मेरा एक जना जर्मनी साथी हुनुहुन्छ, उहाँले म जर्मनी जानुअगाडि भन्नु भएको थियो, एकपटकको यात्रा कैयौँ पुस्तक पढे जत्तिकै ज्ञानवर्धक हुन्छ । सायद यो उहाँको अनुभवले बताएको होला तर वास्तविकता पनि हो, यात्रा गर्दा प्रत्यक्ष आफैँले भोगेका, सुनेका, देखेका विषयहरूसँग अन्तरक्रिया गर्न पाइन्छ । त्यो अनुभवहरू कयौं पुस्तकले भन्दा बढी ज्ञान दिन सफल हुन्छन् ।

नेपालजस्तो मुलुकमा बसेर इच्छाएको देशको यात्रा गर्न त्यति सजिलो त छैन तर पनि कोशिस गरियो भने सम्भव हुने रहेछ भन्ने कतिपय घुमन्तेका अनुभवले बताउँछन् । कतिपय व्यक्तिहरू आफूले यात्रा गरेका स्थान, देश र वातावरणलाई लिपिबद्ध गर्छन् भने कतिले यसलाई आफ्नै सम्झनामा सजाएर राख्छन् ।

नेपाली नागरिकले अक्सर धेरै देशको यात्रा गर्दा प्रवेशाज्ञा लिनुपर्ने हुन्छ । त्यस्ता देशको यात्रा गर्दा केही प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ, कतिपय देशको यात्रा गर्न झन्झटिलो छ भने कतिपय देशको सजिलो छ । यात्राको पहिलो प्रक्रिया भनेको त्यो देशको सीमाभित्र प्रवेश गर्ने प्रवेशाज्ञा लिनु हो । यति हुँदाहुँदै पनि कतिपय देशले नेपालीहरूको लागि अन अराइभल अर्थात् सम्बन्धित देशको सिमामा पुगेपछि भिसा दिने गर्छ भने कतिपय देशले उनीहरूको देशले अध्यागमन कार्यालयले प्रदान गरेको प्रक्रिया पुरा गरेपछि मात्रै यात्रा गर्न पाइन्छ त कतिपय देशका भिसा प्रक्रिया उनीहरूको राजदुतावासले निर्धारण गरेको हुन्छ । यस्तो अवस्थामा देशले निर्धारण गरेको पूर्व सर्तहरू पुरा गरेर मात्र प्रवेश गर्न पाइन्छ ।

यहाँ केही देशको उदाहरण र पूर्व तयारीको विषयमा लेखेर अझ बढी प्रष्ट पार्ने कोसिस गरेको छु ।

===

केही उदाहरणहरू हेरौँः

मेरा एक जना साथी हुनुहुन्छ बिष्ट थरका, अर्थ मन्त्रालयमा काम गर्ने शाखा अधिकृत स्तरका । उहाँले सायद सन् २०१६ तिर हुनुपर्छ अमेरिका जानको लागि भिसा अप्लाइ गर्नु भएको रहेछ । उहाँले सोच्नु भएको रहेछ म त सरकारी कर्मचारी भिसा दिइहाल्छ घुमेर आउँछु वा अरु केही… ।

उहाँले तोकिएको मिति र समयमा अमेरिकी दुतावास महाराजगञ्जमा उपस्थित भएर अन्तरवार्ता दिनुभयो । अन्तरवार्ता लिने क्रममा प्रवेशाज्ञा दिने अधिकारीले भिसा नदिई उहाँलाई खाली हात फर्काइदिएछ ।

अर्का एकजना अर्थशास्त्री साथी हुनुहुन्थ्यो, कार्की थरका । उहाँ आर्थिक हिसाबले सम्पन्न हुनुहुन्छ, उहाँको मुलपानीतिर रोपनीका रोपनी जमिन छ । उहाँकी श्रीमती सरकारी जागिरे, सबै हिसाबले सम्पन्न जीवन चलिरहेको थियो । त्यति मात्रै हो र उहाँ आफैँ अति अध्ययनशील र क्षमतावान् हुनुहुन्थ्यो । सबै थोक भएर पनि अमेरिकी भिसा अधिकारीले अन्तरवार्ताको क्रममा केही प्रश्न गरेपछि केहीबेरमै भिषा नदिने निश्चय गरिदिएछन् ।

अर्का साथी हुनुहुन्थ्यो थापाजी, महाराजगञ्जमै घर भएका वहाँको पनि अमेरिकी कन्सुलरले प्रवेशाज्ञामा पानी पोखिदिएछन् ।

पछि मसँग कुरा हुँदा मैले खासमा के भएको हो भनेर सोधेँ । पहिलो साथी बिष्ट जीले विवाहित हुँदाहुँदै अविवाहित भनेर ढाँट्नु भएको रहेछ । उहाँको नियत अब मैले भन्नै परेन । त्यसैले कुनै पनि देशको भिषा कन्सुलरलाई ढाँट्ने प्रयास गर्दै नगर्नुस्, एकजनाले त ढाँटेर वा छलेर लिन सक्ला तर छलेको कुरा थाहा पाइसकेपछि अन्य व्यक्तिले पनि भिसा प्राप्त गर्ने कुरा लगभग असम्भव नै हो ।

दोश्रो मित्र कार्की जी चाहिँ आफ्नो पिता र ससुरा एकैपटक अमेरिका घुमाउन लैजाने भनेर अन्तरवार्ताको लागि जानु भएको रहेछ । उहाँहरू तीनै जनालाई दुतावासले धन्यवाद भनेर फिर्ता गरिदियो । यसमा मेरो विचारमा एकैपटक नेपाल बाहिरको कुनै पनि देश नघुमेको व्यक्ति सिधै त्यति टाढाको देश अमेरिका ? किन भन्ने प्रश्नको जवाफ दिन सक्नु भएन । सायद उहाँहरूको नियत सफा थियो होला तर भिसा कन्सुलरको चित्त बुझाउन सक्नु भएन ।

तेश्रा मित्र थापा जी, उहाँसँग कुरा गर्दा उहाँले आफू महाराजगञ्जमा घर भएको पैसा प्रशस्त भएको घमण्ड गर्नु भए जस्तो लाग्यो । सायद आवश्यकताभन्दा बढी घमण्ड वा फूर्तिले आफैँलाई हानी गरेको हुन सक्छ ।

उहाँहरू तिनै जनाले अमेरिका घुम्न पाउनु भएन । यदि बिष्टजीले आवेदन गर्दा सत्य जानकारी मात्र भरिदिएको भए उहाँले घुम्न पाउनु हुन्थ्यो । आवेदन गर्दाका समयमै उहाँको नियत प्रष्ट झल्कन्थ्यो । आर्थिक रुपमा सम्पन्न बिष्टजीको नियतमाथि प्रश्न गर्यो ।

कार्कीजीको सन्दर्भमा चाहिँ दुईवटा बाहरू लिएर पहिलो यात्रा नै किन अमेरिका भन्ने प्रश्न आयो जस्तो लाग्छ । सायद यसको उत्तर उहाँले चित्त बुझ्दो भएन ।

थापाजीको सन्दर्भ चाहिँ बढी आश्वस्त पार्न खोज्दा चिप्लिनु भयोजस्तो लाग्छ ।

यी र यस्ता प्रतिनिधि उदाहरण जे जस्ता भए पनि खासमा पहिलो पटक विदेश यात्रा गर्दा नेपालजस्तो गरिब मुलुकमा जन्मिएका नेपालीहरूले आफ्नो हैसियत भुल्नु हुँदैन । यदि कसैले निम्ता दिएर बोलाएको अवस्थामा बेग्लै कुरा हो । अन्यथा घुम्ने नै व्यक्ति हो भने पहिले नजिकका देशहरू घुमेर अनुभव लिइसकेपछि आर्थिक हिसाबले अति सम्पन्न देशहरू भ्रमण गर्दा उपयुक्त हुन्छ । कसैको सुरुमै अमेरिका घुम्ने रहर त हुनसक्छ, तर घुम्नका लागि अमेरिकाभन्दा पनि राम्रो मुलुकहरू छन् । हामीले ती देशहरू किन नघुम्ने ?

===

सफल उदाहरणः

अर्का एकजना टेलिकम्युनिकेशन इन्जिनियर अविवाहित पौडेलजीले चाहिँ तेश्रो पटकमा भिसा प्राप्त गर्नु भएछ । पहिलो पटकको अन्तरवार्तामा सायद उहाँ अविवाहित भएकै कारण उहाँलाई फिर्ता गरिदिएको थियो । उहाँले पनि यस अगाडि कुनै देश यात्रा गर्नु भएको थिएन । दोश्रो पटकको प्रयासमा पनि सफल हुनु भएनछ, तर तेश्रो पटक चाहिँ समय लिएर आग्रह गर्नु भएछ । उहाँले आफूले भन्न चाहेको सबै कुरा व्यक्त गर्नु भएपछि उहाँलाई यात्रा अनुमति दिएको कुरा बताउनु भएको थियो । त्यसैले कहिलेकाहीँ अफिसरहरूले सोध्न खोजेको कुरा र उसले प्राप्त गर्ने जवाफ फरक पर्ने वा आफूले चाहेर पनि सबै कुरा व्यक्त गर्न नसक्दा पनि आवेदन रद्द हुने गर्दछ ।

अझ स्पष्ट शब्दमा भन्दा अफिसरलाई आवेदक सही उद्देश्यका लागि जाने हो र काम सकिएपछि भिसा अवधिभित्रै फर्किएर आउँछ भन्ने लागेमा पनि खासै धेरै प्रश्नहरू नगरी अनुमति दिन सक्छ ।

===

सस्तो होटल कसरी पाउने ?

कुनै कुनै पेशा वा व्यवसाय कस्ता प्रकृतिका हुन्छन् भने अलि बढी यात्रा गर्नु पर्ने वा देशबाहिर हिँडिरहनु पर्ने खानका हुन्छन् । त्यस्ता पेशाहरूमा पर्यटन, डाक सेवा, सामान ढुवानी सेवा, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वा आयात निर्यात सेवा । यस्ता पेशामा लागेका व्यक्तिहरू वर्षभरिमा धेरै यात्रा गर्ने गर्छन् । यसरी यात्रा गर्दा कोही आफ्नै निजी खर्चमा त कोही सरकारी वा आफ्नो काम गर्ने कार्यालयले दिने खर्चमा यात्रा गरिरहेका हुन्छन् । यस्तो खाले यात्राहरूमा कसैलाई खर्च जोगाएर हिँड्नु पर्ने अवस्था आउँछ भने कसैलाई जोगाएको खर्चबाट अन्य देशहरूको यात्रा गर्न खर्च निकाल्ने गर्दछन् । यो कसैको रहर होला त कसैको बाध्यता ।

खास गरी अहिलेको आधुनिक समयमा खर्च जोगाउने तरिका भनेको कि त सस्तो खाले होटलमा बस्ने कि आफन्त, साथीभाइकोमा सहारा लिने नै हुन्छन् । साथीभाइको कोठा वा घरमा बस्ने कुरा बेग्लै कुरा हो । होटलमा सस्तो लागतमा बस्ने हो भने चाहिँ सजिलो माध्यम हुन सक्छ । यस्ता होटल बुकिङ साइटबाट होटल बुक गर्दा कतिपय अवस्थामा महँगाेमा पनि परिने गरेको छ त्यसैले यसरी होटल बुकिङ गर्दा अनुभवी व्यक्ति वा पर्यटन व्यवसायीको सहारा लिइयो भने त्यसले हामीलाई सहज बनाउँछ ।

===

सस्तो टिकट कसरी पाउने ?

यात्रा गर्दा सबैभन्दा ज्यादा खर्च लाग्ने भनेको हवाइ टिकट वा स्थानीय यात्रामा प्रयोग हुने साधनमा हुने खर्च हो । यात्रा गर्दा सस्तोमा टिकट पाउनु भनेको आधि यात्रा आनन्दमय बनाउनु हो । सस्तो टिकट पाउनको लागि केही विशेष तरिकाहरू तल दिइएका छन् । कसैको महँगो टिकटमा यात्रा गर्न सक्ने क्षमता हुनसक्छ, तर अधिकांश यात्रामा यात्रीहरूले जहाज कम्पनीको सेवा सुविधा, जहाजको उडान तालिका, गन्तव्यमा पुग्न लाग्ने समय र टिकट दरलाई नै ध्यान दिने गर्दछन् । त्यस सहिसाबले मैले यहाँ आफ्नो अनुभवका आधारमा सस्तो टिकट कसरी पाउन सकिन्छ केही उदाहरणहरू दिएको छु । दिइएको उदाहरण बाहेक पनि थुप्रै तरिकाहरू हुनसक्छन् त्यसलाई पछिल्ला संस्करणहरूमा समेटिनेछ ।

१. यात्रा गर्दा यात्रा गर्ने एक दुई महिना अगाडि टिकट खरिद गर्ने

२. विश्वासिलो र भरपर्दो ट्राभल एजेन्टबाट टिकट लिने

३. हरेक हवाइ सेवा प्रदायक कम्पनीहरूका बजेट टिकट भनिने सस्तो टिकट बेच्ने चलन छ । उही जहाज, उही गन्तव्य तर टिकट चाहिँ सस्तो लिन सकिन्छ । तर यस्तो टिकटमासँगै लैजान मिल्ने सामानको वजनमा सीमितता वा सर्त तोकिएको हुन्छ ।

४. कतिपय जहाज कम्पनीहरू बजेट अर्थात सस्तो टिकट बेच्ने खाले हुन्छन् यस्तो जहाजको टिकट लिँदा पनि सस्तो दरमा टिकट पाइन्छ । तर यस्तो टिकट लिनु भएको छ भने यदि तपाईं यात्रा गर्नु भएन भने तपाईंले तिरेको रकम फिर्ता भने पाइँदैन ।

५. आफूले यात्रा गर्ने जहाज कम्पनीका टिकटहरू कुन दरभाउमा पाइरहेका छन् त्यो अध्यययन गरी एक तह सस्तोमा टिकट बुक गर्न लगाउने र जहाज कम्पनीहरूलाई त्यही क्लासको टिकट मिलाइदिन आग्रह गर्ने । राम्रो ट्राभल एजेन्टले सस्तो टिकट यसरी मिलाउने गरेको उदाहरण प्रशस्त छन् ।

६. कतिपय टुर एजेन्सीहरूले समूहमा यात्रा गराइरहेका हुन्छन् यस्तो अवस्थामा समूहको सदस्यको रुपमा पनि सस्तो टिकट लिन सकिन्छ ।

७. बेला बेलामा जहाज कम्पनीहरूले विभिन्न स्किमहरू ल्याइरहेका हुन्छन्, त्यस्ता स्किमहरूमा पनि टिकट सस्तो दरमा लिन सकिन्छ ।

८. हवाइ यात्रुहरूको अत्यधिक चाप हुने समय जस्तै दशैँ, तिहार, क्रिष्टमस, इद वा यात्रीहरूको चाप हुने समयमा टिकट खरिद नगर्ने ।

९. सप्ताहन्तमा टिकट खरिक नगर्ने । सप्ताहन्त अगाडि वा पछाडि टिकट खरिद गर्ने ।

१०. कुनै कुनै देश विशेष अन्तर्राष्ट्रिय सम्मेलन, मेला आदि हुँदै गरेको अवस्था छ वा हुन लागेको छ भने पनि त्यस अगाडि लिने टिकटहरू महँगो पर्न सक्छन् । यस्तो समय अलिक अगावै वा समय सकिएपछि टिकट खरिद गर्ने । यस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा जहाज सञ्चालन गर्ने कम्पनीहरूलाई पहिले नै अन्तर्राष्ट्रिय सम्मेलन हुने कुरा पहिले नै थाहा हुनाले उनीहरूले न्यून सुल्कको टिकट खुला नगरी महँगोमा टिकट बेचिसके पछि मात्र सस्तो दरका टिकट बेच्ने कोशिस चाहिँ गर्छन् । जस्तै चीनको सान्यामा वर्षेनी विश्व सुन्दरी प्रतियोगिता हुने गरेको कुरा धेरैलाई थाहा छ, जहाज सञ्चालन गर्ने कम्पनीहरूलाई पनि यो थाहा छ, त्यसैले उनीहरूले त्यस्ता शहरमा सञ्चालन गर्ने जहाजका टिकट विशेष समयमा महँगोमा बेच्ने गर्छन् ।

११. कहिलेकाहीँ कुनै कुनै रुटबाट टिकट सस्तोमा लिन सकिन्छ । सिधा उडानको जहाजको टिकट कम्पनीहरूले अलि महँगोमा बेच्ने गर्छन् तर त्यही गन्तव्यको टिकट अन्य देशको गन्तव्य भएर सञ्चालन गर्दा सस्तोमा टिकट पाउन सकिन्छ । जस्तै नेपालदेखि जापानको यात्रा गर्दा नेपाल एयरलाइन्स सिधा उडानको टिकटभन्दा श्रीलङ्कन एयरलाइन्सको टिकटमा खरिद मूल्य कमी पर्न आउँछ । श्रीलकङ्कन एयरलाइन्सले नेपालबाट श्रीलङ्का र त्यहाँबाट टोकियोको उडान गर्ने गर्छ ।

१२. सिधा उडानभन्दा अक्सर बहुगन्तव्य भएर यात्रा गर्दा सस्तोमा टिकट खरिद गर्न सकिन्छ ।

१३. कुनै कुनै जहाज कम्पनीहरूले अधिक यात्रुहरू पाउन विशेष खाले सम्झौता गरेका हुन्छन् । जस्तै नेपाल एयरलाइन्सले फिलिपीन्स एयरलाइन्ससँग त्यस्तै खाने सम्झौता गरेको छ । नेपाल एयरलाइन्सबाट काठमाडौं–थाइल्याण्ड–फिलिपिन्स–टोकियो यात्रा गर्दा बिजनेश क्लासको टिकट इकोनमी जस्तै पर्न सक्छ ।

१४. एउटै जहाजबाट विभिन्न गन्तव्यमा यात्रा गरिरहने यात्रीहरूको लागि माइलेज कार्ड, विशेष क्लव वा विशेषाधिकार सुविधाको व्यवस्था गरेको हुन्छ । यस्तो माइलेज कार्डको व्यवस्थाले अधिक यात्रा गर्ने यात्रीहरूलाई लक्षित गरेर जहाज सञ्चालन गर्ने कम्पनीहरूले निश्चित जहाज उडान सकिएपछि पाउने टिकटमा सुविधा दिने गरेका हुन्छन्, त्यस्तो बेलामा पनि सस्तोमा टिकट पाउन सकिन्छ । तर यसरी यात्रा गर्दा एउटै जहाजमार्फत यात्रा गर्दा सुविधा पाउन सकिन्छ । जस्तै टर्किस एयरलाईन्स, कतार एयरवेज, इमिरेट्स आदिले बेग्ला बेग्लै सुविधा सहितको माइलेज कार्डको व्यवस्था गरेका छन् ।

१५. धेरै टिकट बिक्री गर्ने ट्राभल एजेन्टहरूलाई जहाज कम्पनीहरूले निश्चित सङ्ख्यामा टिकट बिक्री गरेपछि केही टिकटहरू निशुल्क प्रदान गरेको हुन्छ । यस्तो टिकटहरू एजेन्टहरूले अन्य टिकट भन्दा सस्तोमा पनि बेच्ने गर्छन् । यो प्रकारको टिकट खरिद गर्दा कर बाहेको रकम तिर्नु पर्दैन । तर यस्तो टिकट एजेन्ट आफैँले प्रयोग गर्ने गर्छन् वा पूर्ण मूल्यमै बेचेर नाफा लिने गर्दछन् ।

१६. टिकट खरिद गर्दा उही गन्तव्य स्थानको टिकट विभिन्न जहाज कम्पनीहरूको दर भाउ तुलना गरेर खरिद गर्ने गरियो भने पनि सामान्यतः सस्तो दरमा टिकट पाउन सकिन्छ ।

१७. कतिपय ट्राभल एजेन्टलाई टिकट पाउनको लागि प्रयोग गरिने सफ्टवयरहरू जस्तै अमाडस, ग्यालिलियो, सेवर आदि टर्मिनलहरूको विशेष कोडहरू थाहा हुन्छ, जसको प्रयोगले सस्तो टिकट पाउन सक्छन् ।

===

निष्कर्षः

यदि तपाईं कुनै देशको भिसा आवेदनका लागि जाँदै हुनुहुन्छ भने कहिल्यै पनि मनमा एउटा योजना, मुखले अर्कै भाषा नबोल्नु होला । भिसा कन्सुलरलाई यसरी तालिम दिइएका हुन्छ कि उनीहरूले एक नजरमै तपाईंको सारा योजना थाहा पाउँछन् । यदि कागजपत्र र प्रमाणहरू पेश गरेर भिसा लिने अवस्था छ भने कुनै पनि कागजपत्र र प्रमाणहरू जे छ त्यही समावेश गर्नुस्, गलत काजगपत्रहरूको छानबिन उनीहरूले सजिलै गर्न सक्छन् । तपाईंका योजना र तपाईंले पेश गरेका प्रमाणहरू सही छन् र तपाईंको बोलीमा यो सबै झल्किन्छ भने तपाईंले चाहेको देशको भिसा प्राप्त गर्न सक्नुहुन्छ ।

(लेखक Tourism Events and Research Center का निर्देशक हुनुहुन्छ ।)