केही वर्षअघितिर पानी पर्न नै मान्दैनथ्यो हाम्रो गाउँमा । त्योभन्दा पहिले पनि पारिगाउँमा स्वाँ गरेर मकैका पात बजाउँदै पानी ओइरिएको देखेर “पानी परो घ्याम्पा भरो” भन्दै थैबरी थै उफ्रिँदै रमाउथ्यौँ हामी । गोठालोमा भए गाईबाख्रा घरतिर भाग्लान् कि भनेर तैनाथ हुँदै पानीको प्रतीक्षा गर्थ्याैं । तर पानी भने वारिपाखा नै नतरी उतैबाट बिदा माग्थ्यो र बाइबाइ गर्दै जान्थ्यो कता हो कता । हामी निराश हुन्थ्यौँ ।

खेती गर्ने बेलामा पानी नपरेपछि ब्याडको बिउ ब्याडमा नै आँख्ली चढेर, सिन्केर जान्थ्यो । सुकेर, डढेर सिद्धिन्थ्यो । गाईबस्तुले पनि खाँदैनथे । पानीको अभावमा खेत बाँझिन्थे । पछि भदौका टुप्पामा कोदोको बिउ उभ्रियो भने एक दुई गरा जोतेर कोदो रोप्थ्यौँ । तर त्यो पनि बालो होइन किर्कौले फिर्का लाग्थे । टिप्नुभन्दा गाई फुकाएर छोडिदिउँझैँ लाग्थ्यो । कहिलेकाहीँ बाँझोमै फिलुङ्गे छरेर राँटाराँटा पार्दै जोतेर छोडिदिन्थ्यौँ । त्यै फिलुङ्गे पनि सिलिङबिलिङ फल्थ्यो । ‘डाँडा पाखामा फल्ने जातलाई गैरी खेत किन सुहाउँथ्यो र’ भन्थ्यौँ चित्त बुझाउँथ्यौँ । पानी नपर्नुका कारण के के थिए त्यो त थाहा हुन्नथ्यो तर परिणाम भने निकै दमदार नै हुन्थे । धमाका नै मच्चाउँथे तिनीहरूले ।

हजार रुपैयाँको १० पाथी वार्षिक धानेब्याज कबुलेर टार्नु पर्थ्यो बाध्यताको दशैँ, गर्नुपर्थ्यो ओखतीमुलो, टाल्नु पर्थ्यो अन्डरपेन्ट र किन्नु पर्थ्यो नुन मट्टीतेल । रुपैयाँको भाउ थियो, अन्नको थिएन । ब्याजमा कोदो मकै लिँदैनथे साहुले । एघारपटक बिन्तीभाउ चढाएपछि मात्रै पाइन्थ्यो त्यै रुपैयाँ पनि हेयभावमा । पैसाको ब्याजै तिर्न नसकिने, सावाँको कुरा त दश डाँडापारिको काँडधनेको कथा जस्तै हुने ।

खेत बाँझै रहेपछि बारीमा लगाइने कोदो मकैले वर्ष गुजार्न धौधौ पर्थ्यो । – ढिँडोले अघाएपछि अन्तिममा नातो बाध्ने धानका चामलको बिर्कीभातलाई पनि सुतक पर्थ्यो । एघार दिनमा एक साँझ मात्रै बिर्कीभातले नातो कस्थ्यो ।

कहिले त अनिकालको खास्टोले गम्लङ्गै छोपिहाल्थो पनि । लाजको पुच्छर टाँगमुनि हालेर अरुका सिकुवामा रित्तो थुन्से हल्लाउँदै कोदो मकै पैँचो माग्न पुग्नुपर्थ्यो । त्यो बेला हाम्रो अनुहार कुटेको बाँदरको जस्तै ङिच्च परेको हुन्थ्यो । जोगीका घरमा सन्यासी पाहुना परिएछ भने थुन्से रित्तै र मन टन्नै भरिएर फर्कन्थे खिसीट्युरीले ।

पानी नपर्दा के हुँदैन थियो, जात्रा हुन्थ्यो जिन्दगीको ।

– नजिकैका पानीका मूल सुक्थे । खानेपानी लिन पनि निकै टाढाको पँधेरोमा पुग्नुपर्थ्यो । हरेक साँझ झ्याउँकिरी बास्ता पनि कामको मेलो तुर्न बाँकी नै हुन्थ्यो । घरमा आएर पँधेरातिर जानुपर्थ्याे माटोको घैला डोकामा हालेर । कहिले छामछामछुमछुम गर्दै त कहिले राँको बालेर ।

यस्तो टाढाको पँधेरोमा पुगेर ठुलो साँझ परिसकेपछि पानी लिएर घर आइपुग्दा डरले आधा सातो लगिसकेको हुन्थ्यो । राँको पछाडि बोकेर हामी अगाडि हिँड्थ्यौँ किनभने पहाडका हरेक बाँसझाङ, कुइनेटा, झाडी, ओढार, भन्ज्याङहरूमा तर्साउने भूत बसेका हुन्थे । त्यहाँभन्दा अझै ठुला भूत हाम्रा मनमा बसेका हुन्थे । मूलबाटो (मुर्दा कुदाउने बाटो) मा त मसान नै दौडिन्थे । उनीहरूको नाइके वीरमसानचाहिँ घोडा चढेर दौडन्थ्यो । हामी हरेक केटाकेटीलाई सुनाइएका हुन्थे यस्ता कथाहरू । तर्साउनेका अतिरिक्त सर्प, खजुरा, जङ्गली जनावर आदिको डरले बाँकी आधा सातो पनि जाने गर्थो ।

यसरी माटोको गाग्रोमा ल्याइएको पानी सजिलो गरी डोको बिसाएर गग्रेटोमा नराखुञ्जेल खान पाइन्छ नै भन्ने निश्चित हुँदैनथ्यो । कहिलेकाहीँ डोको बिसाउँदा डोकै चिप्लेर पछारिन्थ्यो, कहिले उचाल्दा घैलाको मुख मात्रै हातमा आउँथ्यो र घैला भुइँमा बजारिन्थ्यो । घैला चकनाचुर, पानी छताछुल्ल, जीउमा बाघे झप्पुका छाप या सिर्कनाका सुम्ला । अनि ६ महिनासम्म अभिभावकबाट गालीको वर्षा ।

पित्तले गाग्री धेरैजसोका चुहिने रोगले थलिएर कुनाकाप्चामा ध्वाँसो ओढेर सुतेका हुन्थे । लाहाले टाल्दा, आरनले गाल्दा, खरुकीका डाँक्ला भाँचेर खाँद्दा दुला टालिउन्जेल पानी थाम्थे र महिलाका कम्मरमा, पुरुषका काँधमा रमाईरमाई बोकिएर हिँड्थे । केही नचलेपछि चाल्ने रोगले भेट्थ्यो र भक्रन्त लड्थे बुइगलमा । बाँणाको बाटो कुरेर पत्रुका भाउमा बिक्री हुने प्रतीक्षामा बस्थे ।

धेरै समयपछि हाम्रा गाउँमा पनि डुल्दै आइपुगे सिलबरे गाग्रीहरू । अहिले बुझ्दा गाग्री रहेछन् आलमुनियमका तर सिल्भर कलरका हुनेहुँदा सिलबरे भन्थे । मधेसतिरबाट जानेहरूले हलुङ्गेका भन्थे । हलुका हुने भएकाले हलुङ्गे भनेका रहेछन् उनीहरूले पनि । तामाका गाग्रीहरू हाम्रा पहुँचमा थिएनन् प्रशस्त चलाउन । एउटा थियो तामे गाग्री जसलाई पानी ओसार्न होइन राखेर खान मात्रै प्रयोग गरिन्थ्यो ।

– पानी नपरेपछि न फल्थे काँक्रा फर्सी न उम्रिन्थे लट्टे बेथु । न हुन्थे मुन्टा गट्टा न हुन्थे घिरौँला, करेला । अन्न अन्नकै दुःख, तिहुन तिहुनकै दुःख । किन्ने ठाउँ पनि थिएन, पैसा पनि थिएन, चलन पनि थिएन । कसैले किनेर ल्यायो भने ‘लु फलानोलाई त अनिकालले सकेछ बेसाहा खान थालो’ भनेर साह्रै होच्याउँथे । ‘अनिकालेका सन्तान’ भनेर गाउँमा निस्किसक्नु हुन्नथ्यो छोराछोरीहरूलाई पनि । आफूसँग बढी हुँदा पनि बेच्ने चलन थिएन । बरु बारीमा नै कुहेर जाँदा खुसी हुन्थ्यो समाज, बेचेको देखिनसहने । कुनै साल बेचेको थाहा पायो भने वर्षैंसम्म पनि कसैकोमा माग्न जाँदा वचन लगाउँथे । “आफ्नोमा भएको बेच्छ अर्काकोमा गएर माग्छ – शर्म नभएको” भन्थे ।

हुँदा छेलोखेलो खान्थे, नहुँदा मागेर काम चलाउँथे, त्यो पनि नभए सुकाएर राखेका गुन्द्रुक सिन्की, सिम्टा जे छ त्यसैमा ऐना देखिने गरी झोल हालेर खान्थे । भनाइ नै थियो “हुँदा भोजपुरे ख्वाइ नहुँदा सिद्रो सुकाइ ।” यो भनाइचाहिँ हाम्रोभन्दा पनि अझै कमजोर अवस्था भएका भोजपुरको छिनामखु, हतुवागढी, घोडेटारतिरका राई समुदायका मानिसहरू (हतुवालीहरू)को विवशतालाई इङ्कित गरेर बनाइएको थियो । ती ठाउँहरू चुङमाङभन्दा पनि बढी नै सुख्खाग्रस्त थिए, रूखा थिए ।

– पानी नपरेपछि धेरैलाई अनिकालले छोप्थ्यो । हरिया मकैले छिप्पिन भ्याउँदैनथे । तौली धानले बालो झल्काउन पाउँदैन थियो । सुठुनी, तरुल, फर्सी केही बासी रहँदैनथे । टाँकीका चिउँलाले हाँगा बन्न पाउँदैनथे । जङ्गलमा सिस्नोले मुन्टो उठाउन पाउँदैनथ्यो । बाँसका झाङको तामा डेढहाते हुञ्जेल बाँच्न पाउँदैन थियो । जङ्गलका जामुना, क्यामुना, फडिर, चिउरी, खरबारीका गोलकाँक्री, अर्चल, पुरुनी, दहीठेकी केही पाक्न भ्याउँदैनथे । कृषि फारम (फर्म)का सुन्तला पालेले रुँग्न नै सक्तैन थिए । यस्ता अनेक कुराहरू हुन्थे हाम्रो चुङमाङमा जबसम्म माटो गल्ने गरी पानी पर्दैनथ्यो, खोल्सो बग्दैनथ्यो, मूल रसाउँदैनथ्यो ।

पानी परोस् भनेर धेरै भाकल गर्थे स्थानीयबासीहरू । सुब्बाको थानमा पूजा गर्थे बुढासुब्बालाई पुज्नेहरू । कोही कुखुरा, कोही अन्डा र कोही परेवाका बच्चा पुजेर बलि दिन्थे । हामी वर्षेनि एक जोर परेवाका बच्चा पुजेर बलि दिन्थ्यौँ । संसारी पूजा गर्थे गाउँलेहरू । कोशी नदीमा जान्थे गाउँ नै उल्टेर । दिनभरि पूजा गर्थे । भ्यागुताको विवाह गरिदिन्थे । यस्ता अनेक कुरा गर्दा पनि पर्दैनथ्यो पानी । पानी नपर्नु भनेको अनिकालले सताउनु रहेछ । अझै गहिराइमा पुग्दा जीवन मासिएर मरुभूमिकरण हुँदैजानु रहेछ ।

===

एकदिन खरबारीमुनिको छोरे आँठोमा आलिभित्तो गर्दागर्दै, छेउकुना खन्दाखन्दै टुस्किएर डिलमा सुस्ताएछु निकैबेर र खेलाएछु कुराहरू मनभरिका ।

हामी नेपाली किसानहरू, आकासे पानीका आशामा बुन्दारहेछौँ भविष्यका सपनाहरू । कोर्दारहेछौँ जीवन बदल्ने रेखाहरू । बादलले बजाउने मादलका तालमा नाच्ता रहेछन् हाम्रा खेतीका गोडाहरू । लामो शिर लिएर निरन्तर ठुलो पानी बगाइरहने खोलाको अभावमा, नदीलाई स्रोत बनाएर खनिएका कुला पैनी र नहरका अभावमा, ज्ञान, धन, बुद्धि, विवेकको अभावमा, विधि प्रविधिको अभावमा, धान फलाउने फाँटहरूको अभावमा, एकातिर कलकल बगेर खेरगइरहेको पानी र अर्कोतिर बाँझिएको आफ्नो जमिन हेरेर, पेटमा कसिएका पटुका छामेर आँसुका ढिक्का निल्दै निरीह जिन्दगी जीउन बाध्य हुँदारहेछौँ ।

हाम्रा भिराला पहाडहरूमा हावापानी र माटो सुहाउँदा बालीनालीहरू लगाउन जानेनछौँ हामीले आजसम्म पनि । अलिकति भएको उर्वर तराईभरि पनि रोपेनछौँ बाह्रैकाल फल फल्ने बिरुवाहरू, लगाएनछौँ सबै जनताको पेट भर्न सक्ने गरी अन्नबालीहरू । बरु बदलामा, विदेशीको इसारामा रोपेछौँ कहिल्यै नफुल्ने, बालो नलाग्ने, वन्यजन्तुको आहारा वा साहारा केही पनि बन्न नसक्ने सिसौ, मसला र टिकका रुखा जङ्गलहरू । बरु पहाडलाई लात मारेर बसाइँ झर्नेहरुले पनि तराईको उर्वर भूमिमा रोपेछौँ कहिल्यै फल नफलाउने फलामे रड, सिमेन्टका बिरुवाहरू । चलाएछौँ मागिखाने उद्योग र कलकारखानाहरू ।

हामी आफूले आफैँलाई चिन्न सकेनछौँ कहिल्यै । आफ्नो माटोलाई त झन् चिन्ने प्रयत्न नै गरेनछौँ । बरु लाहुरे संस्कृतिको विकास गरेछौँ । मुग्लाने संस्कृति भित्र्याएछौँ । आफ्नो माटोले के दिनसक्छ, आफ्नो आकाशले के दिनसक्छ कहिल्यै खोजेनछौँ । छोरा जन्मने बित्तिकै ‘मेरो लाहुरे छोरा जन्म्यो’ भनेछौँ । बलियो शरीर, सुगठित हातपाखुरा, आकर्षक ज्यान र लडाकु कला भर्न दिलोज्यान दिएर लागेछौँ । विदेशी भूमिमा रगत पसिना बगाउनका लागि आफ्नो भूमिलाई भर्तीकेन्द्र बनाएछौँ । अरुले लडाकुको देश, बहादुरको देश भनिदिँदा मख्ख परेछौँ र लाहुरे बनाइरहेछौँ सन्तानहरूलाई । लाहुरे बन्न नसक्नेहरूलाई कुल्ली बनाइरहेछौँ, भरिया बनाइरहेछौँ, स्याहारे सुसारे र कान्छा बनाइरहेछौँ ।

छोरीहरूलाई कहिल्यै मान्छेको दर्जामा राखेनछौँ । ‘अर्काको भाँडा माझ्ने जात’ भनिरहेछौँ र अपहेलनाबाहेक केही दिएनछौँ उनीहरूलाई । अलग गरिदिएछौँ आफ्नै कोखबाट जन्मेको सन्तानलाई पनि । र एउटा खोस्टोसरह भाँडा मस्काउने मस्को बनाइरहेछौँ सदियौँदेखि आजसम्म पनि । सम्झनै नसकिने कति तीतो संस्कृति बनाएछौँ हामीले हाम्रो आफ्नै प्रिय संस्कृतिलाई पनि । हुँदाहुँदा कामलाई पनि अपहेलना गरेर ‘आइमाई काम’,  कुरालाई पनि होच्याएर ‘आइमाई कुरा’, अलि पिन्चे स्वभावको वा कुरौटे स्वभावको लोग्नेमान्छे रहेछ भने ‘आइमाईजस्तो’ आदि उपमा लगाएर महिलालाई एक तुच्छ बस्तु बनाएछौँ । ईश्वरीय गुण बोकोको कति राम्रो ‘आइमाई’ अर्थात् ‘आमा आउनु भयो’, अथवा अगाडि आउने आमा, अग्रभागकी आमा भन्ने गहन अर्थ बोक्ने शब्दलाई होच्याएर मान्छेको दर्जामा नै राखेनछौँ हामीले । ‘मान्छे’ नै भनेनछौँ महिलाहरूलाई । ‘को मान्छे आएछ भनेको त फलानी आइमाई पो रैछे’ भनेछौँ ओठ लेप्रो पारेर । ‘महिला’ त सुखमा जन्मेको शब्द वा भनौँ आइमाईहरूले सङ्घर्ष गरेर, विद्रोह गरेर ल्याएको उपाधि पो रहेछ क्यारे ।

हामीले हाम्रो संस्कार नै बिगारेछौँ । चाकडीमा बाहेक ‘प्रशंसा’ शब्द कहिल्यै कसैका लागि प्रयोग गरेनछौँ । होच्याउनु, अर्काको खिल्ली उडाउनु, कुरा काट्नु, तल झार्नु, खुइल्याउनुमा नै आफूलाई उच्च ठानिरहेछौँ । ‘अरुलाई होच्याउँदा आफू उच्च होइन्छ’ भन्ने संस्कारको विकास गर्नाले जैविकहिसाबमा मात्रै केही कमजोर महिलालाई मानसिक रुपबाट नै पैतालामुनि राख्ने तुच्छ कार्य गरेछौँ । र गरिरहेछ अझै हाम्रो समाजले ।

===

कुरा कतिबेर खेले मनमा थाहा छैन तर नजिकै आएर काग गराएपछि मात्रै झस्केछु म । जुरुक्कै उठेँ र परपर हेरेँ । खेतका आलीमा टुस्किँदा फुस्केछ मन र अनियन्त्रित भएर पुगेछ टाढा कता हो कता । उठेर फेरि छेउकुना खन्न थालेँ । पानी नपर्दाका पीडाहरूले भने छोडेनछन् मनलाई गाँज्न फेरि । शरीर खन्दैछ बाँझो तर खन्न थालेछन् मनलाई अरुले नै धौ फुकाएर ।

पुरुषलाई भन्दा पनि महिलाहरूकै तोजहरान हुन्थ्यो पानी नपर्दा । एकजना मात्रै महिला छिन् सिङ्गो परिवारमा भने पनि पुरुषहरू मान्दैनथे पँधेरो धाउन । महिला रजस्वला भएको बेला र अशक्त भएर बिस्तारामा पल्टेको बेला मात्र डोकामा गाग्रो बोक्न बाध्य हुन्थे पुरुषहरू । नत्र जाँतो ढिकी, धारो पँधेरो भातभान्सा, लिप पोत, धन्दापात, झाडुबढारु, लालाबालाको स्याहार सुसार, पाहुनापाछा, भनेरै नसकिने कामहरूका नाममा महिला लेखिएको हुन्थ्यो । पानी परोस् वा सुख्खा खडेरी नै लागोस्, नजिकैका मूलहरू सुकुन् वा मूल नै नजिकै नहुन् केही असर पर्दैनथ्यो । घण्टौ टाढाबाट भए पनि पानी ओसारेर लोग्नेमान्छेको तिर्खा मेटाउनै पर्थ्याे तिनै एउटी आइमाईले ।

आज संसारले कायापलट गरिसक्ता पनि हाम्रो समाजले महिलालाई सम्मान दिन सकिरहेको छैन । शब्द रुपान्तरित भएर आइमाईबाट महिलामा परिणत भएको छ तर व्यवहार उस्तै छ । दुःखले दरिद्रता र सुखले सभ्याता ल्याउने कुरालाई स्वीकार्दै समयले शब्दको पगरी गुथिदिएको छ र हिजो भोगेको वास्तविकता, दुःखको निशानी, हेलाको सम्बोधन ‘आइमाई’ आज महिलाहरूले नै दुत्कार्न थालेका छन् तर दुःख भने सुखमा परिणत हुन नसकी फरक प्रकृतिको दुःखमै रुपान्तरित भएर बसेको छ ।

मेरा बा बित्नुभएको पनि ६ वर्ष नाघिसकेछ अहिले । बा भन्नेगर्नुहुन्थ्यो ‘म नमरुञ्जेल हेरिरहन्छु मैले भोगेको गाउँलाई ।’ ‘अधिकांश वृद्ध महिला र मजस्तै बुढा बाहरूले मात्रै धानेका छन् सिङ्गासिङ्गै गाउँहरू ।’ हामीले हाम्रा बालाई उहाँको इच्छाविपरित लछारेर तराई झारेका थियौँ बसाइँका नाममा । तर बाको मनले कहिल्यै छोडेन चुङमाङ । बा भन्नुहुन्थ्यो ‘हुन त उनीहरू पनि पहिलेजस्तो आकाश हेरेर पानीको आशा गर्दैनन् अहिले । किनकि घरघरमा छन् समयसमयमा पानी आउने धाराहरू । टाढाटाढाका मूलहरूमै ट्याङ्की बनाएर, पाइप जोडेर ल्याएका हुन् पानी । आँगनका डिलमा ट्याक्टरले चामलका बोरा खसाएर जान्छन् । छोराछोरीले विदेशबाट पठाएका रुपैयाँ पनि मनीट्रास्न्फरहरूले घरघरमै पुर्याइदिन्छन् । वारिपारिका डाँडा छुट्याउने, फेदीफेदीमा सीमारेखा कोर्ने र तलतलै नदीतिर सोझिने मुगा, नकुवा खोलाहरूको सम्झना पनि गर्दैनन् गाउँलेहरू । किनकि आजकल खेती नै गर्दैनन् गाउँमा र आशा पनि गर्दैनन् गाउँ नछोइ बगीजाने खोलाहरूको । खाडीमुलुकमा छन् खेती गर्ने युवाहरू पनि ।

बा भन्नुहुन्थ्यो… ‘आजकल हाम्रो शिरबाट डाँडैडाँडा मोटर दौडाउँदै हिँड्छन् छिमेकी खोकु छिन्ताङ, आँखिसल्ले गाउँलेहरू । दायाँबायाँका गाउँलाई एउटै नजरले हेर्दै हिलेबजार पुग्छन्, बजार भर्छन् र फर्कन्छन् हाम्रै घ्याम्पे गाउँको निघार पिउँदै, तामाङसेलोमा नाच्दै । उनीहरू पनि सुनाउँछन् एक दुई हाक्पारेहरू र लाग्छन् हाम्रा मन छुँदैछुँदै आफ्नै गाउँतिर । तर आउँदैनन् आफ्नै गाउँले युवायुवतीहरू आफ्नो गाउँ सम्झेर लाहुरबाट । बाँझा खेतबारी सम्झेर खाडीमुलुकबाट । शीतल हावा सम्झेर हामीजस्ताहरु तराईका फाँटहरूबाट ।’ बा बोल्न छोड्नुहुन्थ्यो र हामी मुखतिर हेर्थ्याैं । बा आँखा पुछ्नुहुन्थ्यो तर आँसु भने बाभन्दा अगाडि नै गाला नाघेर कमेजमा खसिसकेका हुन्थे ।

सम्झन्छु अझै पनि म । संसार त्याग्नुअगाडि बाले दोहोर्याइरहनु भएका कुराहरुः ‘प्रशस्त पानी परे त मूल पघ्रन्थे । खोला छङ्छङ् बग्थे । सिचाहीँ हुन्थ्यो । जे रोप्यो त्यही प्रशस्त फल्थ्यो । घरघरबाटै व्यापार हुन्थ्यो अब ता । समृद्धिले सुखशान्ति जन्माउँथ्यो । शीतल वातावरणमा स्वस्थ जीवन जिउन सकिन्थ्यो । कोही डिबी भर्दैनथे । खाडीजाने भिसा हान्दैनथे । युरोप, अष्ट्रेलिया, जापान, कोरिया यहीँ हुने थियो । के हुँदैन थियो र स्वर्ग यहीँ हुन्थ्यो । तर.. पानी नपर्दा …आज रित्तारित्तै छन् हाम्रा पहाडहरू…।’