भूमिकाः

नारी मुक्ति आन्दोलन आधुनिक समयको एउटा ज्वलन्त विषयको रूपमा देखापरेको आन्दोलन हो। साहित्यमा यसलाई स्त्री विमर्श वा नारी विमर्शको पर्यायको रूपमा लिइन्छ। यसअन्तर्गत नारी जीवनलाई केन्द्रमा राखेर नारी साहित्यको सिर्जना गरिएको पाइन्छ। यो बीसौं शताब्दीमा धेरै चर्चामा आएको विषय हो। साहित्यमा स्त्री विमर्शको विषय अन्य अस्मितामूलक विमर्श झैं एउटा मुख्य र लिङ्ग विमर्शमा आधारित विमर्श बनेको देखिन्छ। यसलाई अङ्ग्रेजीमा ‘फेमिनिज्म’ भनिन्छ। आधुनिक स्त्रीवादी विमर्शको सिद्धान्त र दर्शन मुख्य रूपले पश्चिमी मूल्य र दर्शनमा आधारित छ भन्ने विद्वानहरूको भनाइ छ।

कतिपय विद्वानहरू बीसौं शताब्दीमा यसको थालनी फ्रान्सीसी लेखक सिमोन द बुआको पुस्तक ‘द सेकण्ड सेक्स’ (१९४९) को प्रकाशन-वर्षलाई मान्दछन् भने कसैले मेरी एलमनको पुस्तक ‘थिकिंग अबाउट वीमन’ (१९६८) लाई मानेको देखिन्छ। धेरै जसो विद्वानहरू कुनै वर्ष-विशेषलाई स्त्री-विमर्शको उठान बिन्दु मान्ने पक्षमा छैनन्। उनीहरूको भनाइअनुसार यो भन्दाअघि पनि स्त्रीको भिन्नै चिनारी, उसको स्वतन्त्र अस्तित्व र उसका अधिकारको समस्यालाई उठाउन थालिएको थियो। उदाहरणको रूपमा- वर्जीनिया वुल्फले आफ्नो पुस्तक ‘ए रूम आँफ वन्स ओन’ (१९२९) मा लेखेकी छिन्- “ह्वाइट हल छेउ भएर हिँड्ने कुनै पनि स्त्रीलाई आफ्नो स्त्रीत्वको बोध हुने बित्तिकै आफ्नो चेतनामा अचानक उत्पन्न देखिएको चिरालाई लिएर ऊ अचम्म मान्छे। ऊ सोच्न लाग्छे – मानव-सभ्यताकी सहज उत्तराधिकारिणी भएर पनि ऊ यसबाट बाहिर, परकीय र यसको आलोचनाको केन्द्र कसरी भई ?”

पश्चिमी देशमा नारी जागरणका जमर्काहरूः

ब्रिटेन र अमेरिकामा १८ औं शताब्दीमा भएको औद्योगिक क्रान्ति, सन् १७९२ ई. मा भएको फ्रान्सीसी क्रान्ति, १८५७ मा संयुक्त राज्य अमेरिकामा महिला र पुरुषको वेतनलाई लिएर हडताल, १८५९ ई. मा पीटर्सबर्गमा भएको आन्दोलन, १९०८ मा ब्रिटेनमा स्थापित ‘वीमेन्स फ्रीडम लीग’, सन् १९७५, १९८५, १९९५ मा मनाइएको विश्वस्तरीय अन्तर्राष्ट्रीय महिला वर्षलाई नारीमुक्ति आन्दोलन र समान अधिकारका लागि उठाइएका समवेत आवाज र कदमहरू मानिन्छ।

हरेक कुरामा पश्चिमी देशलाई गुरु थाप्ने हाम्रो पूर्वेली मानसिकताले आफ्नो घरभित्र नजर दौडाएर आफ्नो इतिहास केलाउने काममा सधैँ उदासीनता देखाएको पाइन्छ। पश्चिममा नारी मुक्ति आन्दोलनको इतिहास अठारौं शताब्दीमा शुरु हुन्छ तर भारत भूमिमा यसको प्रारम्भ बिन्दु १२औं शताब्दीमा भेटिन्छ। पुरुषप्रधान सामाजिक व्यवस्थाप्रति विद्रोहको टडकारो स्वर भारत भूमिबाट नउठेको होइन, तर यसलाई केलाउन र जान्नप्रति हामिले कहिल्यै चासो देखाएनौँ ।

===

भारतीय सामाजिक व्यवस्था र नारीः

भारतीय सामाजिक व्यवस्था अचम्मको छ। एकातिर हाम्रो वैदिक धर्म-परम्पराले “यत्र नार्यस्तु पूज्यते रमन्ते तत्र देवता” भन्दै समाजमा नारीको वन्दनीय स्वरूपलाई दर्शाउन खोज्छ भने अर्कातिर त्यही समाजले नारीलाई पुरुषभन्दा कम महत्त्वपूर्ण मान्दै उसलाई पूर्ण मानवीको दर्जाबाट वञ्चित राख्ने प्रयास गर्दछ । एकातिर हेर्दा नारी अस्तित्वको विषयमा पूर्वीय धार्मिक मान्यताका सैद्धान्तिक र व्यावहारिक कुरामा सोझै पार्थक्य देखा पर्दछ। ईश्वरप्रति आस्था देखाउँदै सगुण ईश्वरको स्वरूप (मूर्ति, फोटो) को पूजा गर्ने तर त्यस स्वरूपको अर्थ भने नबुझ्ने मान्यता यहाँ विकसित भएको कुरालाई नकार्न सकिँदैन।

नारी-पुरुषको विषयमा पूर्वेली धर्म, दर्शन र सिद्धान्तले प्रशस्त सामाजिक, व्यावहारिक र कार्मिक दिशा प्रदान गरेको छ, तर समाजसँग त्यस मर्मलाई बुझ्ने विवेक र नजरको विकास भने प्रशस्त नभएको पाइन्छ। हामीले मान्ने हाम्रा ईश्वरहरूमा उमा-शंकर, राधा-कृष्ण, लक्ष्मीनारायण, दुर्गाका विभिन्न स्वरूप आदिको पूजा-आराधना हामी भक्तिसाथ गर्ने गर्दछौं तर यी स्वरूपको सही अर्थ भने केलाउन खोज्दैनौँ। यी छविहरूले पूर्वीय लैङ्गिक व्यवस्थालाई छर्लङ्ग पार्दछन् जहाँ नारी-पुरुष समानताको सन्देश भेटिन्छ। धार्मिक मान्यतालाई फोटा र मूर्तिहरूमा मात्रै सीमित नराखेर दैनिक व्यावहारिक जीवनमा उतार्दै यसको सही मूल्याङ्कन गर्ने खाँचो पनि देखिन्छ।

===

वर्तमान समाज र नारीः

वर्तमान युगमा आधुनिक शिक्षाको उज्यालो सर्वत्र फैलिए तापनि मानव समाजमा नारी पूर्ण रूपमा सुरक्षित कतै पनि छैनन् र यो एउटा बिडम्बनाको कुरा हो। कतै आफ्नै स्वजन बन्धुबाट पीडित छन्, कतै पर पुरुषबाट र कतै आफूलाई नचिनेर स्वयंपीडित पनि छन्। वर्तमानकी नारीले शिक्षाको चरमचुली छोएका छन् तर समाजको सोच भने जहाँ थियो, त्यहीँ छ।

विकासका लागि सोचमा सन्तुलित परिवर्तन आउन अनिवार्य हुन्छ। समाजमा नारी प्रताडनाका जघन्य भन्दा जघन्य घटनाहरू घटित हुनपछि, सोचमा सन्तुलित परिवर्तन न आउनु एउटा प्रमुख कारण हो। पुरुषवर्गको ठुलो प्रतिशत घर-बाहिर जति नै नारी स्वतन्त्रताको पक्षधर भएता पनि घरभित्र परम्परागत एकतन्त्री शासकको भूमिकामा ओर्लिएको देखिन्छ। ६० प्रतिशत पुरुषहरूले नारी स्वतन्त्रताको अर्थ नारी स्वच्छन्दताको रूपमा लिने गर्दछन्।

प्राय: पुरुषवर्गले आज पनि आफ्नी पत्नी, दिदी, बहिनीलाई स्वतन्त्ररूपमा हिँडेको पचाउन सक्दैन। समाजले छोरीलाई घर बाहिर नजाने, जताततै एक्लै नहिँड्ने शिक्षा दिन्छ तर छोरालाई अर्काकी छोरीको सम्मान गर्नुपर्छ भन्ने कुरा कहिल्यै न सिकाउँदो रहेछ। आज सभ्य-शिक्षित भनिने परिवारमा पनि कतै-कतै, कुनै न कुनै रूपमा नारीहरू पीडित भएका देखिन्छन्। घरेलु हिंसा, प्रताडना, यौन दुष्कर्म जस्ता घटनाहरूमा, अन्धविश्वासी र असभ्य प्राणीहरूसँगै शिक्षित र सभ्य भनाउने पुरुषवर्ग पनि उत्तिकै सामेल भएको देखिन्छ।

===

अक्का महादेवी र उनको देनः

नारी-पुरुष समान अधिकारको माग गर्दै समय समयमा नारीहरू स्वयं नओर्लिएका होइनन्। भारतभूमिमा पितृसत्तात्मक व्यवस्थाप्रति विद्रोहमा ओर्लिएका प्राचीन ऐतिहासिक नारीहरूमा मीराबाई, अन्दाल, अक्कामहादेवी आदिलाई आजको नारी समाजले अध्ययन गर्नै पर्छ। यस लेखमा भारतको कर्नाटक राज्यमा जन्मलिएकी शैव भक्तिन अक्का महादेवीको परिचय दिने प्रयास गरिएको छ, जसले पुरुष सत्तात्मक रुढीको विरोध गर्दै शैव भक्तिको मार्ग अँगालेकी थिइन्।

अक्का महादेवीको जन्म १२ औं शताब्दीमा कर्नाटकको शिवमोगा जिल्लामा पर्ने उडुतरी गाउँमा भएको थियो। सानैदेखि उनी धेरै गम्भीर, तार्किक, शीलवती, ईश्वरमा असीम आस्था राख्ने र भगवान शिवलाई आफ्नो आराध्य मानेर उनकै भक्तिमा डुबी रहन्थिन्। उनले सात वर्षको उमेरमा शैव भक्ति सम्प्रदायमा दीक्षा लिइन्।

१६ वर्षकी शोडषी अक्का महादेवी असीम सौन्दर्यकी धनी थिइन्। उनका दौंतरी अन्य केटीहरू जब आफ्नो सम्भावित दुलहाको सपना देख्न लागे, यस अवस्थामा उनले आफ्नो पतिको रूपमा भगवान शिवलाई स्वीकार्दै उनको आराधना गर्न लागिन्। शिवलाई उनले चन्नमल्लिकार्जुन (जूहीको फूल जस्तो कोमल र सुवासले भरिएको) को नामले आराधना गर्दै उनैसँग आफ्नो विवाह गर्ने आफ्नो अटल निर्णय आफ्ना माता-पितालाई सुनाइन्।

बाल भक्तिनी अक्का महादेवीको असीम सौन्दर्यमा कर्नाटक प्रान्तका जैन राजा कौशिकको नजर पर्याे। उनले उनका माता-पितासँग विवाहको प्रस्ताव राखे। राजशासनको कठोर आज्ञाअघि उनका माता-पिताले झुक्नु पर्याे। अक्का महादेवी राजासँग विवाह गर्न बाध्य भइन्। विवाहअघि राजाले उनको भक्तिमा बाधा न दिने र उनको स्वतन्त्रतामा बाधा न बन्ने वाचा गरे। विवाहपछि राजाले आफूले दिएका वचनहरू एउटा पनि पालन नगरेको देख्दा उनको मन अति खिन्न भयो। राजाले पति भएका नाताले उनीमाथि पुरुष अधिकार जमाउन खोजे।

उनले राजालाई आफ्नो स्पष्ट अडान सुनाउँदै भनिन् – “म शिवकी भैसकेकी छु। तपाईंले मलाई विवाह गर्न बाध्य गराउनु भयो, तर म तपाईंलाई आफ्नो पतिको रूपमा कहिल्यै पनि स्वीकार गर्न सक्तिन। मेरा पति त साक्षात शिव हुन्। म नाम मात्रकी स्त्री हूँ। मेरो देह, मन, आत्मा सबै शिवको हो।”

शिवप्रति आफ्नो अनन्य प्रेम भाव प्रकट गर्दै उनी भन्छिन् –

दिनमा चारै प्रहर

म तिम्रो शोकमा डुबी रहन्छु

चार पहर रातमा

तिम्रैनिम्ति बौलाई दिन्छु

दिन-रात तिमीलाई नै सम्झन्छु

भएँ रोगी सरी एकोहोरी

ओ मल्लिकार्जुन!

जबदेखि तिम्रो प्रेम

जन्मियो मेरो हृदयमा।

बिर्सिएँ मैले

निद्रा, भोक प्यास।

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर, २०२१, अनुवाद-लेखिका)

नारी स्वतन्त्रताकी पुरोधा अक्का महादेवी नारी शरीरको दैहिक सौन्दर्यलाई मात्रै महत्व दिएको र नारीमाथि एकाङ्गी अधिकार जमाउने पुरुषसत्तात्मक सामाजिक वृत्तिको विरोधमा उभिइन्। आफ्ना पतिको व्यवहारबाट उनी क्षुब्ध भइन्। उनको व्यवहार देखेर उनलाई घोर घृणा लागेर आयो। उनले आफ्नो स्पष्ट अडान सुनाउँदै राजमहल त्यागेर भक्तिनी भन्ने निर्णय लिइन्।

उनी राजमहल छाडेर जान लाग्दा राजाले भने – “तिम्रो शरीरमा भएका लुगा र गर-गहना सबै यसै महलका वस्तुहरू हुन्।”

राजाका वचन सुनेर उनले यसै समय उनी आफूले लगाएका सबै राजसी लुगा, गर-गहना र अन्य राजसी वस्तुहरू त्यागेर सर्वाङ्ग नग्न रूपमा ‘जय चन्नमल्लिकार्जुन’ भन्ने नारा लगाउँदै उनी राजमहलबाट बाहिर निस्किन्। यसरी पुरुषसत्तासँग बाँधिएका सबै आवरणहरूको त्याग गरी उनी एक्लै निस्किइन्।

ईश्वरले मानवलाई यस धरतीमा नाङ्गै जन्माएको हो, ऊ नाङ्गै यस मर्त्यलोकबाट जान्छ र नग्नतानै जीवनको यथार्थ हो भन्ने कुरालाई प्रष्ट पार्दै उनी आफ्ना वचनमा लेख्छिन् –

लजाउँछन् मानिस

पुरुष हो या स्त्री

खुस्किए यदि

लाज छोपेको लुगा।

यदि व्याप्त भए जीव जगतमा

मुख विहीन प्रभु

कोबाट लजाउँछौ तिमी ?

समस्त जगत जब

आँखा हुन् प्रभुका

देख्छन् कण-कण जगतका

के लुकाउँछौ, के छोप्छौ ?

(गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर, २०२१, अनुवाद-लेखिका)

शिवको एकनिष्ठ प्रेम एवं भक्तिमा डुबेकी अक्का महादेवीले ईश्वर बाहेक पर पुरुषको व्याख्या आफ्ना वचनमा यसरी गरेकी छिन्। विवाह गर्ने प्रसङ्गमा उनि आफ्नी आमालाई जवाफ दिँदै भन्छिन् –

आमा !

अन्य पुरुष

कोमल पत्तामा लुकेको काँडा हो

म उसलाई छुन सक्दिन

न जान सक्छु उसको छेउ

न गर्न सक्छु भरोसा

न भन्न सक्छु मनको कुरा

आमा !

सबैको मुटुमा भाला छ

म कसैलाई अँगालो मार्न सक्दिन

सिवाय मल्लिकार्जुनलाई।

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर, २०२१, अनुवाद-लेखिका)

राजमहल छाडेपछि महादेवी शिवका भक्तहरूको आश्रयस्थल कल्याण नामक स्थानमा गएर ‘वीर शैव’ नामक भक्त-समूहमा सामेल भइन्। त्यहाँ भक्ति, दर्शन र समाज सुधार लगायतका विभिन्न विषयमा खुला बहस गर्ने मञ्च ‘अनुभव मण्डप’ मा महादेवीले निर्भय भएर आफ्नो उपस्थिति दिन लागिन्। उनी त्यहाँ दिनहुँ हुने विचार-मन्थन सभामा सन्त-महन्तहरूसँग आफ्ना गहकिला विचारले सबैलाई मन्त्रमुग्ध पार्न लागिन्। उनका तात्विक, सामाजिक, लैङ्गिक, धार्मिक र दार्शनिक वक्तव्यले सबैको मन छुन लाग्यो। एउटी भक्तिनी, दार्शनिक र समाज सुधारकको रूपमा उनी प्रसिद्ध भइन्। समाजले उनलाई सम्मान स्वरूप ‘अक्का’ उपाधि दियो जसको अर्थ हो – वयोज्येष्ठ वा ‘दिदी’। अक्का महादेवी तत्कालीन दक्षिण भारतीय प्रख्यात शैव सन्त बसवन्ना, चेन्ना बसवन्ना, प्रभुदेवा र मादिवलय्यको सत्संगमा रहिन्। यसको प्रभावले उनको शिवप्रतिको भक्ति अझ प्रगाढ हुँदै गयो। उनले सगुण भक्तिको प्रचार-प्रसार गरेको देखिन्छ।

पुरुष वर्चस्व छाडेपछि अक्का महादेवीले आफ्नो शेष जीवन एक साध्वीका रूपमा मन्दिर र गुफामा बिताइनन्। उनी आजीवन शिव भक्तिमा लीन भइन्। उनले सम्पूर्ण जगतलाईनै शिवमय देखिन्। उनले कण-कणमा परमलाई देखिन्। हरेक रुखमा कल्पवृक्ष, हरेक झारपातमा सञ्जीवनी, प्रत्येक स्थान शिवको क्रीडास्थली, प्रत्येक जलमा अमृत र प्रत्येक ढुङ्गामा चिन्तामणि देखिन्। शैव भक्ति तत्वज्ञानमा भक्तको यसै विकृतिशून्य अवस्थालाई सत्यं शिवं सुन्दरम्-भनेर जानिन्छ। स्वयंलाई चिनेपछि उनले आफ्नो हरेक सासमा, शरीरका प्रत्येक अङ्गमा परमको सुगन्ध अनुभव गरिन् र यही सन्देश जगतलाई दिइन्। यसै स्थितिलाई सत्यम् शिवम् सुन्दरम् भनिन्छ। उनले ईश्वरसँग अन्य भक्त झैं भवसागर पार लगाइदिने वा दुख-कष्ट हरण गरिदिने प्रार्थना कहिल्यै गरिनन्। उनले आफ्ना आराध्यसँग साधनाको मार्गमा कठोर भन्दा कठोर परीक्षाको माग गरीन्। उनी आफ्नो क्षमता र सहनशीलतालाई बुझ्न चाहन्थिन्। कठोर भन्दा कठोर परीक्षा दिएर आफ्नो क्षमतालाई चिन्न चाहन्थिन्। यसरी शिवसँग आफ्नो परीक्षाको माग गर्दै उनी भन्छिन् –

प्रभु !

मलाई भिखारी बनाइ देऊ

हाथ फैलाऊँ म

भीख माग्न

कुनै हात अघि न बढोस्

भिक्षा दिन।

कसैले दिएमा –

खसोस् त्यो धरतीमा

त्यसलाई उठाउन

निहुरिऊँ म

कुनै कुकुर आओस्

झम्टेर मेरो हातबाट

खोसी लगोस्

हे मल्लिकार्जुन!

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर, २०२१, अनुवाद-लेखिका)

अक्का महादेवीका आध्यात्मिक, सामाजिक, व्यवहारिक र दार्शनिक ३०० भन्दा बढी वचनहरू (सन्देशमूलक कविताहरू) छन्। यी जम्मै तत्कालीन बोलचालको कन्नड भाषामा लेखिएका छन्। उनका वचनहरूमा अर्थको गम्भीरता र गेयता देख्न पाइन्छ जसलाई आज विद्यालय एवं विश्वविद्यालयको पाठ्यक्रममा पढाइन्छ।

===

निष्कर्षः

अक्का महादेवीको सम्पूर्ण जीवन साहस, अन्याय र लैङ्गिक भेद-भाव, नारी स्वतन्त्रताका निम्ति रुढिगत सोचप्रति विद्रोह, असीम आत्मविश्वास, स्वपरिचय र एकनिष्ठ साधनाको साक्षी छ। उनले शिव साधनाका निम्ति राजमहलको सुख त्यागिन्। नारीलाई घरभित्रको वस्तु मान्ने सामाजलाई चुनौति दिँदै प्रत्येक मनिसलाई आत्मान्वेषण गर्ने र ईश्वरत्वमा पुग्ने अधिकार छ भन्ने कुरामा अडिग रहिन्। उनी एक क्रान्तिकारी, समाज सुधारक, एक वक्ता, महान भक्त र एक महान कवयित्री थिइन्। उनलाई कन्नडकी मीरा भनेर पनि चिनिन्छ। उनी सन् ११६० मा श्री शैलममा भगवान शिवको मूर्तिमा एकाकार भइन् भन्ने मान्यता छ।

यसरी अक्का महादेवीले तत्कालीन सामाजिक रुढिप्रति विद्रोह गर्दै नारीका निम्ति लैङ्गिक भेदभावबाट टाढा भक्तिको फाँटिलो मार्ग खोलिदिएको देखिन्छ। उनको प्रेरणाले थुप्रै महिलाहरू शैव भक्त बनेको इतिहास साक्षी छ। महादेवीबाट प्रेरित भएर शैव भक्ति मार्ग अँगालेका नारीहरू प्राय: परिवार, समाज वा अन्य व्यवस्थाद्वारा प्रताडित र अवहेलित थिए। अक्का महादेवी एउटा यस्तो दियो थिइन् जसले असङ्ख्य दियाहरूलाई जलाइन्। उनी समाजमा अवहेलित र प्रताडित नारीहरू साथै समस्त नारी वर्गकी आदर्श बन्न पुगिन्। समान अधिकारका लागि उनले देखाएको साहस, पुरुष वर्चस्वको विद्रोह, सङ्घर्ष, स्पष्ट अडान, स्वतन्त्र मान्यता, जगतलाई हेर्ने अनुपम दृष्टिकोण युगौं-युगसम्म समाजलाई दिशानिर्देश दिने प्रेरणा स्रोत बनिरहने छ।

===

सहायक सन्दर्भस्रोतसः

१. अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, २०२०

२. आरोह भाग 1, सीबीएसई बोर्ड, कक्षा १२औं।

३. An Epitome of Feminism – Akka Mahadevi – Raggi Mudde, Karnataaka.com, २३ September, २०११

४. Akka Mahadevi: Shiva in her soul – The Hindu, B Ramadevi, May २०१६

५. https://www.britannica.com/topic/feminism

६. https://www webdunia.com