बुढिँदै गएका एक प्राध्यापकले भनेको सुनेँकेबल छाया हो अनुवादक ।

प्रौढतातिर उक्लिँदै गरेको मेरो मस्तिष्कले दोहोर्यायोकेबल छाया  ।

कसले भनेको हो यो ?-  म जान्न चाहन्थेँ ।

यसो भन्ने आधार के ? कारण के ? मेरो मनमा उठेका प्रश्नहरू व्यक्त नहुँदै प्राध्यापकबाट जवाफ आयोयो मेरो विचार होइन । क्वीटिलियन नामका विद्वान्ले भनेका हुन् । यी विद्वान्सँग उत्तरसंरचनावादीहरू सहमत छैनन् । म पनि सहमत छैन ।

ती प्राध्यापकले यति भनिसक्दा मेरो मनमा अर्को प्रश्न उठ्योछाया त छाया तर कस्को ?

प्रश्न प्राध्यापककोमा पुग्यो ।

जवाफ आयोलेखकको ।

अब म भने क्वीटिलियनसँग सहमत भएँ । लेखकको छाया हो अनुवादक भन्ने यिनको बुझाई राम्रै लाग्यो । मलाई स्वीकार्य थियो लेखकको छाया हुनुमा ।

बलराम अधिकारी

मैले त्यसै कक्षाकोठामा त्यहीबखत लेखकको छाया बन्ने सोच बनाएँ । यही सोच लिएर कोठामा पुगेँ, पारिजातको मैले नजन्माएको छोरो अङ्ग्रेजीमा अनुवाद गर्न थालेँ । एक सातापछि अनुवादको खेस्रा गरेर तिनै प्राध्यापकलाई देखाएँ । उनले मेरो प्रयत्नको प्रशंसा त गरे तर अनूदित कथाको पहिलो एक-दुई पंक्ति पढेपछि यस्तो कठिन अनुवादमा हात हाल्ने बेला नभएको बताए । पहिले परीक्षाको तयारी गर्न सल्लाह दिए । उनले पुरै अनुवाद पढ्न आवश्यक ठानेनन् । पढेनन् ।  यसको अर्थ, म पहिलो अनुवादमा नै असफल भएँ । तर मेरो ध्येय कथाभन्दा पनि कथाकारसँग जोडिने थियो । अनुवाद जस्तोसुकै होस्, म पारिजातसँग जोडिन चाहन्थेँ । क्वीटिलियनले भने झैँ म उनको छाया बन्न चाहन्थेँ ।

मलाई लाग्यो, लेखकको सङ्गतमा रहने यो सबैभन्दा उत्तम रोजाइ थियो । लेखकको छाया बन्दा कमसेकम म लेखकको साथमा त रहन्छु, कहिले दृष्य भएर त कहिले अदृष्य भएर ।

विद्यालय छिरेदेखि नै लेखक मेरा लागि स्तुतीय बने । लेखकले मलाई आफूसँग जे छ त्यसमा गर्व गर्न सिकाए । सम्झन्छु, अझै पनि उही लय र उमङ्गमा सानामा गाएको महेन्द्रमालाको कवितासानो छ खेत, सानो छ बारी, सानै छ जहान ।

हाम्रो सात कठ्ठाको सानो खेत थियो । जम्मा दश हात मोहोडाको सोतो परेको खेतको उब्जनीले कहिल्यै वर्षदिन खान पुगेन । तर कविले हाम्रो लामपुच्छ्रे खेतको गुणगान गरे । मलाई आफ्नो सानो खेत देखेर हिनताबोध हुन छाड्यो । बरू चिच्याई चिच्याई अरूलाई सुनाउन थालेँसानो छ खेत, सानो छ बारी… ।

लेखकले मलाई दिक्कालको सीमाभन्दा बाहिर लिएर गए । लेखकको कल्पनाको उडानसँगै मैले आफ्नो भूगोल र समयभन्दा परको दुनियाँ देखेँ, आफ्ना मनका आँखाले । दौलतविक्रम विष्टको चपाइएका अनुहारको साथ लागेर म अफ्रिकाको जंगलसम्म पुगेँ । अनन्तकिमरिख र युवतीले छिचोलेको केतुकीको गन्ध सुघेँ । पारिजातको शिरीषको फूलले मलाई बर्माको युद्धभूमिसम्म पुर्यायो । मदनमणि दीक्षितको माधवीले उत्तरवैदिक कालमा प्रवेश गरायो । गोविन्दराज भट्टराईको सुकरातको पाइलाले सहरको कहरमा अस्तित्व संकटको बोध गरायो ।

लेखकले मलाई प्रेमको उत्तेजना र उमङ्ग देखाए, अनि विछोडको विरह र वेदना पनि । यस्तै देखेँ यासुनारी काबावातको हिमदेशमा, गोविन्द मल्ल गोठालेको पल्लोघरको झ्यालमा, लैनसिंह बाङ्देलले मुलुक बाहिरमा ।

लेखकले मलाई मनोरञ्जन दिए । वेदप्रकाश शर्माका हिन्दी जासुरी उपन्यासका बाक्ला पाना पल्टाउन पाएपछि गर्मी विदाका लामा दिनहरू निकै छोटा लाग्थे । युधिर थापाका उपन्यासहरूले क्याम्पसका यान्त्रिक पढाइबाट त्राण दिन्थे ।

लेखकले मेरो मष्तिस्कका लागि आवश्यक पोषणयुक्त चेतना दिए । जीवनलाई हेर्ने दृष्टिकोण दिए, भोग्ने शैली  बताए । खलिल जिब्रानको द प्रोफेट, हर्मन हेस्सेको सिद्धार्थ, जे कृष्णमूर्तिको द फस्ट एन्ड लास्ट फ्रिडमसँग भेट नभएको भए मेरो जीवनको बाटो अर्कै हुन्थ्यो, हिँडाइको गति अर्कै ।

लेखकले मलाई असल मित्र दिए । यिनले दिएका पुस्तकभन्दा असल मित्र मैले आजसम्म फेला पारेको छैन । पुस्तकसँग रहँदा म आफूलाई कहिल्यै एक्लो महसुस गरिनँ । गर्दिनँ ।

मेरा प्रिय लेखकहरू मैले सोच्न नसेकेको कुरा सोच्थे । मैले नदेखेको दुनियाँ देखाउँथेनबुझेको रहस्य बुझउँथे, नपुगेको भूगोलमा पुर्याउँथे । यिनका सृजनामा मेरा आफ्नै अव्यक्त अनुभूतिहरू व्यक्त भएझैँ लाग्थो । पछिपछि मलाई उदेक लाग्न थाल्योके हो यो लेखक भन्ने प्राणी ?! भेट्नु त परै जाओस्, कहिल्यै देखेको पनि होइन । तर उसका शब्दले जीवनमा उर्जा आउँछ । शरीरमा उत्तेजना सलबलाउँछ, मनमा अनेकौँ भावना उम्लिन्छ । मेरा लागि कहीँ कुनै चमत्कारी प्राणी थियो भने त्यो लेखक नै थियो ।

म लोभिन्थें यिनका सृजनाको भाषा देखेर । विद्यालय र विश्वविद्यालयका कक्षाकोठामा, परीक्षा कोठामा मैले भाषासँग सधैँ अनुनय गरेँमलाई साथ देऊ । विद्यालय र विश्वविद्यालयका नेपालीका शिक्षकहरू भन्थेदेवकोटालाई शब्दहरूले पछ्याउँथे । म कल्पना गथेँ—  तालु खुइलिएको मान्छे बेतोडले दौडँदै छ, भाग्दै छ । हावाले उडाएका सिसौका सुकेका पातझैँ शब्दहरू उसका पछाडि दौडिरहेका छन् । भन्दैछन् तीपर्ख ओ कवि पर्ख । उतार हामीलाई तिम्रा सृजनाहरूमा । तिम्रो कलमको सहाराले कागजमा टासिएर हामी स्थिर हुन चाहन्छौँ । वाचाल बनेर संवादमा छिर्न चाहन्छौँ ।

यता आफू छु, दिनमा एउटा शब्द पनि याद गर्न धौधौ पर्ने । वाक्यमा प्रयोग गर भन्दा निकैबेर कलम टोक्ने । भाषा मसँग कहिल्यै प्रेमलीन बनेन । ऊ हल हल मात्र भन्थ्यो । म पछिपछि लुरुलुरु हिँडिरहेँ । म जति जति पछ्याउथेँ ऊ उतिउति पर जन्थ्यो, र मलाई आइज-आइज भने झैँ गर्थ्यो । यो क्रम अहिले पनि उस्तै छ । तर म लेखकको लेखनीमा तिनका भावना र भाषा एउटै तालमा नाचेको देख्थेँ । भावना र भाषा एकाकार भएपछि तिनका कविता मेरा लागि मन्त्र बन्थे । तिनका कथा र उपन्यासको जगत् सजीव भएको पाउथेँ । तिनका निबन्ध मेरा लागि चिन्तनको चौतारी बन्दथ्यो । यस्तो चमत्कारी चेतना बन्न नसके पनि कमसेकम म यस चेतनाको छाया त बन्न सक्छु । यही छायावी अस्तित्व स्वीकार गर्दै म अनुवादमा लागेँ ।

अनुवादअर्थात् अनुवाचनलेखकलाई अनुसरण गरेर गरिने वाचन । लेखक बोल्छ, अनि म बोल्छु ऊ पछि । म लेखकको भाषा बुझ्छु, उसको चेतनामा भित्रिन्छु । त्यसपछि बाहिर निस्किएर अर्को भाषामा बोल्छु । भावना उसको तर अनुवाचनको भाषा मेरो । यसरी नै मैले अनुवाचन गरेँ  गोविन्दराज भट्टराईको सुकरातको पाइलाको, मोतीराम भट्टको पिकदूतको, रक्ष राईको पोएट इन किलिङ् जोनको, निरज भट्टराईको धुवाँको धागोको, नवीन प्राचीनको उभिएर एक्लैको, शारदा सुब्बाको यसोधराको । यी लेखकहरूले पहिला सोचेलेखे नेपालीमा । यिनलाई मैले पढेँ नेपालीमा, मनन गरेँ र मानसिक पाठ बनाएँ अङ्ग्रेजीमा । यसरी तयार भएको अमूर्त पाठलाई अनुलेखन गरेँ अङ्ग्रेजीमा । यस अनुलेखन कर्ममा लाग्दा मेरो सन्तुष्टिको पारो माथि चढ्दै गयो । चढिरहेछ । यही सन्तुष्टिले गर्दा अनुवाद मेरो जीवनको अभिन्न पाटो बन्यो । अनुवाद बेगरको दैनिकी मलाई असहज लाग्न थालेको छ । अनुवादक झुम्पा लहरीलाई जस्तै अनुभव हुन थालेको छ अचेल मलाईम अनुवाद गर्छु, त्यसैले म छु । लहरीको अस्तित्वादी चेतमा म केही थपी हेर्छुलेखक छन् र म अनुवादक छु ।

म अनुवादक, म लेखकको छाया । लेखकसँगै फैलिएको भानमा रमाउँछु । मेरो यो भानमा तुक पनि छ । रक्ष राईको पोयट इन किलिङ् जोन अनुवाद गरेँ । बेलायतमा छापियो । कवि राईसँगै म पनि बेलायतमा छु, जहाँ म अहिलेसम्म पुगेको छैन । सार्क कल्चरल सेन्टर, कोलम्बोले मोतीराम भट्टका पिकदूत र अन्य केही कविताहरू छाप्दैछ । मोतीराम भट्टको सृजनासँगै म उनको छाया बनी श्रीलङ्कामा छु, जुन मलाई चनाको जस्तो आकार भएको देश भन्ने मात्र थाहा छ । मलाई न त त्यहाँको हावाको वहाव थाहा छ न त पानीको स्वाद नै ।

बितेका १७ वर्षदेखि म यो विशाल एम्पिथियटर जस्तो काठमाडौँ उपत्यकामा छु । तर म अनुवादक, मेरा लेखकहरूको साथ लागेर केही फैलिएको छु बाहिर । दार्जलिङ्बाट इन्द्रबहादुर राईले अनुवाद शीर्षकमा कथा लेखेका छन् । एउटा पात्रले भनेको छफैलिअ, नत्र सिद्धिन्छौ ।  फैलिने माध्यम अनुवाद हो भन्ने यस पात्रको ठम्याइ छ । हो पनि । अनुवाद नहुने लेखक आफ्नै भाषाको सानो बनपाखामा केही समय सुसेल्छ  र हराउँछ । उसको सृजनात्मक सुसेली अर्को भाषाको पाखामा सुनिँदैन । भिन्न भाषी पाठकलाई सुनाउन अनुवादकले उनीहरूकै भाषामा सुसेल्नु पर्दछ । म पनि फैलिन चाहन्थे, चाहन्छु फैलिन लेखकको सुसेली सुसेल्दै । मैले अनुवाद गरेका लेखकहरू जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ म पनि साथै पुगेको छु तिनका छाया बनेर । म आनन्दित छु यो फैलावटमा । गत हप्ता कवि, अनुवादक रामानुजनलाई पढेपछि त लेखकको छाया बन्नुमा मलाई गर्व लाग्न थालेको छ । रामानुजन भन्छन् आफ्नो छायाबाट कोही पनि अलग हुन सक्दैन ।

मैले अनुवाद गरेका लेखकहरू म अर्थात् आफ्नो छायाबाट अलग्गिन सक्ने छैनन् । चाहेर पनि अब उनीहरू आफ्ना अनूदित सृजनामा मेरो उपस्थितिलाई नकार्न सक्दैनन् । अनुदित सृजनाको जग्गामा लेखक र मसँगै उभिने छौँ । म मेरा लेखकहरूबाट अलग हुने छैन ।