सामाजिक सञ्जालमा  आफूलाई मन परेको जे पनि पोस्ट गर्न सकिन्छ । त्यसपछि त्यसलाई लाइक गर्नुपर्ने चलन छ। राम्रो नराम्रो जे पनि टिप्पणी गर्न तम्सिन्छन् हातका औँलाहरू किबोर्डमा दगुर्न। । तस्बिरसहित टिप्पणी प्रस्तुत अर्थात् अपडेट गर्नुपर्ने त दिनचर्या  भएको छ। त्यसरी मनलाई मजा दिएर हल्का पार्न सकिन्छ। नाना भाँतीका कुराले दबाउमा परेको मगजलाई  यस्तो प्रस्तुतिले धेरै सन्चो हुँदो हो ।

सामाजिक सञ्चारमाध्यमभित्र उपलब्ध स्माइली, इमोजी, जिआइएफ, स्टिकरसहित शुभ कामना, बधाई, श्रद्धाञ्जली, शुभ प्रभात, शुभ रात्रि आदिका सन्देशहरू, टिप्पणीहरू आफ्ना मित्र वर्गमा आदानप्रदान गर्नु पनि दैनिक दिनचर्यामा परेको कर्तव्य भएको छ । आफै लेख  अनि छपाऊ। आफै गीत गाऊ। सबैलाई देखाऊ । सुनाऊ। प्रतिभा सम्पन्न कलाकारहरू  जसले मञ्च पाएका छैनन्-लाई राम्रो  मञ्च बनेको छ अन्तर जालद्वारा सञ्चालित सामाजिक सञ्चारमाध्यमहरू।

कसैले कसैलाई रोक्न नसक्ने। सबैले सबैलाई बोलीले, टिप्पणीले टोक्न सक्ने मञ्च भएको छ सोसियल मिडिया। दावाग्निभन्दा द्रुत गतिमा समाचारहरू फैलिने माध्यम यो सदुपयोगमा उत्तम र दुरुपयोगमा खत्तम छ । आन्दोलनको झिल्कालाई दन्काउने यो माध्यमले सरकार थुरथुर भएरै त होला आन्दोलित र उत्तेजित आवाजलाई दबाउन इन्टरनेट सेवा नै ठप्प पार्न विवश भएको ।

भान्साघरमा तरकारी डढेको, दूध उम्लिएर पोखिएको, मध्य रात त के रात फर्लङ्गै भएको पनि थाहा हुन नदिने, एकोहोरो बनाउने, अनि बुढेसकालमा पनि जवानै छु जस्तो लगाउने यस मिडियाले गर्नु गर्यो । अर्काकी स्वास्नी मात्र होइन अर्काको लोग्नेसम्म मन पराउन लगाउने मात नै भएछ कि कसो ? र त बनिएको घर भत्किन खोज्छ । भत्किएको घर बनिन पनि खोज्छ । प्रेम पनि यसैको माध्यमबाट, ब्रेक अप पनि यसैको माध्यमबाट । बाझ्नु, रिसाउनु, खिचिएको सेल्फि साझा गर्दै थुप्रै लाइकको आशा पाल्नु, लाइक नगर्नेहरूसित ठुस्किनु, टिप्पणीहरूमा बोलचालको त हो भन्दै छन्द-कन्दको भाषामा विकार ल्याउनु, समयलाई भक्कु मार्नु बाहेक पनि सुखका, दुःखका खबरहरू, सूचनाहरू प्रसारित गर्नुमा भने सोसियल मिडिया खुबै सहयोगी सिद्ध भएको छ ।

धेरै लेखक, कवि, गायक, कलाकार चिनायो यसले। गाउन सक्नेहरूले राम्ररी गाए । गाउन नसक्नेहरूले पनि सकी नसकी भए पनि आफ्नो प्रयास देखाए । तर लाइक र टिप्पणीले अति प्रशंसित भएर नसक्नेहरूले चम्की चम्की गाएका पनि देखायो कि यसले ? राम्रोलाई राम्रो त भने तर नराम्रो र नमिठोलाई पनि राम्रो  र मिठो भनिदिएर भुतुक्कै पारेको पनि देखायो कि ? सानो टिप्पणीले ना, मन, दिमाग सबै दुखाएर हो कि केले हो सोसियल मिडियामा बहसको  बतास चलेर कतिलाई हताश बनायो ।

साेसियल मिडियामा जतिको बहस, तर्का तर्की व्यावहारिक जीवनमा पो कतिको प्रयोग र उपयोग हुन सक्लान् ? जे होस्, घरभित्रको प्राइवेसीलाई त पारदर्शक पारिदियो नै यसले। तर मनभित्रको रहस्यलाई पनि उद्घाटित गर्ने कोसिस पनि गरिएको देखियो । अधिवक्ता र पुलिसभन्दा धेरै चनाखो छु, जान्दछु- को सोचले पिल्सिएर हो कि सम्बन्धित निकायबाट सहायता नपाएर हो;  प्रमाण देखाउन र अनुसन्धान गर्न तम्सिए साेसियल मिडियामा टिप्पणीकारहरू नै । विचार अभिव्यक्त गर्न सकिने खुल्ला मञ्च भयो सामाजिक सञ्जाल । मनको घाउदेखि दिमागको दाउसम्म देखाउन सकियो यसको फाँटमा । अचिनारु परदेशी र स्वदेशी मित्रमाझ कालान्तरमा पिरती गाँसिएर यसले बिहेसम्म  गराएको  किस्सा पनि सुनियो। कति सदव्यवहारको वाहवाहीमा परे, कति दुर्व्यवहारको बरबादीमा पनि परे यसैको माध्यमबाट।

हन कति थुप्रो पृष्ठ र समूह पनि खोल्न सकिएको ? दिनहुँ लाइक गरिदिनुपर्ने आमन्त्रणहरू आउन थाले। लाइक नगर्दा घरीघरी इन्भाइट गरे। आफूलाई मनै नपर्ने कुरोलाई जबरजस्ती लाइक गरिदिनुपर्ने, टिप्पणीमा वाह, मिठो भनिदिनुपर्ने किंवा अघिबाटै उपलब्ध स्टिकरहरूको माध्यमबाट मन पराएको मनसाय व्यक्त गरिदिनुपर्ने बाध्यता नै देखा परेको जस्तो छ।  कुनै कुरो छोडेन । कुनै कुना-काप्चा रहेन। कुनै ठाउँ बेटुङ्गो रहेन। यसले गद गद पनि बनायो। मुख चिप्लिएर भतभत पनि बनायो। तर यो नभई बिहान भएन। दिन खुलेन। साँझ परेन। रात परेन। यसले गर्दा बात मरेन। साथ मरेन। याद मरेन। यसको अतिक्रमणले भने समयको विशाल साम्राज्यमाथि आक्रमण गर्यो। कस्तो इन्टरनेटको दुनियाँ !

यसको सम्मोहनले लट्टिएर कुन्नि कस्तो अवसादमा नै परेको जस्तो भयो दिमाग। समयमा खाना नभए पनि मोबाइल फोनमा इन्टरनेट र यसको माध्यमबाट गेम र च्याट चैँ समयमा हुनै पर्ने भयो । खेल्नै पर्ने भयो। बिजुली र इन्टरनेट सेवा नभएको बखतमा मात्रै सुत्ने फुर्सद पाइने भयो। हन कस्तो आविष्कार बन्यो यो इन्टरनेट ! कस्तो मोबाइल-मोह ! कस्तो सामाजिक सञ्चारमाध्यमप्रति उब्जिएको आशक्ति ! समयको मागले असमय भनेन । बूढो भनेन। तरुणी-तन्नेरी भनेन। बालक भनेन। कोही पनि भनेन। छाडेन। सबै आसक्त भए । यसको अभावमा अशक्त पनि भए। ईश्वरका भन्दा धेरै यसको भक्त पनि भए। इन्टरनेटबिना सासै थुनिएला जस्तो भयो ।

कसैले “… हुँदैन” मात्र भनिदिएपछि त्यस टिप्पणीको जवाफमा असङ्ख्य विरोधी टिप्पणीहरूको जुलुसले प्रथम टिप्पणीकारको व्यक्तिगत जीवनसम्मलाई चिरफार गरेर धेरै दिनसम्म वैचारिक द्वन्द्व चलेर भविष्यलाई लाखेस् सम्म गरिएका शब्दहरू पनि पढ्न पाइन्छ सामाजिक सञ्चारको माध्यमबाट।

अर्काको सुन्दर तस्बिरलाई आफ्नो प्रोफाइल पिक्चर बनाएर कतिले झुक्क्याउन खोज्छन् भने कतिले चाहिँ आफ्नो तस्बिरै  नराखी आफूलाई लुकाउन चाहन्छन्। झुक्क्याउनुको उद्देश्य के हो त्यो त उसैलाई थाहा होला। लुकाउनुको मनसाय पनि उसैले बुझ्ला। कि हीन भावनाले ग्रसित भएर हो किंवा  अति नै आत्मविश्वासी भएर हो त्यसो गर्न मन लागेको। सामाजिक सञ्चारमाध्यममा भित्रिनुको उद्देश्य नै आफूलाई साझा मञ्चमा उभ्याइनु हो भने झुक्क्याउने र लुकाउने रहर नै किन पाल्नु? भयग्रस्त भएर, संशय बोकेर भीडभित्र पस्नु पनि उचित हुन्छ के त ? पसिसकेपछि ठोकिन्छु र पिसिन्छु भनेर भीतियुक्त बोझ नबोकेकै बेस ! कुनै पनि कुरोको सदुपयोगले मानसिकतालाई उज्जर पार्छ र मान्छे उत्तम हुन्छ ।

तर कुनै पनि कुरोको दुरुपयोगले मानसिकतामा विकार ल्याउँछ र मान्छे खत्तम हुन्छ । अवसादको प्रकोपमा पर्नुभन्दा त्यसबाट जोगिने उपायहरू पालन गर्दै आफूलाई स्वस्थ र सुरक्षित राख्ने असल विचारधाराले ग्रसित हुँदा फलिफाप नै हुन्छ। पाप लाग्दैन। अपराध हुँदैन। विकारयुक्त मानसिकतालाई सुधार ल्याउने उपायहरू  सञ्चारमाध्यमहरूले दिएका छैनन् भन्न मिल्दैन। छन् होलान्  त्यस्ता उपायहरू। तर आधिकारिक र प्रामाणिक भएका माथि मात्र भर पर्नुपर्ने हुन्छ।

 

वैश्विक कोरोना भाइरसले सङ्क्रमित  समयमा भने इन्टरनेट सेवा र सामाजिक सञ्चारमाध्यमहरूलाई ईश्वर नै मानेर पूजा गरे पनि हुन्छ जस्तो भयो । मानिसको प्राण नै यीमाथि अडिएको जस्तो भयो । ईश्वरबिना मान्छेको जिन्दगी चल्दो रहेछ तर इन्टरनेटबिना त केही पनि नहुने भो। कोरोना सङ्क्रमणलाई रोकथाम गर्न घोषित भएको लकडाउनमा आवश्यक सेवामा संलग्न सेवकहरूबाहेक मानिसहरू सबै घरभित्र थुनिए । घरभित्र बन्दी भएको बेला इन्टरनेट सेवा ठप्प भएको भए छुकछुके र चकचके मन बोक्नेहरू गुम्सिएर कस्ता हुन्थे होलान् ? कल्पनातीत लाग्छ। स्कुल –कलेज बन्द भएर शिक्षार्जन पनि इन्टरनेट सेवाको माध्यमबाट अर्थात् अनलाइन नै गर्नुपर्दा मोबाइल फोन, ल्याप्टब, पिसी चलाउनु नै पर्यो। यसैको निहुँमा विद्यार्थी नानीहरूले मोबाइल फोनमा गेम खेल्न पाए। रमाउन पाए। पाइरहेका पनि छन्।

यस सेवाको माध्यमबाट सञ्चालित सामाजिक सञ्चारमाध्यमहरूले अनपढलाई पनि ज्ञानी बनायो। ज्ञानीलाई नानीजस्तो पनि बनायो। सुनसान कोठाभित्र बसेर एक्लै बोल्ने बनायो। तर उनी एक्लै बोले पनि  उनलाई धेरैले देखे। सुने। विभिन्न प्रकारका कार्यक्रमहरू अनलाइन सीधा प्रसारण भएर स्थानीयहरू अन्तर्राष्ट्रिय बने । घरमा बसी बसी गीत, सङ्गीत, कविता, कथा, आफूमा भएका प्रतिभाहरू विश्वलाई सुनाउन, देखाउन सकियो। लकडाउन धेरै रचनात्मक भयो धेरैका निम्ति। यसको सदुपयोगमा सबै राम्रै भयो र हुँदै छ। दुरुपयोगले बिग्रिनेहरू बिग्रिए पनि सोमरसको सोमहरूसित लागेर, तासको आसमा भएको अलिअलि पनि खर्चेर।

जे होस्, सामाजिक दूरत्व राख्ने  बानीमा परेर घरभित्रै बसेरै भए पनि स्थानीयहरू अन्तर्राष्ट्रिय बने, बन्दै पनि छन् अन्तर जाल प्रदत्त सोसियल मिडियाहरूबाट। यी माध्यमका सहायताले वैश्विक विस्तारणमा परेर कति प्रतिभाहरू स्थानीय र राष्ट्रिय मञ्च नपाई अन्तर्राष्ट्रिय बने। ग्राह्य र प्रशंसित  पनि बने। बन्ने क्रममा पनि देखिन्छन्। यसैले शिल्प वैज्ञानिक चमत्कारलाई वाह त भन्नै पर्छ।

यसै चमत्कारबाट आविष्कृत सञ्चारमाध्यमबाट आज मैले पनि बकम्फुसे कुरा गर्न पाएँ ।

वाह !