“योर निड्स डिफाइन योर मोरालिटी ।”

एक सिनेमाको सम्वाद निकै मन परेको छ । हिजोका कतिपय आवश्यकताहरु आज निरपेक्ष बनेका छन् । हिजोका कतिपय अनावश्यक कायदाहरु आज शिर उठाउन पाएका छन् । आज नयाँ नयाँ आवश्यकताहरु सिर्जना भएका छन् । जस्तै, हिजोको समाजको कुनै गतिलो नीति आज अनैतिक बनेको छन् । हिजोको समाजले अनैतिक मानेको कुनै नीति आज मूल नीति बनेको छ । जस्तै, बालविवाह । विवाहपूर्वको यौनसम्बन्ध ।

आजले अनैतिक मानेको नीति भोलि पक्कै नैतिक बन्ला । जस्तै भोलि समलिङ्गी विवाह सबैतिर कानुनसम्मत बन्ला । या धर्म अनैतिक बन्ला ? या आजको सोमालियामा झैँ हरेक देशमा मानिसले आफ्नो थर लेख्नु, भन्नु अनैतिक बन्ला ।

समयसँग प्रायः नियम परिवर्तन हुन्छ, तर जस्ता परिवर्तन भए पनि मानव जातिको निरन्तरता प्रयास नै नीतिहरुको मूल अवधारणा हो भन्न सकिन्छ । त्यस कारणले हरेक समाजले हत्या र आत्महत्यालाई निरुत्साहित गरेको छ । “अर्कालाई दुख दिनु हुन्न, सबैलाई माया र सम्मान गर्नुपर्छ” हरेक धर्म र कानुनको मूल मन्त्र बनेको छ ।

मानव सोचले धेरै कुरामा समानता नराखे पनि आफूले जानेको सिप नयाँ पिँडीलाई हस्तान्तरण गर्नुपर्छ भन्नेमा सहमत छ । जस्ता नियमहरुले मानव जातिको विकास र उन्नति हुन्छ भन्ने विश्वास लिन्छ उस्तै नीति बनाउनु पर्छ भन्नेमा सहमत छ । नीति मानिस, समाज र देशहरुको विश्वासमा अल्झेको छ । नीति कहिले धर्मले निर्धारण गर्छ त कहिले कानुनले ।

डा. विनोद ढकाल (विधा)

यूरोपमा गिर्जाघर र सरकारबीच धेरै पहिलेदेखि द्धन्द्व चल्दैआएको थियो । आजकाल सरकारले जितेको आभास हुन्छ । गिर्जाघरहरुको अझै पनि शक्ति त छ, तर आज सरकारले बढी शक्ति लिएको छ । भोलि शक्ति केले निर्धारण गर्छ भन्न गाह्रो छ तर यो भन्न सकिन्छ, कानुनलाई बर्खास्त गर्ने अर्को व्यवस्था अझै सयौँ वर्ष लाग्छ ।

मानिसको विकास कसरी भयो ?

म सोच्ने गर्छु ।

पहिला व्यक्ति सिर्जना भयो । जनावर सिर्जना भयो । जनावरमा विवेक सिर्जना भएर ऊ मानिस बन्ने प्रकृयामा लागेको थियो । सायद बाँदरमा भएको आगोलाई नियन्त्रण गर्ने कला र प्रभावकारी सञ्चारको विकास मानिसको प्रगतिको मूल बाटो बन्यो ।

हर जनावर एक्लो रहन चाहँदैन । परिवार बनाउन चाहन्छ । मानिसले व्यक्तिबाट विकास भएर परिवार बनाउन चाह्यो । ऊ बुद्धिमान बन्दै गर्दा उसलाई परिवारको भन्दा माथिको एक संस्थाको आवश्यकता हुन गयो । उसले समाज बनायो । समाज ससाना कविलामा रुपान्तरण भए । यसरी संयुक्त रुपमा बस्दा मानिसहरुलाई निकै सजिलो भयो । खेतिपातीको सृजना भयो । सन्तानहरु हुर्काउन सजिलो भायो । आफ्नो पना बढ्यो । नराम्रो पनि छँदै थियो । कविला (ट्राइब्स) हरुबीच झगडा र रुष्टपना विकसित हुँदै गयो । बुद्धिमान मानिसले बुझेर ट्राइब्सहरुलाई एकीकरण गरेर देश बनाए । साना साना देशहरु भए । निर्बलहरुलाई सुरक्षा दिन अनेक नियककानुनहरु बनाइए । प्रहरी, आर्मीहरु बनाइए ।

मानिसहरुको क्रमिक विकाससँगै ससाना देशहरुले पनि पुगेन । देशहरुबीच युद्ध हुन लाग्यो । सानो देशले नपुगेर अब देशहरुको एकीकरण हुन लाग्यो । ठुलो देश बन्यो । यसरी आजको संसार यो अवस्थामा आइपुगेको छ ?

भोलि के हुन्छ त ?

जसले पनि भन्नसक्छ, भोलि हामीलाई अहिलेको देशले पुग्दैन । हामीहरु अब पृथ्वी छोडेर चन्द्रमा र मार्ससम्म जान चाहँदैछौँ । आजका धनीहरु स्पेसमा लगानी गर्दै छन् । एलन मस्क र जेफ बेजोसको स्पेसप्रतिको मोह सर्वविदितै छ । यस्तो अवस्थामा अब हामीलाई देशहरु एकीकृत भएर समान सिद्धान्तमा अघि बढ्नबाहेको अर्को बिकल्प छैन । हुँदै पनि छ । युरोपियन युनियन एक उदाहरण हो । अमेरिका आफैँ संयुक्त राज्य हो । बिस्तारै अब एसिया पनि एक, अफ्रिका पनि एक हुनुबाहेक अर्को बिकल्प छैन ।

आजै भन्न सकिन्न कि देशहरुको आवश्यकता पूर्ण रुपमा सकिएको छ । केही समयका लागि देशहरु चाहिन्न तर यी देशहरुको भविष्य लामो समय छ जस्तो मलाई लाग्दैन । आजकाल राष्ट्रियता कमजोर हुँदै छ । प्रोफेसर हरारीले भनेको जस्तो १०० वर्ष अघिको राष्ट्रियता अहिले छैन । भोलि झनै हुँदैन । आक्कलझुक्कल रुपमा अपवादहरु पनि छन् । बेलायत युरोपियन युनियनबाट हटेको छ । भारतमा आयातित यजेन्डा नै सही, दक्षिणतर्फका राज्यहरु एक्लो बन्न चाहँदै छन् । क्याटलान स्पेनबाट छुट्टिएर छुट्टै देश बन्न चाहन्छ । स्कटलेण्ड र वेल्स छुटिएका थिए ।

तर यी केही समयमा हराउने यजेण्डाहरु हुन् । ट्रम्पको अमेरिका फस्ट, मोदीको भारत महान् र नेपालमा भएको तथाकथित ओलीको राष्ट्रियता निभ्न लागेको दियो धप्प बलेको जस्तो मात्र हो । नत्र भए एक अमेरिकी नागरिक किन अफ्रिकाको मान्छेभन्दा फरक छ र ? एक अमेरिकी नागरिकले पाएको अधिकार संसारभरका सबै मानिसहरुले पाउनु पर्दैन ? काठमाडौँले पाएको अधिकार डोटीले पाउनु पर्दैन ?

जीवन के हो ?

हजार उत्तर आए गए । कोही उत्तर हजाराँै मनका विश्वास लिएर उभिएका छन् । मलाई त गति हो जस्तो लाग्छ ।
जीवन गति हो । मेरो गतिजस्तै । कछुवाको गतिजस्तै । चितुवाको गतिजस्तै ।

हरकोही गतिवान् छ । ब्रह्माण्ड दौडिरहेको जस्तै । पृथ्वी दौडिरहेको जस्तै । मुटु दौडिरहेको जस्तै । अणु र परमाणुहरु आफ्नै सुर समाएर दौडिरहेको जस्तै ।

म गतिवान् छु । मेरो उमेर मभन्दा बढी गतिवान् छ । सायद घडीको सुईजस्तै । गाडीको पाङ्ग्राजस्तै । एक दुई गर्दै दौडिरहेको छ । पाँच छ गर्दै दौडिरहेको छ । एघार बाह्र गर्दै दौडिरहेको छ । अनि क्रमश १२ बाट दौडिएर एक । लाग्छ पाङ्ग्राहरु समयलाई चलाउन बनाइएको हो । पाङ्ग्रा आफू गतिवान् छ । तर ऊभित्रको गन्तव्य एक छ । उसलाई थाहा होस् या नहोस् । उसलाई मन परोस् या नपरोस् । उसको गन्तव्य एक । मेरो जस्तै । तपाईँको जस्तै । बस् चलाउनु छ घडीको सुई । रक्तनलीको रगत जो दौडदै गुड्दै बग्दै फेरि फर्केर मुटुमा आउनु नै छ, बुढो भएर, अनि बिलाउनु छ कतै छरपस्ट भएर । ऊ पुगेको ठाउँमा उही उत्सुकता लिएर ऊजस्तै अर्को पुस्ता आउँछ । मेरो उत्तराधिकारी जस्तै । उस्तै बग्दै गतिवान् हुँदै । तर हर रगतले समाउनु छ रफ्तार, हरकोहीले समाउनु छ गति । मजस्तै । मेरो सन्तानजस्तै । मेरो भविष्यजस्तै ।

जो बस्छ, ऊ सकिन्छ ।

लाग्छ, थकाइमा अन्त्य छ । मेरो कलमजस्तै । टक्क अडिएको……

हैन होला ?

यो संसारमा को सकिएको छ र ? कलमको विश्राम मुटुको विश्रामजस्तै छ । कलम बारम्बार प्रश्न गर्छ ।

आर्यघाटमा हर दिन जलिरहेका लासहरु के सकिएका छन् ? संसारबाट बेखबर कतै नालीमा मरेर भर्खर माटो बनेको कुकुर के सकिएको छ ?

खै ?

लाग्छ नालीमा बग्दै गरेको पानीले त्यो कुकुरको अस्तित्व बगाएर अस्तित्व जोगाइदिएको छ । या माटो बन्नुअघि छोएर गएको हावाले उसको बोकिरहेको अस्तित्व उडाएको छ । या सँगै उभिएको आकाशले ।

अनि किन गतिवान् नहुनु त म ? म त अमर छु । हरकोहीजस्तै । म गतिवान् छु । हरकोहीजस्तै । सायद संसार गति हो । सायद गति जीवन हो । अनि कोही भन्लान्, संसार जीवन हो । सायद गति भगवान् हो । मजस्तै । तिमीजस्तै ।

सायद म तिमी हुँ ।