

मनोज ज्ञवाली
1. विगतबाट सिक्ने हो, विगत नराम्रो नै भए पनि पिर गरेर केही हुन्न किनकि हामी विगतलाई परिवर्तन गर्न सक्दैनौँ। विगतबाट सिक्ने, वर्तमानलाई सदुपयोग गर्ने र भविष्यको योजना बनाउँदा जीवन सहज हुन्छ।
2. खुशी हामीले आफूभित्रैबाट पाउँछौँ। अरु मान्छे र अरु कुराको आधारमा प्राप्त खुशी स्थायी रहँदैन।
3. मुस्कान र दयाभाव खर्चनु होस् किनभने यसलाई खर्चंदा कुनै लागत लाग्दैन तर यिनले मानव जीवनको खुशीलाई कैयौँ गुणा बढाई दिन्छन्।
4. जुन कुरा सत्य हो अनि परिवर्तन गर्न सकिँदैन भन्ने लाग्छ, त्यसलाई स्वीकार्नुले जीवन सहज बनाउँछ।
5. मान्छे तब मात्र असफल हुन्छ, जब उसले लक्ष्यलाई छोड्छ। लक्ष्यमा निरन्तर लागिरहने र लक्ष्यमा नडग्नेहरू लक्ष्य प्राप्त गरेरै छोड्छन्।
6. जसले आफ्नो असफलताको कारण आफूभित्र खोज्नुको सट्टा अरुमा खोज्न थाल्छ, ऊ प्रायः असफल नै हुन्छ अनि एउटै कुरामा पनि पटक-पटक असफल हुन्छ।
7. अपेक्षा निराशाको कारक हुन्छ भने कृतज्ञता प्रशन्नता अनि सुमधुर सम्बन्धको कारण हुन्छ।
8. जीवनमा हामीले जस्तो सोच राख्छौँ, त्यस्तै कर्म गर्छौं अनि त्यही कर्मले हामीलाई हाम्रो भाग्यतर्फ डोर्याउँछ।
9. हामी समस्या र पीडामा धेरै तनाव लिन्छौँ अनि धेरै कुरा बिगार्छौं पनि । चाहे त्यो स्वास्थ्य होस्, सम्बन्ध होस् या लक्ष्य होस्। समस्यामा आत्तिने होइन, सिक्नु पर्छ। यसै पनि सबै कुरा अस्थायी भएझैँ समस्या र पीडा पनि अस्थायी नै हुन्छन्।
10. गनगन गरिरहने, दुःख मात्रै पोखिरहने, नकारात्मक सोच धेरै राख्ने, अल्छी र मलाई सब थाहा छ अनि म सधैँ ठिक छु भन्ने भ्रममा रहने मान्छेको साथले सुख दिँदैन।
(ज्ञवाली नेपाल नबिल बैंक लिमिटेडमा कार्यकारी निर्देशक हुनुहुन्छ । सं.)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

