पात पातसँगै बेरिएर फुल्यो भने
कति रमाऊलान् लहराहरू ?
फैलाएर चौतर्फी हात
कति लम्कन्थे होलान्
फूल, पात र लहराको सन्तान ?
प्रकृतिको सुन्दरता भन्नु नै अङ्कुरण हुनु, बढ्नु, झाङ्गिनु, फुल्नु र फैलनु नै त हो ।
हरित सुन्दरताबिना प्रकृतिको सौन्दर्य नै हुँदैन । पहेँलो र निलोको सम्मिश्रणबाट पैदा भएको हरियोपनामै छन्, सम्पूर्ण सृष्टिका चराचरहरू । हरियोको आलोकमा हुर्केका हुन्छन् जीव । तिनै प्राकृत सूर्यको पहेँलो किरण तापेर हुर्काउँदै बचाएको हुन्छ, प्रकृतिले आफ्नो वैभव ।
ऋतु, काल, समय र मौसमानुसार प्रकृतिको रूप र गुण फेरिन्छ । कहिले यही प्रकृति मेघको घुम्टो ओढेर वर्षा बन्छिन् । यही प्रकृति फिँजाउँछिन्, कनक कान्तिको उज्यालो ।
बिहानीमा चाँदीजस्तो काञ्चन वर्णमा श्वेतवस्त्र धारण गर्दै हरित तृणहरूमा समेत रोशनी छर्न आउँछिन् । सन्ध्यामा उनी सुवर्ण लेपनको बदन लिएर भोलि उही उज्यालो लिएर आउने गरी बिदा हुन्छिन् । अनादिदेखि अटुट र निरन्तर छ, यो क्रम ।
लीलामय प्रकृतिको उत्पत्ति र विकासको मूल कारकतत्त्व भनेकै ईश्वरीय लीला हो भन्ने लाग्छ । मानवनिर्मित प्रकृति हुन सक्ने भएको भए मान्छेले कति रङ्ग्याउँथ्यो होला, निर्जीव कागजका फूलमा ताजा र जीवन्त हरियोपना ? एक फाँकबाट अर्को वेग, ओल्लो घुम्तीबाट पल्लो घुम्ती गर्दागर्दै कति फरक लीला भेटिन्छन्, प्रकृतिका काखहरूभित्र ।
संसारमै अपरम्पार छ, प्रकृतिको बनोट र आकर्षण । कुनै महान् कुराको उपमा दिन पर्यो भने प्रकृतिभन्दा अर्को महान् रचनाको रचनाकार कोही हुन सक्दैन । संसारमा भएका सबै मानिस त केवल रमिते मात्र हुन् । हेर्छन्, रमाउँछन् । न अघाउन सक्छन् न हिँडेर जित्न नै । प्रकृतिको अनुपम कलामा मान्छेले गर्ने भनेको दुई–चार फन्को विचरण न हो ।
हामी अनाहक प्रकृतिलाई गाली गर्छौं, दोष दिन्छौँ । के गुन लगाएका छौँ र हामीले प्रकृतिमाथि ? न हिमालमा एक पसर हिउँ थप्न सकेका छौँ न पहाडमा फुल्ने गुराँसमा भर्न सकेका छौँ लाली । न तराईको सलहेस फूललाई बाह्रमासे बनाउन सकेका छौँ ।
केही छैन प्रकृतिको लीलालाई बनाउनुमा हाम्रो योगदान । हामी त लीला हेरेर रमाउने मात्रै । बढी गर्यौं भने यस्तै लेखमा महिमागान गाउँछौँ । विम्ब र प्रतीक बनाउँछौँ, कहिले जननी, आमा, धरा यस्तै यस्तै !
सबै कुरा प्रकृतिले दिएको छ हामीलाई । सुकिला चाँदीजस्तो मनमोहक हिमालय दिएको छ । जीवनको सहारा पानी दिएको छ । हरिया मैदानी सुविधा, पहाडको मनोरम र सौन्दर्यधाराको अनुपम उपहार दिएको छ ।
बाँच्नका लागि महत्त्वपूर्ण तत्त्व चोखो वायु छ । उर्वर माटो छ, भूमि छ । भूमिको उर्वरताले अन्न दिएको छ । हात्ती अघाउने घाँस छ । घोडाको प्रिय घाँस खरुकी दिएको छ । कमिलाको भोजन छ । मानिसलाई चाहिने फलफूल खानपान के छैनन् र प्रकृतिका रचनामा ।
रागरमिता र ध्यान, ज्ञानको तपोभूमि उपहार दिएको छ प्रकृतिले । आफ्नै गुराँसे लाली दलेर आफ्नै बदन सजाएको छ । अनेकन् कुसुमलताले रेसमी चुल्ठो बाँधेको छ । आफैँ पैदा गरेर चम्पा, बेली, जाईजुही, कुमुद र हसनाको बास्नाले सुगन्धित बनाएको छ धर्ती । नानाथरीका बाला झुलाएर लहलह भएर षोडशी शृंगारको बैँसमा रमाउँदै रमाउन सिकाएको छ प्रकृतिले हामीलाई ।
नौला भाव सिर्जना गर्ने क्षमता दिएको छ । शशी र सविताको सन्तुलनको अध्ययनका लागि ऋतु दिएको छ । दैवीकलाको कलामय कल्पना मात्र नभएर चेतनाको अनन्त उद्भवले सजिसजाउ भएका कला, ज्ञान र विज्ञान दिएको छ ।
संसारकै उच्च अम्बरचुम्बिनी हिमचुलीका थुप्रै काखहरूमा प्राणेश्वर छ । जडीबुटी र जटामसीका अनेकन् जातिप्रजातिले भरिपूर्ण बनाएको छ । यहीँ अग्लो सगरमाथा र होचो केचना छ ।
पाखापर्वतका सफेद पीयूष पिएर सुषमाको लहरमा रमाउँदै बाँचेका असङ्ख्य स्तनधारी, उड्ने, घिस्रने, चिप्लने अनेकानेक जीव र कीटपतङ्गादि र हामी मानिसको समेत प्रिय आश्रयस्थल प्रकृतिको महिमा यो लेखनीमा कति अटाउला र ? आफैँमा सन्देह राखीराखी प्रकृतिकै सिरान, खोच र विभिन्न भागमा रहेका तालतलैयामा तरङ्गित भएको अनुभूत गर्दै लेखिरहेको छु, केही प्रकृतिको सारसंक्षेप ।
लाग्छन्, हामी मान्छेहरूलाई अग्ला हिमगिरिहरूले पुष्ट छाती बनाउँदै शिर उँचो राख्न सिकाइरहेका छन् । बुकी, लालुपाते, जाईजुही र चम्पाले मगमगाउने मिठो पाठ पढाइरहेका छन् । हावाले गतिशील हुन सिकाएको छ ।
पानीमा अनन्त ऊर्जा छ, मदानी घुमाउन सक्छौ भनेर देशै उज्यालो पार्ने शक्ति दिएको छ । धर्तीले समय संवेदनाको आचार्य भएर सिकाएकै छ ऐननियम, आहारविहार, शीतताप, सुखदुःख, धैर्य, क्षमा र अहिंसा परमोधर्मको विविध आयाम ।
कर्म गरेर सुन फलाउने माटो छ । खोस्रेपछि माटो र ढुङ्गाभित्र छन् बहुमूल्य रत्नका खानीहरू । माटोको सङ्गीत छ, गीत छ । ढुङ्गाको बेग्लै सुर र लयहरू छन् । नौरङ्गी डाँफेमा मनमोहक रङ भरेर उडाइदिएको छ ।
मुनाल, सुगा, मैना र कोइलीजस्ता अनेक जातजातका पन्छीहरूको गीत छ । यिनै प्राकृत रूप, गुण, तत्त्व र दर्शनले दिएको सार्थकसिद्ध झन्कार छ ।
प्रकृतिले नै दिइरहेको छ, मनमनमा अनन्त कोटी आनन्द ।
मालिङ्गोको बयेलीपूर्ण सुललित लयको विशालता छ । सारङ्गी र नरसिङ्गाका सुरभित ध्वनिको जादु छ । प्रकृतिकै अनुपम उपहार आमाका जादुमयी माया, वात्सल्य र स्नेहले पोतिएको सुमधुर लोरी छ ।
यही प्रकृतिमा छिन्, प्रकृतितुल्य सृष्टिकी जननी आमा । के छैन र प्रकृतिको रचनामा, आँखा नउघ्रिँदै रविको उदय छ । रातमा शीतल चन्द्रमा छ, ताराहरूको झिलमिलाहट छ । कल्पनाको सुन्दर संसारभन्दा पनि विचित्रको छ, प्रकृतिको कला र रचना ।
प्रकृति स्वयंमा खुला विश्वविद्यालय हो । प्रकृतिका हरेक जीव, वनस्पति आदिले कुनै न ज्ञान र शिक्षा दिइरहेका हुन्छन् । विश्वको पूरै प्रकृतिलाई सिँगार्नमा प्रकृतिको ठूलो देन छ ।
यहाँका जीव, वनस्पति सबै हाम्रा गुरु हुन् । ज्ञातअज्ञात रूपमा प्रकृतिले मानवजीवनलाई ठूलो गुण लगाएकै छ । हितोपदेश दिएकै छ । स्वादका लागि, स्वास्थ्यका लागि र सम्पूर्ण जीवन र जगतकै निमित्त प्रकृतिले नदिएको के छ र ?
हाम्रो चेतना र ज्ञानका अभावले प्राकृतिक स्रोतको उपयोग र उपभोग गर्न सकेका छैनौँ । त्यो हाम्रो अज्ञानता हो । ‘हितेन सह साहित्य’ भनेर जसरी साहित्यले मनलाई आनन्दित बनाउँछ र सन्देश प्रवाह गरेर पाठक र समाजलाई हित पुर्याएको छ, त्यसैगरी प्रकृतिले मानव अस्तित्वको रक्षाका निमित्त अझ ठूलो हित गरेको छ ।
हामी मानिस जिउँदो प्रकृतिको महत्त्व कम बुझेर दुःख पाइरहेका छौं । फूल रोप्न छाडेर कागजका फूलमा रमाउन पुगेका छौँ । चित्रको रूखलाई बढी महत्त्व दिएर पात झरेको अस्थिपञ्जर रूखको तस्बिर भित्तामा टाँगेर हरियाली खोजिरहेका छौँ ।
साहित्यमा वास्तविक अनुभूतिका सुन्दर सिर्जनाहरू कम र काल्पनिक लीलाप्रधान भएजस्तै प्रकृतिको वैचित्यपूर्ण लीला हाम्रा लागि फिका हुँदै गएका छन् । हामी हीराको महत्त्व बिर्सेर अभ्रखको पाप्रोमा रमाउन थालेका छौँ ।
मानिसको बस, नियन्त्रण, निर्माण र कल्पनातीत परिकल्पनाभन्दा निकैनिकै पर छ, प्रकृतिको रहस्य । ईश्वरीय कलाभित्रको पनि अपरिमित लीला छन् प्रकृतिमा ।
पत्रपत्रमा, कणकणमा र यावत् जीवजन्तु र वनस्पतिमा छन्, ज्ञानका अनगिन्ती अभेदहरू । मौसम छ, मौसमानुसारका फलफूल छन् । जीवन र जगतको कल्याणका लागि जल, जमिन, जङ्गल, जडीबुटी र सञ्जिवनी समेत छ प्रकृतिमा ।
अनगिन्ती तरूलता छन्, हामीले नचिनेका हुनसक्छौँ । कति जातका कल्पलताहरू उक्लँदै होलान्, समाएर गुराँसको फेर । औषधिले युक्त झारमौरो, धाउ, दर्शनढुङ्गा र कतिपय आँखीगेडी र रातीगेडी त जानेकै छैन हामीले ।
प्रकृति अलिखित विशाल ग्रन्थ लिएर पढाइरहेको छ हामीलाई पहाडको कथा, नदीको छन्द, हिमालको सौन्दर्यशास्त्र र निस्काम कर्मको सूत्र ।
हामीले आँखाले देख्ने प्रकृति मात्रले कहाँ सकिन्छ र प्रकृतिको सारसंक्षेपी । हावा आकाशगंगाले धोइएर मात्र आउँछ । बादल ओर्लेर अँगालो हाल्न खोज्छ । स्वर्गीय पृथ्वीको कला देखेर, छ भने धर्तीमाथिको स्वर्ग रोइ पो रहेको छ कि के थाहा ?
यो अलौकिक प्रकृति त सधैँकी बहार सुन्दरी भएर आफ्नै रेसमी पोसाकमा गमक्क छिन् । सदैव लालबुट्टे मुस्कान छोडेर पोत्छिन्, प्रकृति अवनीको दैलो ।
प्रकृतिले सिँगारेका हरेक वन, उपवन ससाना स्वर्गका थुम्काझैँ छन् । नाङ्गो उत्तिसमा पनि कला छ, कपुर र श्रीखण्डको सुवास छ । के छैन यहाँ ? राम्रो नराम्रो भन्ने हामीलाई त कुनै हक नै छैन ।
कृतिले आफ्नो समय सारिणीभित्र गर्नुपर्ने यावत् कर्तव्य पूरा गरिरहेको छ । यसरी सबै चराचरकै सृष्टि रचनालाई रचनात्मक पारेको छ । जीव, वनस्पति र मानव सभ्यतालाई जीवन्त बनाउँदै सुशोभित पारेको छ ।
सबै जीवन र जगत् छ त प्रकृतिकै खटनमा छ । के जानेका छौँ र हामीले ! हामी त हाम्रै दुष्कर्मबाट प्रकृतिको विनाश गरेर प्रकृतिलाई नै दोष दिन मात्र जान्दछौँ । प्रकृति आफ्नो कर्तव्यमा नियमित चलेको छ । तर, हामीले प्रकृतिप्रति वहन गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र दायित्व खासै पूरा गरेका छैनौँ । खासै मात्र किन, कतिपय सवालमा त गर्दै गरेका छैनौँ ।
रूख काटेर बास बसालेका छौँ, लाश सल्काएका छौँ ।
कलकल सरिताको प्रवाहमा मल र ढल मिसाएका छौँ । दोहन मात्र छ हामीबाट प्रकृतिको । साह्रै कम छन् रूख रोप्ने हातहरू । बरु, कतिपय हातहरू डढेलो सल्काउन खोज्दै छन् होला, घोटेर सलाईको काँटी ।
प्रकृतिले स्वयं पैदा नगर्ने हो भने यी सुन्दर डाँडाकाँडा खल्वाट भइसक्ने थिए होलान् । मुरली छेड्ने बाँस र सारङ्गी खोप्ने खिर्रो पनि नपाउने दिन भइसक्थ्यो कि के थाहा ?
अन्वेषक, अनुसन्धानका विद्यार्थी कवि, लेखक, साहित्यकार तथा पर्यटकहरूका लागि त झन् प्रकृति विशिष्ट खुला सङ्ग्रहालयसहितको ऊर्जाशील स्रोत हो । प्रकृतिको तारल्य सौन्दर्यभित्रका अनगिन्ती अन्वेषणले लेखकीय विषयलाई चामत्कारिक बनाउन कति हो कति बल पुर्याउँदछ भन्ने कुरा पनि लेखीसाध्य कुरा रहेनछ । चलायमान प्रकृतिको सजीवता भित्रभित्रै छन्, स्थावर र जङ्गमको सुललित झल्लरीमल्लरीहरू ।
विज्ञानले चमत्कार गर्यो भन्ने कुरा प्रकृतिको अगाडि भ्रम मात्र हुँदा रहेछन् । कौसीमा फूल फुलेको र आभूषणजस्ता लाग्ने ससाना बिरुवामा दुई–चार दाना फल लागेको देख्नेले कसरी बुझ्न सक्लान् र गहन प्रकृतिको गहिरो शृङ्खला ।
सिमेन्टको गमलालाई नै पूरै धर्तीको उर्वरत्व बुझ्नेले के बुझ्न सक्लान् र प्रकृतिको आनुवांशिक महत्त्व ?
प्रिय प्रकृति, मैले भन्न सक्ने भनेको यत्ति नै हो । तिमी हामी सबैको धाताविधाता र गुरु हौ । कहिल्यै अप्रिय नहुने प्रिय प्रकृति, तिमी नै हौ संसारको प्रिय अनुभूति ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।