
छोरीको लागि एउटा सरकारी कागजात भर्दा ‘सह-आवेदक’ महलमा उनको नाम लेखेपछि ‘सम्बन्ध’ महलमा नाता खुलाउनुपर्ने ठाउँमा ‘श्रीमती’ लेखियो। यो “श्रीमती सम्बन्ध” एक अजिबको सम्बन्ध रचिएको हो। श्रीमती, जहान, अर्धाङ्गिनी, स्वास्नी, जोई, घरवाली, गृहलक्ष्मी, गृहमन्त्री अनेक नामले पुकारिन्छ यो सम्बन्धलाई। अचेल त सायद ‘बुढी’ होला खुब चलेको साइनो-शब्द यो सम्बन्धको लागि। नेपालबाहिरको विश्वसँग, अङ्ग्रेजी भाषा र संस्कृतिसँग पनि नेपालीको लहरो गाँसिँदै, फैलिँदै जाँदा आजभोलि, ‘वाइफ’, ‘माइ बेबी’, ‘माइ बेटर-हाफ’ भन्नेहरू पनि भेटिन थाले।
हिन्दी, संस्कृत र नेपाली तीन भाषामा प्रखर वाराणसी निवासी पण्डित आचार्य मनोज भण्डारीले आफ्नो फेसबुकमा आफ्ना बालक छोरा मृगाङ्क शेखरकी आमालाई जन्मदिनको शुभकामना दिँदा निम्न ८० माथि नामले पुकार्नु भएको छ यो ‘श्रीमती’ सम्बन्धलाई:
मेरी सुवा , बाज, छोर्याट्टी , साई, स्वास्नी, घगरिया, कज्यानी , बाजकली, रानीचढी, मोरेली , मैनाचढी !
मेरी सहधर्मिणी, पत्नी, सधर्मिणी, पाणिगृहीती, द्वितीया, भार्या, जाया, दारा, कुटुम्बिनी , वधू, तल्प, कलत्र, क्षेत्र , परिगृहीता, परिणीता, परिग्रह , गृह, स्त्री, शृङ्गारिणी, योषणा, ऊढा, कान्ता, सती, साध्वी, तरुणी, वल्लभा, रमणा, रमणी, रामा, रमा !
मेरी प्रिया, हृदयवर्तिनी, नयनकी अमृतशलाका, प्रियतमा, प्रेयसी, प्रियदर्शना, गृहलक्ष्मी, सहचारिणी, जीवनसँगिनी, अर्धाङ्गिनी, वामाङ्गिनी, अनुकूला, वल्लभा, सहगामिनी, वनिता, हृदयनिवासिनी, सुवासिनी !
मेरी बेगम, साहिबा, बीबी, औरत, घरजोरु, तिय, घरवाली, मोहतरमा, लुगाई, दुलहिन, मेहरारु, मउगी !
मेरी स्वास्नी, आइमाई , जोई, दुलही, जहान, घरकी, बुडी, मयाँ, पियारी !
यस्ता सहस्र नाम छन् उनका। आचार्य मनोज भण्डारीज्यूका सङ्कलनबाट बेलाबेला म यी नामहरू लिँदै गर्छु मुन्तिरका अनुच्छेदहरूमा।
गायक शम्भु राई र उनकी श्रीमतीसँगको एक भलाकुसारी हेर्दै थिएँ नेपाल टेलिभिजनको ‘घामछायाँ’मा म। त्यहाँ शम्भु राईकी श्रीमतीले गरेको एक टिप्पणीमा मेरो ध्यान अडियो। हुबहु उद्धरण छैन। शब्द सारफेर परे पनि आशय थियो- यो श्रीमान् भन्ने सम्बन्ध नै अलौकिक, अचम्मको हुने रहेछ, आफ्नो बाबुआमा, दाजुभाइ, दिदीबहिनी कसैसँग नि भन्न, बोल्न नसकिने, धक लाग्ने कुरा नि सजिलै भन्न सकिने, आफ्ना मनका कुरा, योजना सजिलै खोल्न र मिलेर गर्न सकिने… बरु आफूलाई कसैले केही भने सहुँला तर श्रीमानलाई कसैले केही नराम्रो भनिदिँदा सारै चित्त दुख्ने रहेछ…।
श्रीमती जस्तो परिवारप्रति यति धेरै समर्पित, यति धेरै निस्वार्थ ढङ्गले श्रीमान्, छोराछोरी, घर-गृहस्थ, राखनधरन, बित्तो बिग्रिँदो प्रति दत्तचित्त भएर श्रीमान् चलेको कमै हुन्छ होला जस्तो लाग्छ। कम्तीमा नि ४० यताको श्रीमान् अलिक हाटहुटे पारामै चलेको हुन्छ कि। चालिस पारीको भने बिस्तारै श्रीमतीका कुरा, वेग, संवेगमा आफ्नो पनि ताल मिलाउन, कुरा सुन्न, चासो दिन थाल्ला। त्यसमा नि श्रीमान् श्रीमती हुनुअघिका आपसी सम्बन्धले पनि फेर त पार्ला। मागी विवाह गरेका र तारा झार्दिने बाचा कबोले गरेका विवाहमा आपसी सम्बन्धका आयाम फरक हुन्छन् रे। सामान्यतः हरेकलाई एक प्रकारको विवाहमार्फत जुरेकी सँगको मात्रै अनुभव हुन्छ। दुइटै प्रकारका विवाहको र सम्बन्धको अनुभव हासिल गरौँ भन्न नमिल्ने कुरा पर्यो। जीवनमा एउटा प्रकार घटित भएपछि सकियो। अरूका कुरा सुनेर आफ्नो इत्तरो विवाह प्रकारका फाइदा बेफाइदा जान्नुपर्यो। त्यसैले प्रेम विवाह गरेकाले बुझ्ने श्रीमती सम्बन्ध र मागी विवाह गरेकाले भोगेको श्रीमती सम्बन्ध एउटा नहोला सायद।
कहिलेकाहीँ घरमा ठट्टा उब्जिन्छ। यसो हुनु एक जीवित जीवन जिउनुको एक मज्जा पनि हो। एक दिन मैले भनेँ, “तिमीलाई जन्माई हुर्काई , अलिबार पालेर अब सकिँदैन है यस उप्रान्त भनेर हामीलाई जिम्मा लाएको हो, किन फुर्ती गर्नु।”
आमाबाबु अर्थात् श्रीमतीका सासूससुरा नि सोफामा बसेर टिभी हेरिरहनु भएको थियो। सुन्नुभो। कपाल पाकिसकेका छोरा-बुहारी बिचका एकले अर्कालाई उडाउने कुरा सुन्दा बाबुआमालाई नि रउस-रमाइलो नलाग्ने कुरा भएन। दुवै मुस्कुराउनुभयो। तर अब बुहारीको पालोमा के आउने हो प्रहार भनेर उत्सुक भाव र कौतूहल आँखाले बुहारीतिर मुस्कुराहट युक्त दृष्टि पात गर्नुभयो दुवैले।
“हुन्छ त्यस्तो, नचाहिँदो कुरा ! म जन्मिएँ, हुर्केँ, बढेँ तर जिन्दगी चलाउन जानिन, सधैँको डुकु भएँ। न खाजा भातको टुङ्गो भो, न सरसफाइको तालिका भो। तिमी आऊ, केही मद्दत गर, यो एकबारको जीवनमा मलाई अलिक मान्छे जस्तो भएर जिउन सिकाऊ भनेर गुहार माग्दै अर्काले जन्मएर हुर्काएकी छोरी लुरुक्क परेर माग्न आउने हुन् छोरामान्छे। त्यो नि एक्लै आउने हुती नपुगेर बाउ, काका, मामा को को लिएर आएका। साँच्ची भन्नु हो भने ‘माग्नेका सन्तान’ हुन् छोरोमान्छे। कुरा गरेर हुन्छ ठुला अहिले ?” साइबाले यति भनेपछि बुबा मजाले हाँस्नुभयो।
“हो है हो, बल्ल ताल पारिस्, ठिक भनिस्” आमाले सही थप्नुभो बुहारीपट्टि।
ख्याल ख्यालमा मरणकान्त हुने गरी भनिन् छोरो मान्छेको जातलाई उनले। मैले थप केही भनिन। किन तर्क लडाउनु पर्यो र सहधर्मिणीसँग। जिते पो कसलाई जित्नु, हारे पो कोसँग हार्नु। न जितेर गर्व हुने न हारेर सर्म हुने। यस्तै हो श्रीमतीसँगको दिनचर्या।
श्रीमती भएजस्तो त हुन्न घरमा। घर घर जस्तो हुन खाँबा खुट्टी भन्दा जरुरी त श्रीमती नै होला। चित्राले बारेको वायु झुप्रो नै पनि श्रीमतीसँग हुँदा घर जस्तै होला बरु। श्रीमती हुँदै नभएकाको नि घर त हुन्छ फेरि। यता आफू बसेको समाजमा त श्रीमती हुँदा वा बिहे गर्दा कस्तो हुँदो रहेछ त भनेर चोलाका चार आश्रम मध्येको एक ‘गृहस्थ’ सिकलाई गर्न पाइने ‘कमन ल पार्टनर’ प्रथाको सुविधा पनि हुन्छ। बाबुआमाबाट अलग्गिएर एउटा वा एउटी च्यापेर अलिबार वा पाँच, दस वर्ष सँगै खाने, बस्ने र सुत्ने तर जोई पोइ भई नहाल्ने प्रथा। कथम् भुरो जन्मिहाल्ने भएछ भने त्यो नि देखा जाएगा भन्दिने। जुन दिन दुईमा एकलाई ‘गृहस्थ’ आश्रम ठिक लाग्दैन उसै बेला लौ गरिखा म हिँडे भन्न मिल्ने। वा, ल यति वर्ष सँगै बसियो हामी बिहे चाहिँ गरम तर स्वतन्त्रतालाई बन्चरो हान्न भुरा नजन्माऔँ भन्ने सर्त। यी दुवै चलन भन्दा भिन्न आफ्नै बाउबाजेको चलनअनुसारको ‘घर-गृहस्थी’ जीवनको फन्दामा परेपछि त्यही बमोजिम श्रीमतीसहितको घर मात्रै घर देखिएको हुनसक्छ।
‘माग्न्या सन्तान’ को तोबर्का भेटिएको श्रीमतीका माथिका कुरामै फर्कूँ।
म डुकु थिएँ त श्रीमती आउनुअघि ? थिइन कसरी भन्नु। जहाँ भेट्यो एक छाक भात घरका कसैलाई नसम्झी त्यहीँ दन्काइदिन हुन्थ्यो त्यो बेला। अहिलेजस्तो दिनभरि जता जता भए नि साँझ घर पुग्नुपर्छ, भात भान्साको तालिका हुन्छ त्यो निर्वाह गर्नुपर्छ, बेलैमा सुत्नु र उठ्नुपर्छ भन्ने बन्धनबाट मुक्त थिएँ। लुगा धुने, मोजा धुने कुरा हदबन्दी नाघेर पल्लाछेउ पुगेपछि बल्ल हुन्थ्यो होला। जुत्ता मोजा खोल्दा बाह्र वर्षे छारे रोग एकै हरकमा निको पार्ने औषधिमय गन्ध चल्थ्यो होला। भान्सामा एक तिहुन गुन्द्रुकको झोल वा बन्दाको झोल भए भात मिठो नमिठो जे भए नि चल्थ्यो होला। अचार, चटनी, दाल आक्कलझुक्कल मात्रै हुने भागमा श्रीमतीको आगमनपछि यी चिज पनि साँझ बिहानैका पस्काइमा देखा पर्न थाले होला। कुकर, कराइ आदि भान्साका सर्दाममा कस र लेउको कालिकुत्ते वर्णले हेरि नसक्नु भएको हुन्थ्यो होला। बिहान भात पकाएको कुकरमा काँढा उम्रेको हुन्थ्यो त्यसैमा चामल हालेर अर्को एक छाक चलाइन्थ्यो होला। तिहुन पकाउनका तन्नम अल्छीले दाल बोडी र चामल एकै ठाउँ मथेर सिट्ठी बजाई कति चलाइन्थ्यो होला।
डेराको घर-कमराका कुनाकाप्चा कसिङ्गर लाउन, पोचा लाउन बितेर गएको थाहा पाउँदा निक्कै ढिलो भइसकेको हुन्थ्यो होला। चलेको भाषामा भन्दा ‘विन्दास एक जिन्दगी’ हो बिहेअघिको जिन्दगी ! तर उत्तिकै अव्यवस्थित र लफङ्गो पनि !
श्रीमती आएपछि दम रोकिने गरी मोजा गन्हाउने लापरबाहीयुक्त शैलीबाट मुक्त भएँ म। कारण गन्हाउने मोजा ऊबाट धुलाएर होइन। “जुत्ता खोल्दा हसक्क मोजा गन्हाउनु आफ्नो परिचयको छाप दिनु हो मानिसका अघिल्तिर, यो कुनै हालतमा सहन सकिन्न, यसको समाधान चाहिन्छ” भन्ने उनको कडा विचार र प्रतिकारले काम गर्यो। मैले जोर मोजा एकपल्ट लाएपछि धोइहाल्ने गर्न थालेँ। समाधान त्यति सजिलो थियो तर पहिले श्रीमती नभएको ‘छोरो मान्छे’ न परियो कहाँ टेरिन्थ्यो त्यति सजिलै। अहिले कोही सत बाक्सी गनाउने मोजा पहिरेर छेउछाउ आयो भने मलाई त्यो व्यक्तिप्रति पटक्कै सम्मान र सहजताको भाव आउन्न। कति बेला त्यो हिँड्ला वा आफू भागुँला ऊबाट जस्तो हुन्छ।
पकाएर, पस्किएर माझेका भाँडाकुँडा टल्किएको देखिन थाले उनको आगमनपछि। समय र मेहनत लाएर दालभात पकाउने, प्रेम र हार्दिकताले पस्किने, खानेकुरामा एउटा रमाइलो मोह स्थापित भयो। कहिले के, कहिले के मुख फेरि फेरि खान पाइन थाल्यो। नुन, तेल, चामल, दाल कहिले सकियो कहिले थपियो भेउ पाउन छोडियो। दोकानेकाबाट साग टिप्ने नि, मुला, फर्सी फत्काउने कि बैगुन भुट्ने कुनै सोच र बोझ नबोकी खान पाइन थाल्यो। अनि यी तमाम कुराको परिवर्तन ल्याउनुका बाबजुद अफिस कार्यालय पनि धानेर आफूले कमाएको दुई पैसोमा अरू दुई पैसो थपिएर चार पैसो पनि भयो।
जिन्दगीका योजना बन्न थाले। घरजम पूर्ण रूपले बसाउने। भुराभुरी जोड्ने। घर-व्यवहारका ताना र त्रिकुटिलाई यसरी यसरी ठेगान लाउने। प्राथमिकता तोकेर काम र स्रोत साधनको व्यवस्थापन गर्ने। किनमेल, जीवनशैली, आयव्ययको अनुशासन मिलाउने। एक्लै हुँदा गर्नु नपरेका र गर्ने नसक्ने धेरै थोक भए। कहाँ सकिन्थ्यो यति सबै थोक गर्न एक्लैले ! वा किन जरुरत हुन्थ्यो यो सब ? एक्लै हुँदा कहाँ थियो त्यो सब धैर्यता, लगन, दृष्टि र व्यवस्थापनको सीप।
बेगमकै ठोस सल्लाह र तत्परतामा मैले घर किनेँ। म त अर्को सालतिर केही कदम चाल्नुपर्ला सोच्दै बसेको थिएँ। जीवन सँगिनी नै हुन् नेपालमा पनि टुक्राटाक्री जोड्नुपर्छ यही बेला भनेर काइदा निकाल्ने। “बस्नु छ श्रीलङ्कामा, काम, घर, ऋण पान, खर्च, आम्दानी, शिक्षादीक्षा जम्मै भोग्नु बेहोर्नु छ श्रीलङ्कामा अनि जोड्नु छ जड सम्पत्ति पलङकामा, किन पर्यो र त्यो जरुरत ?” मलाई त यस्तो सोचले गाँज्छ बरु।
पत्नीकै खाँचो पहिचान र सल्लाहले मैले परिवारलाई सानो भएको नयाँ कार मोटर साटेर अर्को ठुलो नयाँ ‘एसयुभी’ मोटर ल्याएँ घर। दोस्रो सन्तानको योजना गर्नु पहिले सपरिवार नेपाल भ्रमणमा जाने जुक्ति र निर्णय भार्याकै थियो। म त जाऔँला नि बिस्तारै के बित्या छ र भनेर गहिराइमा नगई पातपातै उडाउँदै बसेको पो थिएँ। यी सब गुह्य खोल्दा, भन्दा हाम्रो सांस्कृतिक चरित्रअनुसार सोचिएला, ‘मोरो त जोरुका गुलाम नै रहेछ नि’ भनेर। त्यसो सोच्नु सोच खोट हो ठान्छु। घरमा धेरै कुरा उनको प्रस्ताव, सहमति र तत्परतामा हुन्छ सबैको भने केही कुरा आफ्नो निर्णयमा। झिना मसिना बाहेकका दीर्घ प्रभावी मुख्य मुख्य कुराको निर्णयमा एकल ठेल गरियो भने त्यस कामको परिणाम राम्रै भए नि खुसी मनाउन र सन्तुष्टि पोख्न उनको साथ नभए एक्लै परिन्छ। खुसी, प्रसन्नता, सन्तुष्टि भनेकै अरूको अगाडि वा दोस्रो व्यक्तिसँग व्यक्त गरेर मनाइने कुरा हुन्। एक्लैमा यो निस्सार हुन्छ। आफ्नो जोर जुलुमले मात्रै गरेको काम बिग्रियो वा परिणाम सन्तोषजनक भएन भने दुःख र थकथकी मनाउन त अझ उनैसँग गनगन नगरी सुखै छैन।
यस्तो अद्वितीय साइनो, भूमिका र हैसियत भएकी श्रीमतीलाई जन्मदिनको औसरमा शुभकामना दिऊँ न त अलिक खिपेरै भन्ने ठानिरहेको थिएँ केही दिनदेखि। वैशाख १९ पनि नजिक नजिक आउँदै थियो। उसै त समाजको ‘ट्रेन्डी चेत’ नपछ्याउने भन्न खोज्छन् आमाछोरीले मलाई त्यसमाथि ‘आफ्नै श्रीमती’को जन्मदिनको पावन घडी आउँदा पनि फेसबुकमा एक दन्को शुभकामना चढाएर लोकार्पण नगर्नु हो भने त भित्तै लाउन के बेर भनेर जोगिने दाउमा थिएँ।
लेखेपछि चानचुने लेखेर नि भएन शुभकामना। अरूका हेर्छु। नेपालीमा नपुगेर अङ्ग्रेजीमा पनि भएभरका शब्द सिँगार थोपरेर, भावना छालहरू उरालेर निथ्रुक्क भिज्दै खिप्नु खिपेर ‘हेप्ली बर्थडे’ शुभकामना फेसबुकमा भेजिपठाउँछन् प्रियका खातिर। त्यस मुन्तिर आएका ‘लाइक’ ‘कमेन्ट’ र तयारी ‘हेप्ली बर्थडे’का नागटाँस देखासिकीले रहर कसलाई नपलाओस् पनि। यस्तै कुरा खेल्दै थिए मनमा।
म असार १९ मा जन्मिए जस्तै उनको वैशाख १९ मा जन्म भयो। म जन्मिएको दिनको वा श्रीमतीको जन्मदिनको उल्लास र बढाइँ मेरै घरधुरीका मान्छेलाई र दुवैतर्फका एकाघरका परिवारलाई जति ठुलो अरू कसलाई हुने होला र ! मेरो जन्मदिनको वा उनको जन्मदिनको घडी पला किन अरूलाई थाहा दिनुपर्छ होला त ? सारा समुन्द्रवरदेखि समुन्द्र पारसम्मका शुभकामना बटुलेर साँच्ची नै दीर्घजीवी नै भइन्छ त ? यो के काउछो चलन चल्यो जसमा भाग नलिए एकलकाँटे, ढङ्ग न भाँतीको आदि भनाइ खाइने ? यस्तै यस्तै कुरा खेल्दै थिए मनमा।
शुभकामना लेख्न थालेँ:
“मेरी हृदयकी रानी, मेरी चम्पा, सुनाखरी, तिमी आयौ र यो औँसीको रातजस्तो जीवनमा घाम लाग्यो। थाहै नपाई यतिका वर्ष बित्न सघाउने, तिम्रा आँखामा हेरेर बस्दा यो मन उसै अघाउने, यस घडीमा क्षितिजको लालीको मोहकतालाई माथ खुवाउने तिम्रो अधरको लाली सम्झूँ कि, तिमी आएपछि जीवनमा मैले खाएको ताली सम्झूँ। ए मृगनयनी, ए दुई राजकुमारीकी माते, अनेक घुम्ती र मोडमा, हरेक उकाली ओरालीमा, तरेली र तेर्सोमा, दम्स्याइलो र तारे भीरमा पाएको तिम्रो साथले, मेरा हरेक सिर्जना, सुस्केरा र सम्मानमा छाएका तिम्रा हातले, म केले धन्य छैन ए प्रिय, के ले चाहिँ छैन… यस्ती मधुमयी तिमीलाई जन्मदिनको करोडौँ करोड शुभकामना।”
यति सकेर एक फेरो उनलाई देखाएर मात्रै लोकार्पण गर्नुपर्यो फेसबुकमा भनिकन छेवैमा पुगेँ चिर्कटो बोकेर। सिरानका दुई हरफ पनि राम्ररी पढी नसकी उनले चिर्कटोलाई दुई चिरा पारिन् र मिल्काइन् ‘फोहोर मलाई’मा।
के खोजेको त ? गर्दै छु त सकेको ? मैले रुनु न हाँस्नुको स्वर लाएर भनेँ।
“भावनाका छालहरू अलिक बढी नै उर्लिए ! अलिक जमिनमा टेकेर बोलौँ कि हामी ?” उनले भनेको यति हो। मैले त थप
केही बोल्नै परेन। अलिअलि शरम लागेजस्तो भएर आयो। नबोली म जमिन टेक्न करेसातिर पसेँ ! उनले शनिवारको दिन छुट्टीको सपरिवार भोजन बनाउने सुर कसिन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

