डियर अश्विनी कोइराला ज्यू,

नमस्कार !

(पहिलो शब्द नै आयातित प्रयोग गरे माफ पाऊँ !)

जन्मभूमि बाट ७०९८ किलोमिटर पर बसेर नेपाली टाइपको सहयोगमा यो मनोभाव कोर्दै छु ।

त्रिभुवन विश्वविद्यालयले दिएको मार्क शीटले खान नपुगेपछि अनि देशका नेता भनौंदाको भुँडी भर्न नसकेपछि देश छोडेको हुँ । २० वर्षको उमेरमा देश छाड्ने लाखौं नेपाली मध्य म पनि एक प्रतिनिधि पात्र हुँ । म जस्ता धेरै युवाले नेपालबाट शरीर छाडे पनि मन भने देशमै छाडेका छौं । बिहान उठेपछि नेपाली समाचारमा आँखा जान्छ । मौसमको भविष्यवाणी नेपाल कै हेरिन्छ । तरकारीको भाउ कालीमाटीकै हेरिन्छ । सुनको भाउ नेपाली मूल्यमा हेरिन्छ । खाडीको पेट्रोलको दाम नेपाली मूल्यमा हेरिन्छ ।

दिनको शुरूवात टोकला चियाबाटै हुन्छ । सानो नै किन नहोस्, फोटो मै किन नहोस्, भगवान् छन् कोठाको कुनामा । धूप बल्छ, फूल चढ्छ, भजन बज्छ । मन्त्र पढिन्छ । पढ्ने टेबलमा नेपाली भाषाकै किताब हुन्छ । समय मिलेसम्म पुराना गाता खुइलिसकेका नेपाली साहित्यकै पाना पल्टाइन्छ ।

आजभोलि भने साहित्यपोस्ट नपढी दिन अपूरो लाग्न थालेको छ । हामीसँग सीमित स्रोत मात्रै छ । प्रवासमा हामीसँग साहित्यिक  गुरुको अभाव छ । भर्खरै निस्केका पुस्तकहरू प्राप्त गर्न कठिन छ । साहित्यिक भेटघाटको सर्वथा अभाव छ ।

देश अनुरूप नेपालीको उपस्थिति अनुसार लेखक, कलाकार, कवि, गजलकार केही मुलुकमा पुग्ने चलन शुरू भाको छ । तर विडम्बना हामीसँग आइपुग्न सकेको छैन ।

तर पनि हामीले हारेका छैनौं । सामाजिक सञ्जालको भरपूर सहयोगबाट भाषा प्रतिको माया छोडेका छैनौं । छोराछोरीलाई रास्ट्रिय गान सिकाएका छौं । नेपाली भाषा बोल्न सिकाएका छौं । दशैं, तिहार, बुद्ध जयन्ती, इद, छठ, नयाँ वर्ष सिकाएका छौं ।  ठूलालाई सम्मान र सानालाई माया गर्नुपर्छ भन्ने सिकाएका छौं । औंसी, पूर्णिमा, एकादशी सिकाएका छौं ।

दिनभर कामको थकानपछि पनि केही समय नेपाली साहित्यलाई दिन्छौं । नेपालको दुखाइलाई विषयवस्तु बनाउँछौं । देशमा हुने पिरलोले मुटु खान्छ । राजनीतिक समस्याले दिल दुख्छ । भ्रस्टाचारले मन पोल्छ । बेरोजगारीले छाती पोल्छ ।  त्यहीमाथि कलम चलाउन खोज्छौं । कहिले कलम सफल हुन्छ कहिले असफल ।

तर हार मान्दैनौं । हामीलाई गुरुकुलको अभाव महसूस हुन्छ । हामीलाई नेपाली साहित्यतर्फ डोर्‍याउने हातको खाँचो छ ।  नेपाली भाषालाई विश्वसम्म पुर्‍याउने तपाईंहरूको अभियानलाई साहित्यपोस्टले केही हदसम्म यो खाडल पुरिरहेको छ । तर यतिले हामीलाई पुगिरहेको छैन । भविष्यमा महीनाको एक पटक भएपनि नेपाली साहित्यका गुरुहरूसँग अन्तरक्रिया गर्ने मौका मिलाइदिनु होला । आजको प्रविधिमैत्री युगमा त्यो असम्भव छैन । अन्तर्राष्ट्रिय नेपाली भाषा सम्मेलन वर्षको एक पटक गर्न पाए अझ सुनमा सुगन्ध हुनेथियो । छन त गैर आवासीय नेपालीको छाता संगठन छ तर साहित्यतर्फ ती संस्थाहरूको ध्यान गएको छैन ।

नेपाली भाषा नरहे कहाँ हाम्रो संस्कृति रहन्छ र ? भोलि आफ्नै सन्तानलाई भेट्न अपोइन्टमेन्ट लिएर जानु पर्ने भए । हामीलाई गाह्रो छ । न मठ छ, न मन्दिर ? न विद्यालय छ न पुस्तकालय ? तर पनि सन्तानलाई जहाँ रहे पनि नेपाली बनाउनु छ । हजुर बा, जिजुबा, काकाकाकी चिनाउनु छ । बालकथा सुनाउनु छ । झरनाको झरझर, कोइलीको कुहूकुहू सुनाउनु छ । हिमाल चिनाउनु छ । नेपाली बनाउनु छ ।

साहित्यपोस्ट  नेपाली अग्रज साहित्यकारहरूको जमघट हुने स्थान हो । जहाँ कथा, कविता, गजल, निबन्ध, उपन्यास, समाचार दिनहुँ जन्मिरहन्छ । त्यसैले हामी साहित्यपोस्ट माथि ठूलो आशा अनि आस्था राख्छौं । तपाईंहरूको अगुवाइमा भइरहेको साहित्यिक अभियान अझै फल्दै फुल्दै जानेछ र हामीलाई पनि मूलधारमा समेट्नु हुनेछ भन्ने विश्वास लिएका छौं ।  नेपाली हामी रहौंला सधैं नेपाली भएर, नेपाली बोलेर, विश्वको कुनाकुनामा जसमा तपाईंहरूको साथ आवश्यक छ ।

देश छोडेको २ दशक पुग्नै लाग्दा मैले महसूस गरेको कुरा तपाईंलाई लेखेको हुँ । आशा छ यो मेरो भावना प्रवासमा रहेका लाखौं नेपालीको भावना सम्झेर काम गर्नुहुनेछ ।

प्रसान्त उप्रेती

पेरिस, फ्रान्स