यक्ष र युधिष्ठिरबीचको यो संवाद महाभारतको वनपर्वबाट लिएको हो ।

उठान:

बाह्र वर्ष वनवासको अन्तिम क्षण । अज्ञातवास जानुपूर्वको समय ।वनमा पाँच पाण्डव आखेटका लागि निस्कन्छन् । केही समयपश्चात् मृगलाई लघार्दछन् । मृगको प्रकृति प्रदत्त दौडने क्षमताका अघि पाण्डव लाचार पर्दछन् । क्षत्रिय कुलमा जन्मिएको र योद्धा हुनुको अभिमानले पाण्डवलाई कुनै प्रकारको पनि हार या भनौँ पराजय स्वीकार्य हुँदैन् ।यही अहंले पाण्डवलाई मृगको पछि दौडाइरहन्छ ।शरीरमा शक्ति क्षीण नहुन्जेलसम्म पाण्डव मृगको पछि लागेर वनको एक सुरदेखि अर्को सुरसम्म आइपुग्छन् ।आखेट हात लाग्दैन् ।मृगको दिन बलियो ठहर्छ ।

आखेट हात नलागेपछि खुइय्या सुस्केरा तान्छन् र नजिकको रुखको छहारीमा बस्दछन् । लामो समयसम्म अविराम मृगको पछि दौडिएकाले सबैलाई प्यास लागेको हुन्छ ।शरीर शिथिल र क्लान्त हुन्छ । प्यासको प्रकोप अत्यन्त प्रचण्ड भएपछि पाण्डवमध्ये जेष्ठ युधिष्ठिरले भाइ नकुललाई पानीको खोजमा पठाउॅंछन् ।

करिब एक कोस टाढा जलाशय भेटिन्छ । प्यासको प्रकोप सहन गर्न नसकेको अवस्थामा नकुल सरासर सरोवरछेउ जान्छन् र हातको सहराले पानी पिउन तत्पर हुन्छन् । यत्तिकैमा कसैले पानी उसको भएको र पानी नपिउन आवाज दिन्छ । बलशाली नकुलले आवाजलाई बेवास्ता गर्दछन् र पानी पिउॅंदछन् । पानीमा विष मिसाइएकाले तत्क्षण नकुल मरण प्राप्त गर्दछन् ।

यता युधिष्ठिरले नकुल पानीको खोजमा गएको र लामो समयसम्म नफर्किएपछि भाइ सहदेवलाई भाइको खोजमा पठाउॅंछन् । केही समयपछि सहदेव उक्त सरोवरछेउ पुग्दछन् । नकुललाई मृत देखेपछि क्रोधमा आउँदछन् । अत्यन्त तिर्खाएका कारण पानी पिएर मात्र नकुलको अपराधीलाई कारबाही गर्ने मनशाय बनाँदछन् । पानी पिउनुपूर्व उही आवाज आउॅंछ र चेतावनी दिन्छ । क्रोध र प्यासले व्याकुल भएका सहदेवले आवाजलाई ध्यान दिँदैनन् ।उनको पनि तत्क्षण मृत्यु हुन्छ ।

मदन दुलाल (अमेरिका)

नकुल र सहदेवको कुनै पनि खबर नआएपछि युधिष्ठिरले गाण्डिवधारी अर्जुनलाई र महाबली भीमकाय शरीर भएका गदाधारी भीमलाई क्रमश: भाइद्वयको खोजी गर्न अह्राउॅंछन् । अहङ्कार र बलको उन्मत्तताले भीमार्जुनले पनि ज्यान गुमाउँदछन् । युधिष्ठिरलाई शङ्का, सन्देह र कौतुहलताले एकैपटक घेर्दछ । लड्खडाउँदै युधिष्ठिर पनि भाइहरूको खोजमा लाग्छन् । केही समयपश्चात् सुन्दर सरोवरमा आइपुग्छन् ।जहाँ आफ्ना सुरवीर महाप्रतापी भाइहरू जमिनमा निष्प्राण देख्दछन् । युधिष्ठिरले विकराल स्थितिको सामना गर्दछन् ।

युद्धजस्तो स्थितिमा पनि धीर रहन सक्ने युधिष्ठिरले संयमता अपनाउँछन् । आफ्नो मनको वेग र क्रोधको वेगलाई धैर्यले बाँधेपछी उनलाई प्यास लागेको अनुभव हुन्छ । जसै युधिष्ठिर पानी पिउन लाग्छन्, आवाज आउँछ । युधिष्ठिर चतुरो रहन्छन् । जुरूक्क उठ्छन् । चारै दिशा हेर्दछन् । कतै कोही नदेखेपछि पुन: पानी पिउने गृहकार्यमा लाग्दछन् । पुन: आवाज आउॅंछ र पानी नपिउन चेताउॅंछ ।

यक्ष-युधिष्ठिर भेट:

युधिष्ठिरले चारै दिशा नजर दौडाउछन् । कतै केही नदेखेपछि पुन: एक पटक पानी पिउने उद्योग गर्दछन् । पुन: आवाज आउॅंदछ र पानी नपिउन कडा चेतवानी दिन्छ । ए अचम्म ! युधिष्ठिर अचम्मित हुन्छन् । केही क्षण स्तम्भित अवस्थामा रही पानी त कसैको निजी नहुने र प्रकृतिमा उपस्थित हरप्राणीको पानीमा समान अधिकार रहने शास्त्रोक्ति सम्झिन्छन् ।

विनम्र र शालीन युधिष्ठिरले सविनम्र पानीप्रति कसै एकको अधिकार नरहने शास्त्रसम्मत मत प्रस्तुत गर्दछन् । पानीप्रति कसै एकको अधिकार नहुने सत्य स्विकार्दै आफूलाई पानी पिउन दिन युधिष्ठिरले आग्रह गर्दछन् ।

हो म मान्दछु पानीप्रति कसैको अधिकार हुँदैन, आवाज आउॅंछ । किन्तु यो सरोवर मेरो अधिकार क्षेत्रमा रहेको हुनाले मेरो प्रश्नको उत्तरबेगर कसैलाई पनि पानी पिउने छुट छैन । यसअघि चारजना युवाले मेरो आज्ञाको अवज्ञा गरेकाले मृत्यु प्राप्त गरिसकेका छन् । प्रश्नको उत्तर छ भने पानी पिउन सक्नुहोला नत्र मृत्युका लागि तयार रहन धम्कीपूर्ण आवाज आउॅंछ ।

युधिष्ठिरले आवाज आएको दिशामा हेर्दछन् र आफू जस्तोसुकै परीक्षाका लागि तयार रहेको उत्तर दिन्छन् तर प्रश्नको उत्तरपूर्व आफू कोसँग प्रश्नोतर गर्दैछु सो जान्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने अडान युधिष्ठिरले राख्दछन् ।

म यक्ष हुँ आवाज आउॅंछ ।

————————————————————————

यक्षले युधिष्ठिरलाई केही थान दर्शनसम्बन्धी प्रश्न गर्दछ । यो ऐतिहासिक प्रश्नोत्तरको आडमा नै युधिष्ठिर धर्मराज कहलिएका हुन् । आधुनिक जमनामा रेपिड फायर कोइसन-एन्सरको अवधाराणमा उक्त प्रश्नोत्तर भएको थियो । फरक यत्ति थियो । आधुनिक जमनामाझैँ कसैलाई गिराउने चलखेल उसबेला थिएन ।

प्रस्तुत छ यक्ष- युधिष्ठिर संवादको जीवनोपयोगी प्रश्न र उत्तर । जुन यक्ष-युधिष्ठिर संवादको नामले लोकप्रसिद्ध छ ।

यक्ष र युधिष्ठिरबिचको संवाद

यक्ष – जीवनको  उद्देश्य के हो ?

युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्त्वलाई जान्नु हो र जीवन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जीवन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो ।

यक्ष– जन्मको कारण के हो ?

युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो ।

यक्ष– जन्म र मरणको  बन्धनबाट को मुक्त छ ?

युधिष्ठिर – जसले स्वयंलाई  अर्थात् त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ ।

यक्ष– वासना र जन्मबिच के सम्बन्ध छ ?

युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म । यदि वासना पशुजस्तो छ भने पशु योनीमा जन्म । यदि वासना मनुष्यजस्तो छ भने मनुष्य योनीमा जन्म ।

यक्ष– संसारमा दुःख किन छ ?

युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो ।

यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ?

युधिष्ठिर – ईश्वरले संसारको रचना गरे भने मनुष्यले आफ्नो विचार र कर्मले दुःख/सुखको रचना गरे ।

यक्ष– ईश्वर के  हो ? उसको रूप कस्तो छ ? ऊ स्त्री हो कि पुरुष?

युधिष्ठिर – हे यक्ष! कारणबिना कार्य हुन सक्तैन । यो संसार(कारण) नै ईश्वरको अस्तित्व (कार्य) को  प्रमाण हो । तिमी छौ त्यसैले उनी पनि छन् | त्यस महान् कारणलाई नै अध्यात्ममा ईश्वर भनिन्छ । उनी न स्त्री हुन न पुरुष ।

यक्ष– उसको स्वरूप कस्तो छ ?

युधिष्ठिर – ईश्वरको स्वरूप  सत्(अनादि,कहिल्यै नाश नहुने ) -चित्(पुर्ण ज्ञान भएको) -आनन्द  छ , ऊ निराकार नै  सबै रूपमा आफूले आफूलाई नै  व्यक्त गर्दछ |

यक्ष– निराकार र्इश्वरले स्वयं के गर्दछ ?

युधिष्ठिर – ईश्वरले संसारको रचना, पालन र संहार गर्दछ ।

यक्ष– यदि ईश्वरले संसारको रचना गरे भने स्वयं ईश्वरको रचना कसले गऱ्यो ?

युधिष्ठिर – ईश्वर अजन्मा अमृत र अकारण हुनुहुन्छ |

यक्ष– भाग्य भनेको के हो ?

युधिष्ठिर – हरेक  क्रिया, हरेक कार्यको एक परिणाम हुन्छ । परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ । यो परिणाम नै  भाग्य हो । आजको प्रयत्न भोलिको भाग्य हो ।

यक्ष– सुख र शान्तिको रहस्य के हो ?

युधिष्ठिर – सत्य, सदाचार, प्रेम र क्षमा सुखको  कारण हो । असत्य, अनाचार, घृणा र क्रोधको त्याग नै शान्तिको  मार्ग हो ।

यक्ष– चित्तमाथि नियन्त्रण कसरी सम्भव छ ?

युधिष्ठिर – इच्छा, कामना चित्तमा उद्वेग उत्पन्न गर्दछ, इच्छामाथिको विजय नै चित्तमाथिको पनि विजय हो ।

यक्ष– सच्चा प्रेम भनेको के हो?

युधिष्ठिर – स्वयंलाई सबैमा देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सर्वव्यापी देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सबैको साथमा एक देख्नु नै सच्चा प्रेम हो ।

यक्ष– त्यसो भए  मनुष्यले सबैसँग  प्रेम किन गर्दैन?

युधिष्ठिर – जसले स्वयंलाई सबैमा देख्तैन त्यसले सबैसँग प्रेम गर्न सक्तैन |

यक्ष– आशक्ति भनेको के हो ?

युधिष्ठिर – प्रेममा हुने माग, अपेक्षा, अधिकार नै आशक्ति हो ।

यक्ष– बुद्धिमान् को हो?

युधिष्ठिर – जोसँग विवेक(सही र गलत छुत्याउन सक्नु) छ त्यो नै बुद्धिमान् हो ।

यक्ष– नशा भनेको के हो?

युधिष्ठिर – आशक्ति नै नशा हो ।

यक्ष– चोर को हो ?

युधिष्ठिर – इन्द्रियको आकर्षण, जो इन्द्रियलाई हर लिन्छन् त्यही नै चोर हो ।

यक्ष– जागा रहेर पनि सुतेका को को हुन् ?

युधिष्ठिर – जो आत्मालाई जान्दैनन्, तिनीहरू नै जागा भएर पनि सुतेसरह हुन् ।

यक्ष– कमलको पातमा रहेको जलजस्तै अस्थायी के हो ?

युधिष्ठिर – यौवन, धन र जीवन ।

यक्ष– नरक भनेको के हो ?

युधिष्ठिर – इन्द्रियको दासता नै नरक हो ।

यक्ष– मुक्ति भनेको के हो ?

युधिष्ठिर – अनाशक्ति नै मुक्ति हो ।

यक्ष– दुर्भाग्यको कारण के हो?

युधिष्ठिर – मद र अहङ्कार ।

यक्ष– सौभाग्यको कारण के हो?

युधिष्ठिर – सत्सङ्ग र सबैप्रति मित्रभाव नै सौभाग्यको कारण हो ।

यक्ष– सबै दुःखको  नाश कसले गर्न सक्छ?

युधिष्ठिर – जो सब छोड्न तैयार छ उसैले सबै दुःखको नाश गर्न सक्छ ।

यक्ष– मृत्युपर्यन्त यातना कसले दिन्छ?

युधिष्ठिर – गुप्तरूपले गरिएको अपराधले ।

यक्ष– दिन र रात कुन कुराको विचार गर्नुपर्दछ?

युधिष्ठिर – सांसारिक सुखको क्षण-भङ्गुरताको विषयमा ।

यक्ष– संसारलाई कसले जित्छ?

युधिष्ठिर – जसमा सत्य र श्रद्धा हुन्छ ।

यक्ष– भयबाट मुक्ति कसरी सम्भव छ?

युधिष्ठिर – वैराग्यबाट ।

यक्ष– मुक्त के भनेको हो?

युधिष्ठिर – जुन अज्ञानबाट पर छ ।

यक्ष– अज्ञान भनेको के हो ?

युधिष्ठिर – आत्मज्ञानको अभाव नै  अज्ञान हो ।

यक्ष– दुःखबाट मुक्त को छन् ?

युधिष्ठिर – जो कहिले पनि क्रोध गर्दैन् ।

यक्ष– त्यो के हो  जुन अस्तित्वमा छ पनि छैन पनि ?

युधिष्ठिर – माया ।

यक्ष– माया भनेको के हो ?

युधिष्ठिर – नाम र रूपधारी नाशवान् जगत् नै माया हो ।

यक्ष– मनुष्यको साथ कसले दिन्छ?

युधिष्ठिर– धैर्यले नै मनुष्यको साथ दिन्छ|

यक्ष– यशलाभको एकमात्र उपाय के हो?

युधिष्ठिर – दान ।

यक्ष– हावाभन्दा छिटो के चल्दछ?

युधिष्ठिर – मन ।

यक्ष– विदेश जानेवालाको साथी को हो ?

युधिष्ठिर – विद्या ।

यक्ष– के त्याग गरेर मनुष्य सबैको प्रिय हुन जान्छन्?

युधिष्ठिर – अहम् भावबाट उत्पन्न गर्वको त्यागबाट नै मनुष्य सबैको प्रिय हुन जान्छ |

यक्ष– कुन चिज हराउनाले दुःख हुदैन?

युधिष्ठिर – क्रोध ।

यक्ष– कुन चिज हराउनाले मनुष्य धनी बन्छन्?

युधिष्ठिर – लोभ ।

यक्ष– ब्राह्मण हुन कुन कुरामा निर्भर गर्दछ? जन्म, विद्या, या शीतल स्वभावमा ?

युधिष्ठिर – शीतल स्वभाव ।

यक्ष– कुन एकमात्र उपाय छ जसले जीवन सुखी हुन जान्छ ?

युधिष्ठिर – राम्रो स्वभाव नै सुखी हुने उपाए हो |

यक्ष– सर्वोत्तम लाभ के हो ?

युधिष्ठिर – आरोग्य ।

यक्ष– धर्मभन्दा ठुलो संसारमा अरू के हो ?

युधिष्ठिर – दया ।

यक्ष–कस्ता व्यक्तिहरूसँग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुँदैन?

युधिष्ठिर – सज्जनसँग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुँदैन |

यक्ष– यस जगत्‌मा सबैभन्दा ठूलो आश्चर्य के हो ?

युधिष्ठिर – हरेक दिन हजारौँ मानिस मर्छन् तैपनि सबै सोच्छन् कि म त अझै धेरै बाँच्छु | यो बुझ्दैन कि त्यो मरेको लासले पनि म अझै केही बाँच्छु भनेर नै सोचेको थियो, यो भन्दा ठूलो आश्चर्य अरू के हुन सक्ला ।

बैठान:

प्रश्नोत्तर सकियो । युधिष्ठिरले यक्षको प्रश्नको सही सही उत्तर दिए । परीक्षामा उतीर्ण युधिष्ठिरप्रति यक्ष एकदम खुसी भए । यक्षले युधिष्ठिरलाई वरदान स्वरूप केही माग्न उक्साउछन् । युधिष्ठिरलाई चार भाइमा कुनै एक भाइलाई जीवित गरिदिने आश्वासन पनि दिन्छन् । युधिष्ठिरले दायाँ बायाँ नसोची नकुललाई बचाइदिन आग्रह गर्दछन् । यक्षले युधिष्ठिरलाई धनुर्धारी अर्जुन र अत्यन्त भयानक भीम नछानेर भीमार्जुनको तुलनामा कमोजोर नकुल नै किन? प्रश्न गर्छन् ।

युधिष्ठिरले आफूहरूको माता दुईजना रहेको जानकारी गराउँछन् । माता कुन्ती र माता माद्री आफूलाई अत्यन्त प्रिय रहेको र माता कुन्तीको कोख नउजाडिएको किन्तु नकुल र सहदेवमध्ये कुनै एकको जीवन नरहँदा माता माद्रीको कोख उजाडिने बताउँछन् ।

युधिष्ठिरको माताप्रतिको प्रेमले यक्षराज प्रफुल्लित हुन्छन् र आफू यक्षराज नभई साक्षात् धर्मदेव यमराज रहेको जानकारी गराउँदछन् । आफ्नो लोक यमपुरी सवारी हुनुपूर्व यमराजले मृत सबै चार पाण्डवको जीवन बचाउँदछन् ।