एक दिनको कुरा हो । म घरमा बसेर केही लेखिरहेको थिएँ । बाहिरबाट कसैले ट्वाकट्वाक् ढोका हान्यो । ढोका खोलेँ । एकजना नयाँ नयाँ परिचित मित्र रहेछन् ।

“अहो धर्मेन्दुजी ! कस्तो अपूर्व दर्शन पाइयो । मेरो सौभाग्य ।” मेरो अभिवादनमा प्रफुल्ल भए उनी । हामी दुवैजना सोफामा बसेर भलाकुसारी गर्न थाल्यौँ ।

उनले भने, “यो उमेरमा पनि तपाईंको लेख्ने जाँगर देखेर मलाई अचम्म लाग्छ ।”

म खुसी भएँ । मनले प्रसन्न हुँदै भन्यो, “जे होस् मेरो लेखनले सम्मान त पाएकै हो ।”

तर कहाँ हुनु नि । उनले फेरि भने, “कतैबाट दुई पैसा आउने हैन । के पाउनुहुन्छ लेखेर ? कौन सा शङ्कराचार्य बन्ने हो र तपाईं ? कस्ताकस्ता लेखक त यहाँ ठण्डाराम भएर गुमनाम मर्छन् । बित्थाको सास्ती मात्र किन बेसाउनुहुन्छ एक बारको जुनीमा ? त्यसमाथि पनि यो आरामले बसीबसी खाने बेलामा ।”

म अवाक् भएँ । के यो उपहास हो ? कि यो हतोत्साहन हो । किन्तु मलाई मन परे पनि नपरे पनि मित्रको कथनमा सत्यता थियो । मैले गम्भीर भएर सोचेँ। म जे जति लेख्छु , तीमध्ये आधा त बिना पारिश्रमिक नै लेख्छु । बाँकी आधा रचनाहरूको प्रकाशनबाट प्राप्त हुने पारिश्रमिकले मेरो गर्जो कत्ति पनि टर्दैन । राति सुतेपछि पनि मेरो मनमा तिनै कुराहरू खेल्न थाले । अनि मैले आफ्नो अन्तस्करणलाई सोधेँ, “साँच्चै म किन लेख्छु ?” फेरि मनमा एउटा शान्त र मधुर प्रवाह बहन थाल्यो । जब म लेख्छु म स्वयंलाई अरुका सामु पस्किरहेको हुन्छु । म के हुँ र के होइनको एक चिनारी । आत्मसन्तुष्टि मिल्छ । शरीरमा ऊर्जाको प्रवाह हुन्छ । चित्त सन्तुलित र शान्त हुन्छ । प्रत्येक लेखाइको समाप्तिले अर्को लेखाइको सुरुवात माग्दछ । म फेरि व्यस्त हुन्छु । म मेरा शब्दहरूसँग खेल्न थाल्छु । कहिले शब्दमाथि म विजयी हुन्छु । कहिले शब्दहरूले मलाई हराउँछन् । म हार्दा झन् खुसी हुन्छु । किनकि मलाई पराजयको स्वाद चखाउने शब्दहरू मेरै सन्तान हुन् ।

लेख्नु मेरा लागि यज्ञ हो । कुनै यज्ञ दक्ष प्रजापतिको झैँ विशाल पनि हुनसक्छ । कुनै युधिष्ठिरको झैँ वासुदेव कृष्णको उपस्थिति र तामझामले युक्त । या त्यो यज्ञ एउटा अकिञ्चन तर कर्तव्यनिष्ठ किसानको झैँ छरितो र साधारण पनि हुनसक्छ । लेखनको त्यो यज्ञ व्यासको झैँ विस्तीर्ण हुनसक्छ । कालीदासको झैँ महनीय र सुमधुर हुनसक्छ । या त त्यो जोन मिल्टनको जस्तै सुपाठ्य र कालजयी हुनसक्छ । त्यो लक्ष्मीप्रसाद देवकोटाको झैँ सुन्दर मोतीका दानाले भरिभराउ नदी हुनसक्छ । त्यो माधवप्रसाद घिमिरेको गौरी झैँ बलिन्द्र आँसु झार्दै पढ्दै गर्नुपर्ने हृदय विदारक शोकोपहार हुनसक्छ । अथवा त्यो म फुटकर लेखकका फुटकर रचनाहरू झैँ ससानो गुमनाम प्रयत्न पनि हुनसक्छ । के एउटा किसानले उसको सानो प्राङ्गणमा आयोजना गरेको यज्ञलाई महत्त्वहीन भन्न मिल्छ र ? महत्त्व यज्ञको आकार र उपस्थित अतिथिहरूको सङ्ख्यामा हुँदैन । यज्ञको गरिमा त त्यसमा निहित आस्था र इमानले निर्धारण गर्दछ । म कस्तो लेख्छु र मेरा पाठक कति र कस्ता छन् भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा हो , लेखनप्रति मेरो अटल समर्पण र निष्ठा ।

यी सबै कुरालाई पर्गेले पछि मेरो अन्तश्चेतनाले भन्यो, “तँ जे गर्दैछस् ठीक गर्दैछस् ।”

महत्मा गान्धी आफ्नो उमेरको आठ दशक पूरा हुन लागेको समयमा पनि बडो तन्मयतासाथ बङ्गाली भाषा सिक्दै थिए ।

सुकरात मृत्युदण्ड पाउन एक दिन बाँकी रहँदासम्म युवाहरूलाई जगाउँदै थिए । कसैले भन्यो, “भोलि मर्नु छ भन्ने जान्दाजान्दै पनि किन यो झमेला ?”

सुकरातको उत्तर थियो, “म त भोलिसम्म बाँच्ने सुनिश्चित छ, के तिमी भोलिसम्म जिउने निश्चित छ ?” लाओत्सु जस्तो ज्ञानले

परिपूर्ण महानुभावले समाज समक्ष आफूलाई चिनाउन असी वर्षको उमेरसम्म प्रतीक्षा गर्नुपर्यो ।

नब्बे पार गरेका भारतका प्रसिद्ध पत्रकार खुसवन्त सिंहलाई बीबीसीले, “अझै पनि केही गर्ने इरादा छ ?” भनेर प्रश्न गर्दा उनको उत्तर थियो, “यो बदमास आँखाले धोका दियो, तर दिल ताजा छ । पूरा गर्न पाउने छैन तापनि केही गर्ने तमन्ना छ ।”

निरन्तर कर्मले सफल जीवनको प्रत्याभूति दिन नसके तापनि सन्तुष्ट र शान्त जीवनको सम्भावना बढाउँछ ।

मैले ती मित्रलाई बोलाएर मिठो कफी पिलाउँदै भनें , “हेर्नुस् धर्मेन्दुजी ! जीवन एक सतत प्रवाहवान अविरल सिलसिला हो । जसरी एउटा सरिता नबगी स्थिर भएर अडिन सक्दैन , त्यसैगरी मनुष्यको जीवन पनि एक निरन्तर बग्दो सरिता हो । कर्महीन भएर त कोही बस्नै सक्दैन । म लेखेर या पढेर समय बिताउँछु । तपाईं आरामले बसेर बिताउनुहुन्छ । बस्नु पनि एउटा कर्म नै त हो । गीतामा कृष्णले भने झैँ हामी केही न केही नगरेर त जिउँदो रहनै सक्दैनौँ । चाहे किशोरावस्थामा होस् , चाहे जवानीमा होस् या वृद्धावस्थामा नै किन नहोस् , मनुष्य किमार्थ कर्महीन हुँदैन ।

मलाई लेख्नु या पढ्नुमा आनन्द लाग्छ , तपाईंलाई आरामले बस्नुमा । कसैलाई भान्सामा काम गर्न आनन्द लाग्ला । कोही फूलबारीमा रमाउला । कोही राजनीतितिर लाग्ला र कोही सामाजिक काममा । हिजो तपाईंले मलाई सोध्नुभयो , ‘किन लेख्नुहुन्छ ? लेखेर के पाइन्छ ?’ आज म तपाईंलाई सोध्दै छु किन आरामले बस्नुहुन्छ ? बसेर के पाइन्छ ? कस्ताकस्ता त ठण्डाराम भए भन्दैमा अरु सबै निठल्ला भएर बस्ने ? त्यसो हो भने त द्वैपायन व्यासपछिका अरु कसैले केही पनि नलेख्नु पर्थ्यो । प्रेम , शृङ्गार र अनुरागका कुरा त उहिल्यै कालिदासले लेखिसकेका थिए , फेरि देवकोटाले शाकुन्तल लेख्नुको प्रयोजन के थियो ? प्रवचन जति ओशोले नै भरमार दिइसकेका थिए । अब फेरि त्यो स्तरको प्रवचन दिन सक्ने व्यक्ति जन्मिन सयौं वर्ष लाग्न सक्छ । त्यो सबै जान्दाजान्दै पनि दुनियाँ चुप लागेर बसेको छैन । मानिसहरू अहिले पनि अविरल बोलिरहेका छन् । पेले जस्तो फुटबल खेलाडी बन्न दुष्कर छ भन्ने कुरा कसलाई थाहा छैन ? परन्तु यस जगतको फुटबल जगत फुटबल परित्याग गरेर बस्न त सक्दैन ।”

मैले निरन्तर तर्क गरिरहेको थिएँ , परन्तु धर्मेन्दु कत्ति पनि गलेनन् ।

अनि म भाषण गर्न थालेँ, “म हिमालय पर्वतको मौनलाई अनुवाद गर्न लेख्छु । म पवनको शीतलता र अग्निको ज्वालालाई शब्द दिन लेख्छु । म मुर्दाको एकोहोरो आँखाको सन्देश लेखिदिन सक्छु । म शिशुको मुस्कानलाई कवितामा पोखिदिन सक्छु । म ममतामयी माताको आँसुलाई वाणीमा अनुवाद गर्न सक्छु । मेरो कलमले लाटोलाई वाचाल बनाउँछ । म पिताको व्यक्तित्त्वलाई धौलागिरी झैँ धवल र उच्च बनाउन लेख्छु । म मेरो जन्मभूमिको शिरलाई बादलभन्दा माथिसम्म उठाउन लेख्छु । म मेरा शब्दको कुठारले बलात्कारी पुरुषको पौरुषलाई चकनाचुर पार्न लेख्छु । म नारीको अस्मिता उचाल्नका खातिर कलमरूपी होस्टे चलाउँछु । म निराशातिर ढल्केका वृद्धवृद्धाको चित्तलाई जीवन्त तुल्याउन लेख्छु । म परदेशिएको खसमको प्रतीक्षा गर्ने रमणीका भिजेका आँखालाई शब्द दिन लेख्छु । म अविवेकी शासकको कुकर्मको पर्दाफास गर्न लेख्छु । सबैभन्दा ठूलो लडाइँ आफ्नै अस्तित्वको लडाइँ हो । म मेरो अस्तित्वलाई अटल र सारभूत बनाउन लेख्छु ।”

“मैले मेरा कतिपय डायरी च्यातेर फालेको छु । त्यहाँ अङ्कित अक्षरहरू मबाहेक अरूले पढ्ने लायक थिएनन् । किनकि मैले त्यहाँ जीवनका भयानक सत्यहरू ओकलेको थिएँ । हाम्रो सभ्यता अझै पनि सत्यसँग भयभीत छ । हाम्रो संस्कृतिले मनमा उठेका प्रत्येक तरङ्गलाई लिपिबद्ध गर्ने स्वीकृति दिन्न । सभ्यता एउटा त्याग्नै नसकिने बन्धन हो मित्र ! पालना गर्नै पर्ने बन्धन । म स्वतन्त्र जन्मेको थिएँ । परन्तु जुन दिन मेरो नामकरण भयो , त्यसै दिनदेखि म पिञ्जरामा छु । म सभ्यताको बन्धक हुँ साथी ! सभ्यताको बन्धक । त्यसैले हे मित्र धर्मेन्दु ! म मेरो सभ्यताले स्वीकार गरेको हदसम्म मात्र लेख्न , बोल्न र भोग्न सक्छु । मेरा केही डायरीहरू हराएर गए । ती हराएर समाजलाई कुनै नोक्सानी भएको छैन । किनकि त्यहाँ कुनै सुन्दर अभिव्यञ्जना थिएन । कुनै उच्चस्तरको साहित्य थिएन त्यहाँ । परन्तु ती डायरी हराउँदा म धेरै दिन रोएको छु । किनकि ती मेरा प्यारा सन्तान थिए ।”

मेरा मित्र धर्मेन्दु पनि कम्ताका त कहाँ थिए र । ‘आरामले बसेर खान्छु’ भनेर धक्कू लगाए पनि उनमा आरामले बस्न सक्ने धैर्य फुट्टी थिएन । बरा धर्मेन्दु कहिले चिया पसलमा , कहिले भुराहरू खोरखोरे खेलिरहेको खालमा , कहिले टोले राजनेताहरूको समृद्धि अभियानको कोठे लफ्फाजीमा र कहिले रक्सी पसलको बाहिर राखिएको बेवारिसे टुलमा बसेका देखिन्थे । उनी मकहाँ पनि बराबर आउन थाले । एकजना अग्रज कविको एउटा उक्ति निकै याद आइरहन्छ मलाई, “कवि हुनु बडो कठिन काम हो बाबै !”

उनी आउन त थाले , तर तेवर भने उस्तै । जति नै ताने पनि मरे पुच्छर सोझो नहुने । एक दिन सोधे , “तपाईं को हो भन्ने त चिनेँ , परन्तु तपाईं के हो भनेर चिन्न सकिनँ भागवतजी ।”

म त रिसाउन प्रतिबन्ध लागेको मान्छे । भनिदिएँ , “म कुब्जाको हातको शीतल चन्दन हुँ । लगाइदिऊँ ललाटमा ? तपाईं यहीँको यहीँ वासुदेव कृष्णमा परिणत हुनुहुनेछ ।”

धर्मेन्दुलाई रिसाउनमा प्रतिबन्ध थिएन । किन्तु उनी बरु हठी थिए , परन्तु क्रोधी थिएनन् । उनी मलाई हेरेर मन्द मुस्कुराइरहे ।

हामी कहिलेकाहीँ सँगै घुम्न निस्कन्थ्यौं । किन हो थाहा छैन , उनले मलाई लेख्न निरुत्साहित गरे तापनि बोलेको चाहिँ ध्यान दिएर सुन्थे । म सुरु गरिहाल्थें , “संसारका सबै राजाको इच्छा चक्रवर्ती सम्राट बन्ने हुन्छ । प्रत्येक प्रतिभाशाली विद्यार्थी कक्षामा प्रथम हुन चाहन्छन् । यहाँ प्रत्येक लेखक म्याक्सिम गोर्की हुन चाहन्छन् । यहाँ प्रत्येक कवि वाल्मीकि कहलिन चाहन्छन् । प्राचीन कालमा सुन्दरी कन्याहरूका लागि स्वयंवरको अवसर प्रदान गरिन्थ्यो , ता कि उनी आफूले मन पराएको युवकको गलामा वरमाला अर्पण गर्न सकून् । त्यहाँ एक से एक युवकहरू मालाको अभिलाषा राखेर गर्दन थाप्न जान्थे । किन्तु मौका पाउने एक मात्र हुन्थ्यो । हेर्नुस् धर्मेन्दुजी ! म पनि त्यस्तै त हो नि । एउटा भनाइ छ , ‘काव्य शास्त्र विनोदेन कालो गच्छति धीमतां’ अर्थात बुद्धिमान मानिसको समय उत्तम काव्य र शास्त्रहरूको चर्चामा बित्दछ । तपाईं र मैले पनि किन त्यस्तै सार्थक कुरामा बाँकी जीवन नगुजार्ने ? अर्को भनाइ पनि छ , ‘किं करिष्यन्ति वक्तार:, श्रोता: यत्र न विद्यते’ अर्थात कोही सुन्नेवाला नै छैन भने भाषण दिनुको के प्रयोजन ? आज जसरी मैले भनिरहेका कुरा तपाईंले ध्यान दिएर सुनिरहनु भएको छ , त्यसैगरी मैले सिर्जना गरेका रचनाहरू अध्ययन र मनन गर्ने पनि कोही न कोही अवश्य छन् । परिश्रम कहिल्यै खेर जाँदैन धर्मेन्दुजी ।”

मित्र धर्मेन्दु गम्भीर देखिए ।

एक दिनको कुरा हो । हामी अघि बढ्दै गयौँ । अलि पर सानो चउरमा चारजना केटाहरू झुम्राको फुटबल खेलिरहेका थिए । हिँड्दा हिँड्दै धर्मेन्दु टक्क अडिए ।

उनले भने, “एकछिन यिनीहरूको खेल हेरम् है ।” त्यस्तैमा एउटा केटाले झुम्राको बल हानेर गोल गर्यो । केटो खुसीले झुम्यो । बल हातमा समातेर चुम्यो । अनि फेरि माथि आकाशतर्फ हेरेर ईश्वरप्रति आभार प्रकट गर्यो । त्यहाँ हामी दुईजना बाहेक अर्को एक मात्र दर्शक थियो । केटाको गोललाई प्रोत्साहन दिन उसले थपडी बजायो र भन्यो, “गुड जब गुड जब !”

धर्मेन्दुले थपडी बजाए । मैले पनि उनलाई साथ दिएँ ।

मैले भनें, “मेरो लेखन पनि यही बालकको गोल जस्तै हो मित्र ! मलाई पढेर खुसी हुने पनि कोही न कोही अवश्य छ ।’ उनले मलाई अपरिचितले झैँ जिज्ञासापूर्वक हेरिरहे । अब बोल्ने पालो धर्मेन्दुको थियो । उनले भने , “उनीहरू कसैलाई देखाउन र खुसी पार्न झुम्राको फुटबल खेलेका थिएनन् । त्यो केटोले कुनै रेकर्ड राख्न र पुरस्कारका खातिर गोल हानेको थिएन । उसलाई त कोही दर्शक छ भन्ने हेक्का पनि थिएन । उनीहरू आफू खुसी हुन खेलिरहेका थिए । उसले आफू खुसी हुन गोल हानेको थियो । स्वनामधन्य । स्वान्त सुखाय । परन्तु त्यो खेल हेर्ने र ताली बजाउने पनि कोही न कोही अवश्य उपस्थित थियो त्यहाँ ।”

फेरि हामी एउटा चौतारीमा पिपलको छहारीमुनि बस्यौं । एउटा बुढो काग ससाना छेस्का र लहराहरू जम्मा गर्दै थियो । सायद गुँड बनाउनेछ उसले । सायद सृष्टिको कठिन जिम्मेवारी अझै निर्वाह गर्नेछ उसले । अनुभवी कागलाई थाहा छ , वृद्ध भइयो भनेर हाँगामा आरामले बस्यो कि तल भूमिमा खस्यो । फेरि ऊ पूर्वाभिमुख भएर बस्यो । उसको चुच्चो आँ गरिरहेको थियो । काग सकेसम्मको बल लगाएर चिच्यायो , का का का का ! सायद मधुर मिलनको आशामा कसैलाई बोलाइरहेको थियो ऊ । बुढो कागको भङ्गिमाले भनिरहेको भान पर्थ्यो , चरैवेति चरैवेती ।

उमेर कर्मको अवरोधक होइन , बरु निर्धारक हो । म शब्दको जादुगर होइन , प्रेमी मात्र हुँ । शब्दका जादुगर साहिर लुधियानवीको एउटा किताब छापियो । एक हजार थान किताब बेचेको प्रकाशकले बडो सङ्कोच मान्दै लिनुहोस् तपाईंको रोयल्टी भन्दै साढे बैसठ्ठी रुपियाँको चेक दिएछ ।

साहिरको भनाइ थियो, “तपाईं रकमको गणिततिर जानुभयो । तपाईं परिमाणतिर जानुभयो । यो साढे बैसठ्ठी रुपियाँ मेरो जीवनकै अमूल्य निधि हो ।” मेरो पनि भन्न लायक कमाइ छैन । तर जीवनको यो मुकाममा लेखेर या बोलेर आर्थिक या मानसिक जे कमाइ गर्छु , मेरो भरिलो जवानीको कमाइभन्दा धेरै गुना मूल्यवान छ ।

लेखनले मलाई धेरै कुरा नदिए तापनि निरन्तर नवीकरण गरिरहेको छ । समय परिवर्तनशील छ । समयको प्रवाहसँगै म पनि अविरल रूपमा परिवर्तन हुँदै जानेछु । आज म जे छु भोलि त्यही रहने छैन । म मानसिक र आध्यात्मिकरूपमा सतत उन्नत या अवनत हुँदै जानेछु दिन प्रतिदिन । मेरो काम अरुलाई खुसी पार्नु होइन । मलाई कसैको सहानुभूतिको दरकार पनि छैन । म मेरो सिर्जनालाई आजीवन सार्वजनिक गरिरहनेछु बस् ।