यो ध्रुवसत्य कुरा हो कि भेटिएपछि छुट्टिनु पर्छ । देखिएका दृश्यहरु आँखामा सदा रहिरहँदैनन् । अझै सुरम्य नदी, ताल, झरना, पहाड र हिमाललाई आँखाभरि भरिरहन मन लाग्छ । तर ! अपशोच कति छिटो परेलीको रुमानी भएर खस्छन् आँखाको अञ्जुलीबाट। एक झिमिक हो प्रेमको विपुलता र आनन्दको झन्कार । कतिबेला टुट्छ प्रेमको तार अनि कतिबेला छुट्छ कालीगण्डकीको धार पत्तो हुँदैन ।माछापुच्छ्रेको स्वतन्त्र स्वरुप फेवामा त्यतिबेला मात्रै विलुप हुन्छ जतिबेला फेवाको आँसु धमिलिन्छ। जबसम्म फेवा आफ्नो कायालाई कञ्चन राख्छे जतिबेलासम्म फेवाको पवित्र पानीमा धमिलोले अतिक्रमणको गर्दैन तबसम्म मात्रै फेवाको मुहारमा माछापुच्छ्रेले आफ्नो बिम्ब देख्छ।

वास्तवमा प्रेमको सम्बन्ध पनि त्यस्तै हो जस्तो हो फेवा र माछापुच्छ्रेको सम्बन्ध । जुन दिन सम्बन्ध धमिलिन्छ अनि प्रेमको तार पनि टु्ट्छ, माया र विश्वासको धुन पनि हराउँछ । खोइ कहाँ हराउँछ कुन्नि ! खोइ कहाँ बिलाउँछ ? त्यसपछि सम्झनाको सियोले घोचिरहन्छ छाती । कालान्तरमा, त्यो विछोडको पीडाको खत पनि मेटिँदै जान्छ । जस्तो बर्षामा पहाडको छातीमा उडिरहेको बादल पानी परेपछि आफैँ हराए जस्तो । उडेर जान्छ दूर आकाशतर्फ । यो उडेर आकाशतर्फ गएको हो कि धरतीको छातीमा निदाएको हो भन्न सकिन्न ! प्रेम भैसकेपछि विछोडको कल्पनाले प्रेमलाई अझै तीव्रतातिर लिएर जान्छ । अनौठो छ प्रेमको संसार।अनौठो छ प्रेमको कम्पन । प्रेम सुखको अशान्त पोखरी हो। डुब्न मन लागिरहन्छ तर श्वास फेर्न फेरि बाहिर निस्कन पर्ने बाध्यता रहन्छ । मृत्युपछि पनि प्रेमको अवशेष बाँकी रहन्छ । जस्तो बाँकी रहन्छ घाम डुबेपछि एउटा आकाशको आयतन ! सूर्य अटाएको एउटा सिङ्गो परिव्याप्ती !

प्रेमको दुखद् अन्त्य तब हुन्छ जब सम्बन्धले समस्याहरूको अनुभव गर्न थाल्छन् । र कुनै प्रकारको बाहिरी जटिलताको कारणले मात्र यो टुट्छ। यदि एक पुरुष र एक महिला बाहिरी संसारको कठोर वास्तविकताबाट अलग रहे भने, तिनीहरूको सम्बन्ध सम्भवतः धेरै लामो समयसम्म रहन्छ र द्वन्द्व कम हुनेछ। कुनै न कुनै प्रकारको झगडा हुँदा सम्बन्ध सधैँ टुटेको भए तापनि, दुईको एक अर्काप्रतिको प्रेम र विश्वासको कारण जस्तोसुकै तनावमा पनि फेरि छिटो सम्बन्ध स्थापित हुन्छ । तर यो परिवेश सधैँ एकनासको हुँदैन । निश्चित रूपमा एक दुःखद घटना हो कि एक प्रेमिल जोडीलाइ परिवेश र दैनिक कठोर वास्तविकताहरूले उनीहरूको सम्बन्ध टिक्ने वा नरहनेमा ठूलो भूमिका खेलिरहेको हुन्छ। प्रेमको सम्बन्ध टुट्नुमा सत्तरी प्रतिशत बाहिरी परिवेशको हात हुन्छ । सामाजिक जीवनमा बाँच्नेहरुलाई समाजको मूल्य र मान्यताले नै अनेकौं समस्या झेल्न बाध्य बनाइरहेको हुन्छ ।

समयको सामाजिक मापदण्डहरूमा सम्बन्धले कत्तिको राम्रोसँग काम गर्छ, र सम्बन्ध कति लामो समयसम्म रहन्छ भन्नेमा बाह्य प्रभाव हो। महाकवि देवकोटाको मुना मदनमा भनिएझैं सामाजिक सम्बन्धहरूले जोडीको सम्बन्धमा ठूलो भूमिका खेल्छ। पैसाको लागि भोट जानुपर्ने बाध्यता मुनाको कारण पनि हो। कथामा ती जोडीबीच एउटै परिदृश्यको सम्बन्ध छ । त्यो थियो गरिबीबाट उन्मुक्ति । आवश्यकता केवल खानु र लाउनु मात्रै पनि थिएन । यदि त्यति मात्रै भएको भए मदन भोट जाँदैनथे। आवश्यकता गरिबीको चिन्तनबाट मुक्त भएको कुरा आफूलाई मात्रै होइन समाजलाई पनि थाहा दिनु हो । आावश्यकता आफू धनी भएको कुरा समाजलाई प्रमाण गर्नु पनि हो । दुई जोडीहरूमा जब सपनाहरू असीमित हुन थाल्छन् खास गरेर स्त्रीको सपना पूरा गर्न पुरुष हुरुक्क हुन्छ । आफ्नो प्रेमिकाको सपना पुरा गरिदिनुमा एउटा पुरुष आफ्नो अहमसँग जोडिएको महसुस गर्छ। जब योजना अलपत्र पर्छन् अनि प्रेम पनि एक्लिन थाल्छ किनकि यहाँ स्वार्थले सधैं शिर उठाइरहेकै हुन्छ ।

प्रेम आफै मात्रै एक्लै हिँड्न सक्तैन । प्रेमलाई हिँड्न आर्थिक, सामाजिक, भौगोलिक, भौतिक र दार्शनिकताको कयौं खुट्टाहरु आवश्यक पर्छन् । समर्पित मनले मात्रै अहिलेको भौतिक युगमा प्रेम बाच्न सक्तैन । समर्पण त प्रेमलाई हिँड्न अभिप्रेरित गर्ने बाटो मात्रै हो। केवल प्रार्थना गरेर पुग्नेत ईश्वरसँगको प्रेमलाई मात्रै हो। एकाध बाहेक अहिले प्रेम निकै महङ्गो सावित भैसकेको छ। यो सामाजिक सम्बन्धहरुसँगको पुल पनि हो जहाँ बाट कयौं मानिसहरु जोडिन्छन फेरि टुट्छन् पनि । सम्बन्धलाई कति लामो समयसम्म लैजाने भनेर कसैले पनि सम्बन्धको समय नापेर प्रेम गर्दैन । प्रेम गर्ने दुईजना बिचको आपसी बुझाइ र एकले अर्काको भावनाप्रतिको सम्मानमा भर पर्छ, यसको जीवन्तता । प्रेममा पर्नु अहंकारको अन्त हुनु हो या दुवैले हार्न सिक्नु जित्न नखोज्नु पनि हो। प्रेम पदार्थहरुबाट माथि उठेको एउटा सुखद् र विराट अनुभूति पनि हो। सपनाहरूको जुगुप्साले प्रेमलाई बचाउँछ पनि र फेरि तिनै सपनाहरूको कारणले प्रेम मर्छ पनि ।

कति सपनाहरू पुरा हुँदैनन् , त्यस कारण पनि जोडीमा विचल्लीपन निम्तिन्छ। अक्सर पुरा नहुने भएकोले पनि सपना भनिएको होला । समाजले प्रेम देख्न चाहँदैन। अझ पूर्वीय समाज त प्रेमको घोर विरोधी हो। हाम्रोमा प्रेमलाई विरोध गरिन्छ । यही कारण पनि प्रेम बाँच्न सक्तैन । जोडीहरुसँगै बस्नको लागि लुक्नुपर्छ र झुट बोल्नुपर्छ। हाम्रो सामाजिक प्रचलनका कारण, सामाजिक मापदण्डका कारण दम्पतीमाथि या प्रेमिल जोडीमाथि तनावको अर्को र अनेकौं प्रहारहरु हुन थाल्छन् । प्रेमले हार्नुपर्छ। कुनैकुनै प्रेम मात्रै सफल हुन्छन् । त्यस्तो प्रेम मात्रै सफल हुन्छ जसले समाजको विरोधी स्वरहरुको पर्वाह गर्दैन, आफू वरिपरिको कुरा नसुनी केवल आफूलाई मात्रै सुन्छ । र आफ्नो सपनाको निद्रामा मात्रै निदाउन सक्छ । हिजोआज के यो सम्भावना रहला त ?

प्रेमको दुखद् अन्त्य तब हुन्छ जब सम्बन्धले समस्या अनुभव गर्छ र कुनै प्रकारको बाहिरी जटिलताको कारणले यो टुट्न सुरु गर्छ।

सम्बन्धले कति राम्रो काम गर्छ र कति लामो समयसम्म यो जीवित रहन्छ भनेर सामाजिक सम्बन्धनहरूले निर्क्योल गर्छ । कसरी विषम परिवेशले जीवन जोडीको सम्बन्धलाई असर गर्न सक्छ भनेर हामी बाचिरहेकै समय र समाजले विश्लेषण गर्दछ। प्रेम व्यक्ति व्यक्तिले गर्छन् तर यसको सम्बन्ध र टाउको दुखाइ प्रेमीहरु बाचेको समाजमा पर्छ ।

बाहिरी संसारले सम्बन्धमा यति ठूलो भूमिका खेल्नु दुर्भाग्यपूर्ण कुरा हो तर हामी जे हौँ समाज पनि त्यही हो । हामी समाजद्वारा निर्देशित छौँ । हाम्रो सामाजिक स्तर, हाम्रो जीवन अवस्था/परिस्थिति र कठोर वास्तविकताले प्रेमलाई टुक्राउन सक्छ। हामी बाचेको समाजले प्रेमलाई मलजल गर्दैन । अनेकौं बाधा र बाध्यताहरु छन् प्रेमलाई जीवित राखिरहन। अहिलेको सामाजिक सञ्जालले प्रेम गाँसिने पुलको काम गरिरहँदा फेरि यही सामाजिक सञ्जाल प्रेम टुक्र्याउने वा प्रेम छिनाउने एउटा दरिलो हतियार पनि सावित भैरहेको छ । अहिले धेरै रोजाइहरु छन् । मोबाइलको पर्दामा तपाईं मन लागेको केटा / केटी छान्न पाउनु हुन्छ । अहिले मायाको लागि पैताला ख्याउनु पर्दैन । मोबाइल डेटिङपछि मिलनको सेटिङ छिटो तयार हुन्छ । यो डिजिटल जमानामा कुन स्त्री / पुरुषको नियन्त्रण खपेर बस्ने ? उनीहरू चहार्न सक्छन् स्वतन्त्र आकाशमा र फेर्न स्वतन्त्र छन् आफूलाई मन लागेको स्त्री / पुरुष । हो यही हो सामाजिक सम्बन्धले प्रेमको उमेर निर्धारण गर्छ भनेको।

प्रेम गहिरो, तीव्र, साँचो र भावुक हुन्छ, तर सबै प्राय: दुःखद् रूपमा समाप्त हुन्छन् । जुन सधैं मायाको बोझ बोक्न हिम्मत राख्ने एक व्यक्तिलाई पछाडि छोड्छ प्रेमले। जहिले पनि प्रेम टुट्दा एउटाले जीतको अनुभव गर्छ अर्कोले हारको। प्रेमको कथाहरू सबैको साझा विषयवस्तुको रूपमा समाजमा रहेको हुन्छ । हाम्रा आँसुहरुमा दुखद प्रेमको कथा छ । प्रेम कथाहरू कसरी त्रासदीमा पुगेर समाप्त हुन्छ र कसरी यस्ले व्यक्तिको अहमलाई समुल नष्ट गरिदिन्छ भन्ने कुरा केवल प्रेम भोगेर बिछोड भोग्नेलाई मात्रै थाहा हुन्छ ।

प्रेम एक उत्प्रेरक हो। ऊर्जा हो। जसरी हरेक युद्धले विपत्ति निम्त्याउँछ, त्यसरी नै प्रेमले अज्ञातलाई निम्त्याउँछ। थाहा छैन भोलि के होला ? प्रेम अनिश्चितताको एउटा धुमिल बाटो पनि हो जहाँबाट हिँड्ने प्रायः लडेका छन् । बत्तीको रापले जलाउँछ र मार्छ भन्ने बुझेको भए किन पुतलीहरु आकर्षित हुन्थे र उज्यालोमा। वातावरण, पृष्ठभूमि, र व्यवहारजस्ता कारकहरूनै प्रेमको परिणाम हो। मायाको सम्बन्ध स्वास्थ्य जस्तै हो; तिनीहरूलाई प्राप्त गर्न सन्तुलन, त्याग र लगनशीलता चाहिन्छ। अस्वस्थ सम्बन्धहरूमा सामान्यतया गलत सञ्चार, नियन्त्रण गर्ने असमर्थता र गलत धारणाहरू हुन्छन्।

आफ्नो जीवन अवधीभरका लागि हामी प्रेमी / प्रेमिका पति / पत्नी चाहन्छौँ, हाम्रो जीवन एकअर्कासँग आत्मीय, र विशेष तरिकामा साझा गर्दै हामी बाँच्न चाहन्छौँ । आफूले चाहेको व्यक्तिलाई फेला पार्न आफ्नो सम्पूर्ण जीवन सङ्घर्ष गर्दा पनि पाइन्न कहिले र कहिले सहजै प्राप्त होला। प्रेम लेखिएको मात्रै पाइन्छ देखिएको होइन । तपाईं ती भाग्यमानी थोरै मानिस मध्य पर्नुहुन्छ जोसँग प्रेम छ। हामी तिनै मान्छे हौ जो थोरै स्नेहको लागि पनि हताश गर्छौं, मानिसहरू जसले यस संसारमा आफूले चाहेको कुरा प्राप्तिका लागि यत्न गर्छन् भने तिनैले प्रेम पनि पाँउछन् ।

संसारभरका मानिसहरूले माया गर्छन्। तिनीहरू प्रेमको लागि बाँच्छन्, तिनीहरू प्रेमको लागि लेख्छन्, प्रेमको लागि गाउँछन्, खान्छन्, मर्छन् र मार्छन् । यो धरतीमा रेकर्ड गरिएको समयको सुरुवातदेखि, मानिसहरूले सोच्दै आएका छन् कि किन प्रेम यस्तो तीव्र र विश्वव्यापी भावना हो भनेर ? यस ग्रहमा प्रेम नभएको कुनै संस्कृति छैन । मैले यस निबन्धमा रोमान्टिक प्रेमको बारेमा कुरा गरेको छैन, न इच्छा न कामुकता र यौनको बारेमा कुरा गरेँ । मैले त सिर्फ प्रेमको दीर्घायुको बारेमा कुरा गरेँ ।

प्रेम हुनु र आकर्षण हुनुमा धेरै अन्तर छ। आकर्षण सहितको प्रेममा अझै तीव्रताको झड्का रहन्छ । रोमान्टिक प्रेम, पृथ्वीमा सबैभन्दा शक्तिशाली ऊर्जाहरू मध्ये एक हो । यो वास्तवमा एक प्रकारको लत पनि हो । यो सबैभन्दा शक्तिशाली उच्च भावना पनि हो जुन हामीले हाम्रो जीवनमा कम्तिमा एक न एक पटक अनुभव गर्छौं । कोकिन खाएपछिको हडबड र प्रेम परेपछिको छटपट र हतारले मस्तिष्कमा एकै प्रकारको रसायन उत्पादन गर्छ । हामी शाब्दिक रूपमा प्रेमको लतमा छौँ । प्रेममा भएको अनुभूतिले हामीलाई अझ खुसी महसुस गर्न मद्दत गर्दछ , तर माया गरिएको वा मन टुटेको भावनाको तीव्रता उस्तै हुन्छ, तिनीहरू दुबै एकै ठाउँबाट टाढा जान्छन्। प्रेम हाम्रो मस्तिष्कको सबैभन्दा आधारभूत प्रणालीमा रहन्छ, सबै संज्ञानात्मक प्रक्रिया अन्तर्गत, सबै ह्रदय सम्वेद आवेगहरू अन्तर्गत; यो हाम्रो स्नायु प्रणालीमा रेकर्डिङ हुन्छ ।

जब प्रेमको सुरुवात हुन्छ यो सँगै प्रेमको त्रासदी पनि सुरु हुन्छ । संसार प्रेमको परिणाम हो । संसार ध्वस्तको परिणाम पनि प्रेम नै हो । आजको डिजिटल मनुष्यको प्रेम पनि डिजिटलजस्तै फेरिरहनुमा आफूलाई अपडेट गरेको सम्झन्छ । अब प्रेम प्रेमजस्तो कहाँ छ र ? आजको प्रेममा कोमलताले मर्न परेको, लज्जाले हार्न परेको, भौतिकता र यौन उन्मादले जितिरहेको अवस्था छ । आज कोही पनि बिछोड हुँदा रुँदैनन् किनकि आज प्रेमको बटम फेसबुकको च्याटमा र टिकटकको हाउभाउमा छ। आज एक निम्तोमा नै झुलुक्क झुल्किन्छन् रोबर्ट मायालुहरू !