मेरी प्यारी आमा ! हजुरको माया र आशीर्वादले नै आजसम्म सकुशल नै छु । पूर्ण विश्वास छ कि हजुरको दिव्य आत्मालाई परमात्माको आशीर्वाद मिलिरहेको छ, मिलिरहोस् सदा । हजुरको लागि यही प्रार्थना त गर्न सक्छु बस, मैले यो बाहेक के गर्न सक्छु र आमा ? हजुरको त्याग र बलिदान मूल्य बराबरको त आजसम्म त्यस्तो चिज नै पाएकी छैन,जुन मेरो भनेर समर्पण गरी भार मुक्त हुन सकूँ। समाजमा बढ्दो अप्रिय घटनाहरूले गर्दा आज तिमिलाई पत्र कोर्न बाध्य भएँ आमा ।
आजै मात्र दुई दुखद घटनाहरू पत्रिकामा आएको रहेछ आमा । कस्तो संयोग दुवै मेरा बाल-सखीहरू रहेछन् ।
समाजमा नारीको आत्मसम्मान र दाइजोको विषयमा चेतना ल्याउन प्रयासरत मेरी बाल सखा तल्लो घरकी सानीले, दाइजोकै रापमा आत्मदाह गरिदिई ।
कान्ला घरकी कान्छीलाई विदेश असाध्यै मन पर्ने, विदेश गएको केटा पाएपछि विवाह गरेर सपना पूरा गर्न गएकी थी ,श्रीमानले सपनासँगै शरीर पनि विदेशमै सेलार्ई दिएछ ।
कति सस्तो र सहज भएको छ आजकाल मर्ने र मार्ने । के मर्न-मार्न यति सजिलो छ र आमा ? तिमी पनि धेरै डराउन थालेकी छौ आमा । पत्रपत्रिकामा आएको खबरलाई परिवार, आफन्त र साथीभाइले सुनाइरहँदा, जीवन भोगाइका अक्षर मात्र चिनेकी मेरी आमाको मनमा आउने विचारहरूले पक्कै नराम्रा सपनाहरू झन् बढी देखिन थालेका छन्, हरेक बिहान आफ्नै छोरीको अनुहार कल्पना गर्दै पत्रिकाका पन्नाहरू पल्टाउन मै व्यस्त हुन थालेकी छौ । आजको बढ्दो पारिवारिक हिंसा र द्वन्द्वको परिणामले, तिमी जस्ता हजारौँ आमाहरूको हालत यस्तै हुन गएको छ आमा। हरेक आमाहरूको प्रार्थना एउटै बन्न गएको छ आजकाल कि हरेक बिहानीसँगै, आना छोरीहरूको आवाज सुन्न सकौँ । किनकि आना छोरीहरूको कुन कसौटीमा कुन शब्द अन्तिम बन्छ र जीवनको अन्त्य हुन्छ भन्ने त्रासले आफ्नै घरभित्र पनि आफ्ना छोरीहरू सुरक्षित नभएको प्रत्येक आमाहरूलाई पर्न गएको छ ।
सबैको आ–आफ्नै भाग्य हुन्छ शायद। भाग्यमा भएको न टर्छ न कसैले खोस्न सक्छ, हुने कुरा त भइहाल्छ टार्न खोजेर पनि टार्न सकिँदैन नि आमा । अनि केलाई चिन्ता लिनु र ? सबै कुरा आफ्नै मुठीभित्र पनि त हुँदैन नि आमा। तिमीले पठाएको ढुङ्गा र माटोले बनेको घरभित्र नदेखिने धेरै घरहरू पनि त हुँदा रहेछन् । ती घरहरू कति बेला कमजोर बन्छ कति बेला भत्किन्छ, थाहा पनि नहुने रहेछ आमा। एकातिर मर्मत गर्न थाल्छु अर्कोतिर भत्किसक्छ । कोसिसमै छु । कहिले यता मिल्दैन कहिले उता, यो सम्बन्धको धागो पनि चिनिन नसकिने रहेछ नि आमा । मिलाउँदा मिलाउँदै ठाउँ ठाउँमा गाँठो परिदिन्छ र फुकाउन मै महिनौँ लाग्छ, कुनै सम्बन्ध यति कमजोर हुन्छ कि गाँठो बनाउन मै महिनौँ लाग्छ। खै के नमिलेर हो या भागमा परेको धागो नै कमजोर भएर हो आमा बुझ्न सकिरहेकी छैन।
यो समाजले छोरालाई खुल्ला आकाश दिएको छ तर छोरीलाई संस्कारको नाममा भारी बोकाइदिएको छ । थाहा हुन्न आमा त्यही संस्कारले कति बेला धर्तीमै थिचिन्छन्। छोराको हरेक काम र सिकाइलाई एउटा गर्वको रूपमा ठुलो मान्छे बन्छ, कुलको नाम र शान, सफल हुनेसँगको मतलब राख्ने यो समाज आज पनि छोरीका काम र सिकाइको मतलब राम्रो घरमा विवाह हुनु, विवाहपछिको कसैकी श्रीमती, भान्छा र मिठो खानासँग जोडिएको हुन्छ आमा केही बदलिएको छैन। बन्धन र सीमा पनि कति साँघुरा नि आमा, करियर छान्दा पनि कबाभ ष्लिभ कुन छ भनेर हेर्नुपर्ने, कपडा छान्दा पनि मभअभलत छ छैन हेर्नुपर्ने, अरू अधिकारका त के कुरा आमा आफ्नो अधिकारको आत्मसम्मानलाई पनि कति बेला कुल्चिन पर्छ त्यो पनि थाहै नहुने ।
हरेक छोरीहरूको विवाहपछि हुने परिवर्तनलाई स्विकार्न नसकेर हो कि बुझाउन नसकेर हो आमा, छोरीहरूलाई जन्म घर छोडेर सबै पराईका आफ्नो भनेर सम्हाल्न पनि त जति समय लाग्छ नि, त्यति नै यो जीवन खर्चिन्छ आमा। सबै थोक अरूका आफ्नो भनेर सम्हालेपछि आफ्नोपन पाउनुपर्ने होइन र ! अनजान नै सही परिवार बनाएर बसाएपछि एक्लोपन हट्नु पर्ने होइन र ? सबैका भाग्यसँगै आफ्नो भाग्य पनि फेरिनु पर्ने होइन र ? आत्मा त सबैको एउटै होइन र आमा, सबैको सुख दुखको ख्याल राख्ने यो छोरीहरूको पनि कसैलाई खुसीको ख्याल आउनु पर्ने होइन र आमा ! त्याग र समर्पणको बदलामा त प्रत्येक छोरीहरूले सम्मान र इज्जत यत्तिकै पाउनु पर्ने होइन र आमा ? किन प्रत्येक दिन एक पछि अर्को घटनाहरूमा छोरीहरू नै निमोठिएका छन्। सानै कुराले ठुलो खुसी दिने, अनि सानै कुरामा पनि ठुलै चोट लिने यो मनलाई चिन्ने धेरै छन् तर बुझिदिने धेरै कम छन् आमा। रोएर त तिमीलाई मात्र जित्न सक्ने रहेछ, यो दुनियाँ जित्न त धेरै सङ्घर्ष गर्नुपर्ने रहेछ आमा ।
बिहानीको घामको झुल्कासँगै सबै काम तमाम पार्थ्यौ तैपनि सबैको ध्यान तिम्रो दाबिएको पेटसँग हुने थिएन । प्यासले ओठ तालु सुकेकोसँग मतलब हुने थिएन । तिम्रा थकित शरीरसँग हुने थिएन । हँसियाले काटिएका चोटसँग हुने थिएन, खाना पकाउँदा पोलिएका घाउसँग हुने थिएन, तिम्रा दुखेका मनसँग हुने थिएन । हुने थियो त मात्र, आ आफ्नो लगनभित्र थालभरि पस्किएको मिठो खानासँग हुन्थ्यो होइन र आमा । आमाको हातको खाना कति मिठो बस तिमी यही सुन्न चाहन्थ्यौ । तिमी महान् थियौ आमा । के तिमीलाई मेरा जस्तै इच्छाले सताएनन् कहिल्यै, कसरी सजिलै स्वीकार गर्न सक्थ्यौ आमा । सबैलाई खुसी राख्नु, सबैको मन राख्नु र परिवेशअनुसारको रङमा आफूलाई रङ्गाउनु । त्यो तिम्रो मात्र कर्तव्य थियो, तिमीप्रतिको कर्तव्य र जिम्मेवारी कसैमा थिएन आमा। तिम्रो त्याग र बलिदानलाई तौली तौली सबैलाई भाग्यमानीको ओहोदामा राख्न सक्नुपर्ने । तिमी आफू चाहिँ कुनै अर्थमा पनि भाग्यमानी नहुनुपर्न, तिमीप्रतिको कर्तव्य परिवारमा बाँडिनु नपर्ने ! अचम्मको संस्कार चलाइएको छ है आमा ।
तर तिम्री छोरी हरेक अर्थमा भाग्यमानी हुन चाहन्छ आमा । के यो चाहनुमा पनि मेरै दोष देख्छौ र आमा ? छोरी मन न हो, सधैँ उस्तै अनि त्यस्तै खोज्छ,आमाको ठाउँमा आमा नै खोज्छ, बुबाको ठाउँमा बुबा नै अनि दाजुभाइको ठाउँमा दाजुभाइ नै । यी आँखाले तिमीले झैँ प्रत्येक दिन कान समाएर भुईँमा राख्दै कपाल बाटी गाजलको टिकाले नजर उतारिदिने आमा चाहन्छन्। मेरा अमूल्य आँसु खसाल्ने ठाउँ कुनै एकान्त होइन तिम्रो जस्तै न्यानो काख खोज्छ । अनि तिमीले जस्तै म छु नि भन्दै झप्प माया दिने मन चाहन्छ ।
तिमीले जे गर्थ्यौ त्यस्तै गरुन् भनेर यो मेरो छोरी मनले चाहन्छ नि आमा । त्यही चाहन्छ, त्यस्तै चाहन्छ अनि सधैँ सधैँ चाहन्छ आमा, मेरा यी इच्छाहरू सुनाउन पनि पाउँदिनँ ? के यसमा पनि मलाई नै दोषी मान्छौ आमा ! मेरी आमा तिमी, सधैँ मेरो हाउभाउ र अनुहार पढेरै मुडअनुसारको भइदिन्थ्यौ। त्यसैको फाइदा उठाएर कहिलेकाहीँ आफ्नो मतलब पनि पुरा गर्थेँ म, तैपनि तिमी त्यसमै खुसी भइदिन्थ्यौ । तिमी जस्तै कोही त होस् भन्ने लाग्छ आमा, सबैको मन राख्न खोज्ने यो छोरीको मन पनि राखिदिउन् झैँ लाग्छ आमा। म रुँदा तिमिलाई दुख्थ्यो, ठेस लाग्दा सम्हाल्ने क्रममा तिमि पो लड्न पुग्थ्यौ, मन त हो आमा, सबै तिमि जस्तै तिम्रो जस्तै आत्मीय निस्वार्थ माया, सबै त्यही चाहन्छ, सधैँ त्यही चाहन्छ आमा, यसमा पनि मेरो दोष देख्छौ र आमा ?
तिमीलाई याद छ आमा एक दिन मैले तिम्रो आफ्नो कुनै एउटा चिज मागेकी थिएँ । तर तिमीले मेरो आफ्नो भनेर सम्हालेका हर चिज अरूका नामका थिए र आफ्नो भन्ने कुनै चिज नपाएर मलाई दिन सकेनौ । तिम्रो आफ्नै तन, मन र शरीर पनि तिम्रो थिएन । मलाई त्यति बेलै लागेको थियो, एउटा नारी कसरी सबै अरूका भागका खुसीहरू सम्हालेर जीवन समर्पित गरिदिन्छ । तर तिमीलाई यो थाहा थिएन नि आमा अरूका भागका खुसी जति बेला पनि खोसिन सक्छ भनेर।
तल्लो घरकी सानी र कान्ला घरको कान्छीले मरेर पो के पाए त आमा । उनीहरूले के का सजाय पाएका हुन् आमा, कुन अपराधको मूल्य चुकाउन परेका हुन् आमा ! आफ्नो पहिचानसँगै आफ्नो रगतलाई बदलेर कसैको घरमा समर्पण हुनु त प्रत्येक नारी धन्यवादको पात्र हुनुपर्ने होइन र आमा ? सबैको मनबाट आभार व्यक्त हुनुपर्ने होइन र आमा ? फेरि उल्टो मूल्य चुकाउनुपर्ने त्यो पनि तिमी जस्ता आमाहरूको रगतबाट बनेको शरीर बलि दिएर।
प्रत्येक छोरीहरूले मूल्य त आफ्ना बाबुआमा, दाजुभाइ र सानैदेखि हुर्काउन, बढाउन, शिक्षा दीक्षा, संस्कार दिन लागेका आफ्ना रगतहरूले खर्चेका खर्चहरूमा चुकाउनुपर्ने हो । पराईको घरमा समर्पणले नपुगेर ज्यान पनि बलि दिनुपर्ने, के को चाहिँ मूल्य चुकाउनु परेको हो ? यो कुरा त्यति बेला पनि बुझ्दिन थिएँ आज पनि बुझ्न सकिरहेकी छैन आमा । उनीहरू मरेर कसको मन दुख्यो होला, को एक्लो भयो होला।
अहिले एउटै कुरा खेल्छ मेरो मनमा आमा, ऊ बिनाको घर सुनसान भएको छ होला कि शान्त, मन रुने बढी होलान् की आँसु रुने, नारीलाई दोष दिँदै आफन्तहरू तेह्र दिन नबित्दै फेरि अर्की बलि खोज्ला की नखोज्लान्, कुनै अर्को बाबुआमा आफ्नी छोरी बलि दिन तयार होलान् की नहोलान्, जुठो पनि नलाग्ने श्रीमानलाई कुनै पनि एक पलको पनि याद गर्लान् की नगर्लान्,अर्को बलि खोज्न कति हतारिएला, एउटा बलीको लुगा गहना अर्को बलीमा सजिएलान् की नसजिएलान्, बच्चाहरूले याद गरेर रोलान् की बिर्सेर हाँस्लान्, उनीहरूले पुज्ने देवीदेवताहरू चुपचाप बस्लान् की न्यायको लागि कुर्लेलान्, चुरा र पाउजुका आवाजले चिनेर पानी, दाना माग्ने ती अबोध जनावरहरू उसैको प्रतीक्षा गर्लान् की नगर्लान्, यो मेरो मनको एउटा खुल्दुली मात्र हो आमा तर कसैलाई केही फरक पर्दैन। जो मर्छ नि ऊ नै सकिन्छ बस । तर नि आमा…जीवन कुनै बेला यस्तो मोडमा गएर अड्किन्छ जहाँबाट जीवन सुरु गर्न धेरै गाह्रो हुन सक्छ आमा 1
हजुरकी प्यारी छोरी,
सदैव हजुरको माया मनभरि ।
लक्ष्मी पण्डित
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।