जातको उत्तर
केही समयअघि एउटा टिभी कार्यक्रम चलेको थियो – जातको प्रश्न। नायक राजेश हमाल नै प्रस्तोता रहेको त्यो कार्यक्रम चाँडै नै बन्द गरियो। तर जातको उत्तर पाइएको छैन। अब दलित, गैरदलित सबै मिलेर जातको उत्तर खोज्नु आवश्यक छ।
जात के हो? जातको अर्थ के हो? धेरै जटिलता होला भन्ने लाग्नसक्छ। तर जातको अर्थ सरल छ, स्पष्ट छ। जात शब्दको सीधा अर्थ हो – जन्म।
भारत वर्षमा हजारौं वर्ष अघिदेखि दुइ प्रबल समानान्तर विचारधारा देखिन्छन्। एउटा, मानिस जन्मबाट निर्धारित हुन्छ। यस विचारधारालाई वैदिक वा ब्राम्हण परम्पराले जानिन्थ्यो।
अर्को समानान्तर विचार हो, मानिस आफ्नै कर्मले निर्धारित हुन्छ न कि जन्मले। त्यसैले बुद्धले बारम्बार एउटै कुरा दोहर्याउँथे :
न जच्चा वसलो होति न जच्चा होति ब्राम्हणो
कम्मुना वसलो होति कम्मुना होति ब्राम्हणो
अर्थात्, जन्मले कोही शूद्र हुँदैन, न जन्मले कोही ब्राम्हण। कर्मले नै मान्छे शूद्र हुन्छ, कर्मले नै ब्राम्हण।
यस विचारधारालाई श्रमण परम्पराले प्रतिनिधित्व गर्थ्यो। यहाँनेर रोचक कुरा के छ भने त्यसबेला कयौं ब्राम्हण, क्षेत्रीहरू नै श्रमण धर्ममा लागेका थिए। अनि उनीहरू नै जातीय समताका प्रवक्ता र संवाहक भएका थिए, समाजको रूपान्तरणमा लागेका थिए। उनीहरूले ठूला भनिने जातबाट आएका भए पनि भिक्षु संघमा प्रवेशपछि आफूभन्दा तल्ला मानिने जातबाट आएर भिक्षु भएकालाई पनि श्रद्धा र सत्कारपूर्वक नियमित ढोगेका थिए। किनभने भिक्षु संघमा नियम नै छ कि हरेक भिक्षु–भिक्षुणीले आफूभन्दा पहिला भिक्षुत्व ग्रहण गरेका जोसुकैलाई आदरपूर्वक वन्दना (एक किसिमको ढोग) गर्नुपर्छ। यो प्रेरणा केवल बौद्ध धर्मभित्र सीमित नभएर हिन्दू धर्मलाई समेत प्रभावित गरेको थियो। उदाहरणको लागि मध्यकालीन हिन्दू सन्त रैदास लेख्छन्,
रविदास ब्राम्हण मत पूजिए, जउ होवे गुनहीन
पूजिहि चरन चंडाल के, जउ होवे गुन परवीन
एउटै जुनीमा धेरै जात
यो मेरो आफ्नै जीवनको अनुभव हो। मैले एकै जुनीमा कम्तीमा तीन जात बाँचेको छु। नेवारको व्यापारी (वैश्य?) परिवारमा जन्मेको मैले आफ्नो जीवनको पाँच वर्ष पुरेत्याइँ गरेर खाएको छु। त्यो कसरी भने म बौद्ध भिक्षु भएको थिएँ। नेपाल र थाइल्यान्डमा पाँच वर्ष जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड मेरो हातबाट चल्यो। सबैले मलाई वन्दना गर्थे, तिनमा कति ब्राम्हण पनि थिए होलान्। यस हिसाबले जीवनमा म पाँच वर्ष ब्राम्हण भएँ। तर पाँच वर्षपछि भिक्षु छोडेर गृहस्थ भएपछि मैले व्यापार गरिनँ, जागीर गरें। यस हिसाबले म क्षेत्री भएँ कि? तर म के भएँ भन्नु आवश्यक किन? खुला समाजका भाषामा मा जात र वर्ण वाचक शव्दावली नै भेटिंदैन, न दलित शब्द नै।
मूल प्रश्न : खुला समाज कि बन्द समाज?
यहाँनेर जात व्यवस्थाभन्दा अझ मुख्य प्रश्न आउँछ, हामी खुला समाज रोज्छौं कि बन्द समाज? जात व्यवस्था बन्द समाजको एउटा अंगमात्र हो। लैंगिकवाद (सेक्सीजम्) बन्द समाजको अर्को अंग हो। धर्मको शास्त्रीय दृष्टिकोण पनि बन्द समाजको अंग हो। जस्तो कि, ब्राम्हण धर्मले वेदलाई प्रमाण मान्छ, तर श्रमणहरू कुनै पनि शास्त्रलाई प्रमाण मान्दैनन्। उनीहरू स्वतन्त्र चिन्तन र सत्यका अन्वेषण गर्ने हुन्। यदि शास्त्रमा लेखेका कुरा नै अन्तिम सत्य मान्ने हो भने मानव समाजको विकास नै समाप्त भयो। यसले समाजलाई पूर्णतय बन्द अवस्थामा पुर्याउँछ।
बुद्धकै समकालीन अत्यन्त प्रभावशाली श्रमण वर्धमान महावीर त झन आफूलाई ‘निर्ग्रन्थ’ मान्छन्। उनी जैन धर्मका चौबीसौं तीर्थंकर हुन्। जैनधर्मका तेइसौं तीर्थंकर पाश्र्वनाथ बुद्धभन्दा लगभग तीनसय वर्षअघि वाराणसीमा जन्मेका थिए। उनी पनि बुद्धजस्तै राजकुमार थिए र पछि दरबार त्यागेर श्रमण भई साधनामा लागेका थिए। उनको धर्म र संघमा पनि जातीय भेदभाव थिएन। यसरी बुद्धको समयभन्दा केही सय वर्षअघि नै भारतमा खुला र उदार समाज तयार भइसकेको थियो। त्यसकै कारण बुद्धको समयमा बुद्धलगायत सात ठूला मौलिक दर्शन बोक्ने दार्शनिकहरू पैदा भएका थिए। यस्तो बौद्धिक उँचाइ खुला समाजको लामो पृष्ठभूमि बिना सम्भव हुँदैन। यदि त्यस बेला भारत बन्द समाज हुँदो हो त शायद बुद्ध पनि जन्मिने थिएन।
बुद्धको समयका प्रमुख प्रभावशाली सात श्रमणहरूमध्ये एक थिए, मक्खली गोशाल। श्रमण मक्खली गोशाल त आफैं दास परिवारबाट आएका थिए। मक्खली गोशालको धर्मलाई आजीवक धर्म भनिन्छ। आजीवक धर्म दुइहजार वर्ष अर्थात् चौधौं शताब्दीसम्म जीवित रहेको प्रमाण भेटिन्छ र त्यसपछि पूर्णतः लोप भयो। नभए हामीले जातप्रथा विरुद्ध गोशालले दिएका उपदेश पनि पढ्न पाउँथ्यौं होला, साथै एउटा दास अवस्थाबाट प्रभावशाली धार्मिक नेता बनेकाको संघर्षको कथा पनि सुन्नपाउँथ्यौं होला। निश्चय पनि उनलाई स्थापित हुन राजपरिवारको पृष्ठभूमिबाट आएका बुद्ध र महावीरलाई जति सजिलो भएन होला। उनको संघर्षको कथा अझ रोचक र प्रेरणादायी हुनसक्छ। तर मध्यकालको कठोर बन्द समाजमा उनका सबै ग्रन्थहरू नष्ट भए, हराए।
त्यस्तै अर्का प्रभावशाली श्रमण अजित केशकम्बल चार्वाक मतको प्रतिनिधित्व गर्ने भौतिकवादी दार्शनिक थिए। भौतिकवादीले जातपात मान्ने कुरै भएन। शायद उनी बुद्धभन्दा पनि बढी क्रान्तिकारी थिए कि? तर उनका ग्रन्थहरू पनि नष्ट गरिए। हामी उनको दार्शनिक विचारबाट वञ्चित भयौं। शायद चार्वाक पनि दार्शनिक श्रमण हुनुपर्छ, जसका ग्रन्थहरू समाप्त पारिए।
हुन त भारतवर्षको आदिपुरुष मानिने शिव नै जातव्यवस्थाका विरोधी थिए। शिव र वैदिक देवताहरूवीचको लडाइँ त प्रसिद्ध नै छ। शास्त्रमा शिवलाई ‘वेदवाह्या’ भनेर गाली गरेको भेटिन्छ। शिव–पार्वतीको मुख्य थलो हिमालय नै हो। हिमालयभन्दा दक्षिणी समथर भूमिले शैव मत धेरैपछि मात्रै ग्रहण गरेको हो। त्यसैले नेपाली समाज पहिल्यैबाट जातव्यवस्थामा आधारित थिएन, बरु काल क्रममा भारतीय समाजबाट प्रभावित हुँदै गएको बुझ्न सकिन्छ। अनि भारतमै पनि श्रमणहरूले जातिव्यवस्था विरुद्ध विद्रोह गरेका होइनन्, बरु जाति व्यवस्था मान्ने र नमान्ने दुइ विचारधारा सँगसँगै संघर्ष गर्दै स्थापना र विकास भएको देखिन्छ। कुनै समय ब्राम्हण धर्म बलियो हुन्थ्यो भने कुनै बेला श्रमण धर्म प्रभावशाली हुन्थ्यो। जुनजुन बेला श्रमण धर्म बलियो हुन्थ्यो, त्यति बेला जातीय विभेद कम हुन्थ्यो। वास्तवमा बुद्धकालीन र मौर्यकालीन भारतमा जातीय विभेद भए पनि अहिले हामी बाँचेको समयको भन्दा धेरै कम थियो।
द्वन्द्वको सम्यक समाधान : प्रज्ञा र उपायको मिलन
नेपालका बौद्धहरू खास गरी नेवार बौद्धहरूले शिव लिंगलाई प्रज्ञा र उपायको मिलनको रूपमा लिन्छन्। त्यसैले नेपालका बौद्धहरू पशुपतिमा पनि उत्तिकै भक्तिपूर्वक पुग्छन्। खासमा यो पनि नेवार बौद्धहरूले धार्मिक सहिष्णुताको लागि अपनाएको उपाय कुशलताको एउटा उत्कृष्ट नमूना हुनसक्छ।
बुद्धकालीन श्रमणहरूले जात व्यवस्थाको विरोधमा ठूलो परिवर्तन ल्याएका थिए। तर त्यहाँ कुनै भौतिक द्वन्द्व भएको थिएन। एउटा त त्यसको पृष्ठभूमि शैवमार्गले अघिबाटै तयार गरिराखेको थियो। अर्को मुख्य कुरा, सामाजिक द्वन्द्व वैचारिक स्तरमा भएको थियो। शायद त्यसबेलाको भारतीय समाज अहिलेको भन्दा पनि बौद्धिक रूपमा उन्नत थियो। हो, तत्कालीन वैदिक ब्राम्हणबाट प्रतिरोध अवश्य भएको थियो। तर बुद्ध र उनको संघ, जसमा सबै जातका भिक्षु भिक्षुणीहरू थिए, कसैले पनि कुनै ब्राम्हण, क्षेत्री वा वैश्यसित विद्वैष राखेका थिएनन्। वैचारिक स्तरमा विरोध र प्रतिरोध हुन्थ्यो, जसको निर्क्यौल वैचारिक मन्थनबाटै हुन्थ्यो। यसैको क्रममा प्रतिरोध गर्नेमध्ये कतिपय फेरि श्रमणहरूको विचारबाट प्रभावित भई रूपान्तर भएका थिए। तिनै ब्राम्हण, क्षेत्री आदिले जातव्यवस्था विहीन श्रमण मतको अनुशरण गरेका थिए।
बुद्धबाट त ठूल्ठूला समुदाय नै प्रभावित भएका थिए। उनीहरू कोही भिक्षु–भिक्षुणी बने भने कोही गृहस्थ उपासक, उपासिका बने। बुद्धको संघमा आएपछि कुनै जात बाँकी रहँदैन। फेरि माथि भनिएजस्तै, बुद्धको संघमा के व्यवस्था थियो भने जो पहिला भिक्षु बन्छन् उसलाई पछि बनेका भिक्षुलाई वन्दना गर्नुपर्थ्यो। अनि हरेक भिक्षु, भिक्षुणीलाई उपासक, उपासिकाले आदरपूर्वक वन्दना गर्नुपर्थ्यो। यसरी बुद्धको परिषदमा आएका कैयौं ब्राम्हण, क्षेत्री, वैश्यले शूद्र कुल वा जनजातिबाट भिक्षु बनेकालाई ढोगे। जन्मले ब्राम्हण बनेकालाई बाँकी जातले ढोग्नु पर्ने नियम विपरित जन्मले जेसुकै भए पनि कर्मले ब्राम्हण (भिक्षु) बनेकालाई वन्दना गर्नुपर्ने प्रचलन बुद्धले ल्याए। यो एउटा ठूलो महत्त्वको क्रान्तिकारी परिवर्तन थियो। तर यो शान्ति र प्रेमपूर्वक भयो। सहजतापूर्वक भयो। ब्राम्हणलाई शूद्रको चरणमा ल्याउने जस्तो कल्पनै गर्न नसकिने ठूलो क्रान्तिकारी कार्य कसरी सम्भव भयो? यही कुरा हामी सबैले बुझ्नु जरूरी छ, सोच्न जरूरी छ। अझ अभियान, आन्दोलनमा लागेकाले त झनै गम्नु आवश्यक छ।
बुद्धका अस्त्रहरू
यो कसरी सम्भव भयो भने बुद्धले केही मूल्यमान्यता र गुणहरू स्थापित गरेका थिए। ती मूल्य मान्यतामा पहिला आफूमा अवलम्बन गरेका थिए, अनि मात्र अरूलाई सिकाएका थिए। ती मूल्य मान्यताहरू हुन्—
१. प्रज्ञा र उपायको मिलनबाट समस्याको समाधान खोज्ने
२. ‘आदि कल्याणम्, मध्य कल्याणम्, अन्त्य कल्याणम्’को सिद्धान्त अपनाउने
३. कुनै पनि ‘अति’लाई त्यागेर ‘मध्यम मार्ग’ पहिल्याउने
४. परिवतर्नका वाहकले आफूभित्र ब्रम्हाका चार गुण विकास गर्ने
आध्यात्मिक क्षेत्रमा प्रज्ञाको अर्थ धेरै गहिरो छ। सांसारिक क्षेत्रमा प्रज्ञाको अर्थ विवेक भनेर बुझ्दा हुन्छ। हामीसित बुद्धिमात्रै भएर पुग्दैन, बुद्धिसित विवेक पनि हुन जरुरी छ। विना विवेकको बुद्धिले हित नगर्न सक्छ। अझ भावना, आवेग र आवेशमा आएर कुनै कदम चालेमा आफू र समाजलाई नै अहित गर्नसक्छ। हाम्रा धेरै आन्दोलन र अभियानहरूले ठीक दिशा लिन नसकेको प्रज्ञाको अभावले हो।
अनि प्रज्ञामात्र भएर पनि पुग्दैन, प्रज्ञाले जे देख्यो त्यसलाई स्थापित गर्न निक्कै सोचेर सम्झेर सम्यक उपायको खोजी गर्नु पर्छ। उपाय भनेको कमभन्दा कम क्षतिमा बढीभन्दा बढी उपलव्धि गर्ने खालको हुनुपर्छ। साथै त्यस्तो उपाय सोच्नुपर्छ जसले विपक्षी पनि आकर्षित भई आफ्नो पक्षमा लागोस्। बुद्ध र उनका अनुयायीहरूप्रति ब्राम्हणदेखि शूद्रसम्म अनि अनेकौं जनजातिहरू किन आकर्षित भए भने उनीहरूले कसैसित टक्कर लिएका थिएनन्, कसैलाई आक्षेप लगाएका थिएनन्, होच्याएका थिएनन्। उनीहरूमा धैर्य थियो र शालीनता थियो। धैर्य र शालीनता नै उनीहरूको बल थियो। भनिन्छ पनि, “अनन्त धैर्यले चाँडो परिणाम दिन्छ।”
यहाँनेर एउटा बुद्धकालीन सत्य घटना प्रस्तुत गर्छु। एक दिन बुद्धका प्रमुख भिक्षु सारिपुत्र भिक्षाटनमा गइरहेका थिए। त्यहाँ बाटोमा उपस्थित मान्छेहरू कुरा गर्दै थिए, “यो सारिपुत्र भिक्षु कति शान्त छ। कहिल्यै रिसाएको देखेको छैन।” तब बुद्ध विरोधी एउटा ब्राम्हणले भन्यो, “तिमीहरूले यसको रिस कसरी निकाल्नुपर्छ भनेर जानेकै छैन। ल हेर, मैले कसरी यसको रिस निकालेर देखाउँछु।”
यति भनेर त्यो ब्राम्हणले सारिपुत्रको पछाडि गएर ढाडमा एक मुक्का जमाइदियो। सारिपुत्र कति पनि विचलित नभई खुरुखुरु भिक्षाटनमा अघि बढिरहे। आफूले आशा गरेझैं सारिपुत्रमा कुनै पनि प्रतिक्रिया नदेखेर ब्राम्हणको मन उद्वेलित भयो। कतै महान सन्तलाई कुटेको पाप पो लाग्ने हो कि? उसलाई पश्चाताप हुन थाल्यो। ऊ हतारिँदै सारिपुत्रलाई भेट्न गयो। माफी माग्दै उसले सारिपुत्रलाई आफ्नो घरमा भोजनको लागि निम्तो दियो। सारिपुत्र उसको घरमा गएर भोजन गरे। अनि सारिपुत्रको उपदेश सुनेर ब्राम्हणले बौद्धधर्म ग्रहण गर्यो। अब ऊ जातले ब्राम्हण रहेन, अनि शूद्र कुलबाट आएका भिक्षुहरूलाई मनैदेखि ढोग्ने भए।
यो घटना सुनेर भिक्षुहरू आपसमा कुरा गर्न थाले। सारिपुत्रले गल्ती गर्यो। आफूलाई कुट्ने मान्छेको घरमा पनि जाने हो? अब ब्राम्हणहरूले भिक्षुहरूलाई बाटाबाटामा कुट्ने भए। यो कुरा थाहा पाएर बुद्धले ती भिक्षुहरूलाई भने, “सारिपुत्रले ठीक गरे। त्यस्तै अवस्था आएमा तिमीहरू पनि सारिपुत्रले जस्तै गर्नू। कसैलाई कुट्ने मानिस ब्राम्हण हुनै सक्दैन। कसैले कुट्यो भन्दैमा रिसाउने मानिस पनि ब्राम्हण हुनसक्दैन। मेरो शिष्य सारिपुत्र सच्चा ब्राम्हण हुन्। उनले गल्ती गर्दैन।”
त्यस्तै, बुद्धको अर्को उपाय कुशलताको उदाहरण पनि छ। केही शाक्य राजकुमारहरू भिक्षु बन्न चाहेका थिए। साथमा थिए, उनीहरूकै कपाल काट्ने नाई पनि। बुद्धले तिनीहरूलाई भिक्षुत्व प्रदान गर्दा पहिला तिनै नाईलाई पहिला भिक्षु बनाए। यसको कारण हो, शाक्य राजकुमारहरूमा रहेको जातीय घमण्ड तोड्नु। भनिन्छ, त्यसबेला शाक्यहरूमा धेरै नै जातीय अभिमान थियो। कुलको अभिमान हुञ्जेल आध्यात्मिक मुक्ति पनि सम्भव हुँदैन।
आदि कल्याणम्, मध्य कल्याणम्, अन्त्य कल्याणम्
बुद्धले बारम्बार सचेत गराउने कुरा हो, आदि कल्याणम्, मध्य कल्याणम्, अन्त्य कल्याणम्। यसको अर्थ हो, कुनै पनि कार्य गर्दा यो विचार गर्नु पर्छ कि त्यसले शुरुमा पनि कल्याण गरोस्, बीचमा पनि कल्याण गरोस् र अन्त्यसम्मै कल्याण गरोस्। हाम्रा आन्दोलनहरू दुइ प्रकारका छन्। पहिलो, तत्काल कल्याण हुन्छ भनेर हौस्याउने खालका। दोस्रो, अहिले नोक्सान गरे पनि कालान्तर राम्रो हुन्छ भनेर उक्साउने खालका। यी दुवैबाट बचेर रहनु पर्छ।
बुद्धको सूत्र हो, मध्यम मार्ग। अर्थात्, कुनै पनि अति मार्गमा नलाग्ने। एउटा आध्यात्मिक मार्ग छ जुन संसारसित निर्लिप्त भई कुनै पनि सांसारिक परिवर्तन र सुधारमा लाग्दैन। समाजमा भएका दोषहरूप्रति आँखा चिम्लेर बस्छ। अर्को भौतिकवादी मार्ग छ जसले समाजमा भएका हरेक खराबीप्रति जागरुक हुँदै खराबीका कारक व्यक्ति वा समूहसित लड्न हरहमेशा तयार रहन्छ। बुद्धको मार्ग न त समाजप्रति आँखा चिम्लेर अनदेखा गर्नु हो, न त जागरुक भएँ भन्दैमा कसैप्रति जाइलाग्नु हो। बुद्धले मध्यम मार्ग अपनाएकैले शत्रुलाई पनि आफ्नो पक्षमा ल्याउन सफल भएको हो। कमभन्दा कम क्षतिमा धेरैभन्दा धेरै उपलब्धि हासिल गर्नसकेको हो। अझ भौतिक वा मानवीय क्षति त शून्य नै थियो।
रुपान्तरणमा लाग्ने व्यक्तिमा हुने पर्ने गुणहरू
अनि बुद्धले रुपान्तरणमा लाग्ने व्यक्तिमा हुने पर्ने चारवटा गुण ठम्याएका छन् — मैत्री, करुणा, मुदिता, उपेक्षा। यिनलाई चार ब्रम्हविहार भनिन्छ। हिन्दू धर्ममा ब्रम्हाका चार मुख छन् भने बौद्ध धर्ममा ब्रम्हाका चार गुण छन्।
मैत्रीको अर्थ हो जसलाई परिवर्तन गर्नु छ उसलाई शत्रु ठानेर होइन, मनभित्रैबाट उसप्रति मैत्री विकास गरेर कल्याणका उपायहरू अवलम्बलन गर्ने। करुणाको अर्थ हो, जो पीडक हो उसको पनि पीडा बुझ्ने। संसारमा कोही पनि पीडक मात्रै छैनन्, न कोही पीडित मात्र। हामीले पीडक ठानेको व्यक्ति पनि कुनै किसिमले पीडित भइरहेको हुन्छ। त्यसलाई पनि बुझ्नुपर्छ र उसको पीडा पनि कम होस् भनेर कामना गर्नसक्नु पर्छ।
हामी धेरैजसो आफ्नो पीडामा केन्द्रित हुन्छौं, अनि आफ्नो पीडालाई ठूलो बनाउँछौं। फेरि सामाजिक अभियानकर्ताहरू समाजमा भएका खराबीमा आफ्नो दृष्टि केन्द्रित गर्छन्। त्यसैले तेस्रो गुण ‘मुदिता’ आवश्यक भएको। मुदिता भनेको सकारात्मक कुरामा आफ्नो दिमाग केन्द्रित गर्नु हो। हरेक मानिसको जीवनमा सकारात्मक र नकारात्मक कुरा हुन्छन्। सबैको जीवनमा खुशी र पीडाका क्षणहरू हुन्छन्। समाज पनि जतिसुकै खराब भए पनि त्यसभित्र राम्रा पक्षहरू पनि छन्। जब हामी पीडा र खराबीमा केन्द्रित हुन्छौं, हामी द्वेषपूर्ण हुन्छौं। जतिसुकै राम्रो उद्देश्यको लागि होस्, विद्वेषबाट गरिएको कार्यले कहिल्यै वृहत्तर कल्याण गर्न सक्दैन।
उपेक्षाका धेरै गहिरा अर्थ छन्। यहाँ एउटा सानो अर्थमात्रै अगाडि गर्छु। बृहत्तर हितको लागि परिवर्तनको अभियानमा लाग्नेले सानासाना कुरालाई नजरअंदाज गर्नुपर्ने पनि हुन्छ। धेरैजसो सामाजिक अभियानमा लाग्नेहरू आफ्नो विषयका सानाभन्दा साना मुद्दा पनि नछोडी चित्त दुःखारहन्छौं। यसले मुख्य मुद्दालाई झन अप्ठेरोमा पार्नसक्छ। अभियानमा लाग्नेले कुन कुरालाई उपेक्षा गर्ने, कुनलाई महत्त्व दिने भनेर पनि बुझ्नु आवश्यक छ।
सामाजिक कुरीतिहरू देखेर हरेक मानवलाई दिक्क लाग्छ। त्यो पनि युवावस्थामा त झनै धेरै। तर परिवर्तनका वाहकमा हुनुपर्ने यी गुणहरू आफूमा विकास नगरी अभियानमा लाग्दा त्यसले समाजको हित होइन अहित नै धेरै गर्नसक्छ।
बुद्धबाट सिकौं
हामीले जानेको समाज परिवर्तनको अहिलेको शैली र ढाँचा पश्चिमा हो। यो ढाँचा पश्चिममा अठारौं शताब्दीतिर सुरु भएको हो। त्यो द्वन्द्व र हिंसामा आधारित छ। वामपन्थले शारीरिक स्तरमै हिंसालाई प्रधानता दिएको छ भने दक्षिणपन्थले पनि मानसिक र वचनको स्तरमा हिंसालाई प्रश्रय दिएको छ। सामाजिक रूपान्तरणको लागि पश्चिमबाट अनुदान आउँछ भने शिक्षा पनि त्यहीँबाट नै आउने भयो। बुद्धदेखि सन्त कबीर, रैदाससम्मले गरेको सामाजिक रूपान्तरण र विद्रोहको दर्शन र मार्गको हामीले अध्ययन नै गरेनौं। ती न अनुदानमा आधरित थियो, न हिंसामा।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।