नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आम मानिसलाई हरेक दिन नुन-तेल/भुटुनकै चिन्ता हुन्छ। कसरी बिहान बेलुका त्यसको जोहो गर्ने? तर, अमेरिकामा भने व्यक्तिलाई सुत्नुअघि अनि भोलिपल्ट बिहान उठ्ने बित्तिकै पिउने कफीलाई तिर्ने डलर खल्तीमा छ कि छैन भन्ने चिन्ता हुँदो रहेछ।

कुनै समय सुनेकी थिएँ- विश्व चर्चित सैनिक शासक नेपोलियन बोनापार्टले मृत्युशय्यामा पनि एक चम्चा कफी मागेका थिए रे। झट्ट सुन्दा मलाई यो कुरा कत्ति पनि विश्वास लागेको थिएन। तर, अमेरिका आएपछि यहाँका मानिसको कफीप्रेम देख्दा मैले त्यसमा कुनै शङ्कै गरिनँ, सहजै पत्याइदिएँ।

सुरुमा त जङ्गलमा पाइने यो जाबो बिरुवाको दानाको  लत सन्सारभरिका  मानिसलाई छ  भन्ने मेरो कल्पनामा पनि थिएन। यसले लत मात्रै नभएर व्यापार र बास्ना पनि फैलाउँदो रहेछ। अनि अल्छी मानिसहरूलाई जाँगर चलाउन पनि कफी नै चाहिने रहेछ।

अमेरिकी लाइफ स्टाइलमा सबैभन्दा धेरै बन्ने गन्तव्य कफीसप नै हो। के युवा-युवती, के वृद्ध-वृद्धा, के किशोर-किशारी कफीसपमा पसेकै हुन्छन्। अमेरिकामा धेरैजसो डेटिङ पनि कफिसपमै, सेटिङ पनि कफीसपमै हुन्छन् । भनिन्छ, कैयौँ अमेरिकी रिलेसन कफीसपमा सुरु भएर कफीसपमै अन्त्य हुन्छन्।

खल्तीमा पैसा हुनेहरू त स्टार बक्स धाउँछन् र एक कप कफीमै घण्टौँसम्म सारा गफगाफ सिद्ध्याउँछन्। डंकिनडोनट्स , म्याकडोनाल्ड र अमेरिकाको चर्चित खुद्रा स्टोर सेभेन-इलेभेनमा पनि कफी खानेको घुइँचो लाग्छ। नमिठो नै किन नहोस् कफी भए पुग्छ। रिसर्च र डेटाहरुले  पुरुषहरूले कफी बढ्ता पिउने देखाए पनि कफीसपमा महिलाहरू पनि उत्तिकै देखिन्छन्।

मैले एक जना मानिसले फाटेको सट लगाएको देखेर स्टोरबाट सट किनेर ल्याई दिएँ। तर उनले धन्यवाद दिनु त के उल्टै रिसाएर मसँग बोल्नै छोडे।

केही दिनपछि मैले सोधेँ- “तिमी कफी पिउन चाहन्छौ ?”

उनी तीन बित्ता उफ्रिएर भने, “हुन्छ, तिमी पैसा तिरिदिन्छाै”। मैले दुई डलर तिरेर कफी हातमा थमाई दिएपछि उनले सयौँ जनालाई त्यो कुरा भन्न भ्याए। हरेक दिन जसो उनी मलाई धन्यवाद भनिरहन्थे। अहिले सम्म पनि मलाई उनी आफ्नै ठानेर माया गरिरहन्छन्।

आफूले पिउँदै गरेको जुठो नै किन नहोस् उनीहरू कफी पिउन पाए दङ्ग पर्छन्। मैले भेटेका धेरै मानिस बिहानै लार्ज साइजको कप कफी पिएका छन् भने लन्चको लागि पनि त्यति वास्ता गर्दैनथे। मैले रक्सी खाएर रुने मानिस धेरै जना देखेकी थिएँ। तर, अमेरिकामा कफी खाएर रुने मान्छे पनि देखेँ।

कफीको चुस्कीसँगै याद गर्ने, सम्झना गर्ने, बहकिने वा जीवनप्रतिको गुनासो गर्ने वा गर्व गर्ने मानिस पनि प्रशस्तै हुँदा रहेछन्। कफी सपमा कामले थाकेका र जीवको बोझले थिचिएका  र जिन्दगीसँग हार खाएका निराश व्यक्तिहरू पनि बेन्चमा एउटा कफीको कप समातेर घोत्लिएर बसिरहेका हुन्छन्। कफीको कप एक्लो जिन्दगीको बेस्टफ्रेन्ड हो भन्ने त भनाइ नै रहेछ यहाँ। कफी बिना त परिवार, साथी-सङ्गीसँग संवाद गर्न पनि असम्भव जस्तै छ अमेरिकी लाइफ स्टाइलमा।

कफी बनाउने र पिउने तरिका पनि व्यक्तिपिच्छे फरक फरक हुँदा रहेछन्। कोही चकलेट मिसाएको कफी खाने, कोही दूधमा मात्रै खाने, कोही मेसिनमा बनाएको मात्रै खाने, कोही चम्चाले कफीको धुलो मात्रै खाने र पछि दूध मात्रै पिउने र कफी र दूध पेटमै घुलियोस् भन्ठान्ने त कोही कफीको दाना नै किनेर ल्याएर आफैँ प्रशोधन गर्ने, कोही सुगर फ्री, कोही चिनीसहित आदि/इत्यादि।

मलाई कफीका फाइदा , बेफाइदा र सम्भावित स्वास्थ्य फाइदाबारे केही पनि जानकारी छैन। र, बेला-बेला अमेरिका त्यसमाथि पनि न्युयोर्ककाे रमाइलो हेर्न मन लाग्छ। त्यो हेर्नका लागि एउटा लत चाहिँदो रहेछ- कफी या रक्सी।

म रक्सी लिन्न। त्यसैले पनि कफी मेरो लागि निर्विकल्प जस्तै बनेको छ। त्यसैले राम्रा क्याफेमा गएर अमेरिका चियाउन पनि कफी पिउने बानी बलजफती बसाएकी छु। आखिर के हो त अमेरिका भनेर चिन्न टाइम्स-स्क्वार वा एम्पाएर स्टेट, स्टार बक्स वा क्याफे त छिर्नुपर्छ। क्याफे छिरेपछि ट्वाल्ल परेर बस्ने कुरो भएन। बहाना चाहिहाल्यो। त्यही बहानाले म पनि क्रमशः कफीप्रेममा फस्दै गएकी छु।

कफी पिउनका मेरो अरू पनि दुई वटा कारण छन्। पहिलो, दिनभर काममा मुडलाई ठिक राख्न पनि म कफी पिउँछु। दोस्रो, बेला न कुबेला झुपुझुपु आइदिने निद्रा भगाएर फ्रेस हुनलाई पनि कफीलाई सहारा बनाउने गरेकी छु।

कफी पिउने यही आदतले घरमा पनि एक दर्जन भन्दा बढी सिसाका, प्लास्टिकका, स्टिलका र बुट्टेदार थरिथरिका कफी पिउने कप भेला भैसकेछन्। दिन दिनै फरक फरक कप बोक्न मन पराउँछु म।

गर्मीमा बाहिरैबाट आइस र फिँज दुवै देखिने पारदर्शी कपमा पाइप हाली हातमा बोकेर चुस्की मार्दै हिंड्नुको मज्जा नै बेग्लै।  मैले यसलाई आफ्नो स्टाइल बनाइसकेकी छु। मेरो स्टाइल देखेर साथीहरू ईर्ष्या पनि गर्छन्। जाडोमा बाफ उडाउँदै कफी सुरुप्प सुरुप्प पार्दै मानिसहरूको अगाडि उभिएर गफ गर्दा झनै लोभिन्छन्।

मलाई इन्स्टेन्ट कफी कफी नै हो जस्तो लाग्दैन। कसै कसैले कफी खुवाउँछु भनेर इन्स्टेन्ट कफी खुवाउँदा मलाई दिक्क लाग्छ। कफी नै खुवाउनु छ भने स्टार बक्स नै लैजानु नि भन्न मन लाग्छ। एउटा कफी कल्चर नै नबुझ्नेसँग के सङ्गत गर्नु र कस्तो प्रतिफल पाइएला जस्तो पनि लाग्छ। चिनी र दूध नहालेको कफी अत्यन्तै तितो लाग्छ र एक घुट्को पनि पिउन सक्दिनँ। म चिनी र दूधकै कफी पिउँछु। मेरो कफी बनाउने तरिका भने निक्कै फरक ढङ्गको छ। यस्तो मिठो वासनादार कफी कहाँ किनेको हो भन्छन् साथी- सङ्गीहरू। म पनि के कम ? स्टार बक्सको हो भनिदिन्छु।

जय होस् कफीको।