साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सशक्त संवाद

सम्बन्ध जतिसुकै लामो, गहिरो र घनिष्ट होस्, त्यहाँ उचित संवाद हुन सकेन भने ?

Chovar Blues Mobile Size

अधिकांश संवाद गर्छन् तर निकै कम संवादबाट सम्बन्ध जोड्न सक्षम हुन्छन् । संवाद केवल सामान्य बोलीचाली, शब्द छनोट र त्यसको प्रयोग अथवा सन्देश आदानप्रदानको प्रक्रिया मात्र होइन । त्यस प्रक्रियामा भावना, भावभङ्गीमा, लवज, वर्णक्रमलगायत मौनताले पनि उत्तिकै स्थान लिएको हुन्छ । चाहे व्यक्तिगत जीवन होस् या व्यावसायिक, त्यसमा सफल हुन संवादको महत्व अधिकतम रहन्छ। संवाद गर्न जानिएन वा संवाद कौशल प्रभावकारी हुन सकेन भने जीवन सहज हुन सक्दैन । प्रत्येक अवसरका ढोकाहरू बन्द हुन्छन् । विभिन्न समस्याहरुको चाङ थपिँदै जान्छन् । केही उदाहरणमार्फत् प्रस्ट हुने कोसिस गरौँ:

उदाहरण एक, घनिष्ट सम्बन्ध ।

मानौँ तपाईँ कुनै महिला वा पुरुषसँग सबन्धमा हुनुहुन्छ । सम्बन्ध जतिसुकै लामो, गहिरो र घनिष्ट होस्, त्यहाँ उचित संवाद हुन सकेन भने ? त्यसको अर्थ हुन्छ, एकले अर्कोलाई पर्याप्त समय नदिएको, सम्मान नगरेको, प्रेम नगरेको आदि । र, सम्बन्धको डोरी कुनै पनि बेला चुँडिन सक्छ ।

उदाहरण दुई, जागिरको अन्तरवार्ता।

मानौँ तपाईँ कुनै जागिरका लागि अन्तर्वार्तामा उपस्थित हुनुहन्छ । त्यसबेला संवाद प्रभावकारी हुन सकेन भने ? अन्तर्वार्ताकारले तपाईँको सोच, अपेक्षा तथा तपाईँले भन्न खोजेको कुरा बुझ्न सक्दैनन् । जसकारण उनीहरु तपाईँप्रति विश्वस्त हुन सक्दैनन् । क्षमतामाथि नै प्रश्न गर्छन् अनि तपाईँ सीधा अस्वीकृत हुने सम्भावना बढेर जान्छ ।

sagarmani mobile size

उदाहरण तीन, व्यापार व्यवसाय।

मानौँ तपाईँले कुनै व्यवसायमा हात हाल्नुभयो । त्यस व्यवसायमा संलग्न कुनै एक समूहको नेतृत्व गर्ने जिम्मेवारी पाउनु भयो । तपाईँ र तपाईँका सहकर्मी भनौँ या कर्मचारीबीच सशक्त संवाद हुन सकेन भने ? शतप्रतिशत कार्य सम्पादन हुन सक्दैन । कयौँ कमिकमजोरी हुन सक्छन् । तपाईँले नेतृत्व गरेको व्यवसाय घाटामा जान्छ । जसकारण तपाईँ एक असफल व्यवसायीको रुपमा परिचित हुन थाल्नुहुन्छ ।

यी विविध उदाहरणले संवाद कमजोर हुनु भनेको जीवनमा समस्याको खाडल खन्नु हो भन्ने पुष्टि गर्छ । यस प्रकारको खाडल पुर्न संवाद कौशल सशक्त बनाउनुको विकल्प छैन । यसका लागि मनोवैज्ञानिक एवं संवाद विशेषज्ञको भनाइअनुसार संवादको निम्न खम्बाहरु निर्माण गर्नुपर्ने हुन्छ ।

मुखरता

सबैमा आफ्नो विचार सम्प्रेषण गर्ने र प्रभाव जमाउने उत्कट चाह हुन्छ । यद्यपि संवाद सशक्त हुन सकिरहेको हुँदैन । कारण ? मुखरता कायम नहुनु ।

मुखरता भनेको के ? आफ्नो विचार आत्मविश्वास साथ पेश गर्नु, आवश्यक परेको ठाउँमा सकारात्मक मनस्थितिसहित बोल्नु र अनौपचारिक रुपमा गलत विचार स्वीकार नगर्नु भन्ने बुझिन्छ । त्यसैले कसैसँग संवादमा रहँदा यस्तो शैलीमा विचार प्रस्तुत गर्नोस् ताकि तपाईँको विचार सबैले गम्भीर रुपमा लिउन् । कतिपय अवस्थामा विचार एकै पटकमा सम्प्रेषण नहुन सक्छ । यस्तो अवस्थामा आफ्नो विचार लगातार, दृढतापूर्वक सम्प्रेषण गर्नोस् ।

सत्यता

समाजले सधैँ सभ्य, विनम्र र सुसंस्कृत रहन प्रेरित गर्छ । यति मात्र होइन, हरदम अनुहारमा मुस्कान ल्याउन जोड दिन्छ । कहिलेकाहीँ असभ्य हुन पुग्दा अरुले कुन रुपमा लिने हुन् भन्ने डर पैदा हुन्छ। अनि यही डर हटाउने उद्देश्य साथ सबै जना विनम्रता, शिष्टता जस्ता गुणवत्ता कायम राख्ने दौडमा होमिन्छन् । परिणामस्वरूप आफ्नो असली पहिचान भुल्न पुग्छन् । अन्तरक्रिया चल्दै गर्दा, कोही नयाँ व्यक्तिसँग संवाद गर्दा तपाईँले आफ्नो वास्तविक परिचय खुलाउनु हुन्न भने ? तपाईँ जे होइन, त्यही रुप प्रस्तुत गर्नुहुन्छ भने ? तपाईँलाई  कसैले पनि विश्वास गर्ने छैन । कोही पनि तपाईँप्रति आकर्षित हुन सक्दैनन् । त्यही भएर आफ्नो वास्तविक व्यक्तित्व उजागर गर्नोस्। आफ्नो मूल्य, मान्यता र सीमा बारेमा अवगत हुनोस् ।

उदारता

संवाद हुने नहुने, अन्तरक्रिया अगाडि बढ्ने नबढ्ने भन्ने कुरा उदारतामा भर पर्छ । तपाईँ कत्तिको उदार, खुला दिमागको र ग्रहणशील हुनुहुन्छ ? त्यसले तपाईँको संवाद कौशल निर्क्योल गर्छ । अझ भनौँ सम्बन्धको गुणस्तर निर्धारण गर्छ । उदार हुनु वा खुला दिमागको हुनु भनेको अरुको सोच, विचार, धारणा र आइडियालाई स्थान दिनु हो । तपाईँ उदारतापूर्वक प्रस्तुत हुन सक्नुहुन्न भने कोही पनि तपाईँसँग संवाद गर्न चाहँदैन । तपाईँको उपस्थितिलाई बेवास्ता गरिदिन्छ । यसर्थ उदारता कायम गर्नोस् । अरुको धारणा प्रतिरोध नगर्नोस् । दिमाग बन्द नराख्नोस् । ग्रहणशील हुनोस् ।

समानुभूति

स्नायुतन्त्र विज्ञानले मानवीय मस्तिष्कमा मिरर न्युरोन (दर्पण स्नायु) हुने पुष्टि गरेको छ। यो मिरर न्युरोनले अरु मानव तथा जनावरप्रति समानुभूति भाव देखाउन विशेष भूमिका खेल्छ। समानुभूति भन्नाले अरुको स्थानमा रहेर हेर्नु, अरुको भावनात्मक पीडा अनुभूत गर्नु बुझिन्छ। यसो गर्नाले एकअर्कामा सहयोगी भाव उत्पन्न गराउँछ। अरु व्यक्तिप्रति समानुभूति राखिएन भने ? अरुको भावना बुझ्न सकिँदैन । समस्या बुझ्न सकिने त सम्भावना नै रहेन । जुन व्यक्तिप्रति समानुभूति भाव राखिँदैन, ती व्यक्तिको मनमा यस्ता नकारात्मक भावना जाग्न सक्छन्- उसले मेरो भावना बुझ्दैन, समस्या बुझ्दैन । उसो भए मैले किन उसबारे सोचूँ ?

यही कारण एकले अर्कालाई नसुन्ने सिलसिला सुरु हुन्छ । केही संवाद होला तर सम्बन्ध कसिलो गरी जोडिँदैन ।

स्पष्टता

संवाद स्पष्ट हुनु अत्यावश्यक छ। संवादमा तपाईँले के भन्नुभयो या के भन्न चाहेको भन्दा पनि दोस्रो व्यक्तिले के बुझ्छ, त्यो ख्याल गरिनुपर्छ । बोल्ने र सुन्नेबीच पर्खाल सिर्जना हुनुहुन्न । नत्र गलत अर्थ लाग्न सक्छ । बुझाइ त्रुटिपूर्ण हुन्छ । भनाइ एउटा भए पनि सुन्नेले अर्कै बुझेर भनाइको ठीक विपरीत कार्य गर्न पुग्छ । सामान्यतः यो समस्या व्यवसाय हाँक्दै गर्दा, आफ्नो समूहको सदस्यलाई निर्देशन दिने क्रममा देख्न सकिन्छ । त्यसैले आफूले प्रस्तुत गर्न लागेको विषयवस्तुमा स्पष्ट हुनुस् । स्पष्ट वक्ताका रुपमा आफ्नो धारणा राख्ने गर्नोस् ।

सुन्नु

हरकोही आफ्ना कुरा राख्न लालायित हुन्छन् । अरुले सुनिदिऊन् भन्ने चाहन्छन् । अरु व्यक्तिले आफ्नो भनाइ सुनिदिएको अवस्थामा मात्र आफूलाई महत्व दिएको, भावना बुझिदिएको, सम्मान प्रकट गरेको र संवाद अघि बढेको ठान्छ । हरेक व्यक्तिमा यस खालको अपेक्षा भए पनि प्रायः मानिस सुन्नभन्दा सुनाउन अग्रसर हुन्छन् । यही कारण दुई व्यक्तिबीच जटिलता उत्पन्न हुने हो । जब जटिल परिस्थिति आइपर्छ, त्यसबेला सुन्ने कौशल झन् महत्वपूर्ण हुन्छ । बोल्न चाहेको व्यक्तिलाई सक्रिय रुपमा सुन्नुपर्ने हुन्छ । यसका लागि अन्तरक्रिया दौरान विभिन्न प्रतिक्रिया दिनुपर्छ । जस्तै: स्वीकृति जनाउन टाउको तलमाथि गर्ने । ए हो र ! अति राम्रो विचार भनेर टिप्पणी गर्ने, एउटै भावभङ्गीमा रहने आदि । त्यसैगरी संवाद फलप्रद बनाउन नबुझेका प्रश्न पनि सोध्न सकिन्छ।

केही कार्य योजना

संवाद सशक्त बनाउन आवश्यक खम्बाहरु अर्थात् विशेषताहरूमध्ये आफूमा कुन विशेषताको कमि छ, त्यो पहिले पत्ता लगाउनुस्। कुनै एक वा दुई प्रमुख विशेषता रोज्नुस् । तपाईँको कमजोर विशेषता मुखरता हो कि सत्यता ? उदारता हो कि समानुभूति ? स्पष्टता हो कि सुन्ने कौशल ? यो विषयको यकिन गर्नोस् । मानौँ, तपाईँको प्रमुख कमजोर विशेषता स्पष्टता हो । अब यही विशेषतालाई विकास गर्न प्रतिबद्ध रहनुस् । यस कार्यका लागि एकदेखि तीन महिना समर्पित हुनुस् । स्पष्टता विशेषता वृद्धि गर्न सम्भव भएका सबै तौरतरिका खोजी गर्नोस् । कसरी स्पष्ट इमेल लेख्न सक्छु ? कसरी स्पष्ट वक्ता हुन सक्छु ? यी यावत् विषयमा गहन अध्ययन गर्नोस् । आवश्यक परेको खण्डमा उच्चस्तरीय स्रोत व्यक्तिको तालिममा सहभागी हुनोस् । त्यसपछि विभिन्न तालिम र पुस्तक अध्ययनबाट प्राप्त ज्ञान आफ्नो घनिष्ट सम्बन्ध, कार्यकक्ष आदिमा अभ्यास गरेर हेर्नोस् । यसले स्पष्टता विशेषता मजबुत बनाउन ठूलो भूमिका खेल्छ । यही प्रकृतिको कार्य योजना अरु कमजोर विशेषताहरू विकासमा पनि प्रयोग गर्न सकिन्छ । अन्ततः संवाद कौशलमा महारथ हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया
Loading...