एकपटक १५-१६ वर्षीया बहिनीले पसलमा सामान किनिन् र, “पैसा कति भयो” भनिन् ।

पसलेले भन्यो, “पैँसट्ठी रुपियाँ ।”

ती बहिनी वाल्ल परेर मतिर हेर्दे भनिन्, “दाई पैँसट्ठी भनेको कति हो ?”

मैले छक्क पर्दै उनीतिर हेरेर सोधेँ, “कति कक्षामा पढ्छौ बहिनी ?”

उनले भनिन्, “दस कक्षामा ।”

मैले 65 (sixty five) भनेपछि उनी पैसा तिरेर गइन् ।

यस्तो छ हाम्रो नेपाली शिक्षा र शिक्षणशैली । नेपाली भएर नेपाली नजान्ने, त्यो पनि कक्षा १० मा पढ्ने विधार्थीले । हामी कति निरीह भइसकेछौँ । नेपालमै नेपाली भाषा नबुझ्ने कस्तो शिक्षा पाइरहेका छौँ हामीले, हाम्रा भाइबहिनी, छोराछोरीले ।

दिलीप अधिकारी

भाषाको सम्बन्धमा कुरा गर्दा, भाषा अभिव्यक्ति र बुझाइको माध्यम हो । विचार आदानप्रदान गर्ने माध्यम हो । यो त सम्बन्धित जात, जनजाति, समुदायको पहिचान पनि हो । आफ्नो भाषाविना कुनै पनि जातिको जीवन निरर्थक हुन्छ । ऊ कुनै पनि ठाउँमा अपरिचित हुन्छ । जब भाषा लोप हुन्छ, त्यो भाषी, जातिको समुदायमा कुनै चिनारी रहँदैन । भाषाको सम्बन्ध संस्कृतिसँग पनि हुन्छ । भनिन्छ, कुनै जातिलाई सिध्याउन छ भने त्यस जातिको भाषा र संस्कृतिमा आक्रमण गरे पुग्छ । अहिले नेपालमा बोलिने विभिन्न जातजातिका स्थानीय र सबैको नेपाली भाषामा अतिक्रमण भइरहेको छ ।

अतिक्रमणका विभिन्न तरिका अपनाइएका छन् । हिन्दी भाषाको वर्चस्व स्थापित गराउन हिन्दी भाषी च्यानलहरू हाम्रो कोठा-कोठामा पसेका छन् भने हामी नेपाली पनि नजानिँदो पाराले साथ दिइरहेका छौँ । नेपालीमा एउटा वाक्य शुद्ध नबोल्ने बच्चा आज हिन्दी फिल्मका डाइलग कन्ठ गरेर सुनाउँछ । अङ्ग्रेजी भाषाको आधिपत्य जमाउन अङ्ग्रेजीभाषी देशहरू हाम्रा छोराछोरीलाई ज्ञानको आर्जन नै अङ्ग्रेजीमा मात्र हुन्छ भनिरहेका छन् । हामी त्यसैमा हो हो मा हो हो मिलाइरहेका छौँ । हामी आफ्नै गाउँसहरमा अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने विभिन्न विद्यालय खोलेर, खोल्न उक्साएर, त्यस्ता विद्यालयमा अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने बाध्यतामा पार्दै छौँ । घरमा पनि छोराछोरीले अङ्ग्रेजी नै बोलिदिऊन् भन्ने सोचेका हुन्छौँ । यसो गर्दा आफ्नो नेपाली भाषाको भविष्य के होला सोच्दैनौँ ।

हिन्दी भाषाका भक्तहरूले दक्षिणतर्फ फर्केर ठुलो स्वरले हिन्दी भाषालाई माध्यमको भाषा बनाइनुपर्ने कुरा फलाक्छन् र साखलो बन्छन् । हामी पनि जानी-जानी त्यही भनाइमा ताली बजाएर रमाउँछौ । तराईमा बोलिने मैथिली, भोजपुरी र थारू भाषा नेपालमा बोलिने सम्पूर्ण भाषाको श्रेणीमा दोस्रो, तेस्रो र चौथो नम्बरमा आउँछन् । यी भाषाहरूको आफ्नो रीति, परम्परा र संस्कृति छ । यस्तो अवस्थामा हिन्दी भाषालाई माध्यमको भाषा बनाउने हो भने यी भाषाहरूको अस्तित्व धरापमा पर्नेछ । आफ्नै खुट्टामा आफैँ बन्चरो हानिरहेका छौँ हामी ।

विदेशी भाषाको वर्चस्वसँगै नेपाली सांस्कृतिक चाडपर्व, रीतिरिवाज र पहिरन पनि हराउँदै जानेछन् र विदेशी चाडपर्व, रीतिरिवाज अनि सभ्यतासँगै पहिरन भित्रँदै जानेछन् । अहिलेका सहरी सभ्यताको प्रभाव परेका युवायुवतीलाई प्रेम र शान्तिको प्रतीक वसन्त पञ्चमी, शिवपार्वतीको मिलन भएको दिन अक्षय तृतीया, सीतारामको विवाह भएको दिन विवाह पञ्चमी, मायाप्रेमका आदिगुरु श्रीकृष्णको जन्मदिन -श्रीकृष्ण जन्माष्टमी, रामनवमी, जितिया पावनी, मायाप्रेमकै कथा भएको स्वस्थानी व्रतलगायत प्रेममय हाम्रा मौलिक पर्वहरूको कुनै पत्तो छैन तर रोज डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे, न्यु इयर, इस्टर, हेलोइन, क्रिस्मस डे जस्ता विदेशी चाडपर्वका बारेमा ठुलो आशक्ति छ र मनाइन्छन् । यो नै हो भाषाका साथै संस्कृतिमा परेको प्रभाव । सभ्यता र विकासको नाममा आफ्नो मौलिक संस्कृति र रीतिरिवाजलाई चटक्कै बिर्सेर अर्काको संस्कृति र रीतिरिवाज अँगाल्दा के परिणाम आउला भविष्यमा ?

विश्वमा प्रायः देशले आफ्नो राष्ट्रिय भाषालाई पहिलो प्राथमिकता दिन्छन् । राष्ट्रिय भाषा अनिवार्य हुन्छ । आफ्नो देशको भाषापरीक्षामा पर्याप्त नम्बर नल्याई पास नहुनेले अर्को कक्षामा पवेश पाउन गाह्रो हुन्छ । यहाँ हाम्रोमा ठिक उल्टो अवस्था छ । कक्षा १० को परीक्षामा नेपालीमा थोरै नम्बर, जिपिए आए पनि कलेजले भर्ना लिन्छन् । कक्षा ११ र १२ मा अनिवार्य छैन । ११ मा पढे १२ मा पर्दैन । व्यवस्थापन सङ्कायकाले ११ मा पढ्छन् भने विज्ञान सङ्कायकाले १२ मा । कति सजिलो छ । त्यसभन्दा माथि त नेपाली विषय लिएर पढ्‌नेले मात्र हो । अरूले पढ्नै पर्दैन। अहिले त झन् भाषाको वर्णविन्यास तानातानमा परेर नेपाली भाषा नै मरिच चाउरिएजस्तै भएको छ । अहिलेको जस्तो कि पहिलाको जस्तो भन्ने अन्योलको अवस्था आएको छ । अनि जस्तो लेखे पनि ठिक हुन्छ भन्नुपर्ने भएको छ ।

यस्तै कारणले नेपाली भाषी नै नेपाली भाषामा कमजोर भएका । नेपाली वा स्थानीय भाषाको यस्तो कमजोर जानकारले देशको अवस्था र वातावरण कसरी बुझ्ला । विदेश जाँदा आफैँ विदेशी भाषा बोल्ने नेपालीलाई आफ्नै देशभित्र डुल्दा दोभासे चाहिने होला । हामी नै यस्तै पुस्ताको उत्पादन, प्रशिक्षण र प्रोत्साहन दिन अग्रसर हुँदै छौँ । सामाजिक सञ्जालमा हामी अङ्ग्रेजी/रोमनमा लेख्ने, भाषालाई छियाछिया पारेर लेख्ने, कसैले गल्ती सच्याउन लागे भने, “अङ्ग्रेजी जानेकै छु नेपाली भाषाको के काम ?” जस्ता अभिव्यक्ति दिन्छौँ । नेपाली भाषा बिग्रिनुको प्रमुख कारण सामाजिक सञ्जाल बनेको छ ।

यो विडम्बनाबाट हामी कसरी पार पाउन सक्छौँ, यसको ज्ञान पनि हामीलाई नभएको होइन तर सभ्यता र आडम्बरको आडमा आङमा परेको धुलो पनि टकटक्याउन मन लाग्दैन हामीलाई । नेपाली भाषालाई अनिवार्य विषय र जान्नैपर्ने विषय बनाएको भए बाटातिर देखिने साइनबोर्डमा गल्ती लेखिएको देखिँदैनथ्यो । गाडीमा लेखिएका सायरीहरू पनि गल्ती हुने थिएनन् होला । नेपाली टेलिभिजनहरूले ब्रेकिङ समाचारमा गलत लेखाइ बोकेर समाचार आउने थिएनन् होला । सरकारी कार्यालयहरूमा लोकसेवा पास गरेका हाकिमहरूको सूचना/विज्ञप्ति उदेकलाग्दो हुन्थेन होला ।

भाषा-संस्कृति विज्ञहरूले, हामीले आफ्नो ठाउँबाट नेपाली भाषालाई संरक्षण र अधिकभन्दा अधिक प्रयोग गर्नुपर्ने देखिन्छ । भाषा, संस्कृति भनेको पुर्खाहरूको नासो हो । यसलाई वर्तमानमा गतिशील र प्रभावकारी बनाउनुका साथसाथै भविष्यमा अझ मजबुत र व्यवस्थित बनाउँदै लैजानु हामी र हाम्रा भावी सन्ततिहरूको ठुलो कर्तव्य हो ।