साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सम्झनामा सुकल्याण

प्रेमप्रकाश मल्ल

प्रेमप्रकाश मल्ल

मानिसको जीवनलाई कोही भन्छन् दैवको लीला । कोही भन्छन् प्रकृतिको उपज । जतैपट्टि लागे पनि यो रहस्यमयी संसारले मानिसको चित्त बुझाउन सक्दैन । मान्छे अनेक विचार र अनुभव लिएर सधैँ भिन्नतामा रमाएकै छ । दुख्ने ठाउँमा दुखेकै छ । आखिर जति नै फरक परिस्थिति, दर्शन र अनुभवमा उभिए पनि मान्छेले मृत्युलाई भने नस्वीकारी धरै पाउँदैन । यो अनिवार्य सत्यबाट कोही कतै भाग्न सक्दैन । जन्मपछिको सबैभन्दा ठूलो सत्य सायद हाम्रो जीवनमा यही होला । बीचको समयको लम्बाई र परिवेशअनुसार हामी अनेक खाले अनुभवहरू सँगाल्न पाउँछौँ । त्यसैलाई हामी जिन्दगीको सुनाम पनि दिन्छौँ । त्यही सुनामरूपी जिन्दगीको अनेक उकालीओराली अनि घुम्ती र मोडहरूमा हामी बाँच्ने खेल खेलिरहन्छौँ । मृत्युलाई छल्दै यति कठोर जीवनलाई सरल बनाउने यत्न पनि गर्दै रहन्छौँ । तर जति नै छले पनि त्यसले एक दिन हामीलाई नभेटी छोड्दैन । जीवनको यो कटु सत्य थाहा नपाउने मान्छे सायदै होलान् संसारमा । तैपनि मानिसले अनेक विषयगत आशक्तिहरूका बिचमा आफूलाई नहेलिरहन सक्दैन । अर्थात् परिवार, आफन्त, समाज, सम्पत्ति, सत्ता, सम्मान आदि थुप्रै विषयबद्ध छौँ हामी । सायद यी आशक्तिहरू नभएको भए मान्छेले यो संसारलाई यति भव्य र सभ्य पनि बनाउँदैनथ्यो होला । तर पनि यी सांसारिक विषयभित्र मात्र हराउन उदात्त चेतना बोकेका मनहरूले मान्दैनन् । सांसारिकतामा हराउँदाहराउँदै पनि तिनले अरूको भलाइमा आफूलाई उभ्याएर मृत्युको क्षतिपूर्ति र आदर्श जीवनको दृष्टान्त दिन्छन् । त्यसैका लागि आजसम्म संसारमा कैयन् धर्मकर्महरूको प्रादुर्भाव र प्रयोग हुँदै आएको छ । कैयन् साहित्यकार, कलाकार, वैज्ञानिक, चिन्तक, आविष्कारक र तपसीहरूको पसिना बगेको छ । प्रकृतिसँगको सापेक्षतामा बाँचेको हाम्रो जीवन तीबाट पनि निरपेक्षी छैन । तिनकै प्रभावमा चलेको हाम्रो जीवनको प्रभाव पनि तिनमा नपरिरहन सक्दैन । हाम्रो सकारात्मक प्रभाव समाजसँगै हाम्रो उत्तर जीवितता पनि हो । मृत्यपछि पनि हामीले बाँच्न सक्यौँ भने जीवनको त्यो अर्को सत्य हो । त्यसैका लागि हामीले यति मूल्यवान् जीवन पाएका छौँ । ज्ञान विज्ञान, संस्कृति र प्रकृतिले हामीलाई यति धेरै सम्पन्नता दिएको छ । जिन्दगीले यति धेरै सामर्थ्य दिएको छ ।

यो संसारमा मानिस नै यस्तो प्राणी हो जसले जिन्दगीमा कैयन् कुराहरू देख्नभोग्न, सिक्नसिकाउन, लिनदिन र अनुभूति गर्न पाउँछ । जीवन, प्रकृति, समाज र संस्कृतिले हामीलाई हरेक पल केही न केही सिकाइरहेकै हुन्छ । त्यसैले यो जिन्दगीभन्दा श्रेष्ठ विश्वविद्यालय र समयभन्दा मूल्यवान् वस्तु अरू के नै छ र संसारमा ? तर पनि हामी मानव जीवनको सार्थकता र समयको गति बुझेर पनि बुझ्दैनौँ । धर्म, अर्थ, कर्म र मोक्षको सनातन ज्ञान रट्छौँ तर लागु गर्दैनौँ । सबै धर्मको सार सुन्छौँ तर पनि व्यवहार बदल्दैनौँ । उसो त हामी जस्ता बहुसङ्ख्यक गरिबहरूको जिन्दगी परिवारको भरणपोषणमा लाग्दालाग्दै नसकिएको कहाँ छ र ? त्यो एउटा कुरा भयो । त्यति गर्दागर्दै पनि हामी ससाना व्यवहारले अरूलाई सहयोग गर्न सक्छौँ । केही दिन नसके पनि मीठो वचनसहितको प्रेम दिन सक्छौँ । त्यत्तिका लागि पनि त दैवले हामीलाई सार्थक वाणी र अनन्त प्रेम अटाउने मन दिएको छ । प्रकृतिले बाँच्ने ऊर्जा दिएको छ । यतातिर पुरै आँखा चिम्लिएर आजको मानव समाज किन यति बिघ्न स्वार्थी, भ्रष्ट, आरिसे, ईष्यालु, अपराधी, हिंस्रक, प्रतिशोधी र परपीडक भएको होला ? यस्तो कुत्सित मनोसामाजिक वातावरणबाट हामीले के सिक्ने होला ? अनि सिकेर के सिकाउने होला ? हेर्दा सामान्य लागे पनि हाम्रो युगका लागि यो अत्यन्त जटिल प्रश्न हो ।

bahulako diary small and inside post

दयामाया, प्रेम, सिर्जना, दायित्वबोध, सद्भाव, सहिष्णुता, परोपकार, समभाव र समदृष्टि आदि विषय मानव जीवनका अमूल्य निधि हुन् । ज्ञानीहरू भन्छन्, यिनैको आर्जन र व्यावहारिक प्रयोगमा नै जीवनको आनन्द छ । भौतिकवादी हुन् या त अध्यात्मवादी ! अन्ततः मानिसले सुखसन्तुष्टि नै चाहन्छ । त्यसैको प्राप्तिमा हामी आफूलाई सिध्याउँछौँ । तर उपर्युक्त विषयबोधी अभ्यास गर्दैनौँ । हामी आफ्नै आँखाअघिका असहाय र दुःखीहरूलाई देख्दैनौँ । यो जीवनको सार्थकताको समस्या यहीँबाट सुरु हुन्छ । स्वयम् मानवले नै यति सुन्दर र सभ्य बनाएको यो संसार फेरि ऊबाटै अनेक समस्याले ग्रसित छ । तिनै सत् चरित्रहरूको विकास र असत् चरित्रहरूको असल रूपान्तरण आजको अहम् प्रश्न हो । केही सज्जनहरू आज पनि यही कार्यमा आफूलाई समर्पित गरिरहेका छन् । कति महामनाहरू आज पनि आफ्नो छाक कटाएर सामाजिक सेवामा लागिरहेका भेटिन्छन् । त्यस्ता सत्कर्महरूको प्रचार त के समर्थनसमेत गर्न नसक्ने मनहरूलाई देख्दा हृदयदेखि नै दुःख लाग्छ । ध्वंस र तोडफोडमा छिनभरमै अनियन्त्रित हुन सक्ने मान्छे सत्कर्म र त्यसको उन्नयनमा सित्ती लाग्न नखोजेको देख्दा आश्चर्य लाग्छ । आजसम्मको मानव सभ्यताले के हामीलाई कुकर्म नै बढी सिकाएको हो त ? के मानव जीवनका मूल्य यिनै हुन् त ?

समय निरन्तर बगिरहने नदी हो । नदी उही भए पनि पानी चाहिँ पलप्रतिपल उही बगिरहँदैन । ठीक त्यस्तै हाम्रो जीवन पनि निरन्तर भिन्न भएरै बगिरहेछ । बगिरहने समयलाई किन्न सकिने भए मान्छेले सबैभन्दा पहिले आफ्नो उमेरलाई किन्दो हो । मृत्युलाई किनेर जीवनलाई भोग्दो हो । अनि अतीतलाई किनेर भोगिआइएका जिन्दगीका बाटाहरूलाई सच्याउँदो हो । जहाँबाट बाटो बिराइएको थियो त्यहीँबाट पुनः यात्रा आरम्भ गर्दो हो । तर यी सब हाम्रा पहुँच बाहिरका विषय भइगए । बरु धेरथोर वर्तमान र भविष्य हाम्रै हातमा छ । बाँकी जीवनलाई सार्थक बनाउन मृत्युको आँखा नलाग्दासम्म हामीलाई छुट छ । विगतलाई सच्याउन नसकिने यस संसारमा भविष्यलाई बनाउने अमूल्य समय भने जहिल्यै छ हामीसँग । बरु मुख्य प्रश्न चाहिँ अन्तर्चक्षु कस्तो छ भन्ने हो । निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ । त्यसैका कारण मानव समाज सभ्यताको यो तहसम्म आइपुगेको हो ।

निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ ।

तथापि आजको भौतिक उन्नतिका तुलनामा हाम्रो समाजको आत्मिक उन्नतिको अवस्था अत्यन्त नाजुक देखिनु दुःखको कुरा हो । समयको गतिसँगै हाम्रो आत्मोन्नति भएन भने कोरा भौतिकीले मात्र हामीलाई आनन्द दिनु सम्भव छैन । दुःख र त्रासको बढ्दो कारक हुनुबाहेक त्यस्तो उन्नति अन्य केहीमा रूपान्तरण होला भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले यो संसारलाई आज सबैभन्दा धेरै कुनै कुराको खाँचो परेको छ भने त्यो प्रेम नै हो । जबसम्म हामी आफूमा अरू र अरूमा आफूलाई उभ्याएर हेर्न सक्दैनौँ, वास्तविक प्रेमको उदय असम्भव छ । वास्तविक प्रेमको उदयबिना हामी अरूको भलाइमा समर्पित हुनु पनि असम्भव छ । यही चिन्तनबाट समयरूपी नदीसँगै कहिल्यै नफर्किने दिशातर्फ बढिरहेको यो जीवनलाई यथाशक्ति परोपकारी कार्यमा लगाउन सके साँच्चिकै जिन्दगीमा कति कुरा असम्भव होलान् !

सांसारिक जीवनमा जेलिएका हामी जस्ता साधारण व्यक्तिका लागि मन, वचन र कर्मले समाजसेवामा लाग्नु सजिलो कुरा होइन । कठिन हुनाले नै त्यस्ता व्यक्तिहरू समाजमा सधैँ आरध्य हुन्छन् । मुक्ति र निर्वाणका पर्याय हुन्छन् । समकालीन र पछिल्ला पुस्ताहरूका लागि पनि जीवन्त उदाहरण भइदिन्छन् । सायद त्यस्तै महान् व्यक्तिहरूका कारणले होला आज पनि हामी कैयन् श्रद्धेय कर्म गर्ने मनीषीहरूको नाम सुन्न पाउँछौँ । देख्न पाउँछौँ र कहिलेकाहीँ त साक्षात्कारसमेत गर्न पाउँछौँ । ती निष्काम कर्मयोगीहरू नै हाम्रो युगका महान् सौन्दर्य हुन् । व्यक्तिगत सुखसत्ताको अस्वाभाविक प्रतिस्पर्धामा अहोरात्र निर्लिप्त आजको समाजमा मानवीय आदर्शको पाठ सिकाउने त्यस्ता ज्ञातअज्ञात व्यक्तिहरूको महिमागान गर्न हामी शब्दले सक्दैनौँ । केवल हृदयले अनुभव मात्र गर्न सक्छौँ । सन्दर्भमा आज मेरो मनमा डुङ्गेश्वर–५, दैलेखस्थित मा.वि. पीपल चौतारा आइरहेछ । अतीतको शिक्षण, वर्तमानको अभिभावक र नवोदित लेखकका नाताले गत माघ दसमा सम्पन्न जसको चालिसौँ वार्षिकोत्सवमा सहभागी हुने सुअवसर प्राप्त भयो । सो अवसरमा भेटिनुभएका सुकल्याण पराजुलीसँगको सामीप्यताले मनमा आजसम्म पनि अनेक भावनाहरू तरङ्गित भइरहेका छन् । यद्यपि पोखरा–२ निवासी सुकल्याणको नाम हाम्रो जीवनमा तिन वर्षअघि नै जोडिन आइपुगेको हो । पुर्ख्यौली माटोप्रतिको उहाँको माया केवल मायामा मात्र सीमित छैन; दया, परोपकार र प्रेरणासँग पनि जोडिएको छ । आफ्ना दिवङ्त मातापिताको सम्झनामा विद्यालयमा उहाँले २०७३ मा रू.एक लाखको ‘पुष्पशान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोष’ खडा गरिदिनुभएको थियो । लगत्तै पछिल्ला दुई वर्षमा पचास पचास हजार थपिदिएर उक्त कोषको रकम दुई लाख पुर्याइदिनुभएका उहाँले यसपालि छिमेकी सीता मा.वि. अवलपराजुल र पीपल चौतारा मा.वि. डाँडापराजुललाई स्थानीय रारा हाइड्रोपावरसँग एक एक लाखको सेयर खरिद गरिदिनुभयो । कहिले विद्यार्थीहरूलाई सुइटर त कहिले छानिएका गरिब विद्यार्थीका अभिभावकलाई कोट ल्याइदिएर उहाँले सधैँ हाम्रो मन छोइरहनुभएको छ । कार्यक्रममा समाजसेवी श्री नरसिंह मल्लले आफूले पनि वार्षिक रूपमा विद्यालयको कोषमा पाँचपाँच हजारका दरले सहयोग गर्ने वचन दिनुभएको थियो । उसो त छिमेकी नेरा आधारभूत विद्यालय पाङ्कोटमा हामी जस्ता केही नगन्य दातालाई छोडी सन्तोष सापकोटाको नाम लिनु सान्दर्भिक ठहर्ला । सुर्खेत निवासी उहाँ हाल अमेरिका बस्नुहुन्छ । उहाँले पनि हालसम्म उक्त विद्यालयमा दुई लाखको सन्तोष प्रेमा सापकोटा अक्षय कोष पुर्याइदिनुभएको छ । यस्ता कुराहरू लेखिरहँदा हामीले हाम्रा सम्पूर्ण अभिभावकहरूलाई कहिल्यै बिर्सन सक्दैनौँ । किनभने तिनैले आआफ्नो क्षमताअनुसारको योगदान दिएर नै हाम्रा सबै विद्यालयहरू कम्तीमा पनि विद्यालय जस्ता भएका हुन् । विद्यालयसँग निरपेक्ष रहेकाहरूको मायाको कुरा गरेको मात्र हुँ । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका उपसचिव गगनबहादुर वि.क.र youme Nepal जापानको समन्वयबाट musashi paint जापानद्वारा गत वर्ष पीपल चौतारालाई पाँच थान ल्यापटप प्राप्त भएको कुरा प्रअ नन्दबहादुर के.सी. सरबाट सुन्न पाउँदा बाल्यकालीन सहपाठीका नाताले मेरो मनसमेत खुसीले फुलेको हो । यस्ता ससाना घटनाहरूले पनि जीवनमा निकै ठुलठुला आनन्द र खुसी दिँदा रहेछन् । ज्ञान र प्रेरणा दिँदा रहेछन् । उसो त पाँचपाँच करोडको व्यक्तिगत लगानीमा अस्पताल बनाइदिने छिमेकी जिल्ला जाजरकोटका पूर्व सांसद राजीवविक्रम शाहले यसपालि पनि कर्णालीका जनताका लागि कोरोना विरुद्ध लड्न एक करोड दिनुभएको सुसमाचार सुन्न पाइयो । अरबौँ रकम सहयोग गर्ने अनि कति त आजीवन मानव सेवामै समर्पित हुनेहरूको नाम हामीले नसुनेका होइनौँ । तर आफ्नै आँखाअघिको दृश्यको मात्र कुरा गरेको हुँ । यसबाट सहयोगी हातहरूको कहिल्यै अपमान हुन जाने छैन । उहाँहरू सधैँ जनताका मुटुमा हुनुहुन्छ ।

आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ?

सडकमा बस्नेहरूको पीडा आफ्नै ठाउँमा होला । तर पनि आफ्ना आधारभूत आवश्यकता जसोतसो पुरा गरी बाँच्नेहरूदेखि लिएर सत्ताको बागडोर समाल्नेहरूसम्मका बहुसङ्ख्यक मानिसहरू नितान्त व्यक्तिगत उन्नति र स्वार्थमा लिप्त हुँदै गएको आजको परिस्थितिमा पनि कैयन् मानिसहरू समाजसेवामा छन् । गाउँ छोडेर सहरमा बसाइँ सरेकै दिनदेखि त्यही गाउँलाई घृणा गर्नेहरूको कमी छैन । आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ? त्यसरी बाँच्न सके जीवनका खुसीहरू कति पल्लवित र सुवासित हुँदा हुन् ? हृदयमा यस्तो भावना जगाइदिने पीपल चौताराहरू आँखामा सधैँ आइरहून् । सम्झनामा सुकल्याणहरू सधैँ यसरी नै उदाइरहून् । क्षणभङ्गुर जीवनको त्यो अन्तिम समयसम्म पनि यस्तै प्रेरणादायी घटना र पात्रहरूसँग सधैँ भेट भइरहोस् । यो संसार यस्तै महान् कर्मयोगीहरूको सद्भावमा सधैँ फुलिरहोस् । सुकल्याण पराजुली जस्ता सार्थक नामहरू जस्तै सिङ्गो मानव जीवन पनि सार्थक हुँदै जाओस् । त्यसमा पनि आज त झन् संसारभरि कोरोना आतङ्क छ । यस्तो बेला झन् हामीलाई आपसी प्रेम, सद्भाव र सहयोगको खाँचो छ । हरेक देश, व्यक्ति र समुदायले आआफ्नो बलबुद्घि लगाएर फेरि पनि विश्व मानव समुदायको मुहार हसाउनु छ । अन्तमा लीलाधारी यो जीवनको सार्थकता, परोपकारी मन र मृत्यु जस्तो कठिन सत्यलाई पुनः सम्झिँदै यी भावहरूको आक्षरिक समापन यहीँ गर्दछु; हार्दिक धन्यवाद सुकल्याणजी !

प्रतिक्रिया
Loading...