेग्लै संसार थियो । सबैका गोठमा लैना गाई हुन्थे । हामीलाई दूध, दही, मोही र घिउ खान दुःख थिएन । घिउमा चोपेर ढिँडो खान्थ्यौँ ।
स्कुल बिदामा दाइहरूले घरबाट खर्च (अन्न, नुन, तेल र गुन्द्रुक) ल्याइदिन्थे । फर्कँदा हामीले काटेर सुकाएका खरको भारी बोकेर उकालो लाग्थे ।
सातुसामल ‘झेग’मा राखिन्थ्यो । चोयाले बुनेको झेगमा बिर्को लगाउने हुन्छ । त्यसमा पिठो, नुन, दूध राखिन्थ्यो । तरकारीका रूपमा आलु, गुन्द्रुक, सुकाएको करेला, साग, कर्कलो, फर्सेला (कुभिन्डो) आदि हुन्थ्यो । त्यो झेगलाई गोठका खम्बामा बाँधिन्थ्यो ।
सिपालुहरू मृगको सिकार गर्थे । त्यसलाई हामी ‘ऐंरी खेल्ने’ भन्थ्यौँ । सिकार आपसमा बाँडेर खान्थे । म चाहिँ कहिले कहिले गोठ छेउछाउमा पासो थाप्थेँ । तिनमा चरा पर्थे । तिनलाई पोलेर वा पकाएर खान्थ्यौँ ।
साँझ हामी मिलेर आगो फुक्थ्यौँ । कोही बाख्रा, कोही भेडा त कोही बाघ बनेर खेल्थ्यौँ । बाँस पनि पड्काउँथ्यौँ । अचम्मै रमाइलो हुन्थ्यो ।
गाईहरूलाई महिनाको एक पटक नुन खुवाउनु पर्थ्यो । पहिला ढिके नुनलाई मसिनो बनाएर भुट्थ्यौँ । त्यसलाई अन्नको पिठोमा मिसाउँथ्यौँ । अनि मुठी बनाएर गाईको सामुन्ने लान नपाउँदै तिनले मुख बाउँथे । दुई दुई मुठी जति मुखमा राखिदिन्थ्यौँ ।
जङ्गल, खोँच, खोला र खेती बारीमा डुल्दा रमाइलो हुन्थ्यो । त्यहाँ सिजनअनुसार थरी थरीका खानेकुरा पाइन्थ्यो । मौसमी काफल, चुत्रो, निगुरो, ऐंसुले, घुएँलो, दुधिलो आदि कन्दमुल खान्थ्यौँ ।
कहिलेकाहीँ दुःख पनि पाइन्थ्यो । समयमै घरबाट खर्च ल्याई नदिँदा दुःख हुन्थ्यो । घरबाट पिठो ल्याइदेलान् भन्दाभन्दै साँझ ढल्थ्यो । साथीहरूसँग पिठो सापटी मागेर ढिँडो पकाउँथ्यौँ ।
हामीसँग दुई जोर कपडा हुन्थ्यो । एउटा मैलो भए फुकालेर धुन्थ्यौँ । अर्को लाउँथ्यौँ । गोठमा ओढ्नका लागि कम्बलको चलन थियो । गोठमा नाङ्गै खुट्टा हुन्थ्यौँ । हाम्रा खुट्टा बाक्ला भैसकेका थिए, काँडाले कोप्दा पनि नदुख्ने । मैले १२ वर्ष पुगेपछि मात्र चप्पल लगाएको हुँ ।
गोठमा साथीहरूसँग विभिन्न विषयमा गफिन्थ्यौँ । धेरैजसो भर्तीकै कुरा गरिन्थ्यो । कोही कोही साथीहरू भर्ती भइएन भने इन्डियामा जान्छु भन्थे । इन्डिया जानेहरू स्वदेश फर्कँदैनथे । उतै भासिन्थे ।
कुराकानीमा कसै कसैले भन्थे, ‘हैट ! जाने होइन इन्डिया त ।’
गोठ सार्ने बेला गाईभैंसी पनि खुसी हुन्थे । ती बुरुक्क बुरुक्क उफ्रिँदै अघि बढ्थे । हामीले भकारी भत्काउन सुरु गरेपछि ती बाटो तताउँथे । पशु भनेर के गर्नु, विचित्रकै मनोविज्ञान हुँदो रहेछ तिनको !
अर्को वर्षलाई काम लाग्छ भनेर हामी अस्थायी गोठका काठ र भकारी ओडारमा लगेर सुरक्षित राख्थ्यौँ ।
गोठमा बस्दा धेरै थरीका समस्या आउँथ्यो । गाउँमै छँदाको एउटा घटना सुनाउँछु है, हाम्रो गोठमा एउटा बलियो थारो गाई थियो । त्यसको नामै ‘चोर गाई ।’ त्यसका सिङ पनि डरलाग्दा । हाम्रो आँखा छलेर खेतबारीका बालीनाली चोर्न सिपालु थियो ।
चोर गाईको घाँटीमा हामीले घाँडो झुन्ड्याइ दिएका थियौँ ।
एक दिन म गोठमा मस्त निदाएका बेला ठुलो आवाजले बिउँझायो । त्यो गाई किलो उखेलेर हिँडेछ । म गोठमा नाङ्गै सुत्थेँ । लुगा लगाउन थाल्दा गाई टाढा पुग्ला भनेर नाङ्गै गाइका पछि लागेँ । म जति दौडिएँ, ऊ पनि त्यत्तिकै दौडियो ।
गाईलाई पच्छ्याउँदै जाँदा बस्तीभन्दा टाढा जङ्गलमा पुगियो । एक्लै फर्केर आउने कुरा पनि भएन, गाईले अर्काको बाली सखाप पार्थ्यो । एकातिर आमाको गाली खानुपर्थ्यो, अर्कातिर बारीको धनीलाई अर्मल (दण्ड) तिर्नु पर्थ्यो ।
रातको १२ बजिसकेको थियो होला, चकमन्न अँध्यारो थियो । गाउँका कुकुर भुकेको आवाज मधुरो सुनिँदै थियो । जाडो महिना । एक्लै थिएँ । नाङ्गै थिएँ । रुँदै पनि थिएँ ।
जसरी पनि गाईलाई फर्काउनु थियो । म गोरेटो छाडेर सोझै जङ्गलमा उक्लिएँ । बल्ल गाईभन्दा अगाडि पुगेँ । र फर्काएँ । गोठमा लगेर बाँधेपछि त्यो चोर गाईको जिउमा दुई चार पटक लौरो बर्साएँ ।
गाउँले जीवनका अनगिन्ती सम्झनाहरू छन् । कहिलेकाहीँ हामी राती अबेरसम्म बसेर गफिन्थ्याैँ । निद्रा हराएको हुन्न थ्यो, आमा उठाइहाल्नु हुन्थ्यो । हामी बाउँसो बोकेर खेतमा जान्थ्यौँ । खेतमा काम गर्दा जब ढुङ्गामा बाउँसो लाग्यो तब हातमा ठोकिन्थ्यो ।
म मनमनै भन्थेँ, ‘भर्ती भएर पैसा कमाउँछु अनि ढुङ्गा नभएको माटै माटो भएको जग्गा किन्छु ।’
घाँस काट्न जान पनि सजिलो थिएन । एक मुठा घाँसका लागि कहिले रुखमा चढ्नु पर्थ्यो त कहिले खुट्टा मात्र अट्ने भिरमा जानु पर्थ्यो । त्यहाँ न समाउने ठाउँ हुन्थ्यो न टेक्ने ।
एक मुठा घाँसको लागि ज्यानको बाजी थापियो । सम्झिँदा आङ नै सिरिङ्ग हुन्छ । मैले मात्र होइन, अरूले पनि यस्तै जीवन भोगे होलान् !
सम्झेर ल्याउँदा ती दिनहरू आफैँलाई कथा जस्तै लाग्छ । हिउँदमा अन्न लिएर भोटमा जाने चलन पनि थियो । मुस्ताङबाट अन्न बराबर नुन साटेर ल्याउँथे । तल गाउँमा ल्याएपछि एक पाथी नुन बराबर दुई पाथी अन्न पाइन्थ्यो ।
तीन जना नुन लिन जानु छ भने सबैभन्दा सानोले ओढ्ने लुगा र बाटो खर्च (खानेकुरा) बोक्थे । बाँकीले कोथोलो (बोरा)मा अन्न बोकेका हुन्थे । उनीहरू कहिले ओडारमा बस्थे त कहिले छाप्रोमा । त्यहीँ उनीहरू ढिँडो पकाएर खान्थे ।
त्यसरी नुन व्यापारमा मैले चाहिँ जानु परेन । बेनी बजारमा भने दुई पटक घिउ बेच्न गएँ । घरैपिच्छे घिउ हुने भएकाले गाउँमा किनबेच हुँदैनथ्यो, त्यसैले बेच्न बेनीमै पुर्याउनु पर्थ्यो ।
हाम्रो गोठमा सिलौटका दुइटा भाँडा थिए । एउटामा १४ माना घिउ अटाउँथ्यो । अर्को सानो थियो । त्यस्तै एउटा सानो भाँडा हामीले काफल डाँडामा बनाइएको ‘पुन सामुदायिक सङ्ग्रहालय’मा राखेका छौँ ।
हामी घिउकै भुटन हाल्थ्यौँ । घिउमा ढिँडो चोपेर खान्थ्यौँ । चैत वैशाखमा तरकारी हुन्न थ्यो । त्यति बेला घिउ बढी खाइन्थ्यो ।
त्यो समयको बेनी बजार पनि ठुलो थिएन । ढुङ्गा र खरका ससाना घर थिए । चिया, मिठाई, भाँडाकुँडाजस्ता सामग्री बेच्ने पसल थिए । त्यस्तै १३ वर्षको थिएँ होला, पहिलो पटक घिउ बेच्न जाँदा ।
‘साहुजी घिउ राख्नु हुन्छ, रुपैयाँ मानुमा दिन्छु !’
साहुजी भन्थे, ‘अस्ति मात्रै राखेको छु । धेरै बिक्दैन ।’
घिउ बेचेर म मिठाई किन्थेँ । अनि गाउँमा लगेर बेच्थेँ ।
दोस्रो पटक चाहिँ तीन मोहोर मानाका दरले घिउ बेचेको सम्झन्छु ।
गोठ संस्कृति अहिले छैन । आजभोलि घरघरमै पालिन्छ गाईभैंसी, बँधुवाका रूपमा । अचेल जङ्गलमा छाडिन्न । त्यसैले जङ्गल संरक्षण भएको छ । दिनरातै घरमै बाँधेर राख्दा मल पनि धेरै हुने नै भयो । फेरि पहिला पहिला जस्तो धेरै जग्गामा खेती पनि त गरिँदैन ।
मान्छेहरू अहिले दुःख नगर्ने भए । पहिला धेरै जग्गामा खेती गर्थे । बाली होस् या नहोस् बाँझो राख्नु हुन्न भनेर जोत्थे । अहिले आफूले भ्याउने जतिमा मात्र गर्छन् । विकासे मल, ठिमाहा बिउ र प्रविधिले गर्दा थोरै जग्गामा पनि धेरै उत्पादन हुन्छ ।
पहिलाभन्दा केही सुधार भए पनि आधुनिकीकरण भइसकेको छैन । गाउँमा व्यावसायिक बाख्रा पालनको सम्भावना छ । भैँसी पालन पनि गर्न सकिन्छ । सडक सञ्जाल जोडिइसकेकाले तरकारी उत्पादन गरे पनि हुन्छ । टनेलमा टमाटर फलाउन सुरु भएको छ । बेनीमा पुर्याएर राम्रो मोलमा बेच्छन् ।
सम्झेर ल्याउँदा गोठको जीवन ज्यादै रमाइलो थियो । गोठाले जीवनमै आनन्द थियो । ठुलो सपना पनि थिएन, त्यसैले हामी सुखी थियौँ । वास्तवमा मान्छेका जति सपना बढ्दै जान्छन् उति दुःख थपिँदाथपिँदै जाँदो रहेछ । आखिर महत्त्वाकाङ्क्षा नै दुःखको मुहान रहेछ ।
यति बेला सम्झिँदै छु, गाईहरूले उफ्रिँदै उफ्रिँदै उकाली ओराली गरेका । हामीले जङ्गलमा कन्दमुल खाएको । दिनभर काम गरेर बेलुका मस्त निदाएको । आज यो सहरमा त्यति मिठो निद्रा कहाँ पाइन्छ र !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।