प्रकृतिको नियमअनुसार मानिस जन्मेपछि शैशवावस्था, बाल्यावस्था, किशोरावस्था, युवावस्था, प्रौढावस्था र बृद्धावस्था हॅँदै संसारबाट विदा हुने सबैको नियति हो । विदा हुनु भन्ने शब्द त मिठो होइन । तथापि त्यहाँसम्म पनि नपुग्दै दुर्भाग्यवश केही मानिसहरु विदा हुन्छन् । तिनको विषयमा अलग्गै चर्चा गर्न सकिन्छ । यहाँ औसत आयुको हिसाबले र निवृत्ति सम्बन्धी कानुनी व्यवस्थाअनुसार मात्र नभएर एकसरो सन्तान हुर्काइ सकेका घर परिवारका जेष्ठ सदस्यसँग सम्बन्धित रहेर सार्थक बुढ्यौलीका बारेमा समाजमा सुनिएको, देखिएको र भोगिएको आधारमा केही चर्चा गर्ने जमर्को गरेको छु ।

बुढ्यौली सामान्यतया: निम्न प्रकारका हुन सक्छन् ।

सकृय बुढ्यौली : आफूलाई परिवार र समुदायका लागि केही न केही गर्न लागिरहने व्यक्तिको बुढ्यौली ।

स्वास्थ्य बुढ्यौली : योग, खानपान आदिमा सतर्क रहेर उमेरअनुसार स्वास्थ्य रहेर परिवार, समाज र राष्ट्रको बोझ नबन्ने र सकेको सघाउने स्वास्थ्य बुढ्यौली ।

सुरक्षित र सत्कर्म सहितको बुढ्यौली : वित्तीय रुपमा सुरक्षित, सत्कर्मसमेत गर्न सक्ने बुढ्यौली ।

निष्क्रिय बुढ्यौली : माथि उल्लेख भए बाहेक सबै सुचकहरु नकारात्मक मात्रै रहेको निष्क्रिय बुढ्यौली हो । जो अनपेक्षित एवं समाज र परीवारमा ग्राह्य नहुन सक्छ । यी सूचकहरुका केही सकारात्मक कुराहरु यो आलेखमा बुँदागत रुपमा कोट्याउने प्रयास गरेको छु । आशा छ, यसले हाम्रो जस्तो समाजलाई केही योगदान पुग्ने विश्वास लिएको छु । आफूले परिवारलाई यी कुरा दिन सकिन्छ कि ।

===

बोलीमा मिठास :~

सबै कुराको निर्क्यौल त होला वा नहोला, तर धेरै कुराको निर्क्यौल बोलीले नै गर्दछ । कतै भनिएको, सुनिएको थियो – विस्तारै बोल तर मिठो बोल (धिरे बोलो ! मिठा बोलो) । तसर्थ परिवारको मूलीले मिठो वचन र सबैलाई यथायोग्य माया, ममतासहित बोल्नु र सबैप्रति विवेक राख्नु आवश्यक छ । किनकि आफू बाहेकका सबैले आफूलाई सुनेर नै व्याज सहित फिर्काउने त हुन् नि .. ! भिरको पारीपट्टि भित्ताबाट भिरतिर फर्केर कराएको आवाजको प्रतिध्वनि जस्तै त हो नि बोलीको प्रभाव भनेको । अनि त तपाईं हामीलाई मन नपर्ने बोली वचन अरुलाई कस्तो होला ? तसर्थ बोलीमा मिठास आवश्यक छ । ‘तेरा बाबुको खप्पर’ नै भन्नु पर्छ र ? ‘हजुरका पिताजीको शिर’ पनि त भन्न मिल्ला नि ..!

बोलीमा नियन्त्रण :~

बोलीमा मिठासले मात्रै पुग्दैन । निती श्लोकमा भनिएको ‘मधु तिष्ठति जिह्वाग्रे हृदयेसु हलाहल’ वा ‘मुखमा राम राम बगलीमा छुरा’ भनेझैँ बाहिरी मिठास मात्र नभई भित्री हृदयबाटै मिठो बोल्नु उचित होला । यस सन्दर्भ मान्संत कबिरले भनेको यो कुरा पनि सान्दर्भिक लाग्छ । “शब्द सम्हारे बोलियो, शब्दका हाथ ना पाव ! एक शब्द ओखती करे, दुसरा करे घाव !” अथवा शब्दहरु हात पाउ नभएका वस्तु (हतियार पनि) हुन् । कुनै शब्दले घाउ पार्छन् भने कुनै शब्दले घाउ निको पार्छन् । अनियन्त्रित बोल्नु भन्दा नबोलेको राम्रो हुन्छ । त्यसैले त हाम्रा पुर्खाले भनेका रहेछन् – जाने बोल ! नजाने जिह्वाको मोल !

व्यङ्ग्यात्मक भाषाको प्रयोग :~

घरमा वा परिवारमा आफ्नो मर्यादा घटाउनमा सबैभन्दा धेरै भूमिका व्यङ्ग्यात्मक बोलीको रहने गरेको देखिन्छ । ठाडो गाली गरेको मनको घाउ भन्दा व्यङ्ग्यको घाउ गहिरो हुन्छ, लामो समय मनमा दुख्छ । गाली मैदालको तिखो काँडो हो, जसले घोच्छ तर तान्दा डोब मात्र बनाएर निस्किन्छ । समयक्रममा डोब पनि निको हुन्छ र खत पनि मेटिन सक्छ । तर व्यङ्ग्य भनेको त्यस्तो कोप्रो परेको वयरको काँडो हो, जसलाई ननिकालेर पनि धर छैन र निकाल्दा बनी चोक्टै तानेर निकाल्छ र ठुलो घाउ बनाउँछ । खत मेटिन त गाह्रै छ ।

सन्तुष्टि :~

यो प्रसङ्ग जीवनमा आफूले गरेका कामको मूल्याङ्कन गरी थप केही गर्न सकिने वा नसकिने निष्कर्ष निकालेर गरिने सन्तुष्टि वा असन्तुष्टिको होइन । त्यो हरेक व्यक्तिको निजी कुरा हुन सक्छ । यस आलेखमा उठान गरिएको कुरा भने आफूले अहिले तत्काल परिवारमा उपलब्ध हुन सकेको सुविधाबाट मिल्ने सन्तुष्टि वा असन्तुष्टिको हो । यस्ता विषयमा यो भएन वा त्यो भएन भनेर असन्तुष्ट हुनुभन्दा सन्तुष्ट रहेर आफूले सकेको थप केही नयाँ गर्न सके राम्रो हुन्छ । सन्तुष्टि खुसीको बिम्व पनि हो । घरका मूली वा जेष्ठ सदस्यको खुसी भनेको आफ्ना मातहतका नयाँ पुस्तामा खोज्नु पर्छ । उनीहरु हाम्रो क्रियाकलाप वा कतिपय कुराहरुबाट सन्तुष्ट नहोलान् । तर त्यो ठिक होइन भने यति कारणले यो ठिक हो र यो होइन भनेर चित्त बुझाउनु पर्छ । अन्यथा आफू अघि नसर्नु उचित हुन्छ । नत्र आध्यात्मिक जीवनशैली जीउन नसिकेको, नचाहने आजको वैश्य युग (business era) मा परिवार विघटन हुने वा आफू नै आफ्नो परिवारबाट अलग हुने खतरा बढ्न सक्छ । तसर्थ आफ्नो परिवारलाई जोड्ने र सार्थक जीवन जिउन चाहने सबैले यो कडीको पालना आवश्यक छ ।

घरको गोपनियता :~

घर परिवारको गठनलाइ हेरेर नै समाजको, राष्ट्रको संरचना बनाइएको हो । जसरी राज्यको, सरकारको र सिङ्गो देशको संगठन र विघटनमा गोपनियताको महत्त्व हुन्छ, ठिक त्यसरी नै परिवारको संरचना बलियो हुन्, छरछिमेक र आफन्तबाट नहेपिन घरायसी गोपनियताको ठुलो महत्त्व हुन्छ । घरमा तातो चिसो कुरा पनि हुन्छ । तर यस्तो कुराहरु घर बाहिर नलैजानु सबैभन्दा बुद्धिमानी हो । अझ भनौँ भने घरका जेष्ठ सदस्यले त यो गर्न नसुहाउने हुन्छ । घरभित्रका कुरा घरघरै पुगेर सुनाउँदै हिँडेर कति घर परिवार विघटन भएको कुरा यो पङ्क्तिकार आफैँले देखेको हो । घरमा परिवारका कुनै सदस्यको वा जेष्ठ सदस्यको पनि अर्घेल्याईं हुन सक्छ । अगुल्टो पनि हुरुर्र बाल्न ठोस्नु पर्छ भन्ने कुरा मनन गर्नु पर्छ । घर परिवार हो, हिँड्दा ठेस लाग्ने र बोल्दा छिटा पर्ने हुन सक्छ । यिनै कुरा बोकेर सञ्चार र समाज जोड्नु अनि यो भएन त्यो भएन भन्दै हिँड्नु उचित हो र ? तसर्थ सबैले घरायसी र पारिवारिक गोपनियता कायम गर्ने हो भने परिवार सदा एक ढिक्का रहन्छ । परचक्रीले केही अनिष्ट गर्न सक्दैनन् ।

घरको समस्या घरमै समाधान :~

घरमा साना वा ठुलाबीच मतभेद हुन सक्छ । किनकि सबैको फरक फरक विचार हुन सक्छ । परिवार भनेको जुँगाको लडाइँ गर्ने र मपाईंत्व प्रदर्शन गर्ने थलो पनि त होइन । कतिपय परिवारमा साना तिना घटनाले मान, प्रतिष्ठा मात्रै होइन, ज्यानैसम्म गएको दखिन्छ । कुनै पनि घरायसी कुरा परिवार आपसमा बसेर समाधान गर्ने वा आफ्नोभन्दा राम्रो कुरालाई आफूले पनि सहमति जनाएपछि सहज समाधान हुन्छ । तथापि कहिलेकाहीँ यस्तो छलफल वा तत्काल सहमति नभएर समस्या केही समय कचमरिन सक्छ । यस प्रकारको सहज परिस्थिति बन्न बनाउन पनि कहिलेकाहीँ अलिक लामो समय लाग्न सक्छ । यस्तो कुरामा सचेततापूर्वक ध्यान दिनु पर्छ । यस्तो बेला पर्ख र हेरको तरिका अपनाउनु उचित हुन्छ । तात्तातो खाएर जलेरै मरूँजस्तो गर्नु हुँदैन ।

पति पत्निको सुसम्बन्ध :~

पति पत्निको सम्बन्ध भनेको प्रेम र समर्पणको पर्याय हो । आफू त हुकुम चलाउने वर्गको हो । मेरो पति वा पत्निले आफ्ना सबै खाले आग्रह मान्नै पर्छ, म यो परिवारको सर्वेसर्वा हुँ भन्ने विचार सामन्तवादी युगको सोचाइ थियो । एकले अर्कालाई नमान्ने, आदर नगर्ने, भावना नबुझ्ने, माया नगर्ने, सहयोग नगर्ने, मर्म नबुझ्ने हो भने यो सम्बन्ध दिगो हुन सक्दैन । सन्तानले पनि के सिक्छन् ? हामीले निर्माण गर्न खोजेको परिवार र समाज नै कस्तो हो ? कस्तो roll model बनाउन खोजेको ? यस्ता प्रश्न उठ्नु स्वभाविक हो । अझ परिवारका जेष्ठ दम्पतिलाई परिवार,आफन्त र छरछिमेकीहरुले पनि नियालिरहन्छन् । तसर्थ भित्री मनबाटै सुसम्बन्ध निर्माणमा लाग्नु पर्छ । यस्तो सुसम्बन्धको संस्कृतिले दुनियाँमा भयावह रुपमा बढिरहेको पारपाचुके वा सम्बन्धविच्छेद (Divorce) जस्तो समस्या पनि घटाउन यसले सहयोग पुग्नेछ । फेरि मिलेका पति पत्नि भए छिमेकी, नातागोता, आफन्तहरुले उचाल पछार गर्न नसक्ने मात्रै होइन, बरु प्रशंसा पनि गर्न बाध्य हुन्छन् । अरुले पनि केही न केही सकारात्मक कुरा सिक्न सक्छन् ।

प्रेम र समर्पण :~

जेष्ठ सदस्यले आफ्ना लागि भन्दा पनि आफ्नो परिवारका लागि बाँकी जीवन समर्पण गर्नु पर्दछ । प्रेम, समर्पण र करुणाले परिवारलाई अगाडि बढ्न मद्दत गर्दछ । जेष्ठ सदस्यहरुले रिस, घृणा, आक्रोस जस्ता कुराहरु पैतालामुनि कुल्चेर कुखुराको पोथीले चल्ला छोपेर राखेजस्तै परिवारको सुरक्षाकवच बन्न सक्नुपर्छ । यसले आफूलाई मात्रै होइन बरु सिङ्गो परिवारलाई महान र समाजको नमुना बनाउन सहयोग पुग्छ । प्रेमको अढाइ अक्षर व्यवहारमा उतार्न सक्नेलाई पण्डित भनिन्छ । सन्त कविर भन्छन् : पोथी पढि पढि जग ढुँडा पण्डित मिला नही कोय, ढाइ आष(ख)र प्रेमका पढै सो पण्डित होय ॥ ठुला ठुला ग्रन्थ पढेर पण्डित हुन्छन् भने पनि संसार घुम्दा कतै पण्डित पाइएन, बरु प्रेम शब्दको अढाइ अक्षरको रहस्य जस्ले बुझ्यो ऊ पण्डित (विद्वान) हो । परिवारमा प्रेम र परिवारप्रतिको समर्पणको त्यो विद्वता हामीसँग अझ भनौँ भने परिवारका जेष्ठ सदस्यसँग त हुनु राम्रो हो ।

संस्कार स्थापना र पालना :~

परिवारका जेष्ठ सदस्यहरुले नगरी नहुने कुरो भनेको आफ्ना परिवारलाई, परिवारका सदस्यहरुलाइ संस्कारयुक्त बनाउने हो । यसका लागि हामी त यस्ता हौँ, उस्ता हौँ भैँसी गोठ पालेका बाजेले कुहिनोबाट चुहाउँदै घिउ खान्थे, भनेर इतिहासको मरीकुस्त बखान गरेर हुँदैन । आजको उपभोक्तावादी, उपयोगवादी संस्कृतिको युग (वैश्ययुग), विभिन्न कारणले हुने बसाइँ सराइ (migration)ले बनाएको मिश्रित जाति एवं मिश्रित धार्मिक अवस्थितिको समाज निर्माण र विश्वव्यापीकरण (globalization) ले घर गरिरहेको वर्तमान समयमा रुढिग्रस्त कतिपय मान्यताको अलावा धर्म निरपेक्ष मानवतावादी संस्कारको स्थापना महत्त्वपुर्ण काम हो ।

मनुष्य र मानवमा मनुष्य शब्दले दुई पाउले हिँड्ने, बुद्धि भएको, संसारका अन्य जैविक प्रजातिहरु, जस्तै : पशुपक्षी, जलचर, कीट, सरीसृप आदि सरह एउटा जीव हो भनेर मात्र परिचित गराउँछ । तर मानव हुनु भनेको मनुष्यमा पनि एक विशिष्ट प्रकारको गुण हो । धर्म, कर्म, शर्म, संस्कृति सबैको फरक फरक होला । तर मानवता सबैको लगभग समान हुन्छ । त्यसको स्थापना गर्न परिवारका जेष्ठ सदस्यको भूमिका प्रमुख हुन्छ । तपाईं जे गर्नुहुन्छ नि नानीहरु त्यही गर्छन् । आजका बालबालिकालाइ यसो गर … उसो गर … भनेर वा आदेशात्मक तरिका पालन गराउन गाह्रो छ । तसर्थ जेष्ठ सदस्यले र घरका सबैले आफैँ पालना गरेर नानी, बाबुहरुलाई सिकाउनु र बानी पार्नु पर्छ ।

आफ्नो कुरा मनाउन दवाव नदिने :~

आफूलाई लाग्न सक्छ कि यो काम वा यो कुरा गलत हो । तर कैलेकाहीँ आफूलाई लागे जस्तै सबै गलत नहुन सक्छ । हाम्रो मानसपटलमा टाँसिएको पुरातनको चस्माले त्यो देख्न नसकेको हुन सक्छ । सामाजिक संस्कारमा सही वा गलत भनेको गणितीय स्वयं सिद्ध तथ्य जस्तै सदाकाल एकै हुँदैन । समयक्रममा फेरिएको हुन्छ । जस्तै : कुनै समय माथमा सिन्दुर नलगाएका बालिका परचक्रीले लुट्ने डरले बालविवाह अनिवार्य थियो । आज बालविवाह अपराध मानिन्छ । जातीय छुवाछुत सामाजिक अपराध मानिएपछि अहिलेको समयमा कन्यादानका नाममा गरिने छोरीको दान नै धर्मको नाममा ऐंजेरु (tumor) हो भन्ने नयाँ मान्यता स्थापित हुँदैछ । अब त्यही कन्यादान भनेको धर्म हो भनेर सिकाएर हुन्छ ? जातीपाती, छुवाछुत जस्ता कतिपय चलन आज समाजका लागि बाधक, कुप्रथा र विकृति बनेजस्तै आफ्नो पुरातन सोचाइ आजको युग सापेक्ष नहुन सक्छ । तसर्थ आफूले नै गलत सोच बनाएको पनि हुन सक्छ । आत्मसमीक्षा गरेर नै सन्तानलाई संस्कार दिनुपर्छ ।

शान्ति स्थापना र परमात्मा :~

हरेक मानिस आफैँ ईश्वरको स्वरुप हो । परमात्माको प्रतीक हो । उसमा पनि म जस्तै वा मेरो जस्तै आत्मा र ईश्वर छ भन्ने विश्वास गर्ने हो भने आत्मा र परमआत्माको बोध हुन्छ । मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वारा जाने वा नजाने वा जान नचाहने वा जान नपाएको व्यक्ति पनि महान धार्मिक हुन सक्छ भन्ने मान्यताअनुसार सोच्नु आवश्यक छ । तीर्थ र धार्मिक स्थल धार्मिकताको प्रमाणपत्र पाइने थलो होइन । यस प्रकारको चिन्तनले परिवार, समाज र राष्ट्रमा शान्ति स्थापना गर्न मद्दत पुग्छ । कर्मकाण्डभित्र रहेको अन्ध विश्वासको अन्धानुकरण नगर्नेहरु अधार्मिक होइनन् । धर्म भनेको अप्ठ्यारोमा परेकालाई सघाउनु हो र पाप भनेको अरुलाई अप्ठ्यारो पार्नु (परोपकार पुण्याय, पापाय पर पीडनम्) हो । यस कारण कर्मकाण्डीहरु सबै धार्मिक छैनन् भनेर बुझ्ने र बुझाउने गर्नु पर्दछ । कुनै नयाँ विचार बनाउँदा वा अरुको विचार बारे धारणा बनाउँदा सदा सापेक्षता (Relativity) पूर्वक विश्लेषण गर्नुपर्छ । यो मूलत: परिवारका पाका सदस्यको काम हो । यसले बुढ्यौली सार्थक बनाउन सहज हुन्छ ।

सुखको पहिचान :~

सुख र दु:खको वास्तविक पहिचान गरी सुखको अनुभूति गर्ने र परिवारलाई समेत अनुभूत गराउनु पर्छ । जीवनशैली, खानपिन, पोशाक, यात्रा, खेलकुद, मनोरञ्जन लगायतका कुराहरुमा फरक व्यक्तिको, फरक लिङ्गको र फरक उमेर समुहको छनौट स्वाभाविक रुपमा फरक हुन सक्छ । तर परिवारका अगुवाहरुले आफ्ना छोरा, छोरी तथा नाती, नातिनिको सन्तुष्टि एवं खुसीभित्र आफ्नो खुसी र सुख देख्न जान्नु उचित हुन्छ । आफ्नो खुसी कहिलेकाहीँ परिवारको खुसीसँग मेल नखाने हुन सक्छ । आफू र आफ्नो छनौट मात्रै उत्कृष्ट ठान्ने गर्दा कैलेकाहीँ परिवारमा मन मुटाव हुने पनि हुन सक्छ । कतिपय अवस्थामा आफ्ना खुसी सिङ्गो परिवारको खुसीमा मिसाउन जान्नु जरुरी छ । जे होस् ! परिवारको सुख नै आफ्नो व्यक्तिगत खुसी र सुख हो ।

वित्तीय व्यवस्थापन र नियन्त्रण :~

वित्तीय व्यवस्थापनमा परिवारका सबैले सकेको सहयोग गर्नु नराम्रो होइन । तर उत्पादन र आय आर्जनमा जसको मुख्य भूमिका हुने गर्छ, तिनैलाई नियन्त्रणको जिम्मा दिनु उपयुक्त हुन्छ । त्यसमा सकेसम्म सल्लाहकार मात्रै भएको उचित हुन सक्छ । सल्लाहकार भनेको सल्लाह मागे मात्र दिने हो । यसबाट आफू स्वतन्त्र र सहज जीवन बिताउन झनै सजिलो पनि हुन्छ । हरेक कुरामा हस्तक्षेप गर्ने, म मात्रै जान्ने हुँ, मलाई सोध्दैनन् भन्ने कुरा कतिपय घर परिवारका जेष्ठ सदस्यले गाउँमा घर घर गएर गुनासो गरेको सुनिन्छ । यो तरिकाले परिवारले आफैँलाई नै अखेटो देख्छ । आज हरेक पुस्ता अघिल्लो पुस्ताको तुलनामा थप बुद्धिमान (Intelligent) हुँदैछ । आवश्यक परे सोधनी गर्लान् वा जानकारी देलान् वा नदेलान् । तर यो विषयमा धेरै दखल देखाउन उचित हुँदैन ।

नानी बाबुहरु किन टाढा टाढा हुन्छन् ? :~

प्राय: पूर्व किशोरावस्था र किशोरावस्थाका नाती नातिनी पुस्ता बाजे बजै पुस्ताबाट टाढा रहन खोजेको देखिन्छ । यसको मुख्य कारण पुस्तान्तरण बिचको दूरी, खाडल (Gap) ठुलो भएको देखिन्छ । आजको बालबालिकाको चाहना, आवश्यकता र पहुँच अघिल्लो पुस्ताको तुलनामा आकाश पाताल जति नै फरक छ। प्रविधि, उमेर अनुसारको इच्छा, शिक्षा, सांस्कृतिक रुपान्तरण र मिश्रित संस्कृति आदिको कारणले यस्तो भएको मान्न सकिन्छ । यस्तो अवस्थामा परिवारका मुलीले र अग्रज सदस्यले आफूलाई सकेसम्म समयानुकूल रुपान्तरण गर्न आवश्यक छ । यदि ‘लालयेत पञ्च वर्षाणि, दश वर्षाणि ताडयेत’ भन्ने हो भने त झनै ठुलो खाडल बन्छ ।

आजको समयमा बालमैत्री समाज ( Child friendly society ) को निर्माण अति आवश्यक छ । बालमैत्री समाजको पूर्वाधार भनेकै बालमैत्री परिवार र बालमैत्री अभिभावक हुन् । हाउगुजि र डर देखाएर बच्चाहरुलाई आफ्नो वशमा राख्ने प्रवृत्तिको सट्टा बालबालिकाको मनोबल उच्च बनाउने काम गर्नु पर्छ । यो आफ्नो बुढ्यौलीमा सहयोगी बन्न सक्ने नयाँ पुस्ताको विकासका लागि आवश्यक पर्ने कोशेढुङ्गा (Milestone) हुन सक्छ ।

अनुभवको पोको फुकाउने :~

हामीले भोगेको जीवन अहिलेको प्रविधि मैत्री युगमा दन्तेकथा, रमाइलो तथा हँस्यौली गफ जस्तो लाग्छ । तर जीवनका कतिपय कठिन मोडहरुमा उचित बाटो छनौट गर्दा होस् वा जीवन आएका समस्याहरु समाधान गर्दा होस् आफूले र अरु कसैले गरेका सही निर्णयका कतिपय क्रियाकलापहरु अनुभवको रुपमा आफ्ना सन्तति, समाज र राष्ट्रलाई पनि सुनाउन आवश्यक हुन्छ । आजको प्रविधिमैत्री युगमा यो काम प्रत्यक्ष कुराकानी, छलफल, लेखन, अडियो, भिडियो जस्ता माध्यमबाट गर्न सकिन्छ ।

चार आश्रमको महत्त्व :~

सनातन हिन्दु धर्मको प्रमुख ग्रन्थ वेद र वेदान्तअनुसार मानिसको उमेर सरदर १०० वर्ष अनुमान गरी पहिलो २५ वर्ष (पहिलो चौथाइ) ब्रह्मचारीको रुपमा रहेर ज्ञान कमाउने उमेर, दोश्रो २५ वर्ष गृहस्थीको रुपमा रहेर धन कमाउने उमेर, तेश्रो २५ वर्ष वानप्रस्थीको रुपमा अध्ययन, अनुसन्धान गर्ने तथा विद्वता एवं पुण्य कमाउने उमेर र चौथो २५ वर्ष जीवनको प्रारम्भदेखि कमाएको ज्ञान, शिक्षा, अनुभव, अनुसन्धानको प्रयोग गरी जनजनको भलाइमा लाग्ने भनिएको छ ।

परिवारका जेष्ठ सदस्य भनेका त्यो परिवार, समाज र राष्ट्रको सम्पत्ति हुन् । सो सम्पत्तिको प्रयोग पनि परिवार, समाज र राष्ट्रको उन्नति र प्रगतिकै लागि हुनु पर्छ । यो काम समयको विकाससँगै भिन्नभिन्न तरिकाले गर्न सकिन्छ । पीताम्बर, स्वेताम्बर, ठाडो वा तेर्सो वा अनेक प्रकारका टिका लगाउने वा टिका नै नलगाउने, टुपी पाल्ने वा काट्ने, दाह्री जुँगा पाल्ने वा काट्ने जस्ता केही नगरी तथा कुनै सम्प्रदाय विशेषमा संलग्न नभई पनि गर्न सकिन्छ । सम्प्रदाय विशेषले परिवारमा एकल अनुभूति हुन्छ । कुनै सामुदायिक निकायमा सहभागिता वा नेतृत्व, कुनै कोष स्थापना वा सहयोग, लेखन, प्रकाशन, परामर्शदाता वा आवश्यकता र आफ्नो योग्यता र क्षमताअनुसार कुनै न कुनै तरिकाबाट पनि गर्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त :~

जीवनमा अनेकौं असहज अवस्थाहरु आइरहन्छन् । सूर्य उदाउँछ र त अस्ताउँछ । उदाउँदै नउदाए के अस्ताउला ? अस्ताउँदै नअस्ताए पो के उदाउला र ? तसर्थ यो क्रम निरन्तर चलिरहन्छ । जीवन पनि उस्तै उस्तै हो । भनिन्छ : उदय सविता रक्त, रक्त चास्तमय:स्तथा ! सम्पत्तौ च विपत्तौ च महताम एकरुपता !! अर्थात् जसरी सूर्य उदय र अस्तय दुवै बेलामा रातै हुन्छ, ठिक त्यसरी नै महान् व्यक्तिहरु सम्पत्ति र विपत्तिमा समान रुपमा ( हाँसेरै ) बाँच्दछन् । हामीले जीवनको यो सच्चाइ बुझ्नुपर्छ । जसरी पूर्ण चन्द्रमाको रात रोकिँदैन, त्यसरी नै अन्धकार औंसीको रात पनि गएरै छाड्छ र सूर्योदय हुन्छ । जति नै न्यानो भए पनि सूर्य अस्त नभई धरै छैन । यो सच्चाइलाई शिरोपर गरौँ । ‘सुखस्यानन्तरं दुखं, दुखस्यानन्तरं सुखम्‘ सुखपछि दुख र दुखपछि सुख अनिवार्य छ । यो रात पछि दिन र दिन पछि रात हुने प्रकृतिको नियमजस्तै हो । यो कुरा बुझ्नु र बुझाउनु पनि उत्तिकै आवश्यक छ ।

बाँच्ने तरिका :~

मानिसको शरीर भनेको आकाश (Space) , वायु (Quark), अग्नि (Energy), जल (Force) तथा पृथ्वी (Matter) जस्ता पञ्च महाभूत वा पञ्च तत्त्वबाट बनेको हो । यो शरीर सदा एकनाश रहँदैन । रोग लाग्नु, सन्चो हुनु, कमजोर हुनु, शक्तिमान हुनु सामान्य प्रक्रिया हो । दुख साथी र सुख पाहुना हुन् भन्ने कुरा बुझेपछि जीवन सहज हुन्छ । जीवनमा केही गर्न त सकिएन, बाबु आमाले यो गर्न दिएनन् वा गर्नै पाइएन । अनि छोरा छोरीले पनि यो गर्न दिएनन्। त्यो गर्न पाइएन, भनेर गनगनाएर बाँच्न कठिन हुन्छ । आफूभित्रको आत्मालाई जाग्रत बनाएर जीवनको महत्त्व बुझेर आफैँसँग रमाएर, परिवारमा खुसी बाँडेर गुनगुनाएर बाँच्न सिकौँ ।